काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट २ सय ६८ मतसहित विश्वासको मत पाएसँगै अब प्रतिनिधिसभामा दुई जना मात्रै खास विपक्षी सांसद रहने भएका छन् ।
प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा दाहालकाे पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विपक्षमा मतदान गरेका छन्। उनीहरुले छलफलकै क्रममा विपक्षमा मतदान दिने बताएका थिए।
बैठकमा पाँच जना सांसद अनुपस्थित थिए भने २ सय ७० सांसद उपस्थित थिए । सांसदहरू अम्बिका बस्नेत, किशोरसिंह राठौर र मनोरमा शेरचन सदनमा अनुपस्थित थिए । सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरा सभा सञ्चालनमा थिए भने फौजदारी अभियोग लागेका सांसद टेकबहादुर गुरुङ अनुपस्थित थिए ।
प्रधानमन्त्री दाहाललाई विश्वासकाे मत दिनेमा नेपाली कांगेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदसमेत छन् ।
संसदको सबभन्दा ठूलो दल कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि उसको प्रतिपक्षको भूमिकामा प्रश्न उठेको छ। विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने कुरा अराजनैतिक र संविधानको मर्मविपरीत भएकाे संविधानविदहरूले बताइरहेका छन् ।
नेपाली कांग्रेसबाटै राष्ट्रिय सभा सदस्य बनिसकेका बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले समेत विश्वासको मत सरकारलाई दिएको पार्टी सैद्धान्तिक रूपमा प्रतिपक्षी नहुने बताए ।
प्रतिपक्षी दलले सरकारलाई समर्थन गर्ने सिद्धान्त आफैँमा विराेधाभाष हाे ।