राष्ट्र निर्माता,
कोटी कोटी नमस्कार ।
स्वर्गमा आसीन श्रद्धेय राष्ट्र निर्मातालाई म पृथ्वीबाट आजको दिनमा यो पत्र लेख्दैछु ।
उप्रान्त । यो राजे दुई ढुंगाको तरुल जस्तो रहेछ ।
तरुल हेर्न राम्रो । फोटो खिच्न झन् राम्रो । अध्ययन अनुसन्धान गरेर कहिल्यै नसकिने । भोजनलाई उत्कृष्ट र पौष्टिक आहार । बैद्यलाई रामबाण ओखती ।
तल तरुल । माथि हरियो बुट्टादार झाङ्ग । कलात्मक लयको छहारी । दुई ढुंगालाई शीतल र शोभा प्रदान गर्ने हरियाली । शुद्ध पानी र प्राणवायुको भण्डार ।
दुई ढुंगाबीचको जमिन उसै मूल्यवान् । उर्बर उस्तै । मूल्यवान् जडिबुटीको खानी ।
तरुलको परिभाषा कति बहुआयामिक । बन तरुल, गिठ्ठा, भ्याकुरको जडिबुटी उपादेयता वुझिजानी नसक्नु छ । रातदिन पैदल यात्रा गरेर थकित उनै राजाका आहार । तरुलको महत्त्व र महिमा कि उनै राजा जानून् । कि उहिलेका बैद्यहरूले भेउ पाउन् । आधुनिक पिंढीले माघे संक्रान्तिमा बजैले पस्किदिएको टुक्रा घरतरुल बाहेक के नै देख्ने हुन् र ?
तरुललाई दुई ढुंगाबीचको हिरा, रत्न, मणि भनेर अर्थ्याइदिएनन् पछिका पिंढीले । अर्थाइदिएको दिएको भए हामी दुर्लभ मणिका मालिक भन्ने गौरवबोध हुने थियो आम जनतालाई ।
तरुल होस् कि मणि, दुनियाको आँखा लाग्ने छ । भोक जाग्ने छ र लुट्नलाई धावा बोल्ने छ । तसर्थ, हमेसा सचेत, सावधान, सतर्क र पूर्ण तयारीका साथ बस्न दिएको दिब्य उपदेश बुझेर पनि हामीले बुझ पचायौं । टेरेनौं, मानेनौं । अझ उल्टो बाटो हिड्यौं ।
तरुल खन्दा झिक्दा बिशाल दुई ढुंगालाई घाउचोट नलागोस्, ढुंगा नहल्लियोस्, न नडगमगावस् । ती पत्थरलाई आ–आफ्ना ठाउँमा जस्ताको तस्तै राख्नु र तरुलको रक्षा, सम्मान, कल्याण गर्नु भन्नै गुह्य उपदेशलाई बुझ्न नसक्नु हाम्रो महाभूल भयो ।
पछिल्लो चरणमा हामी अति जान्ने सुन्ने उपबुज्रुक भयौं । भुत खेलाउने धामी झाँक्री भयौं । गल लगाएर ढुंगा चलाउने, खेलाउने, पल्टाउने बेच्ने भयौं । उत्खननका माष्टर हुने कुचेष्टा गर्यौं ।
फलस्वरुप दुवै ढुंगा डगमगाए । घोच्ने, रोप्ने, ठोक्ने तीखा र धारिला पत्थर भए । घरिघरि सरिरहँदा सिङ्गो नेपाल खुंडे भईसक्यो । ठूला दुषले आर्ज्याको सुन्दर शान्त विशाल मुलुक आज विभाजन, विग्रह, विखण्डन भएर सबैभन्दा कमजोर भयो ।
राष्ट्र निर्माता,
हामी जस्तो अधर्मी, लोभि, पापि, कुलांघार, स्वार्थी अरु कोही छैन होला यो दुनियामा । हामी हजार मृत्युदण्दका भागेदार छौं । सक्नेभए झुुण्ड्याईदिनू हामीलाई ।
चीन बादसाहसित ठूलो घाहा राषनु । दषीनको बादसाहसित घाहा त राषनु तर महाचतुर छ । एकदिन त्यो बल आउन्या छ । जाई कटक नगर्नु, झिकी कटक् गर्नु र चुरेमा षुपै काटिन्या छ ।
