काठमाडौं– पुष्पकमल दाहाल नेतृत्वकाे सरकार मंगलबार विस्तार गरिएको छ । नवनियुक्त मन्त्रीहरुले मंगलबारै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
दाहाल नेतृत्वकाे मन्त्रीमण्डलमा १५ जना पहिलाेपल्ट मन्त्री बनेका छन् । राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्री भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देन २०७४ मा पहिलो पटक सांसद बनेका थिए। यसपल्पट उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराएर झापा-३ मा निर्वाचित भएका हुन्।
नेकपा एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भएका छन् । विमला परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बनेका छन् ।
नेकपा (एमाले) का तर्फबाट राष्ट्रिय सभा सदस्य रहेकी विमलाले २०३६ सालमै कम्युनिष्ट विद्यार्थी राजनीति सुरू गरेकी थिइन् । उनले २०५२ सालदेखि भने विभिन्न राष्ट्रिय,अन्तर्राष्ट्रिय परियोजनामा काम गर्दै आएकामा २०७० सालमा राष्ट्रिय योजना आयोगकी सदस्य भएकी थिइन् । २०७४ सालमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी हुन्। उनी नेपालको इतिहासमा परराष्ट्र मन्त्री हुने तेस्रो महिला हुन्।
स्वास्थ्य मन्त्री बनेका गिरी पर्वतबाट प्रत्यक्षतर्फ निर्वाचित नेकपा (एमाले) का सांसद हुन्। २०४७ सालदेखि राजनीतिमा आवद्ध भएका गिरी २०७४ मा पनि पर्वतबाटै सांसद चुनिएका थिए।
रक्षा मन्त्री बनेका उप्रेती एमाले केन्द्रीय सदस्यसमेत हुन् । यसपल्ट सर्लाही-३ बाट निर्वाचित उनी २०७० को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता निखिल उप्रेती उनका भाइ हुन्।
पुस ११ गते नै मन्त्रीको शपथ लिएका धनकुटाबाट निर्वाचित एमाले सांसद राईले भूमि सुधार मन्त्रालयको जिम्मेवारी पाएका छन्। राई २०७४ सालमा पनि धनकुटाबाट निर्वाचित भएका थिए।
माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका मोदी मोरङ-५ बाट निर्वाचित सांसद हुन्। उनी २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७० सालको निर्वाचनमा उनी समानुपातिक सांसद बनेका थिए। माओवादी जनयुद्धकै समयमा उनी माओवादी मोरङको विद्यार्थी संगठन अध्यक्षसमेत थिए।
राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । २०५३ सालमा नेपाल प्रहरीका महानिरीक्षक बनेका प्रधान २०५६ मा अवकाशपछि राजनीतिमा आएका थिए। उनी नवलपरासी पश्चिम-२ बाट निर्वाचित भएका हुन्।
राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् । सिंह मकवानपुर-१ बाट निर्वाचित सांसद हुन्। उनले नेकपा (एमाले) को चुनाव चिन्ह लिएर उम्मेदवार बनेका कमल थापा र कांग्रेसका डिना उपाध्यायलाई हराएका हुन्। गत वैशाखको चुनावमा उनी हेटौंडा उपमहानगरको मेयरमा पराजित भएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री मन्त्री नियुक्त भएका छन् । अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति पनि हुन्। धादिङ घर भएका उनी समानुपातिक तर्फबाट सांसद भएका थिए । रेमिट्यान्स व्यवसायी समेत रहेका अर्यालले केही समय जापानमा रहेर श्रम तथा रोजगारका क्षेत्रमा काम गरेका थिए।
शिक्षामन्त्री खनाल खनाल 'टिच फर नेपाल'का संस्थापक हुन् । उनी काठमाडौं ६ बाट निर्वाचित सांसद हुन्। सुरूमा स्वतन्त्र उम्मेदवारी दिएका उनले पछि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टी लिएका थिए। उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन्। ललितपुर-३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी ३३ वर्षीया कार्की मेडिकल काउन्सिलकी पूर्व सदस्य हुन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेकी उनी चिकित्सा शिक्षा सुधारका लागि डाक्टर गोविन्द केसीले गरेको सत्याग्रह अभियानमा सक्रिय थिइन्।
रास्वपाबाट अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भैसकेका छन् ।
यस्तै सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् । माओवादी केन्द्रका सांसद किरातीले भोजपुरबाट चुनाव जितेका हुन्। उनले प्रदेश १ का मुख्यमन्त्री भइसकेका एमाले नेता शेरधन राईलाई हराएका थिए । माओवादीबाट नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।
माओवादी केन्द्रीय सदस्यसमेत रहेकी पर्यटन राज्यमन्त्री श्रीपाली २०४६ देखि कम्युनिष्ट आन्दोलनमा लागेकी हुन्। २०५४ सालसम्म भारतमा रहेर माओवादी आन्दोलनमा सहभागी उनी २०५४ भदौदेखि नेपाल आएर माओवादी आन्दोलनमा क्रियाशील भइन् । हाल उनी समानुपातिक सांसद छिन् ।