काठमाडौं– मुलुकको संघिय राजधानी काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको छ । सडकमा थुपारिने फोहर हप्तौंसम्म नउठ्ने र त्यसबाट दुर्गन्ध फैलिने समस्या उपत्यकावासीको नियमित बाध्यता हो । चोक चोक र गल्ली गल्लीमा मेटिने दुर्गन्धित फोहरका डङ्गुरले वातारवरण र मानव स्वास्थ्यलाई नराम्ररी प्रभावित पारेको छ ।
विकसित मुलुकले शहरबाट निस्कने फोहरलाई व्यवस्थित रूपमा विसर्जन गरी आन्दानीका स्रोतका रुपमा उपयोग गरिरहेका छन् । तर काठमाडौंको फोहर व्यवस्थापनको विकराल समस्याले मुलुकलाई नै गिज्याइरहेको छ । यसो हुनुमा दीर्घकालीन योजनाको अभाव मुख्य कारण देखिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको योजना अनुसार २०७९ साउन १ देखि उपत्यकाको फोहर स्रोत (घरघर) बाटै कुहिने र नकुहिने वर्गमा छुट्याएर व्यवस्थापन कार्य थालिएको छ ।
कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरिएको छ । नकुहिने फोहर उठाउनका लागि सोमबार र शुक्रबार तोकिएको छ । व्यक्तिले घरमै फोहर नछुट्याए प्रत्येक पटक ५ सय रूपैँया जरिवाना लगाइने नीति महानगरले लिएको छ । त्यसरी उठेको फोहर, कहाँ र कसरी व्यवस्थापन गर्ने, कुहिनेलाई कहाँ राख्ने, नकुहिनेलाई कहाँ राख्ने जस्ता प्रश्नमा भने अन्योल कायमै छ ।
फोहरमैला विज्ञ तथा इन्जिनियर सुनिल लम्सालका अनुसार घरघरबाट वर्गीकरण गरेर सङ्कलन गरिएको फोहरलाई बञ्चरेडाँडामा पनि केही समयका लागि छुट्टाछुट्टै स्थानमा राख्ने तयारी छ । बन्चरेडाँडाका स्थानीयवासीले विकल्प खोजिरहेको र फोहरलाई स्रोतबाटै व्यवस्थापन गरी उपयोग गर्नुपर्ने माग आइरहेका बेला दुबै प्रकृतिका फोहर वर्गीकरण गरेर फेरि त्यही ठाउँमा विसर्जन गर्दा समस्या जस्ताको त्यस्तै रहने कतिपयको तर्क छ ।
महानगरले फोहर व्यवस्थापनका लागि उपत्यकाका ५ स्थानमा जग्गा पहिचान गरेको जनाएको छ । तीन महिनापछि हानिकारक फोहर बन्चरेडाँडामा नलगिने गरी काम अघि बढाइएको महानगरको दावी छ । कुहिने फोहरलाई जैविक मल बनाउने सोच महानगरको हो । यसको भरपर्दाे योजनाको अभाव देखिएकाले स्रोतमै फोहर वर्गीकरण अन्योलमा पर्ने हो कि भन्ने आशङ्का पनि उत्तिकै छ ।
विज्ञहरूका अनुसार उपत्यकाको फोहोर व्यवस्थापनका लागि फोहरको स्रोतमै वर्गीकरणसँगै उत्पादनलाई नै घटाउने, प्लाष्टिकको विकल्पमा झोलाको प्रयोग बढाउने, शून्य फोहोर (जिरो वेस्ट) अवधारणा प्रवर्धन गर्ने र आधुनिक प्रविधि प्रयोग गरी व्यवस्थापन गर्ने जस्ता उपाय अवलम्बन गर्न जरुरी छ । यसमा बहुविधि र आधुनिक प्रविधिको उपयोग प्रभावकारी हुन्छ ।
काठमाडौंका ३२ वडामध्ये मुख्य ९ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने सबै वडामा लागू गरिएको छ । स्रोतदेखि नै व्यवस्थापनको समस्या देखिएको उपत्यकाको फोहर विसर्जनस्थलमा झन् विकराल समस्या छ ।
स्थानीय तह निर्वाचनको मुखमा सिसडोलका बासिन्दाले फोहर उठाउन रोकेका कारण काठमाडौं दुर्गन्धित बन्न पुगेको थियो । नगरप्रमुख बालेन्द्र साहले सपथ खाएकै दिन सिसडोल र बन्चरेडाँडा भ्रमण गर्दा स्थानीयहरूले आन्दोलनसहित कडा प्रतिवाद गर्दै फोहर ल्याउन नदिने चेतावनी दिएका थिए ।
