हामी सबैलाई थाहै छ नेपाल भूकम्पिय जोखिमको क्षेत्रमा पर्छ । त्यसैले यहाँ मात्रै होइन संसारको जुनसुकै कुनामा पनि भुईचालो जाँदा हामी चनाखो हुनै पर्छ । जुनसुकै मुलुकमा गएका भूकम्पहरुबाट पाठ सिकेर आफूलाई पूर्वतयारीको अवस्थामा राख्नुपर्छ ।
दक्षिणपूर्वी टर्की र सीमावर्ती सिरियामा सोमवार बिहान गएका दुई शक्तिशाली भूकम्पका कारण हजारौँले ज्यान गुमाएका छन् । बिहीबारसम्ममा करिब २० हजारको मृत्यु भइसकेके छ भने अझ धेरै घाइते भएका छन्। मानवीय क्षति अनुमान गरेभन्दा धेरै गुणा बढी हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएको छ ।
नेपालमा २०७२ सालमा आएको विनाशकारी भूकम्प ७।८ म्याग्निट्यूडको थियो भने टर्कीमा अस्ति आएको पहिलो भूकम्प पनि ७.८ म्याग्निट्यूडकै हो । उत्रै भूकम्प भए पनि नेपालको तुलनामा टर्कीमा किन बढी क्षति भयो र? यो प्रश्न अहिले धेरैलाई लागिरहेको छ । सँगसँगै कतिले के पनि सोधेको पाइन्छ भने के टर्कीकोभन्दा नेपालका संरचना ज्यादा मजबुद हुन् र ?
टर्कीमा ज्यादा क्षति हुनुका केही खास खास कारण छन् । पहिलो हो यो भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १८ किलोमिटर मात्र मुनि थियो। त्यसैले भवनहरू र अन्य भौतिक संरचनामा ठूलो क्षति पुग्यो। अर्को कारण नेपालको तुलनामा टर्कीका संरचना धेरैजसो हाइ राइज छन् । अग्ला संरचनाहरु ढल्दा त्यहाँ रहेको जनघनत्व र क्षतिको मात्रा दुबै बढ्न गएको हो । अनि तेस्रो कारण यो भूकम्प बिहान सबेरै आएको थियो जतिबेला मानिसहरू सुतिरहेका थिए। परकम्पका रूपमा आएको दोस्रो भुइँचालो पनि लगभग उत्तिकै शक्तिशाली ७.५ म्याग्निट्यूडको थियो जुन पहिलो भूकम्पको केही घण्टापछि नै आएको थियो। त्यसले उध्दारको प्रयत्न हुन नपाउँदै थप विनास निम्त्याएको थियो ।
यी सबैको अर्थ के भने क्षतिको मात्रा सँधै कत्रो भूकम्प गयो भन्ने तथ्यमा मात्रै आधारित हुँदैन । तैपनि मुख्य कुरा प्रभावित क्षेत्रका संरचनाहरु कत्तिको बलिया छन् भन्नेले नै क्षतिको निर्धारण गर्दछ । विज्ञहरुलाई उध्दृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार दक्षिण टर्की र सिरियाका संरचनाहरु भूकम्प प्रतिरोधात्मक दृष्टिले निकै कमजोर रहेका थिए । अहिले भूकम्प गएका क्षेत्र यस्ता हुन् जुन भूकम्पिय जोखिममा त थिए तर त्यहाँ विगत लामो समयसम्म यति शक्तिशाली भूकम्प गएका थिएनन् । यहाँ विगत २०० वर्षयता ठूलो भूकम्प नआएकाले भूकम्पको पूर्वतयारी निकै कम थियो।
भूगर्भविद्हरुका अनुसार अहिले टर्कीमा अरेबियन प्लेट उत्तरतर्फ सरेर एनाटोलियन प्लेट थिचिएका कारण भूकम्प गएको हो। नेपालमा पनि जमिनमुनि पूर्वदेखि पश्चिमसम्मै इण्डियन प्लेटहरू उत्तरतर्फ सरिरहेका छन् जुन भूकम्पिय खतराको खास करण हो । विज्ञहरूका अनुसार नेपालमा अहिले पनि प्रत्येक दिन करिब एक दर्जन भूकम्प गइरहेका हुन्छन् । अधिकांश भूकम्प खासै शक्तिशाली नहुनाले हामीलाई थाहा हुँदैन ।
नेपालमा आठ सय वर्षमा ५० वटा ठूला भूकम्प गएको छ । त्यसमध्ये पछिल्लोपल्ट २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ म्याग्निट्यूडको भूकम्प सबैभन्दा विनाशकारी हो । विशेषज्ञहरुका अनुसार उक्त भूकम्पपछि परकम्पका रूपमा भूगर्भमा सञ्चित शक्ति बाहिर निस्किन खोजिरहे पनि त्यो पूर्णत निस्कासित हुन सकेको छैन । त्यस्तो शक्ति काठमाण्डाैँकाे जमिनमुनि आएर सञ्चित भएकोले जोखिम घटेको नभइ झनै बढेको छ ।
०७२ सालको भूकम्पपछि भूकम्पको शक्ति दक्षिणमा चुरे शृङ्खला सुरु हुनुभन्दा करिब सय किलोमिटर उत्तरतर्फ सञ्चित छ। अब त्यो कहिले कसरी र कुन मात्रामा निस्कन्छ कसैले भन्न सक्दैन । त्यसैले संकट टरेको हैन बढेको छ । यसबाट पार पाउने उपाय भनेको भौतिक तथा मानवीय जोखिम कम गर्न निर्माण कार्य सुदृढ गराउनु मात्र हो । टर्की र सिरियाको महाविनाशबाट हामीले सिक्नुपर्ने मुख्य पाठ पनि यही हो ।