रैथाने सम्पदा
माटाका हरवस्तु रैथाने हुन् । अध्ययनहरूले भन्छन्- ज्ञान र परम्परा जोडिएका कुराहरू तत् स्थानीय ज्ञान हुन् । जिउने क्रममा बनेका । ती ज्ञान निर्माणका प्रक्रियाहरू नै विज्ञान हुन् । जीवन सहज बनाउन प्रयोग गरिएका साधनहरू स्थानीय प्रविधि हुन् । तत् स्थानको जीवन सुधार्न अपनाइएका सेवा तथा व्यवस्थाहरू स्थानीय स्रोत हुन् ।
मान्छेले बनाएका वस्तुहरू स्थानीय सीप हुन् । स्थानीय कला हुन् । तिनैले सिँगारेका वस्तुहरू स्थानीय क्षमता हुन् । स्थानीय कला हुन् । यसरी हेर्ने हो भने हामीसँग अनेकन् स्थानीय ज्ञान छन् । विज्ञान छन् । प्रविधि छन् । व्यवस्थापन छन् । कला छन् । सीप छन् । तर तिनको व्यवस्थित पठनपाठन छैन- स्कुलमा, कलेजमा, विश्वविद्यालयमा ।
औषधिय सम्पदा
तुलसीको पातको पानी खानु स्थानीय परम्परा हो । ज्ञान हो । परम्परागत ज्ञानले पनि यसको प्रयोग भएकै छ । हुँदै छ । होला पनि । आधुनिक विज्ञानले पनि यसको शोध गरेको छ । त्यसले भन्छ- तुलसीमा तनाव घटाउने औषधि छ । कोलोस्टेरोल नाशक क्षमता छ । विष समन गर्न सक्ने तागत छ । विकिरणबाट बचाउने हैसियत छ । ज्वर, अपच, कब्जियत, अम्लपित्त, अल्सरको औषधि छ । मुटु, कलेजो, रक्तचाप तथा मधुमेयको औषधि छ ।
वैज्ञानिक विश्लेषणले पनि तुलसीलाई पोषक तथा विषनाशक मान्छ । श्रीलंकामा यसबाट लामखुट्टे-नाशक औषधि बनाउँछन् । भारतको उडिसामा धानबालीमा लाग्ने फंगस हटाउन प्रयोग गर्छन् । यसरी हेर्दा पुर्खाले सुम्पेको सांस्कृतिक सम्पदा हो- तुलसी । पर्यावरण रक्षक हो तुलसी । औषधि हो तुलसी । धर्म हुन्छ भन्ने विश्वास दिलाएर बचाएको ज्ञान तथा विज्ञान हो तुलसी ।
पञ्चगब्य तथा पञ्चामृत हामीले सुनेका शब्द हुन् । सुनाएका शब्द हुन् । तिनमा त्रिदोष (वात, कफ र पित्त) नाश गर्ने तागत छ । अर्थात् हामी बिरामी हुनु भनेकै यी तीन कुराको असन्तुलन हुनु हो । त्यो असन्तुलनलाई सन्तुलनमा ल्याउने औषधि हो- पञ्चगब्य । निर्दोष औषधि । प्रतिक्रियाविहीन । गुणकारी । पञ्चगब्य भनेको गाईको दूध, घिउ, गोबर, गहुँत, दहीको अनुपात हो । रोग अनुसार बनाइने अनुपात । पञ्चामृत भनेको चाहिँ दूध, दही, घिउ, मह र सख्खर हो ।
खनिज सम्पदा
कोदाला कोदाली स्थानीय सम्पदा हुन् । प्रविधि हुन् । नेपालकै खानीबाट निकालेका । खानी निकाल्ने को थियो होला ? धाउ पगाल्ने को थियो होला ? कोदाला कोदालीको आकार बनाउने इन्जिनियर को थियो होला ? त्यो इन्जिनियरको सोचलाई व्यवहारमा ल्याउने को थियो होला ? त्यो ज्ञानको स्रोत ऋग्वेदमा छ । अथर्ववेदमा छ । छान्दोग्यपनिषद्मा छ । कसले त्यहाँ समावेश गर्यो होला ?
