काठमाडौं– यस वर्ष मनसुनको सुरुआतमै असार २ गते राति ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा भारी वर्षाका कारण पहिरो जाँदा दुई जनाले ज्यान गुमाए । ७५ परिवार विस्थापित भए । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार त्यो दिन जिल्लाका धेरै स्थानमा पानी परे पनि सो क्षेत्रमा वर्षा अत्यधिक भएकाले ठूलो क्षति गरायो । अहिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट घर पुनःनिर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको छ । विस्थापितलाई नजिकैको खुला ठाउँमा एकीकृत वस्ती निर्माण गर्ने योजना छ ।
केही दिनअघि गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतमा पनि त्यसै गरी भारी वर्षा हुँदा त्यहाँका ३० घरपरिवारलाई अन्तै सार्नुपर्ने अवस्था आइलागेको छ । प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यका अनुसार त्यहाँका दुई घर विस्थापित भएका छन् । अन्य घर उच्च जोखिमा । वस्ती स्थानान्तरण गर्ने हो कि अन्य वैकल्पिक व्यवस्था गर्ने भनेर भौगर्भिक अध्ययन थालिएको छ । गोरखामा त्यसरी वर्षा हुँदा आसपासका जिल्लामा खासै पानी परेको थिएन ।
अचेल काठमाडौं उपत्यकामै पनि वर्षा एकनासले भएको पाइन्न । बानेश्वरमा दर्केझरी पर्दा निथ्रुक्क रुझेका यात्रु सुन्धारा पुग्दा टन्टलापुर घाममा सेकिनुपर्छ । कोटेश्वरमा पानी पर्दा बानेश्वरमा घाम लागिरहेको हुन्छ । कुपण्डोलमा पानी पर्दा माइतीघर, सुन्धारामा घाम । क्षणिक वर्षाको क्रम यो वर्ष पटक पटक दोहोरिएको छ । नजिकैको ठाउँमा पनि कतै दर्के झरी त कतै सुख्खा खडेरी पर्ने खण्डीकृत अवस्था छ । यो क्रम विगतको तुलनामा बढ्न थालेको पाकाहरूको अनुभव छ । जलवायु परिवर्तनलगायत विभिन्न कारणले वर्षा हुने समय र स्वरूपमा समेत परिवर्तन हुँदा नयाँ नयाँ घटना देखिन थालेका छन् । गत वर्ष मेलम्ची क्षेत्रमा अत्यधिक वर्षाकै कारण ठूलो क्षति भएको थियो ।
बरिष्ठ मौसमविद् रामप्रसाद अवस्थी अबका दिनमा मौसमजन्य घटना दोहोरिने सम्भावना बढी रहेको बताउनुहुन्छ । उहाँका अनुसार मनसुनजन्य विपद्का घटनालाई विश्लेषण गर्दा यस्ता घटनाको स्वरुपमा परिवर्तन आएको देखिन्छ । नयाँ प्रकृतिका घटना र छोटो समयमा विपद्जन्य घटना दोहोरिन सक्ने सम्भावना बढेको छ । नेपालमा वर्षेनी हुने धनजनको क्षतिमध्ये करिब ८२ प्रतिशत जल–मौसमजन्य प्रकोपका कारण हुने गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले यसवर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको थियो । पूर्वी भेगको तुलनामा पश्चिमी भेगमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान थियो । मनसुन गहिरिदै जाँदा पूर्वी भेगका सबै स्थानमा समान रूपले सरदरभन्दा बढी वर्षा हुन सकेन । त्यसको मुख्य कारण खण्डित वर्षा नै हो ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार अहिले आकाशमा डम्म बादल देखिए पनि वर्षा भने खण्डित रुपमा हुने गरेको छ । गत केही वर्षको अध्ययन गर्दा सीमित भूभागमा हाँडी घोप्टिए जसरी अधिक वर्षा भएको छ । यो वर्ष त्यस्तो नभए पनि विभिन्न जिल्लाका सीमित क्षेत्रमा खण्ड–खण्ड भएर पानी परिरहेको छ । असार महिनामा विगतमा लगातार झरी पथ्र्यो । अहिले त्यस्तो छैन । विभागका जलवायु विश्लेषक डा. इन्दिरा कँडेल भन्नुहुन्छ, ‘मनसुनजन्य घटनाका प्रवृत्ति फरक पाइएको छ ।’
