“एक दशकपछिको नेपाल निःसन्देह आशावादी छ । यो मुलुक अहिलेभन्दा धेरै समृद्धशाली र गौरवशाली हुनेछ । जनताको भागमा पर्ने सुखको मात्रा र सुखानुभूति गर्ने आमजनताको सङ्ख्यामा बढोत्तरी हुनेछ”, अर्थशास्त्री प्राडा अच्युत वाग्लेले भन्नुभयो ।
‘बुकवर्म फाउन्डेसन’द्वारा पोखराको बाराहीघाटमा आयोजित साहित्य महोत्सवमा ‘नेपाल २०९०’ माथि विद्वत प्रवचन दिँदै उहाँले नेपालका लागि आउँदो दशक कति महत्वपूर्ण छ र त्यसले के–कस्ता सम्भावनाको ढोका उघार्ला भन्नेबारे विषद विश्लेषण सुनाउनुभयो ।
नेपालका सम्भावना, सीमा र कमजोरीमाथि खरो मन्थन गर्नुभएका वाग्लेले उक्त अवधिमा मुलुकको शासकीय बागडोर दूरदृष्टियुक्त, सुपठित, योग्य र व्यवस्थापकीय सक्रियता भएका राजनेताहरुको हातमा पर्ने बताउनुभयो ।
दस वर्ष भित्रमा नेपालको जनसङ्ख्या सवा तीन करोड पुग्ने र मुलुक जनसाङ्ख्यिक लाभको उत्कर्षमा पुग्ने उहाँको आङ्कलन छ । अर्थशास्त्री वाग्लेले ठूला जलविद्युत् आयोजनादेखि रेलमार्गसम्मका परियोजना यही दशकमा पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
“नेपालको आफ्नै बिजुलीले अब द्रुत औद्योगिकीकरण, व्यवस्थित र गुणस्तरीय नागरिक जीवनयापनमा योगदान दिनेछ”, उहाँले भन्नुभयो, “अहिले चर्चामा रहेका रक्सौल–काठमाडौ“, रसुवागढी–काठमाडौ“ अथवा मेचीदेखि महाकालीसम्मको कुनै महत्वपूर्ण खण्डमध्ये कतै न कतै उल्लेख्य लामो दूरीको रेल गुडेको देख्न पक्कै पाइनेछ ।”
तराईलाई काठमाडौँ जोड्ने द्रुतमार्ग, पोखरामा सञ्चालनको तयारीमा रहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायत राष्ट्रिय गौरवका आयोजना नेपालको समृद्धिको यात्राका कोसेढुङ्गा साबित हुने वाग्लेले उल्लेख गर्नुभयो । शिक्षा, स्वास्थ्य र दैनिक उपभोगका सामान उत्पादनमा मुलुक आत्मनिर्भर बन्ने बाटोमा अगाडि बढेको देख्न पाइनेमा उहाँ आशावादी बन्नुभयो ।
विकास र प्रगतिको अहिलेकै सुस्त गतिले औसत कोटीका विकसित मुलुकको हाराहारीमा नेपाललाई उभ्याउन नसकिने भन्दै वाग्लेले नेपाल दोहोरो गतिमा दौडिनुपर्ने धारणा राख्नुभयो । उहाँले अबको दस वर्षमा चाहेजस्तै गरी प्रगतिको बाटोमा देशलाई डोर्याउन कर्म, व्यवस्थित एवं लक्ष्य केन्द्रित अवधारणा र योजनाहरु अपरिहार्य रहेको बताउनुभयो ।
काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार प्राडा वाग्लेले आफ्नो प्रवचनलाई दस बुँदामा समेट्नुभएको थियो । सभ्यता र नेपालको अवधारणा, शासकीय प्रणालीको स्वामित्व, सुशासन, समानता र समन्यायिकता, शिक्षा, स्वास्थ्य र सेवा प्रवाह, सांसरिक दृष्टि–राष्ट्रिय सोच, सहरीकरण र पूर्वाधार, समृद्धिको आकाङ्क्षा, साहित्य कला र भाषा, सामाजिक सहसम्बन्धन र सहक्रिया, सपना र सम्भावनाहरु उहाँको प्रवचनका मूल विषय थिए ।