अहिले विश्वमा कृषि औजारका अनेकन् कारखाना छन् । तिनका श्रष्टाको नाम छ । तर हाम्रा श्रष्टाहरू किन गुमनाम भए ? किन तिनले नाम राख्न चाहेनन् ? प्रतिलिपि अधिकार खोज्ने पश्चिमा र गुमनाम बन्ने पूर्वीयको मिलनविन्दु के हो ? कहाँ हो ? यी अनुसन्धानीय विषय हुन् ।
शासकीय सम्पदा
मानवशास्त्री तथा समाजशास्त्रीहरूले समुदाय सञ्चालनका अनेकन् व्यवस्थापनहरू पहिल्याएका छन् । तर वेदमा भएका राज्य व्यवस्थाबारे तिनले चर्चा गरेकै छैनन् । त्यसो नगर्नु हाम्रो रैथाने सम्पदाको अपहेलना हो । जस्तो वेदले भन्छ- अनेक प्रकारका राज्यहरू छन् । अर्को शब्दमा भन्ने हो भने वेद वर्णित वैराज्य के हो ? साम्राज्य के हो ? स्वराज्य के हो ? भौज्यराज्य के हो ? परमेष्ठ्य राज्य के हो ? आधिपत्यराज्य के हो ? सामन्तपर्यायी राज्य के हो ? गणराज्य के हो ? सार्वभौम राज्य के हो ? बाइसे चौबीसे राज्यहरू कुनखाले थिए ? बाह्रगाउँलेको राज्य कुनखाले थियो ? थारूको बडघर कुन राज्यसँग मिल्दो छ ? हामीले पश्चिमबाट लिएको राज्य र वेदका राज्यमा के समानता छ ? के फरक छ ? यी र यस्ता ज्ञानका स्रोतहरूमा हाम्रो पहुँच छैन । यो कुराको जानकारी दिने कसले ?
वैदिक पुर्खाले भने- राजा नभएको राज्यको नाम वैराज्य हो (ऋग्वेद, १०-१९०-१-३; अथर्ववेद, ८-१०-१०) । पुर्खाको शब्दावलीमा यो अराजक राज्य हो । जितेर लिएको राज्यको नाम साम्राज्य हो (ऋग्वेद, ७-१८-३३; ८-२५-८)। स्वराज्य भनेको दुई समूहले शासन गर्ने राज्य हो (ऋग्वेद, ५-६६-६ ; ५-१-८०)। भौज्य राज्य भनेको बाहुबलले आर्जेको राज्य हो (ऋग्वेद, ५-६६-६)।
परमेष्ट राज्य भनेको गुटले चलाउने राज्य हो (ऋग्वेद, १०-१२१-१०)। कर्मचारीतन्त्रले चलाउने अधिपत्य राज्य हो (ऋग्वेद, १०-१-४ र ५)। जमिनपतिले चलाउने राज्यको नाम सामन्तपर्यायी राज्य (ऐत्तिरिय ब्राह्मण, ८-३९-१) हो । ससाना कविलाले चलाउने गणराज्य हो (ऋग्वेद, १-५३-९)। दुस्मनलाई जितेर स्थापना गरिने सार्वभौम राज्य हो (अथर्ववेद, १९-१३-१)। हाम्रो कुन राज्य हो भनी कसले जानकारी दिने हो ? यसको शोधकर्ता को हो ?
