काठमाडौँ– आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । तराई मधेशमा भने निरन्तर बाक्लो हुस्सु लाग्नेछ। केही दिनदेखि भएको शीतलहर र हुस्सुका कारण बढेको चिसोले तराईको जनजीवन प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरै स्थानमा साताभरि नै बदली हुने छ । हिमाली भू–भागमा साताको सुरूमा सामान्यदेखि पूर्ण बदली तथा पहाडी भू–भागमा साताको सुरू र मध्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको बताइएको छ ।
हिमाली भू–भागमा साताको सुरू र मध्यमा केही स्थानमा हल्का वर्षा/हिमपातको समेत सम्भावना रहेको छ । प्रदेश नं १ को पहाडी भू–भागमा साताको सुरुआतमा छिटपुट वर्षाको सम्भावना छ । देशभर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने तथा तराई भू–भागमा साताका अधिकांश दिनमा बिहान र राति हुस्सु–कुहिरो लाग्ने सम्भावना छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।
महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव दुई डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस दुई दशमलव एक डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस छ । रासस