अल्वर्ट आइन्स्टाइनको भनाइ छ– ‘दुनियाँका थोरै मानिस मात्र वैयक्तिक-स्वार्थ र सामाजिक परिवेशको पूर्वाग्रहबाट मुक्त रहेर सबैका लागि समान विचार व्यक्त गर्न सक्छन् । अधिकांश त यस्तो सोच्नसमेत सक्दैनन् ।’
निजी-स्वार्थ र परिवेशजन्य पूर्वाग्रहबाट अलग रहेर बृहत्तर जनकल्याणका लागि सोच्न र त्यसैअनुसार आफूलाई अभिव्यक्त गर्न जो जतिले सक्छन् तीमध्ये पनि बिरलैले मात्र विचारअनुसारको आचरण गर्छन् । समाज अहिले तिनै बिरलाकोटीका व्यक्तिहरूको अभावमा छ ।
हामी अहिले सूचना–प्रविधिको एउटा अभूतपूर्व युगमा छौं, जहाँ ज्ञान र प्रविधि-ज्ञान नै समाजका मुख्य सम्वाहक छन् । श्रम र वस्तु–विनिमयबाट टाढिएर सूचना र विचार–विनिमयलाई आफ्नो मुख्य दैनन्दिन गतिविधि बनाइरहेको अहिलेको समाजमा शक्ति र सम्पत्ति उसकै पकडमा बढी छ जोसित सूचना र प्रविधिमा छिटो र सहज पहुँच छ ।
प्रविधि विकासको यो गतिभन्दा हाम्रो विवेक र आचरणमा ह्रास आउने गति कैयन गुणा तीव्र छ । सञ्चार माध्यम र सामाजिक सञ्जालहरूबाट अकल्पनीय परिमाणमा सूचना प्रवाहित भइरहेको छ जसको अधिकांश हिस्सा तथ्यको सट्टा हल्ला र विचारको ठाउँ प्रोपोगान्डाले ओगटेको छ । ती व्यक्ति, समाज वा मुलुक हल्ला र प्रोपोगान्डाका शिकार बनिरहेका छन् जो शक्ति र सम्पत्ति दुवैमा कमजोर छन् । हामी पनि यो यथार्थबाट अलग छैनौं ।
नेपालका सामु यतिबेला कम्तीमा पाँच मुख्य चुनौती टड्कारा छन्– पहिलो, विश्वव्यापी एवं क्षेत्रीय-भूराजनीतिको बढ्दो खिचातानीबीच मुलुकलाई बाह्य हस्तक्षेपबाट स्वतन्त्र र अक्षुण्ण राखिरहनु । दोस्रो, आन्तरिक लोकतन्त्रलाई जोगाउँदै विधिको शासन पालना गर्नु र गराउनु । तेस्रो, भयावह बन्दै गएको व्यापार असन्तुलन र आर्थिक परनिर्भरता हटाउनु । चौथो, सक्षम जनशक्तिको उत्पादन गर्नु र पलायन रोक्नु । पाँचौं, समतामूलक समाज निर्माणका लागि अर्थपूर्ण अभियानहरू छेड्नु ।
आपसमा अन्तर्सम्बन्धित यी सबै चुनौतीलाई सही ढंगबाट सामना गर्न आज मुलुकले तिनै बिरलाकोटीका व्यक्तिको नेतृत्व खोजिरहेको छ । त्यस्तो नेतृत्व राजनीतिमा मात्र होइन, समाजका अन्य पेशा, व्यवसाय र क्षेत्रहरूमा पनि उत्तिकै अपेक्षित छ । तर विडम्बना ! नेतृत्वको शीर्ष पंक्तिमा रहेकाहरू घरभित्र कुँडेको दूध घोप्ट्याएर दैलोमा म्याउँ गर्न आइपुग्ने धूर्त ‘बिरालाकोटी’का छन् । अनि आमजनता फेरि पनि उनीहरूमध्येबाटै नयाँ नेतृत्व चुन्ने पट्यारलाग्दो चुनावको संघारमा ।
भनिन्छ, प्रजातन्त्रको असली रूप कि अबोध बालकको जस्तो हुन्छ, नभए स्वेच्छाचारी दानवको जस्तो । हाम्रो लोकतन्त्र यतिबेला दोस्रो अवतारमा छ, जो लोककल्याणलाई लात मार्दै सीमित-व्यक्ति र दलीय स्वार्थ-समूहको चरणस्पर्शमै आल्हादित छ। २०४६ सालदेखि अहिलेसम्म आइपुग्दा हामीले हाम्रो प्रजातन्त्रको स्वरूप निकै विकृत बनाइसकेका छौं ।
लोकतन्त्रको साध्य समतामूलक समाज हो भने साधन विधिको शासन । सीमित व्यक्तिको लाभ र दलीय-स्वार्थसिद्धि हाम्रा साध्य बनेका छन् भने भ्रष्टाचार, भनसुन, मिलेमतो, तालमेल, गठबन्धन र आलोपालो पद्धति साधन । संवैधानिक सर्वोच्चता, न्यायिक निस्पक्षता, आवधिक निर्वाचन, संवैधानिक निकायहरूबीच नियन्त्रण र सन्तुलन, वाक्-वैयक्तिक स्वतन्त्रता, नागरिक-मौलिक अधिकारको रक्षा, जबाफदेहीता, पारदर्शिता र विपक्षी विचारको कदर लोकतन्त्रका न्यूनतम आधार हुन् । हाम्रो लोकतन्त्रमा यी सबै शब्द छन् तर व्यावहारिकताको कसीमा ती मृतप्रायः भइसकेका छन् ।
हामी अहिले जे अभ्यास गरिरहेका छौं, त्यो शब्दमा संवैधानिक सर्वोच्चता भए पनि व्यवहारमा दलीय-साँठगाँठको परिपाटी मात्र हो । राज्य सर्वसाधारणबाट कर कम, कमिसन ज्यादा असुलिरहेको छ । हामी लोकतन्त्रको आवरणमा ‘लुटतन्त्र’को अभ्यास गरिरहेका छौं जसको व्ययभार निमुखा र निरीह जनसाधारणका टाउकोमाथि चुलिंदो छ ।
राजनीतिक नेतृत्व मुलुक र मुलुकवासीप्रति यति बढी क्रूर र कृतघ्न भइदियो कि उसले आफू पनि यही मुलुकको बासिन्दा हुँ भन्नेसम्म पनि भुलिसकेको प्रतीत हुन्छ । एउटा सार्वभाैम मुलुकका नागरिकलाई आफ्नाे देशको नागरिकता नै विदेशीको इसारामा कुनै अमुक पदसँग साटफेर भएको आशंका हुनुभन्दा ठूलो आत्मग्लानी अरु के हुन सक्छ ?