वैदिक पुर्खा अनुसार राज्य हुन स्वामी चाहिन्छ । स्वामी भनेको राजा हो । अमात्य चाहिन्छ । अमात्य भनेको मन्त्री हो । सुहृत चाहिन्छ । सुहृत भनेको मित्र हो । कोष चाहिन्छ । कोष भनेको ढुकुटी हो । राष्ट्र भनेको देश हो । अर्थात् भूगोल हो । दुर्ग चाहिन्छ । दुर्ग भनेको किल्ला हो । अनि बल चाहिन्छ । बल भनेको फौज हो । हाम्रोमा कुन कुरामा के कमी भयो ? त्यसको असर के भयो भनी कसले भनिदिने ? यसका लागि पनि शोधको आवश्यकता छ । हुन्छ ।
त्यस्तै वेद हिन्दुको मात्र हो भन्ने जनस्तरको बुझाइ छ । सोही वेद ज्ञान हो भन्ने विज्ञको भनाइ छ । संस्कृतज्ञको अर्थाइ छ । ज्ञान कसैको हुन्छ र ? त्यो त साझा हो भन्ने पुर्खाको बुझाइ छ । ज्ञानको प्रतिलिपि अधिकार त अहिलेका धनवादीको चिन्तन हो । ज्ञानवादी पुर्खाको होइन । यो कुरा कसले भनिदिने ? यस्ता कुरामा गहिरिन पनि शोध चाहिन्छ । शास्त्रीय शोध । जनस्तरको शोध । विद्यालय तथा विश्वविद्यालयको शोध ।
कलाकारीय सम्पदा
हाम्रा मन्दिर, गुम्बा, मस्जिदमा कलाकारिता छ । मिथिला कलाले जानकीलाई जीवन्त राखेको छ । नटराजको कलाले विज्ञानलाई चक्मा दिएको छ । फ्रिटजोल काप्रा आफ्नो किताव ताओ अफ फिजिक्समा त्यही भन्छन् । क्वान्टम सिद्धान्तका नील बोर त्यही भन्छन् । यो गहिराइको ज्ञान शिव ताण्डवनृत्यमा छ । त्यो कुरा जनस्तरमा पुर्याउने को हो ? थप कुरा खोज्ने को हो ? खोजाउने को हो ?
मन्दिरका टुँडालका कलाले दिने ज्ञान, फ्रायडको ज्ञान तथा वात्सायनको ज्ञानबीचको सहसम्बन्ध के छ ? कपिलमुनिको सांख्य दर्शन तथा बुद्धको आफैं बुद्ध बन्न सक्ने ज्ञान कसरी समुदायमा बसेको छ ? धामीझाँक्रीको परम्परामा कसरी पार्वतीको तान्त्रिक ज्ञान बाँचेको छ ? यी र यस्ता प्रश्नहरूको उत्तर खोज्ने व्यवस्थित संसार कसरी बनाउने हो ?
सम्पदाको निरन्तरता
रैथाने ज्ञान, विज्ञान तथा प्रविधिहरूमा निरन्तरता छ । बुझेर भएको निरन्तरता । नबुझेर भएको निरन्तरता । जस्तो विश्वकर्मा समूहले तामाको नगरा बनायो । मिजार समूहले त्यसमा छाला मोर्यो । परियार समूहले त्यही नगरा बजायो । यो तथ्यले अनेकन् कुराको निरन्तता दिएको देखिन्छ । पहिलो निरन्तरता विज्ञताको हो । दोस्रो निरन्तरता शक्ति पृथक्कीकरणको हो । तेस्रो निरन्तरता विकेन्द्रीकरणको हो । आजसम्म पनि यो चलन थियो । अबको ब्यापारीकरणले त्यसलाई बिथोल्न थाल्यो । दलितमाथि लगाइएको छुवाछुतको आपराधिक चिन्तनले त्यो निरन्तरताको विज्ञतालाई दख्खल दियो । निरन्तरताको सीपमा आधुनिकीकरण नगर्ने संस्कारले अप्ठेरो बनायो ।