नेपालमा यसपटक विगतमाभन्दा एक हप्ता छिट्टै (जेठ २२) मै मनसुन भित्रिएको थियो । छिटो गरी मनसुन भित्रिए पनि पूर्वबाट पश्चिमतर्फ भने छिटो सरेन । पश्चिममा मनसुन ढिलो पुगेकाले पनि सुख्खा भएको हुनसक्छ । एक वर्ष बढी पानी पर्दा अर्को वर्ष केही सुख्खा हुने क्रम भने विगतमा पनि थियो ।
विभागको जलवायु विश्लेषण शाखाले यस वर्षको मनसुन यामको पहिलो महिना जुन (जेठ–असार)मा गरेको विश्लेषणअनुसार खण्डीकृत वर्षा बढेको छ । यसको अर्थ मनसुनको प्रारुपअनुसार निरन्तर वर्षा भएन । साना क्षेत्रमा धेरै वर्षा हुने अनि रोकिने, फेरि वर्षा हुने प्रवृत्ति बढ्दो छ । प्रारम्भिक विश्लेषणबाट प्राप्त विवरण (मनसुन सुरु भएपछि असार ३ सम्मको तथ्यांक) अनुसार प्रदेश २ का केही पूर्वी भागबाहेकका क्षेत्र, बाग्मती प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा छ ।
प्रदेश २ को पश्चिम, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका भूभागमा सरदरभन्दा कम वर्षा छ । तर यसैलाई आधार मानेर विगतमा गरिएको आँकलन मिल्यो÷मिलेन भनेर यकिन गर्न नसकिने कँडेल बताउनुहुन्छ । विश्व मौसम सङ्गठनका केही आंकलनले जुलाईमा कम वर्षा हुन्छ भन्ने देखाएको थियो ।
विपद् व्यवस्थापन विज्ञ डा. कृष्णचन्द्र देवकोटा पनि केन्द्रिकृत वर्षा हुने क्रम बढेको स्वीकार गर्नुहुन्छ । उहाँका अनुसार मनसुनको सुरुमा पानी राम्रै पर्यो । बीचमा केही कम भयो । उहाँले भन्नुभयो, ‘अहिले केही ठाउँमा मुसलधारे वर्षा हुने, अनि लामो समयसम्म नहुने अवस्था छ । यो मौसम परिवर्तनकै कारण हो कि भन्ने लागेको छ ।’ यस किसिमका वर्षाले सीमित ठाउँमा क्षति पुर्याउँछ र जोखिम निम्त्याउँछ । यस्तो हुनु खेतीपातीका लागि पनि निकै प्रतिकूल मानिन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार हालैका दिनहरूमा खण्ड–खण्ड गरेर आकाशबाट पानी झरिरहेको छ । ‘खण्डीकृत वर्षाले हाँडीघोप्टे रूप लियो भने ठूलो विपद् आउने सम्भावना हुन्छ, त्यसैले यस्तो अवस्थामा झन् सचेत हुनु जरुरी छ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार केही अघि एक हप्तासम्म हामीकहाँ एक थोपा पनि पानी परेन । तर त्यही बेला एउटै मौसम प्रणालीले भारतको मध्यप्रदेशमा ठूलो पानी परेको थियो ।
यस वर्ष वर्षा लागेयता ताप्लेजुङ पहिरो सबैभन्दा ठूलो दुर्घटना हो । गोरखा, आरुघाटको माथिलो क्षेत्रमा पनि ठूलो क्षति हुने गरी वर्षा भयो । अन्य केही क्षेत्रमा सानातिना घटना भए । तर सँगसँगै कतिपय ठाउँमा रोपाईँका लागि पर्याप्त पानी नपुगेको पोखरेलले बताउनुभयो । ‘धान रोप्ने र फुल्ने बेलामा पानी भएन भने खडेरीले समस्या पार्छ,’ उहाँले भन्नुभयो, ‘मनसुनको बीचमा यस्तो हुनु राम्रो संकेत होइन ।’
जलवायु परिवर्तनविज्ञ डा. ङमिन्द्र दाहालका अनुसार यो वर्ष मनसुन अवधिभरिमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएको छ । त्यसैले जुनुसुकै बेला मुुसलधारे वर्षा भइदिन सक्छ । ‘अहिले नै पानी परेन भनेर भन्न सकिने अवस्था छैन । मनसुनको अन्तिम दिन वा भोलिपल्ट पनि परिदिन सक्छ,’ उहाँले भन्नुभयो, ‘कुनै कुनै सीमित ठाउँमा गाग्राले खन्याएको जस्तो पानी परिरहेको छ, त्यो चाहिँ ठूलो समस्या हो ।’