अर्थशास्त्री वाग्लेले मुलुकलाई आर्थिक समृद्धि र नागरिक सन्तुष्टिको बाटोमा हिँडाउन नेपालीपनको पहिचान र त्यसको प्रवद्र्धनको खाँचो रहेको औँल्याउनुभयो । उहाँले सतही विकासे गफले मात्र मुलुकको नियति नफेरिने भन्दै सभ्यता, समाज र आधुनिक राष्ट्रका रुपमा नेपालको अस्तित्व र राष्ट्रिय मूल्य प्रणाली विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपालको सभ्यता बृहत् भारतवर्षीय सभ्यताको विस्तारित रुप नभई भातरवर्षको सभ्यताको मुहान र स्रोत नेपाल र यसको सेरोफरो हुनसक्ने सम्भावनाबारे खोज र प्रमाणीकरण गरिनुपर्ने उहाँको भनाइ थियो । अर्थशास्त्री वाग्लेले सभ्यताको खोजलाई वैज्ञानिक बनाउनुको सट्टा कर्मकाण्डी र सतही तर्कमा आधारित बनाउँदै लगिएको धारणा राख्नुभयो ।
उहाँले सभ्यतासापेक्ष विकास प्रणालीले मात्र आर्थिक समृद्धि, जनतामा सन्तुष्टि र राष्ट्रको दिगो अस्तित्व दिने बताउनुभयो । आफ्नो सभ्यताप्रति निरपेक्ष बन्ने र नेपालसँग जोडिएको आफ्नो पहिचानलाई गर्व गर्न नसक्ने र सकेसम्म छिटो देश छोड्ने प्रवृत्तिले समाज आक्रान्त बनेको वाग्लेले बताउनुभयो ।
राजनीतिलाई जनमुखी बनाउने त्याग, चरित्र, इमान्दारी, योग्यता र भविष्यदृष्टि जस्ता मुद्दा किनारामा परेको उल्लेख गर्दै उहाँले राजनीतिमा सत्ता, संसद्को अङ्कगणित र लाभका पदको छिनाझपटीले स्थान लिइरहेको उल्लेख गर्नुभयो ।
कुशासनको दोष पात्रले लिन नचाहने र त्यो दोष प्रणालीमाथि थोपर्ने प्रचलनले मुलुक सधैँ राजनीतिक परीक्षणको प्रयोगशाला मात्र भएको उहाँको ठम्याइ छ । आफ्नै प्रतिबद्धता र योजनाप्रति इमान्दार नहुने पात्रहरुको प्रवृत्तिमा समूल सुधार नआई आर्थिक सामाजिक रुपान्तरण सम्भव वाग्लेले बताउनुभयो ।
योग्यहरुको सट्टा अयोग्य र विषयज्ञान शून्य भएकाहरुलाई पदहरु पुरस्कार दिने विकृति राजनीतिमा मात्र नभएर कर्मचारीतन्त्र, शिक्षण–प्राध्यापन, आमसञ्चार पेसासम्म फैलिएको उहाँको बुझाइ छ । असङ्गत र आडम्वरपूर्ण सामाजिक व्यवहार गर्नेहरुको अग्रपङ्क्तिमा सेचत, शिक्षित र समाजका अगुवाहरु नै बढी देखिने गरेको वाग्लेले बताउनुभयो । उहाँले नेपाललाई उच्च शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रीय आकर्षक गन्तव्य बनाउन सके पर्यटनभन्दा बढी लाभ त्यसले दिने उल्लेख गर्नुभयो ।
मुलुकको आर्थिक कूटनीति असफल हुँदा विदेशी सहायता र लगानी घट्ने तथा व्यापार घाटा थेग्नै नसकिने गरी चुलिने उहाँले बताउनभयो । “राष्ट्रिय स्वाभिमान र अस्तित्वको मुख्य आधार सार्वभौमसत्ता हो, तर पूर्ण आर्थिक परनिर्भरतामा चल्ने मुलुकको सार्वभौमसत्ताको अभ्यास सधँै खण्डित र सम्झौता परस्त रहन्छ”, वाग्लेले भन्नुभयो ।