औषधि विज्ञानको पनि त्यही हालत छ । वैद्यहरू भाउहीन भएका छन् । एलोप्याथीका डाक्टरहरू सम्मानित । धामीहरू बदनाम भएका छन् । इन्डिजिनियस हिलिङ भन्नेहरू मालामाल भएका छन् । यसरी हेर्दा रैथाने ज्ञानको निरन्तरता रोक्ने हाम्रो मानसिकता भएको छ । यो मानसिकता कसरी भत्काउने हो ? कस्ले भत्काउने ? भत्किए निरन्तरता हुन्छ । नत्र ज्ञान नै अलप हुन्छ । विज्ञान तथा प्रविधि गुमनाम हुन्छ ।
संस्थागतीय रहर
माथिका आँखीझ्याले जानकारीले अनेकन सन्देश दिन्छन् । पहिलो सन्देश हो- नेपालमा अनेकन् रैथाने ज्ञानहरू छन् । सीपहरू छन् । प्रविधिहरू छन् । तिनको खोजतलास भने भएको छैन । अर्थात् खोजतलास गर्नु जरुरी छ । दोस्रो सन्देश हो- तिनमा भएका ज्ञान, सीप, सिद्धान्त तथा दर्शनबारे शोध भएको छैन । अर्थात् यी कुराहरू शोधनीय छन् । तर त्यतातिर पर्याप्त ध्यान दिइएको छैन । तेस्रो सन्देश हो- ती ज्ञान विज्ञान तथा प्रविधिहरूलाई पठनपाठनको अंग बनाउन सकिन्छ । तर त्यसरी सोच्ने संस्कार बनाइएको छैन । चौथो सन्देश हो- ती ज्ञान, विज्ञान, तथा प्रविधिलाई शोध गर्ने जनशक्ति तयार पार्नु जरुरी छ । पाँचौं सन्देश हो- तिनै ज्ञान, सीप तथा प्रविधिमा आधारित रही रैथाने विश्वविद्यालयको चिन्तन गरे/गराइएको हो ।
यो रहर अनुसार रैथाने विश्वविद्यालयले औपचारिक कक्षा चलाउँछ । अनौपचारिक अनलाइन कक्षा चलाउँछ । अरितिक्त कक्षा चलाउँछ । यसै क्रममा प्राध्यापक, विद्यार्थी, कर्मचारी तथा अभिभावकमार्फत अनुसन्धान गर्छ । गराउँछ । यसका आधारमा शिक्षालाई अनिवार्य रूपमा शोधमुखी बनाउँछ । शोधका आधारमा सबैलाई अनिवार्य सीप सिकाउँछ । तिनै सीपका आधारमा उद्यमीकरण गर्छ । गराउँछ । यसरी सबै शिक्षक तथा विद्यार्थीलाई उद्यमी बनाउँछ । स्वउद्यमी । अरूका उद्यममा काम गर्न सक्ने जनशक्ति । तिनै उद्यमीहरूमध्ये केहीलाई व्यवसायी बनाउँछ । केहीलाई तालिमप्रदायक बनाउँछ ।
रैथाने पाठ्यक्रम
खोज नै रैथाने विश्वविद्यालयको पाठयक्रम हुन्छ । त्यो खोजमा ज्ञान हुन सक्छ । विज्ञान हुन सक्छ । प्रविधि हुन सक्छ । प्रयोग हुन सक्छ । विस्तार हुन सक्छ । व्यापार हुन सक्छ । प्रतिलिपि अधिकार हुन सक्छ । प्रायोगिक शब्दमा भन्दा, तितेपाती जुठो-सुतकमा प्रयोग गर्छन् । मलमा प्रयोग गर्छन् । किन त्यसको प्रयोग गरे ? शास्त्रीय खोजको विषय हो यो । खोज्नयोग्य विषयको रूपमा । जनताको अभ्यास हो यो । दैनिकीको रूपमा । उनको बुझाइ के हो यस बारेमा ? त्यसको पनि खोजी हुन्छ ।
तितेपातीबाट दाँत दुखाइको औषधि बनाउने चलन छ । के देखे तिनले त्यसमा ? यसको खोजी हुन्छ । सौन्दर्य प्रसाधनको रूपमा प्रयोग हुन्छ । केका लागि त्यसो गरे ? यसको पनि लेखाजोखा हुन्छ । सोही तितेपातीको बहुउपयोगी उद्योग चलाउने योजना बन्छ । लगानीकर्ता खोजिन्छ । खेती गर्नेहरूको पहिचान हुन्छ । व्यापार गर्नेहरूको जमात बन्छ । ती सबै विद्यार्थी हुन्छन् रैथाने विश्वविद्यालयका । खोजका लागि प्रयोगशाला सर्वत्र हुन्छ ।