कति दूरदर्शी अर्ति । महाचतुर दक्षिणले धावा बोलेको बोल्यै छ । ७ सालमा प्रजातन्त्रको भेषमा । ४६ सालमा लोकतन्त्र र ६३ सालमा गणतन्त्रको भेषमा । कांग्रेस, कम्युनिष्टहरू उत्तर दक्षिणका शिक्षा दीक्षा नुन खाएका क्षेप्यास्त्रहरू हुन् । ढिलो चाँडो नेपाललाई धुजाधुजा बनाउने र अर्काको अधीनस्थ तुल्याईदिने । अरुको अधीनस्थ बनाउनु अगाडि राष्ट्रिय ढुकुटी सुख्खासाप् बनाउने ।
ती मिसनरी क्षेप्यास्त्रहरूको प्रतिस्पर्धा भनेको ढुकुटीमा हात लगाउने र आफ्ना दरसन्तानलाई युगयुग पुग्ने गरी दौलत संग्रह गरिदिनु हो । राजा महेन्द्रको काउण्टर क्षेप्यास्त्रले मात्र त्यो मिसनमा ढिलासुस्ती भएको हो । स्वदेशी दरबार अधिनस्थ गरी सबैले सामूहिक रूपमा घुँडा टेकी दिल्ली दरबारलाई १२ बुँदे मार्फत स्वीकार गरिसकेपछि राष्ट्र निर्माताको नेपालको आयु लामो छैन । परराष्ट्र सम्बन्धको चङ्गाको धागो हामी आफैले काटिसकेका छौं । देश अहिले चंङ्गा चैट्को अवस्थामा छ । अन्तर्राष्ट्रिय माया, विश्वास, भरोसाको धागो चुडिएको छ ।
योग्य अन्तपालले देशको उन्नति गर्छन् ।
निसास्त्र बमोजिम अदालथ चलाउनु ।
अन्याय हुन नदिनु ।
घुस्याहालाई ठोक्नु ।
लोकतन्त्र र गणतन्त्रले राज्यका सम्पूर्ण संयन्त्र निकम्मा र ध्वस्त पार्ने गरी सर्वत्र राजनीतिक ग्रहण लगाईदिएको छ । सर्बोच्च अदालतको गरिमा धुलिसात् पारिएको छ । सेनालाई चतुर प्रधानसेनापतिले बाल् बाल् बचाईदिए । कर्मचारीतन्त्र, प्रहरी प्रशासन, न्याय क्षेत्र, शिक्षा स्वास्थ्य र प्राविधिक क्षेत्र, एनजिओ/आईएनजिओ राजनीतिक दलका भर्ती केन्द्र र झोले बनाईए ।
परोपकारी पवित्र संस्था रेडक्रसलाई समेत राजनीतिले शोषण गर्न छाडेन । योग्यहरूलाई अयोग्य, अनविज्ञ, खातेहरूले पाखा लगाए । कानूनी राज्य र विधिको शासन राजनीतिक दलका नेता र दुई चार ठूला बडालाई मात्र भयो । बाँकीलाई दुःख, हैरानी, अन्याय र कुशासनको भारि । बोक्न नसक्ने बिदेशी ऋणको भारि ।
घुस्याहा यहाँ संधै संरक्षित र पुरस्कृत भए । हजारको घुुस लाख र करोड हुँदै अर्बमा पुगेको छ । अर्ब घुस लिने दिने देशको कथा कुन मुखले सुनाउनु राष्ट्र निर्मातालाई ? सत्य यही हो, हामी कसरी माफी मागौं राष्ट्र निर्माता ।
गाउँ हटाएर पनि खानि चलाउनू ।
घर हटाएर पनि खेत बनाउनु ।
एक घरको एउटा गाउँ । बत्ती, बाटो, पानी, स्कूल, अस्पताल माग गर्ने नेता र डनको त्यो गाउँ । पुर्याईदिनै पर्यो । व्यवस्थित वस्तीको योजना र कार्यक्रम मिसनरी शासकहरूको दिमागमा चढेन । मार्बल खानी, रुबी खानी, चुनढुंगा खानी, ढुंगा खानी, गिट्टी बालुवा खानी, यार्चागुम्बा खानी राज्यका अधीनमा रहेनन् । करको दायरामा ल्याईएनन् । खोला नाला, हिटी, कुलो पानी, नहर, मासेर बेचेर मुलुक निरस भएको छ । दलले उद्योग बेचेर खाएका छन् । आत्मनिर्भरताको जग भत्काईसकेका छन् । तराईं, वेसी, फाँट, धानखेतमा प्लटिङ्ग र कुरुप सहर निर्माण भएका छन् । उपदेश पोलेर खानाले हामी झन् झन् ऋण र गरिबीको खाल्डोमा भास्सिरहेका छौं ।
अब कसरी माफी मागौं राष्ट्र निर्माता ?
