काठमाडौँ– माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान पाेखरामा दुर्घटना भएर मृत्यु भएका पाइलट कमल केसीको अर्धकदको शालिक सहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका सबै ७२ जनाको शिलालेखमा नाम लेखिने भएको छ ।
कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो । स्व केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी हुनुहुन्थ्यो । गाउँपालिकाले उहाँलाई २०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो । केसी गाउँपालिकाको पहिलो पाइलट एवं प्रशिक्षक हुनुहुन्थ्यो ।
गाउँपालिका अध्यक्ष नवराज ओझाले पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताउनुभयो । मङ्गलबार बसेको गाउँ कार्यपालिका बैठकले केसीको शालिकसहित उद्यान निर्माण गर्ने, शिलालेखमा नाम समावेश गर्ने र स्थानीय पाठ्यपुस्तकमा केसीका बारेमा समावेश गराउने निर्णय गरेको हो ।
केसीले अमेरिकाबाट पाइलट कोर्स पढेर आउनुभएको थियो । उहाँले २०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेसाको सुरुआत गर्नुभएको हो । पछिल्लो समय केसी यती एयरलाइन्समा आबद्ध हुनुहुन्थ्यो । केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गर्नुभएको थियो ।
यही माघ १ गते काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो । दुर्घटनामा परेकाहरूमध्ये अझै एक जनाको शव प्राप्त हुनसकेको छैन ।

विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याएर परीक्षण गर्न थालिएको छ ।
नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौँ ल्याइएका शव केहीबेर अघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ ।
मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मङ्गलबार सकिएपछि आज बिहानैदेखि शव परीक्षण सुरु गरिएको सो अस्पतालले जनाएको छ । कतिपयको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा पहिचान गरेर परीक्षणपश्चात एकैपटक मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने बताइएको छ ।
चालकदलका सदस्यसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको बाँकी एक व्यक्ति अझै बेपत्ता रहेकाले खोजीकार्य जारी रहेको छ ।
दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ ।
पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौँमा परीक्षण हुनेछ । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजीकार्य भइरहेको बताउनुभयो । मङ्गलबार पनि दिनभर गोताखोर र ड्रोन प्रयोग गरेर शवको खोजी गरिएको थियो । सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटनास्थलभन्दा दुई किलोमिटर तल एउटा शव फेला परेको हो ।
“सोमबार शव खोज्दा हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएको थियो, त्यो दुई व्यक्तिको हो वा एउटैको हो, पत्ता लागाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो । ६८ यात्रुसहित चार चालकदलका सदस्य लिएर आइतबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज सेतीखोँचमा खसेको थियो ।