अहिलेकै स्थितिमा राष्ट्रसङ्घले परिलक्षित गरेको दिगो विकास लक्ष्य पूरा गर्न नेपाललाई चुनौती रहेको भन्दै यातायात, सञ्चार, ऊर्जा र जनसुविधाका पूर्वाधार निर्माणमा प्राथमिकता तय र स्रोत व्यवस्थापनको दीर्घकालीन रणनीतिक बनाउनुपर्ने उहाँले बताउनुभयो ।
न्यून उत्पादकत्व, नगण्य मात्राको रोजगारी, युवा र पूँजीको पलायन तथा परनिर्भर अर्थतन्त्र मुलुकको समृद्धिको बाधक रहेको उल्लेख गर्दै वाग्लेले उद्यमशीलता–प्रेरक शिक्षाको आवश्यकता औँल्याउनुभयो । “हाम्रो परम्परागत कृषिलाई सीप, प्रविधि र बजारसँग जोड्ने हो भने उत्पादकत्व र रोजगारीका अवसर सिर्जना हुन्छ”, उहाँले भन्नुभयो ।
सङ्घीय प्रणालीमा विकासका लागि प्रादेशिक र त्यसभन्दा पनि बढी स्थानीय सरकारहरूको भूमिका महत्वपूर्ण हुने वाग्लेले बताउनुभयो । नेपाली भाषा दैनिक जीवन निर्वाहका ‘सञ्चै छ ?’, ‘भात खानुभयो ?’ जस्ता संवादमा खुम्चँदै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले ‘अङ्ग्रेजी नजान्ने र नेपाली नआउने’ कुनै पनि भाषाको पोख्त सीप नभएको पुस्ता अस्तित्वमा आएको बताउनुभयो ।
नेपाली भाषा र साहित्य अस्तित्वको चरम सङ्कटबाट गुज्रेको भन्दै उहाँले नेपालको शिक्षा प्रणालीले उत्पादन गरेको पठित भनिने वर्तमान पुस्ता नेपाली भाषामा बौद्धिक अभिव्यञ्जना गर्न सक्षम नरहेको धारणा राख्नुभयो ।
नेपालको सभ्यताको गौरव र पहिचान स्थापित गर्ने सामाजिक इतिहास नलेखिएको वाग्लेले बताउनुभयो । “कोतपर्व, भण्डारखाल पर्व, वा दरबारका शक्ति षडयन्त्रको फेहरिस्त नेपालको समग्र इतिहास होइन”, उहाँले भन्नुभयो, “आफ्नो मुलुकको उद्भव, मूल र सभ्यताको वास्तविक पहिचान नभई त्यसमाथि गर्व गर्न र त्यसलाई भावना प्रेरित माया गर्न पनि सकिँदैन ।”
प्रवचनका क्रममा जनताले माया नगर्ने देशका रुपमा नेपाल चित्रित हुने हो कि भन्ने चिन्ता अर्थशास्त्री वाग्लेमा देखिन्थ्यो । “बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् भन्ने गीत रेडियोमा जतिपटक सुने पनि नेपालीहरू शिर नझुकाई र लज्जाबोध नगरी डिभी चिठ्ठाको लाइनमा बस्न सक्छन्”, उहाँले भन्नुभयो ।
नेपालीहरू सम्भावना, महत्वकाङ्क्षा र लक्ष्यशून्य नभएको तर दिशा, मार्ग र जाँगरशून्य चाहिँ भएको उहाँको ठहर छ । आशा मात्रै नगरेर उद्देश्य प्राप्तिका लागि योगदान पनि गर्न सके मात्र देशको भविष्य उज्ज्वल बनाउन सकिने धारणा राख्दै अर्थशास्त्री वाग्लेले आफ्नो प्रवचनलाई बिट मार्नुभयो । रासस