हामी जीवनमा जतिसुकै भागदौड गरौं, सबैको अन्तिम गन्तव्य उही हुन्छ– घाट वा श्मशान ।
मरेपछि घाट लगिनु सबैका लागि सामान्य नै भयो । कोही जिउँदैमा पटक पटक घाट गइरहन्छ भने त्यो सबैलाई सामान्य नलाग्न पनि सक्छ ।
कसैले सामान्य रूपमा लेओस्, नलेओस् मलाई यो खुलासा गर्न हिचकिचाहट छैन– म पटक पटक आर्यघाट जाने गर्दथेँ र अझै पनि जाने गर्छु । आफन्तको वियोगमा वा कसैको मलामी जानु परेकाले हैन, त्यत्तिकै पनि म तारन्तार आर्यघाट–यात्रामा निस्कने गर्छु ।
खास कारण के हो त्यो म आफैंलाई पनि थाहा छैन । किशोरवयको अन्तिम अन्तिमताका मनभित्र उर्लिरहेका चरम आकांक्षा र असफलताहरूबीच एकदिन अकस्मात् मलाई लाग्यो– आज आर्यघाट जान्छु र मन शान्त बनाउने कोसिस गर्छु ।
जीवन संघर्षका क्रममा बेलाबखत मन आत्तिएर सम्हाल्नै नसकिने हुँदा सुगम पोखरेलको गीतले भनेजस्तै हुन्थ्यो मलाई पनि– ‘सम्हालिन्छ कहिले मन, कहिले त्यसै बरालिदिन्छ ।’ त्यस्तो बेला एक किसिमको वैराग्यले छुने गथ्र्यो जसलाई अहिले आएर समीक्षा गर्दा लाग्न थालेको छ– त्यो वैराग्य खासमा वैराग्य नभएर नैराश्य रहेछ । बिहानै देखिको नैराश्य दिनको घामसँगै चर्किंदै जान्थ्यो । अनि म लाग्थें– उही आर्यघाट ।
म आर्यघाट किन आइरहेछु ? आउँदा मलाई के हुन्छ ? नआउँदा के हुन्छ ? त्यतिबेला ममा यी सबै प्रश्नसको उत्तर खुट्याउन सक्ने क्षमता थिएन । अहिले चाहिँ पूरै खुट्याउन सक्ने भएँ भन्ने पनि होइन । वास्तवमा भन्ने हो भने जीवन र जगत्का अधिकाधिक प्रश्न खुट्याउन नपाउँदै हाम्रो जीवन खत्तम भईसक्दो रहेछ । जिल्लिएरै सकिँदो रहेछ जीवन ।
तैपनि म दिनभर आर्यघाटमा बसेर जीवन र जगत् बारेमा चिन्तन गर्न सुरु गर्दथेँ ।
पछि पढ्दै जाँदा नीतिशास्त्रमा एउटा कथन रहेछ– पुराणान्ते श्मशानान्ते, मैथुनान्ते च या मतिः । सा मतिःसर्वदा चेत् स्यात् को न मुच्येत बन्धनात् ।।
आशय हो– कथापुराण सुनेलगत्तै, श्मशानमा शवदाहलगत्तै र यौनक्रिया लगत्तै मानिसमा जुन किसिमको विरक्तिको भावना आउँछ त्यही भावना सँधै रहिरहने हो भने निर्वाण प्राप्त हुन्छ ।
पटक पटकको आर्यघाट–यात्रासँगै मैले आर्यघाटका बारेमा केही आलेखहरू पनि पढेँ । त्यतिवेला आर्यघाटको आकर्षण अलिक बढि नै थियो । लाग्ने गर्थ्याे– संसार सबै भ्रम हो । जीवनका सारा अहंकार घाटमा पुगेर विलीन भइरहेछन् । मानिसका सारा घमण्डहरू चूर चूर भएर बगिरहेछन् बाग्मतीको जलप्रवाहमा । आजसम्म बाग्मतीमा जति पानी वा ढल बग्यो, त्योभन्दा धेरै त मानिसका दम्भ र अहंकारका राशिहरू बगे होलान् । त्यसैले सारा संसार मिथ्या हो । सत्यको असली रूप त आर्यघाटै हो ।
यति कुरा बुझ्दा र आर्यघाटका कारुणिक दृश्यहरू देख्दा मेरो मनमा एकप्रकारको भावतरंग त पैदा हुन्थ्यो तर त्यसले दिगो शान्ति र अमनचैन महसुस गराउन सक्दैनथ्यो । अरूहरू भन्ने गर्थे र अझै पनि भन्ने गरेको सुनिन्छ– आर्यघाटमा गएर एकछिन बस्ने हो भने जीवन क्षणभंगुर छ भन्ने तथ्य अझ राम्ररी बोध हुन्छ, शान्तिको महसुस हुन्छ । तर मलाई कहिल्यै त्यस्तो भएन । म सयौंपल्ट आर्यघाट पुगेँ हुँला तर मन स्थिर भएन । जलिरहेको शव देखेर, रोईकराई बिलौना गरिरहेका शोक सन्तप्त परिवारजनको अवस्था देखेर, जीवन ढलेर जड भएको देखेर म कहिल्यै आनन्दित हुन सकिन । क्रन्दन, रोदन, आर्तनाद देखेर खुशी हुन सकिन ।
तैपनि मलाई कति चाहिँ हेक्का भयो भने नीतिशाास्त्रमा भनिएझैं श्मशान–वैराग्य हुँदै नहुने होईन । हुन्छ, तर त्यो एकदमै क्षणिक हुन्छ । त्यो वैराग्य स्थिर भावले रहन मुस्किल हुन्छ ।
