प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससमेतले प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारलाई समर्थन गरेपछि राजनीतिक वृत्तमा यसकाे विभिन्न अर्थ लगाउन सुरु भएको छ ।
सरकार गठन हुनुअघिसम्म याे संसदले कुनै सरकारै दिन नसक्ने हाे कि भन्नेसम्मका तर्क गर्नेहरु प्रधानमन्त्रीका रुपमा दाहालले २६८ मत सहित विश्वासकाे मत पाएपछि चकितप्राय छन् । विपक्षमा जम्मा दुई मत मात्र परेको छ । यसबाट मुलुककाे राजनीतिक परिदृश्य कतै छिट्टै बदलिलने त हाेइन भन्ने आशंका पनि उब्जिएकाे छ । मतदानका बेला संसदमा २७० जना उपस्थित थिए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार संसदमा भएभरकाले सरकारलाई समर्थन गर्नु डरलाग्दो दृश्य भएकाे बताए । कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको प्रति कटाक्ष गर्दै उनले नेपालमा विचित्रको दृश्य देखिएको बताएका हुन् ।
‘संसदीय व्यवस्थामा प्रतिपक्ष हुन्छ, मैले जानेको संसदीय व्यवस्था त त्यस्तो हो, नेपालमा त आज विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने, सरकारलाई समर्थन गर्ने, यहाँभन्दा हाइसञ्चो सत्तापक्षमा बस्नलाई के हुन्छ ?’ प्रतिनिधिसभा बैठकमा उनले भने ।
अध्यक्ष केसीले भनेजस्तै संसदमा शक्तिशाली प्रतिपक्ष नहुँदा सरकार निरंकुश हुने जाेखिम एकातिर छ भने त्याेभन्दा पनि ठूलाे जाेखिम भाेलिका दिनमा अहिलेकाे सत्ता गठबन्धनमा कुनै खटपट भए वा आलाेपालाेकाे सहमति कार्यान्वनयमा कुनै समस्या उब्जिएर सत्तारुढ गठबन्धन टुटे पनि सरकार टिकिरहन सक्ने अवस्था तयार भएको छ । सरकारकाे स्थायित्वका दृष्टिले यसलाई सकारात्मक मान्न सकिए पनि गठवन्धनलाई बीचमै अपहरण गर्ने पछिल्लाे अभ्यासलाई यसले थप मलजल गर्ने संभावना प्रवल छ ।
यही अवस्थालाई उपयाेग गर्दै माओवाेदी केन्द्रका अध्यक्ष दाहाललाई लिएर अहिले एमाले अध्यक्ष केपी ओलीले खेलेकाे खेल भाेलि आफूले खेल्न सकिने अपेक्षाका साथ कांग्रेसले दाहाललाई समर्थन दिने निर्णय गरेको हाे ।
‘बलियो शक्तिशाली प्रतिपक्ष भएन भने त्यो सरकार निरंकुश हुन्छ, त्यसले जे मन लाग्यो उही गर्छ । सबै साथीहरुलाई सरकारमा सामेल भएर विगतमा भएका आफ्नो गल्ती कमजोरी ढाक्ने, त्यहीं भित्र लडामती गरेर एउटालाई पन्छाउने अर्को फेरि सरकारमा आउने ताल त होइन यो ?’ उनले भने ।
सरकारलाई समर्थन दिएको दलले समर्थन फिर्ता लिंदा पनि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाको स्मरण गर्दै उनले कांग्रेसले अहिले समर्थन दिएर पछि सरकारलाई अप्ठेरो पार्ने रणनीति हुनसक्ने आशंका गरे ।
‘दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न त पाइँदैन संसदमा तर दिएको समर्थन थुत्न त संविधानले छेक्दैन नि’ अध्यक्ष केसीले प्रश्न गरे, ‘त्यस्तो बेला सरकारको हालत के हुन्छ ? त्यही खेलभित्र यो (समर्थन) त होइन कतै ?’
त्यही खेल हुने आशंकाले पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र केपी शर्मा ओलीको जुहारी परेको पनि अध्यक्ष केसीले बताए ।
चुनावमा भएको खर्च उठाउन पनि दलहरु सरकारमा जान लालायित भएको हुनसक्ने उनले बताए । ‘बोरामा पैसा लिएर चुनाव जितेर आएकाले सरकारमा नगई, देशको प्राकृतिक साधन स्रोत दोहन नगरी चुनावमा उडाएको खर्च उठ्छ ?’ उनले भने, ‘त्यही डरले र विगतमा भएका कमी–कमजोरीबाट बच्न पनि सबै एक ठाउँमा भएका त होइनन् ?’ केसीले आफूहरु भने एक्लै भए पनि प्रतिपक्षमा बस्ने बताए ।
यसअघि नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेअनुसार आफ्नो पार्टीले विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्ने बताएका थिए ।
तर देउवाले यसाे भनेपनि भर्खरै आफूलाई धाेका दिएर ओलीकाे पहलमा प्रधानमन्त्री भएका दाहालको समर्थनमा कांग्रेस लाग्नुकाे निहीतार्थ यति मात्रै हाेइन भन्ने बुझ्न कुनै गाह्राे छैन ।
‘सरकारलाई सदनकाप्रति र सदनलाई जनताकाप्रति पूर्णरुपले जवाफदेही बनाउनका लागि संसद्मा एक जिम्मेवार र सशक्त विपक्षी दलको उपस्थिति आवश्यक हुन्छ । प्रभावकारी विपक्षीको अभावमा सरकार निरकुङ्श हुन जाने, स्वच्छेचारी नीति कानुन बन्न सक्ने, सत्ता पक्ष आफ्नो कर्तव्यबाट बिमुख हुने, शक्ति पृथकीकरण र सन्तुलन कमजोर हुने सम्भावना रहन्छ’ देउवाले भने ।
उपरोक्त सबै विषयलाई गम्भीरतापूर्वक दृष्टिगत गरी कांग्रेसले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा सहभागी नहुने र सङ्घीय संसद्मा प्रमुख विपक्षी दलका रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको उनले जनाए ।
आफू प्रतिपक्षमा रहँदा विरोधका लागि विरोध वा समर्थनका लागि समर्थन गर्ने छैनौँ भन्दै देउवाले सरकारका काम कारबाहीहरुको सूक्ष्म रुपले मूल्याङ्कन गरी गुण र दोषका आधारमा विश्लेषण गरेर आफ्नो धारणा बनाउने बताएका थिए ।