आदरणीय पाठक, दर्शक, स्रोता तथा शुभेच्छुकहरू,
हाम्रो मुलुकमा मनग्गे सञ्चारमाध्यम छन् । पाठक, दर्शक र स्रोताहरूसित समयको कमी होला, सञ्चारमाध्यमहरूको होइन । तैपनि हामी बारम्बार गुनासाहरू सुन्छौं– मिडिया हल्लाखोर भए । सही कुरै लेख्दैनन् । पत्रकारहरू पार्टीको झोला मात्रै बोक्छन् । सम्पादकहरू साहुको स्वार्थ मात्रै हेर्छन् । प्रकाशकहरू पैसै मात्र कुम्ल्याउन खोज्छन् । बारम्बार आइरहने यी गुनासा कति सत्य हुन् कति होइनन्, केलाउन सहज छैन । तर यसले हामीमाझ एउटा के गम्भीर प्रश्न पैदा गरेको छ भने– के राजनीतिक वा व्यापारिक स्वार्थबिनाको मिडिया-अभ्यास अब नेपालमा असम्भव भइसकेको हो ? nepalopinion.com यही प्रश्नको उत्तर खोज्ने जमर्को हो । आजदेखि हामी 'परीक्षण-प्रकाशन'का रुपमा सार्वजनिक भएका छाैं । यहाँहरुका सल्लाह सुझाव आदिलाई मनन गर्दै छिट्टै औपचारिक रुपमा सार्वजनिक हुनेछाैं ।
nepalopinion.com विचार-प्रधान अनलाइन सञ्चारमाध्यम हो । कसो गर्दा नेपाल र नेपालीको सुदूर भविष्यसम्मै भलाइ हुन्छ भन्ने विचारहरू हाम्रो पहिलो प्राथमिकताका विषय हुन् । हामीले दिने विचार र समाचार आमपाठकलाई मात्र नभई मुलुकका नेतृत्वकर्ता, नीति निर्माता, प्रशासक, बुद्धिजीवीसमेतका लागि उपयोगी हुन सकून् भन्ने हाम्रो चाहना हो । हामी हाम्रा पाठकहरुका लागि प्रेयस्कर मात्र नभई श्रेयस्कर पनि पस्कने जमर्को गर्नेछौं । हामी यो वा त्याे राजनीतिक दलको पक्षपोषण गर्दैनाैं तर आम नगरिकको बृहत्तर हित हुने काम र कदमहरुलाई साथ दिन कहिल्यै हिच्किचाउँदैनाैं ।
मितव्ययी जीवनशैली, कृषि क्रान्ति र नयाँ उद्योगहरूको स्थापनाबाट मात्र मुलुकमा आर्थिक आत्मनिर्भरता संभव छ । त्यसका लागि हामी निरन्तर आबाज उठाइरहने छौं । मुलुकको समृद्ध सामाजिक सांस्कृतिक वैभवलाई अझ समृद्ध तुल्याउने अनि आम नागरिकमा देशभक्तिको पवित्र भावना जागृत गराउने विचारहरूको हामी सम्मान गर्दछौं ।
त्यसका लागि हामी विभिन्न क्षेत्रका विषयविज्ञ एवं ज्ञाताहरूलाई सक्दो समेट्ने प्रयास गर्नेछौं । यस प्रयत्नमा साथ दिन देश विदेशमा रहनुभएका तथा नेपाल र नेपालीलाई निःस्वार्थ माया गर्ने तमाम आदरणीय विद्वान्, अनुसन्धानकर्मी, लेखक एवं प्राज्ञिक-बौद्धिकहरूसित हार्दिक आग्रह गर्दछौं ।
मुलुकका खास–खास महत्वपूर्ण सवालहरूमा आम पाठक, दर्शक, स्रोता र समग्र जनसाधारणकै अभिमत बुझ्नका लागि हामीले ‘मत-सर्वेक्षण’ लाई पनि हाम्रो एउटा मुख्य अंग बनाएका छौं । प्रारम्भमा प्रत्येक महिना एउटा विषयमा अनलाइनमार्फत् सर्वेक्षण सुरु गरिए पनि यसलाई विभिन्न प्राज्ञिक एवं अनुसन्धान संस्थाहरूसितको सहकार्यमा अझ व्यापक र गुणात्मक बनाउने हाम्रो प्रयास रहनेछ ।
सर्वेक्षण र त्यसबाट आउने नतिजा सकेसम्म शुद्ध र यथार्थपरक होस् भन्ने हेतुले हामीले एउटा विद्युतीय उपकरणबाट एक दिनमा एकपल्ट मात्र अभिमत जनाउन सकिने प्राविधिक व्यवस्था मिलाएका छौं । तर हामी के कुरामा विश्वस्त छौं, भने मान्छेको नियतलाई प्राविधिक पक्षले मात्रै कहिल्यै व्यवस्थापन गर्न सक्दैन जति मानिस स्वयंको विवेकद्वारा सकिन्छ । त्यसैले हामी सर्वेक्षणमा सहभागी हुन चाहनुहुने सबैमा एकपटक मात्र आफ्नो अभिमत जाहेर गरिदिनु हुन विनम्र निवेदन गर्दछौं । नयाँ सर्वेक्षणका लागि तय गरिने विषयवस्तु र प्रश्नमा दिइने विकल्पहरू के हुन सक्छन् भन्नेबारे हामी धेरैभन्दा धेरै सहभागीबाट सुझावको अपेक्षा गर्दछौं ।
तपाईं कस्ता विज्ञ, लेखक र स्तम्भकारहरूबाट के-कस्ता विचारहरू आऊन् भन्ने अपेक्षा गर्नुहुन्छ ? यसबारे पनि हामीलाई सुझाव दिनुहोला । तपाईंका सुझाव सल्लाहहरू नै हाम्रा भावी पाइलाहरूका ऊर्जास्रोत हुन् ।
धन्यवाद ।