जन-अनुभव आफैंमा एउटा विशाल प्रयोगशाला हो । स्वदेशी अभ्यास अर्को प्रयोगशाला हो । विदेशीहरूका अध्ययन तथा प्रयोगहरू तेस्रो प्रयोगशाला हुन् । आफ्नै स्थापना चौथो प्रयोगशाला हो । यही तरिका बजारमा हुन्छ । उत्पादनमा हुन्छ । अर्थात् रैथाने विश्वविद्यालयको स्थानीयदेखि अन्तरदेशीय प्रयोगशाला हुन्छन् । शिक्षक हुन्छन् । प्रशिक्षक हुन्छन् । उद्योग हुन्छ । बजार हुन्छ । कक्षा व्यवस्थापन हुन्छ । पठनपाठन हुन्छ ।
रैथाने विश्वविद्यालयको सिकाइ
माथिको भनाइ नमुना हो । यही नमुना सबै विषयवस्तुमा लागू हुन्छ । यसैमा विद्यार्थीले दर्शन सिक्छन् । सिद्धान्त सिक्छन् । व्यवहार सिक्छन् । उपयोग सिक्छन् । यसको अर्थ हो- पढाइ आफैंमा हुन्छ । इन्टरनेटमा हुन्छ । गैर-शिक्षकसँग हुन्छ । गैर-प्राध्यापकसँग हुन्छ । आफ्नै अनुभूतिमा हुन्छ । यसक्रममा विद्यार्थीले सूत्र बन्ने बनाउने तरिका जान्दछ । दर्शन देख्ने, बन्ने तथा बनाउने विधि जान्दछ । सिद्धान्त कसरी बन्दो रहेछ भन्ने कुरा बुझ्छ । सिद्धान्त र व्यवहार जोडिने ठाउँ देख्छ ।
रैथाने विश्वविद्यालयका प्राध्यापक
रैथाने विश्वविद्यालयमा प्रमाणपत्रधारी प्राध्यापक हुन्छन् । प्रमाणपत्रविहीन प्राध्यापक हुन्छन् । पहिलो खाले प्राध्यापकले किताबी ज्ञान दिन्छन् । दोस्रोखाले प्राध्यापकले अनुभवीय ज्ञान दिन्छन् । यी दुवैको ज्ञान मिलाउँदा विद्यार्थी स्वभावतः व्यावहारिक बन्छ । सैद्धान्तिक बन्छ ।
ती प्राध्यापकहरूले आफूले चाहेका विषयमा आफैं पाठ्यक्रम बनाउँछन् । त्यस्तो पाठ्यक्रम व्यक्तिगत हुन सक्छ । सामूहिक हुन सक्छ । कक्षा वा तहगत हुन सक्छ । कलेजहरू आफैंले यो काम गर्छन् । यसो हुँदा पाठ्यक्रमहरूको ढेर हुन्छ । यसको अर्थ हो- अहिलेको जस्तो सबै ब्याचमा त्यही पढाइ नहुन सक्छ । हुन पनि सक्छ । भए संयोग हो । नभए परिवर्तनको सिद्धान्त लागू भएको हो ।
यो स्थितिमा रैथाने विश्वविद्यालयमा पढी-विज्ञ तथा गरी-विज्ञको सूची हुन्छ । त्यही सूचीका आधारमा चाहिएका प्राध्यापकहरूको उपयोग हुन्छ । अर्थात् प्राध्यापकहरू मूलतः करार सेवामा हुन्छन् । सानो संख्यामा स्थायी प्राध्यापक पनि हुन्छन् । उनीहरूले संयोजकको काम गर्छन् ।
रैथाने विश्वविद्यालयका पाठ्यपुस्तक
