चितवन– माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ । पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको सङ्ख्या घटेको हो ।
भरतपुर नागरिक उड्ययन कार्यालयका अनुसार माघ १ देखि भरतपुरबाट काठमाडौँ जाने र आउनेको सङ्ख्या घट्दै गएको हो । कार्यालयका निमित्त प्रमुख दीपक विकेका अनुसार पुस २८ मा दुई सय ६० जना, पुस २९ मा तीन सय २५ जना, पुस ३० मा दुई सय ६० जना भरतपुरबाट हवाई मार्ग हुँदै काठमाडौँ गएका थिए । माघ १ मा खराब मौसमका कारण उडान हुन सकेको थिएन ।
पोखरामा विमान दुर्घटना भएपछि माघ २ मा एक सय ९९ जना, माघ ३ मा एक सय ६८ जना र माघ ४ मा एक सय ८७ जनाले यहाँबाट हवाई यात्रा गरेका छन् । भरतपुर–काठमाडौँ रुटका साथै काठमाडौँ–भरतपुर रुटमा पनि हवाई यात्रुको सङ्ख्या घटेको छ । कार्यालयका अनुसार पुस २८ मा तीन सय २१ जना, पुस २९ मा तीन सय १९ जना र पुस ३० गते तीन सय १३ जना यात्रु काठमाडौँबाट भरतपुर आएका थिए । यस्तै माघ २ मा एक सय ३८ जना, माघ ३ मा एक सय ८२ जना र माघ ४ मा दुई सय सात जना हवाई मार्ग हुँदै काठमाडौँबाट चितवन आएका छन् ।
अहिले भरतपुर विमानस्थलबाट दैनिक ८ देखि १० वटा उडान हुँदै आएको छ । जस अन्तर्गत गुण एयरलाइन्सले काठमाडौँ–भरतपुर–काठमाडौँ र बुध्द एयरले भरतपुर–पोखरा–भरतपुर रुटमा दैनिक एक उडान र काठमाडौँ–भरतपुर–काठमाडौँ रुटमा दैनिक आठ वटा उडान गर्दै आएको छ ।
विकेले भरतपुर विमानस्थलमा हवाई सुरक्षामा कुनै खतरा नभएको भए पनि यात्रुमा मानसिक प्रभाव परेको हुनसक्ने बताउनुभयो । विमानस्थल आसपासमा रहेका भौतिक संरचना विमानस्थल अनुसारको मापदण्ड अनुसार नबनेकाले केही समस्या भएको उहाँले बताउनुभयो ।
भरतपुर विमानस्थलको धावनमार्गमा रहेका अप्ठ्याराका कारणसमेत यात्रुहरुलाई हवाई यात्रा असहज बनेको कार्यालयले जनाएको छ । धावनमार्ग वरपर दुई सय ५७ वटा घर मापदण्ड विपरीत बनेका छन् । अहिले विमानस्थलको धावनमार्ग एक हजार दुई सय मिटर छ । धावनमार्ग नजिक अग्ला घरका कारण विमानले पूरै धावनमार्ग प्रयोग गर्न नसक्ने अवस्था रहेको छ ।
यसैबीच यात्रुको चाप घटेपछि विमान कम्पनीले हवाई भाडासमेत घटाएका छन् । एकतर्फी भाडादर रु पाँच हजारसम्म रहेकोमा पछिल्ला दिनमा विमान कम्पनीले रु दुई हजार पाँच सय भाडा कायम गरेर अनलाइन टिकट बिक्री गरिरहेका
हवाई यातायातलाई सुरक्षित बनाउन माग
राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाली कांग्रेसका अनिता देवकोटाले पोखरामा यही माघ १ गते ७२ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै पुरानो जहाजलाई विस्थापित गरी नयाँ जहज सञ्चालनमा ल्याउनुपर्ने र नेपाली आकाशलाई सुरक्षित बनाउन सरकारसँग आग्रह गर्नुभयो ।
नेकपा (एमाले) का इन्दु कडरियाले सुरक्षित मानिएको हवाई यातायात दुर्घटना हुँदै जानुले हवाई सुरक्षाप्रति धेरै आशङ्का उब्जिएको हुनाले हवाई सुरक्षालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
स्वतन्त्र सांसद खिमलाल देवकोटाले नेपालमा इसाई धर्म मान्नेहरुले धर्म परिवर्तन गराउन लागिरहेको र गरिबी तथा बेजोगारीको फाइदा उठाउँदै धर्म प्रचार गरिरहेको हुनाले उक्त कार्य रोक्न सरकारलाई सुझाव दिनुभयो ।
नेकपा (एमाले) की दीलकुमारी थापाले पोखरामा विमानस्थल दुर्घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि छानविन समिति गठन भएको हुनाले जटिसक्दो छिटो प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै हालसम्म तारा यएरको विमान दुर्घटना छानबिन समिति प्रतिवेदन अझै सार्वजनिक नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सोही पार्टीेका नन्दा चपाईले वीर अस्पतालमा आन्द्राको ‘एमआरआई’ गर्ने मेसिन १५ वर्षदेखि सञ्चालनमा नआएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै जतिसक्दो छिटो त्यसलाई सञ्चालनका ल्याएर गरिब जनतालाई सेवा दिनुपर्ने बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का सुन्दरबहादुर विश्वकर्माले नेपालमा पछिल्लो समयमा आत्महत्या गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको जनाउँदै यस्ता घटना के कारणले बढ्दै गएको छ भन्नेबारेमा अध्ययन गर्न जरुरी भएको बताउनुभयो । रासस