अहिले दैनिक वर्षाको नयाँ–नयाँ ग्राफ देखिएको छ । सीमित क्षेत्रमा ह्वात्तै पानी परेको छ । यो नै अहिलेको जटिलता भएको उहाँको भनाइ छ । तर जलवायु परिवर्तनको नयाँ आँकडाका रूपमा बुझ्ने हो भने चाहिँ यो सामान्य कुरा हो । यसखालको परिवर्तनलाई न्यूनीकरण गर्न नसकिने भएकाले मानिस आफैँ अनुकूलित हुनुपर्छ । अहिलेको परिस्थितिमा पूर्वतयारीमा बढी ध्यान दिनुको विकल्प नरहेको उहाँले औंल्याउनुभयो ।
पूर्व तयारीका लागि पूर्वसूचना आवश्यक हुन्छ । जल तथा मौसम विज्ञान विभागले त्यस्ता वर्षाको ग्राफबारे सबैतिर जानकारी दिनु अत्यावश्यक छ । जानकारीहरूलाई सक्दो छिटो र भरपर्दो बनाउन मापन केन्द्रहरू तयार पार्नुपर्छ । पूर्वसूचना प्रणाली राखेर सूचना नागरिकको हातहातमा पुर्याउनु पर्ने उहाँले बताउनुभयो ।
जोखिम न्यूनिकरणका लागि खेतीपाती, खोला र नदी किनाराबाट सुरक्षित गर्नमा नागरिकलाई राज्यका निकायहरूको सहयोग आवश्यक हुन्छ । भौतिक निर्माण, वस्ती निर्माण र अन्य पूर्वाधारहरू तयार पार्दा त्यही अनुसारको पूर्व तयारी गर्नुपर्छ । वर्षामा आएको फरकपनका कारण पूर्वाधारका पुराना संरचनाले जोखिम निम्त्याएको छ । अब हिजोकै डिजाइनका बाटोघाटो सुरक्षित नरहेकाले नयाँ डिजाइन अनुसार बनाउनुपर्ने बेला आएको पोख्रेलको बुझाई छ ।
विभागले तयार पारेको एक प्रतिवेदनअनुसार सन् १९७१ देखि २०१५ सम्म नेपालमा वर्षाको दर प्रतिवर्ष १.३ मिलिमिटर घटेको थियो । सन् २०५० सम्म प्रतिवर्ष ८.१२ प्रतिशत र त्यसपछि सन् २१०० सम्म प्रतिवर्ष १२ प्रतिशतसम्म वर्षाको दर बढ्न सक्ने अनुमान छ । यस्तो अनुमान गरिए पनि वर्षाको दर र प्रवृत्ति सामान्य वर्षाका रूपमा नभएर फरक देखिन सक्छ । सामान्य वर्षाका दिनभन्दा भारी वर्षा, खण्डीकृत वर्षाका दिनहरू बढेर जाने र समग्रका वर्षाका दिनमा कमी आउने प्रतिवेदनले देखाएको सिनियर डिभिजनल हाइड्रोलोजिष्ट रामप्रसाद अवस्थी बताउनुहुन्छ ।
उहाँको सन् २०२० को अध्ययनले नेपालमा औसत तापक्रम (५० वर्षमा) ०.८ देखि १.३ डिग्रीसम्म बढेको देखाएको छ । अधिकतम् तापक्रम प्रतिवर्ष ०.०५६ (हिमालमा ०.०८) डिग्री बढेको छ । गर्मीका दिनहरू बढ्दो र चिसोका दिन घट्दो क्रममा रहेको अध्ययनले देखाएको छ । अध्ययनले अतिजन्य मौसमी घटना (बाढी, हिमताल विष्फोट, हिमपहिरो, असिना, चट्याङ हावाहुरी) मा वृद्धि भइरहेको समेत देखाएको छ ।
तापक्रमसम्बन्धी घटनाको प्रभाव पहाड र हिमालमा बढिरहेको छ । भारी वर्षाका घटनाहरू पहाडदेखि तल महाभारत तराईतिर बढेको छ । औसत वार्षिक वर्षा र तापक्रम शताब्दीको अन्त्यसम्मै बढ्दै जाने अनुमान छ । मनसुनपछिको समयमा तापक्रम वृद्धिदर अझ अधिक हुने अनुमान छ । पूर्व–मनसुन बाहेकका सबै ऋतुमा प्रायः बढी वर्षा हुने देखिन्छ । भारी वर्षाका घटनाको प्रकृति बढ्नेछ । सामान्य वर्षाका दिनमा भन्दा अति वर्षा हुने दिनको संख्या पनि बढ्ने अनुमान छ ।
नेपाल जलवायु परिवतनका जोखिमको संवेदनशीलताका आधारमा विश्वमा नवौं स्थानमा छ । बहुप्रकोपीय जोखिमका हिसाबले २० औं स्थानमा पर्छ । यसअघिका विभिन्न अध्ययनले भने जलवायु परिवर्तनका हिसाबले नेपाल चौथो जोखिमा पर्ने मुलुकका रूपमा उल्लेख थियो । रासस