ज्ञान, विज्ञान तथा प्रविधिका वाहक नै यस विश्वविद्यालयका पुस्तक हुन् । कुनै लिखित । कुनै मौखिक । कुनै खोजी गर्नुपर्ने । केही आधारभूत पुस्तक हुन सक्छन् । त्यस्ता पुस्तकले सामान्य जानकारी दिन्छन् । तर गहिरिने जानकारी विद्यार्थीले नै खोज्नुपर्ने हुन्छ । यसरी खोजिएका विद्यार्थीका लेख तथा अनुसन्धानहरू विज्ञ टोलीलाई पठाइन्छ । टोलीले प्रकाशनयोग्य ठानेका लेख तथा शोधपत्रहरूलाई किताबको रूपमा विकसित गरिन्छ । यस अर्थमा विद्यार्थीहरू स्वयं किताबका लेखक हुन्छन् । प्राध्यापकले पनि यो काम गर्न सक्छन् । विद्यार्थी तथा प्राध्यापक मिलेर पनि यो काम गर्नुपर्ने हुन्छ ।
यसरी हेर्दा प्रतिवर्ष विश्वविद्यालयले नै किताब उत्पादन गर्छ । अडियो किताब । भिडियो किताब । अडियो-भिडियो किताब । परम्परागत किताब । यसरी किताबहरू पनि विविध स्वरूपमा प्रकाशित हुन्छन् । यस्ता किताबहरू विद्यार्थीले सहजै अनलाइनमा पाउन सक्ने व्यवस्था हुन्छ । अनलाइन सुविधा नभएका ठाउँका लागि मात्र परम्परागत स्वरूपका किताब छाप्ने/छपाउने तथा वितरण गर्ने काम हुन्छ ।
खल्तीको पुस्तकालय
रैथाने विश्वविद्यालयको पुस्तकालय खल्तीमा हुन्छ । ब्यागमा हुन्छ । अर्थात् सबै पुस्तकहरू डिजिटाइज्ड गरिन्छन् । डाटा वा वाईफाई चलाएर विद्यार्थीले आ-आफ्नै खल्ती वा ब्यागमा किताब पाउँछन् । ती किताबहरू एकअर्कालाई दिन/दिलाउन सक्छन् । यसो गरेबापत विद्यार्थीले केही रकम तिर्नुपर्छ । पुस्तक प्रयोग गर्ने सदस्यको रूपमा । आफ्ना लेख तथा शोधलाई पुस्तकको रूपमा राख्ने प्रावधानका रूपमा ।
पठनपाठन शैली
पढी-प्राध्यापक तथा गरी-प्राध्यापकहरूले छोटो अवधिको कक्षा लिन्छन् । यस्ता कक्षाहरू खुला मोडका हुन्छन् । बन्द मोडका हुन्छन् । द्वैध मोडका हुन्छन् । खुला मोड प्रविधिमा चल्छन् । बन्द मोडले मानवस्रोतसहितको प्रविधि प्रयोग गर्छन् । द्वैध मोडले विद्यार्थीको स्थिति अनुसारको प्रबन्ध गर्छ । भेट भएको अवस्थामा आमने-सामने कक्षा चलाउँछ । नभए प्रविधि कक्षामा जोड्छ । अर्थात् हाजिर समस्या हुँदैन । पढाइ नहुने समस्या हुँदैन । त्यसबाहेक विद्यार्थीले पढी-जान्ने तथा गरी-जान्नेहरूसँग जानकारी लिन्छन् । नेटमा खोज्छन् । अनि आफ्नो अनुभव तथा अध्ययन जोडेर पढाइलाई अघि बढाउँछन् । महाभारतको शान्तिपर्वको शिक्षणकलाको अभ्यास गर्छन्, जहाँ भनिएको छ-
आचार्यात् पादमादत्ते पादं शिष्यः स्वमेधया ।
पादं सब्रह्मचारिभ्यः पादम् कालक्रमेण च।
अर्थात् गुरुसँग एक चौथाइ सिक । साथीसँग अर्को एक चौथाइ । विज्ञसँग तेस्रो चौथाइ सिक । आफ्नै अनुभवले अर्को चौथाइ सिकेर पढाइ पूरा गर । यो तरिकाको पठनपाठन हुन्छ ।
मूल्यांकन प्रणाली
रैथाने विश्वविद्यालयका विद्यार्थीहरूले आफ्ना जानकारीहरू सार्वजनिक गर्छन् । त्यसैबाट उनीहरूको पहिलो मूल्यांकन हुन्छ । दोस्रो मूल्यांकन विज्ञले गर्छन् । तेस्रो मूल्यांकन विद्यार्थी आफैंले गर्छन् । यसका लागि उनीहरूलाई मानक दिइएको हुन्छ । चौथो मूल्यांकन कोर्स गाइडले गर्छ । यी चारवटै तरिकाबाट आएको नतिजाका आधारमा विद्यार्थीले आफ्नो शैक्षिक अवस्थाको जानकारी पाउँछ ।