श्मशानस्थलका दृश्यहरूले हामीमा एक किसिमको विचित्र मनो–रसायन पैदा गर्दो रहेछ जसले गर्दा त्यहाँ कुनै पनि झैझगडा वा घमण्ड आदि व्यक्त भएको देखिँदैन । सबै थकित थकितझैँ । गलित गलितझैँ । सबै शान्त र क्लान्त । आँखाभरि आँसु, मुटुभरि वेदना । कोही कस्तै क्रूर वा ठट्यौलो किन नहोस् श्मशानस्थलमा हाँस्दै ख्यालठट्टा गर्दै बसेको देखिन्न । यसको सोझो अर्थ के भने– होशहवासमै पनि शान्ति संभव छ यदि उपयुक्त (आध्यात्मिक, आदिदैविक र आधिभौतिक शान्तिको अवस्था) वातावरण छ भने । वैराग्यबुद्धिको विकास पनि संभव छ, यदि सबै शारीरिक र मानसिक विकारहरूलाई निष्क्रिय गराउन सकियो भने ।
त्यसो गर्न सकिँदैन भने आर्यघाटमा गएर बस्दैमा, त्यहाँका दृश्य हेर्दैमा कसैले शान्ति महसुस गर्न सक्छ भन्ने छैन । उसमा वैराग्य पैदा हुन्छ भन्नेछैन । आर्यघाट त एउटा विम्ब मात्र हो । उपयुक्त वातावरण र विकारहरूको परित्याग छैन भने कथा पुराण सुन्दैमा शान्ति मिल्छ भन्ने छैन । व्यवधान रहित छैन भने रतिरागले पनि आनन्द दिन्छ भन्ने छैन । जति नै धर्मकर्ममा वा भोगविलास गरे पनि जीवन अशान्त नै रहिरहन्छ ।
श्मशानलाई एउटा उदाहरणका रूपमा लिने हो भने हामी जीवनमा किन सँधै खुशी वा आनन्दित हुन सक्दैनौं भन्ने प्रश्नको सहज उत्तर पाउन सक्छौं । किनभने हामीमा अनन्त आनन्दलाई धारण गर्न सक्ने क्षमता नै छैन । त्यो क्षमता किन छैन भने (चञ्चलं हि मनः कृष्ण) हाम्रो मन एकदमै चञ्चल छ । जबसम्म मनको चञ्चलता घटाउन सकिन्न त्यतिन्जेलसम्म श्मशान वैगराग्य मात्र हैन, कुनै पनि वैराग्य वा आनन्द चिरस्थायी हुन सक्दैन । पूजा लगायो, पूजा सकिनेवित्तिकै पुरानै चिन्ता सुरु हुन्छ । कथा सुन्यो, कथा सकिनेवित्तिकै उही उद्विग्नताले डेरा जमाउन थाल्छ । एउटा सफलता हासिल गर्यो, लगत्तै अर्को सफलता हासिल गर्ने लालसा अघि सर्छ । कुनै लक्ष्यमा पुग्यो, लगत्तै त्योभन्दा ठूलो अर्को लक्ष्य देखा पर्छ ।
यी सबैको संकेत के भने कुनै पनि सुख, आनन्द वा वैराग्यलाई चिरस्थायी बनाउन पहिले मनको चञ्चलता हटाउनु पर्छ । पानीको शान्त सतहमा मात्र अनुहार देखिन्छ, छचल्किइरहेको पानीमा होइन ।
अनन्त आनन्दका लागि त सुख, दुःख दुबै अवस्थामा लाभहानि वा हारजीतको पर्वाह नहुने (सुखदुख समे कृत्वा लाभालाभौ जयाजयौ) अवस्थामा पुग्न सक्नुपर्ने रहेछ । स्थितप्रज्ञको अवस्थामा नपुगेसम्म आर्यघाटमा बरालिँदैमा आनन्दको ज्योति होइन, लास उदिनेर निस्किएका आगाका झिल्काझिल्की मात्र नभेटिने रहेछन् ।
अहिले मलाई लाग्छ, आर्यघाटमा बारम्बार गइरहनेको मात्र होइन, त्यहिँ वा आसपास बस्नेको समेत यथार्थ यही हो । आर्यघाट पुगेकै भरमा मात्र मन शान्त हुन्थ्यो भने आफन्त गुमाएर त्यहाँ पुगेकाहरू किन कोकोलो मच्चाउँथे ? सँधै आर्यघाटमा लास उदिन्ने पेशा भएकाहरू किन दुःखी हुन्थे ?
त्यसैले मूल कुरा आर्यघाटको चिताग्नि होइन, आफू भित्रका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य आदिलाई दग्ध गराउन सकियो कि सकिएन भन्ने हो । आर्यघाटमा लडाईएका शवलाई ब्रह्मनालमा चोबलियो कि चोबलिएन भन्ने होइन, आफ्ना कलुषित मनोवृत्तिहरू पखालियो कि पखालिएन भन्ने हो । शवका बन्धनहरू खोलियो कि खोलिएन भन्ने होइन, मनका बन्धनहरू तोडियो कि तोडिएन भन्ने हो । किनभने (मन एव मनुष्याणाम् कारणम् बन्धमोक्षयोः) हामी बन्धनमा छौं कि मुक्त छौं भन्ने कुरा हाम्रै मनस्थितिमा निर्भर गर्छ । त्यसैले त रागीहरूलाई आर्यघाटमै पुगेपनि शान्ति मिल्दैन । वितरागीहरूका लागि व्यस्त सहरको कोलाहल पनि औधि शान्त लाग्न सक्छ ।