काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने गरी एमाले–माओवादीलगायतकाे नयाँ गठबन्धन बनेसँगै अब केन्द्रमा मात्र नभई सातै प्रदेशमा समेत नयाँ गठबन्धनबाटै सरकार बन्ने देखिएकाे छ । यसले गर्दा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेस संघदेखि सबै प्रदेशहरुसम्मै प्रतिपक्षमा रहने भएकाे छ ।
कांग्रेसका साथै नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलले गठबन्धन गर्दा केन्द्रसहित सातै प्रदेशमा नयाँ गठबन्धनकै सरकार बन्ने स्थिति पैदा भएकाे हाे ।
केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसद समेत गरी १६९ सांसदको गठबन्धन बनेसँगै आज दाहाल प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।
९३ सदस्यीय प्रदेशसभा रहेकाे प्रदेश १ मा एमाले नै पहिलो दल छ जहाँ सरकार बनाउन ४७ सदस्य भए पुग्छ । यहाँ एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी नयाँ गठबन्धनकाे ६० सीट पुग्छ ।
१०७ सदस्यीय मधेश प्रदेशमा प्रदेश सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ जहाँ एमालेका २३, माओवादी केन्द्रका ८, जसपाका १६, जनमतका १३, राप्रपाका १ र नागरिक उन्मुक्ति पार्टीका १ गरी ६२ सिट याे गठबन्धनसित हुनेछ ।
११० सदस्यीय वाग्मती प्रदेशमा सरकार बनाउन ५६ सदस्य चाहिन्छन् जहाँ एमालेका २७, माओवादीका २१ र राप्रपाका १३ गरी ६१ सदस्य अहिलेको गठबन्धनमा हुनेछन् ।
६० सदस्यीय प्रदेशसभा रहेकाे गण्डकी प्रदेशमा सरकार बनाउन ३१ सदस्य आवश्यक पर्छ जहाँ एमालेका एमालेका २२, माओवादीका ७, राप्रपाका २ गरी ३१ नै सदस्य हुनेछन् ।
८७ सदस्यीय प्रदेशसभा रहेकाे लुम्बिनीमा सरकार गठन गर्न ४४ सांसद चाहिन्छन् जहाँ एमालेबाट २९, माओवादी केन्द्रबाट ९, जसपाबाट ३, राप्रपाबाट ४, जनमतले ३, उन्मुक्तिले ४ गरी ५२ सांसद नयाँ गठबन्धनमा हुनेछन् ।
४० सदस्यीय प्रदेशसभा रहेकाे कर्णाली प्रदेशमा सरकार बनाउन २१ सांसदको समर्थन चाहिन्छ जहाँ माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १ गरी नवगठित गठबन्धनको २४ सांसद हुनेछन् ।
५३ सदस्यीय प्रदेशसभा रहेकाे सूदुरपश्चिम प्रदेशमा सरकार गठनकालागि २७ सांसदको समर्थन पर्नेमा यहाँ माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ सांसद गठबन्धन दलबाट हुनेछन्।