हामीलाई राम्रै हेक्का छ, अदालतदेखि विश्वविद्यालयसम्म, संवैधानिक आयोगहरूदेखि राष्ट्रबैंकसम्म सबै सरकारी र अधिकांश गैरसरकारी क्षेत्रमा समेत राजनीतिक दलका पिछलग्गूहरूकै मात्र रगरगी र चकचकी जगजाहेर रहेका बेला राजनीतिक र व्यापारिक स्वार्थ बेगरको पत्रकारिता अभ्यास आफैंमा दुरुह छ । हुँदा हुँदा अधिकारकर्मी, नागरिक समाज, बुद्धिजीवी, प्रकाशक, पत्रकार र सम्पादकसमेत पार्टीको भएको यो मुलुकमा कुनै नेताको फेरो नसमात्ने वा कुनै न कुनै शक्तिको पछि नलाग्ने जो कोहीको उन्नति उत्तिकै कष्टकर छ । हामी त्यही कष्टकर यात्राको थालनी गर्न गइरहेका छौं ।
सारा दोष राजनीतिक नेतृत्वको थाप्लामा हालेर बाँकी सबै पानीमाथिको ओभानो बन्ने वा कुनामा बसेर टुलुटुलु हेरिरहने कुरा आफैंमा तर्कसम्मत हुन सक्दैन । न त राजनीतिक नेताहरू खराब भए भन्दैमा हामी लोकतन्त्रको विकल्प नै खोज्न सक्छौं । बदमासलाई बदमास नभन्नु वा भन्न नसक्नु नै आजको हाम्रो मुख्य कमजोरी हो, चाहे हामीले जतिसुकै वाकस्वतन्त्रता उपभोग गरिरहेका किन नहोऊँ । यो कमजोरीका पछाडि दुई मुख्य कारण छन्– या त हामीमा बदमासीविरुद्ध बोल्ने इच्छाशक्ति छैन, नभए आफैं पनि कहीँ न कतै बदमासीका हिस्सेदार छौं । यी दुवै अवस्था राष्ट्र र हामी (आम नागरिक) स्वयंका लागि उत्तिकै घातक छन् जति हामीले साेच्नसमेत सकिरहेका छैनौं ।
त्यसैले फेरि पनि सचेत नागरिक, बौद्धिक वर्ग र सञ्चार जगतको दायित्व भनेको आइन्स्टाइनले भनेजस्तै वैयक्तिक-स्वार्थ र सामाजिक परिवेशको पूर्वाग्रहबाट मुक्त वैचारिक हस्तक्षेप नै हो । ती सबै विचार नै हुन् जसले सही विचारलाई गलत र गलत विचारलाई पनि सही सावित गर्छन् । खराब विचारहरूलाई खराब हो भन्नका लागि पनि विचार व्यक्त नगरी धरै छैन । वैचारिक अभियान छेड्नुको विकल्प छैन । हामीले हाम्रो उपस्थितिलाई त्यही अभियानको एउटा झिल्काको रूपमा लिएका छौं । नेपालको राष्ट्रिय स्वाधीनता, आन्तरिक लोकतन्त्र, क्षेत्रीय तथा विश्व–भूराजनीति, आर्थिक आत्मनिर्भरता, पर्यावरणमैत्री विकास, जवाफदेही शासनपद्धति र समतामूलक समाज हाम्रा प्रमुख सरोकारका विषय हुन् ।
विचारको दुनियाँमा सबैभन्दा उत्कृष्टभन्दा पनि राम्रो विचार व्यक्त हुने सम्भावना जहिल्यै रहन्छ । र, कुनै पनि समाज यसकारण अधोगतितर्फ लाग्नबाट बचिरहेको हुन्छ, किनभने त्यहाँ सही विचारहरूको वर्चस्व कायमै हुन्छ । हामी त्यस्ता विचारलाई ‘सही’ मान्न सक्छौं, जसले व्यक्तिगत वा स्वार्थ समूहको साँघुरो वृत्तबाट माथि उठेर बृहत्तर जनकल्याणको अभीष्ट राखेको हुन्छ । तपाईंको अभीष्ट पनि यस्तै हो भने तपाईं हामीसँग जोडिन सक्नुहुनेछ– विचारको माध्यमबाट, सूचनाको माध्यमबाट, जनमत निर्माणको माध्यमबाट, प्रसारको माध्यमबाट वा अन्य जुनसुकै स्वार्थरहित सहयोगको माध्यमबाट । सँगसँगै बृहत्तर जनकल्याणको बाटोबाट पन्छिएर वैचारिक विचलनको बाटोमा जानबाट हामीलाई रोक्न तपाईंको खबरदारीको पनि उत्तिकै अपेक्षा गर्दछौं ।