प्रमाणीकरण
विद्यार्थीले नयाँ ज्ञान, विज्ञान, प्रविधि, दर्शन वा सिद्धान्त आदि के खोज्यो भन्ने कुराको प्रोफाइल नै प्रमाणीकरण हो । त्यसमा आधारित उद्यमीकरण के भयो त्यो अर्को प्रमाणीकरण हो । बजारीकरण के भयो यो पनि प्रमाणीकरण हो । कतिलाई रोजगारी दियो अर्को प्रमाणीकरण हो । यसरी देखिने कुरा मात्रै प्रमाणीकरणका आधार हुन् । अर्थात् रैथाने विश्वविद्यालयका विद्यार्थीहरू व्यावहारिक हुन्छन् । जनमुखी हुन्छन् । गैरबुर्जुवा हुन्छन् । वैज्ञानिक हुन्छन् । उत्पादनसँग जोडिएकै हुन्छन् । त्यसो नगर्ने विद्यार्थी प्रमाणीकरणका लागि योग्य हुँदैनन् ।
निचोड
नेपाल ज्ञान, विज्ञान तथा प्रविधिको देश हो । पूर्व फर्केर मुख धुँदा शरीरमा ब्रह्मऊर्जा प्राप्त हुन्छ भन्ने ज्ञान हो । विज्ञान हो । संस्कारमा समावेश गर्नु प्रविधि हो । निरन्तरताको प्रवन्ध हो । यी र यस्ता अनेकन् ज्ञान छन् । विज्ञान छन् । प्रविधि छन् । निरन्तरताका उपायहरू छन् । तर ती ज्ञानहरू केके हुन् ? शास्त्रमा भएका । व्यवहारमा भएका । अनुभवमा भएका । लोपोन्मुख भएका । यी कुराहरूकोे खोजी पहिलो काम हो ।
संकलन दोस्रो काम हो । संकलित कुरामा भएका ज्ञान, विज्ञान, सिद्धान्त तथा दर्शन खोज्नु तेस्रो काम हो । तिनलाई पाठ्यक्रमको अंग बनाउनु चौथो काम हो । अन्तर्राष्ट्रिय ज्ञानलाई स्थानीय ज्ञान, विज्ञान तथा प्रविधिसँग जोडनु पाँचौं काम हो । यसरी जोडे जोडाएका ज्ञान विज्ञान तथा प्रविधिलाई उपयोग गरी शिक्षण संस्थामा नै गरिखाने सीप शिक्षा दिनका लागि उद्यमीकरण, बजारीकरण आदि सीप सुनिश्चित गर्नु छैटौं काम हो । अनिवार्य अनुसन्धानमा अभ्यस्त बनाई पढाइ, गराइ तथा भोगाइको सन्तुलन कायम गर्नु सातौं काम हो ।
यसो गर्नाले रैथाने ज्ञान, विज्ञान तथा प्रविधिहरूको पहिचान हुन्छ । तिनको खोजी हुन्छ । विकास हुन्छ । त्यसैमा पैसा फलाउने संस्कार बन्छ । पढाइ तथा गराइ सहजै जोडिन्छ । मूल सफा भए शाखा सफा हुन्छन् भन्ने चिन्तनको कार्यान्वयन हुन्छ । क्रमशः विद्यालय तहमा पनि यो चिन्तन विस्तार हुन्छ । पालिकाहरूले यसमा लगानी गर्न थाल्छन् । नयाँ विषय पढ्न चाहने विदेशीहरूले पनि हाम्रा पुर्ख्याैली ज्ञान, विज्ञान तथा प्रविधिको गहिराइ बुझ्न थाल्छन् । अन्तरपुस्तेनी ज्ञान, विज्ञान तथा प्रविधिबीच सहसम्बन्ध कायम हुन्छ ।
आशा गरौं, रैथाने ज्ञान, विज्ञान तथा प्रविधिले स्थानीयकरण, भूमण्डलीकरण, भूमण्डलीय स्थानीयकरण तथा स्थानीय भूमण्डलीकरणको एकसाथ अभ्यास हुन्छ । पढी खानेलाई पनि । गरी खानेलाई पनि । गरी तथा पढी खाने कुरा एकसाथ मिलाउनेलाई पनि ।