सर्वत्र विभेद र विभाजनको रेखा कोरिएको छ । विश्वलाई आकर्षक गर्ने र ओईरो लागेर हेर्न आउने एक मात्र हिन्दू अधिराज्यको पहिचान र ताजलाई ढलमा फ्याँकिएको छ । ईयुको बादशाहको रचना र योजना । मिसिनरी हामी राष्ट्रघाती आफैं । नुनको सोझो नगर्नेहरू । तराई र नदी हुँदै चरणचरणमा अधिनस्थ गर्न मुलुकलाई महङ्गो, अनावश्यक अफापसिद्ध संघियता लादेको छ बादशाहले । हामी मिसिनरीको बलमा ।
कूल धर्म छाडेर होली वाईनको खोलो बगायौं । हिन्दू धर्मलाई रातारात अरु धर्मले विस्थापित गरायौं । कम्युनिष्ट मिसनरीहरूको रङ्ग फेर्ने र दुई जिब्रे नाटक हेरिनसक्नु लज्जास्पद छ । हिन्दू धर्म उडाउने मुख्य मिसनरी र नाईके उनीहरू नै भए । दुर्भाग्य, ८० प्रतिशत जनमतको बर्खीलाप मुलुकलाई धर्मनिरपेक्ष भनेर घात गरियो ।
धर्मसँगै मिसिनरीहरूको नैतिकता, सिद्धान्त, आदर्श, दर्शन, राष्ट्रियता, मानवता, अनुशासन, स्वाभिमान र विवेक खुईलिएर, हराएर, मरेर गयो । मुलुक अहिले अपराधीहरूको अखडा भएको छ । चारै बादशाहका जासुसहरूको रङ्गशाला भएको छ । मिसिनरीहरू चारै बादशाह रिझाउन, रत्याउन र मताउन मस्तराम छन् । सत्य तितो हुन्छ । कोक्याउँछ पनि ।
राष्ट्र निर्माता, उपदेशलाई पोलेर खाएको तितो सत्य धरोधर्म यही हो । हामी एक दुई तीन माफी माग्न लायक छैनौं । माफी जरुरी छैन । कसरी दिनु माफ ?
राष्ट्र निर्माता, हिजो जति गाली बेइज्जती गरेपनि, छीःछीः दूरदूर गरेपनि हजूरको महत्व र महिमा बुझ्ने गाउनेको संख्या आज बढ्दो छ । दिव्योपदेश अध्ययन, मनन र आत्मसात गर्नेहरूको संख्या बढ्दो छ । पुराना पाका मिसिनरीहरूले देश र जनतालाई जति डुबाएपनि, जति कंगाल तुल्याए पनि वर्तमान युवा र भावी पिंढीले सत्य स्वीकार्नेवाला छ । दिब्योपदेश शिरोपर गर्नेवाला छ । त्यो छन्द र सुरुवात प्रारम्भ भैसकेको छ ।
नेपालसँगै एकीकरण भएका मुलुकहरूले आज ३ सय बर्षको यात्रा गरिसके । शान्ति र समृद्धिको सफलता चुमिसके । दुर्भाग्य ! हामी ३ सय बर्ष पछाडि फर्केर ती महानवाणी र दिव्योपदेश अब आईन्दा अक्षरशः पालना गर्ने जमर्को गर्दैछौं । सोझो अर्थमा हामी समृद्ध, सम्पन्न, सभ्य सहरका राज्यभन्दा ३ सय बर्ष पछाडिछौं । अनि कसरी हामी माफी माग्न र दिन लायक भयौं ?
राष्ट्र निर्माता, दुई दिन अगाडि जसले सालिक तोडे फोडे हटाए तिनैले नेपाली पोसाकमा सजिएर पृथ्वी जयन्तीमा छुट्टी मनाउने निर्णय गरे । सत्ताले हाम्रो एकता भाँड्ने, किन्ने, हर्ने बादशाहलाई पनि चिनेजस्तो छ । यो महिना सत्ताले वादशाहलाई पटक्कै टेरेन । आशा गरौं यी र भावी शासकहरूले सारा नेपालीलाई राष्ट्रिय एकताको मालामा उन्नेछन् । राष्ट्रिय एकतालाई अन्तिम अवसर । अनि, ती दिव्योपदेशलाई अक्षरशः पालना गरेर आत्मनिर्भर, समृद्ध, शान्त, खुशी र सुखी नेपाल निर्माण गर्ने छन् ।
जय राष्ट्र निर्माता ।
राष्ट्र निर्माताको अनन्य भक्त