त्यसपछि महानगर र स्थानीयबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन समस्या समाधान गर्न १८ बुँदे सहमति भएको थियो । सहमतीपत्रमा रातिको समयमा फोहर व्यवस्थापन गर्ने, वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने, त्यहाँको दुर्गन्ध हटाउने, फोहर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था मिलाउने लगायतका विषय समावेश छ ।
उपत्यकामा क्षेत्र छुट्याएर महानगर र निजी क्षेत्रले फोहर उठाउँदै आएका छन् । फोहर उठाउन नागरिकबाट पैसा समेत असुल्ने गरिएको छ । निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमित रूपमा फोहर व्यवस्थापन हुन नसकेको आरोप छ । आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई महानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार महानगरले एकलौटी रुपमा फोहर उठाइएका स्थानमा गुनासो आएको छैन । जुन जुन स्थानमा निजी कम्पनी सामेल भएका छन् ती स्थानमा मात्रै नियमित फोहर व्यवस्थापनमा समस्या रहेको उहाँको भनाइ छ ।
काठमाडौं महानगरपालिको कल सेन्टरमा आउने गुनासामध्ये ८० प्रतिशत फोहर उठ्न नसकेको बारेमै हुन्छ । हाल कामपामा ३२ कम्पनीले फोहर व्यवस्थापनमा सहजीकरण गर्दै आएका छन् । तर सहजीकरण गरेका कुनै पनि कम्पनीले महानगरसँग लिखित सम्झौता गरेका छैनन् । यसले महानगरको योजना कार्यान्वयन फितलो रहेको देखाउँछ ।
स्रोतमै वर्गीकरण नै अन्तिम समाधान हो ?
स्रोतमै वर्गीकरण गर्ने कार्य फोहर व्यवस्थापनका हिसाबले अन्तिम समाधान हो त ? वातावरण विज्ञहरूका अनुसार यो विधि अन्तिम समाधान होइन । तर तर यसले कुहिने फोहर कम गर्न सघाउन पुर्याउँछ । वातावरण विशेषज्ञ प्रकाश अमात्य नागरिकलाई मात्रै फोहर वर्गीकरण गर्ने जिम्मा दिनु उपयुक्त नहुने बताउनुहुन्छ । फोहरको अन्तिम व्यवस्थापन पनि फरक–फरक किसिमले हुनु पर्ने उहाँको सुझाव छ ।
उपत्यकाको फोहर उपत्यकामै व्यवस्थापन गर्न नयाँ उपाय खोज्नुपर्ने उहाँको धारणा छ । ‘त्यसका लागि सम्बन्धित स्थानीय तहले नै आफ्नो फोहर व्यवस्थापनका लागि विकल्प खोज्नुपर्छ । पुनः प्रयोग गर्न सक्ने फोहरलाई प्रयोग गर्नेतर्फ स्थानीय तहले चासो दिनुपर्छ’ अमात्यले भन्नुभयो ।
काठमाडौं उपत्यकामा उत्पादन हुने फोहरमध्ये ४० प्रतिशत व्यवस्थापन गर्न सकिन्छ । त्यसको लागि प्रत्येक वडाले पुनः प्रयोग गर्न सक्ने वस्तुको खरिद गर्ने वातावण मिलाउनुपर्छ । हरेक दिन उपत्यकाबाट १ हजार २ सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको ५ सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा २ सय गाडीले फोहर ओसार्छन् ।
कहिलेसम्म छोपेर राख्ने ?
फोहोर व्यवस्थापनको अहिले देखिएको मुख्य चुनौती विसर्जनस्थलको समस्या हो । विसर्जनस्थलका स्थानीयको माग र आन्दोलनले यो समस्यालाई पटक पटक बल्झाउने गरेको छ । वर्षाको समयमा फोहोरको झोल बग्ने, दुर्गन्धित हुने र उठाउन गाह्रो पर्ने जस्ता थप कठिनाई आइपर्छ ।
सडक राम्ररी सञ्चालन नहुँदा साविकको जति फोहर उठ्न सकेको छैन । बाटो मर्मत भइरहेका कारण हाल दैनिक सय गाडीले मात्रै बञ्चरेडाँडासम्म फोहोर ओसार्न सकिरहेका छन् । अरु बेला हो भने निजी र महानगरपालिकाका गरी २ सय ५० गाडीले फोहर विसर्जन गर्थे ।
अहिले सबै गाडी जान नपाएकाले टेकुस्थित ट्रान्सफर स्टेसनमा फोहरलाई सेतो प्लाष्टिकले छोपेर राखिएको टाढैबाट देख्न सकिन्छ । दुर्गन्ध फैलिन नपाओस् भनेर यसरी फोहर छोपिएको महानगरको दाबी छ । मनसुनको समय सुरु भएसँगै बाटो बिग्रिने हुँदा उपत्यकाका १८ स्थानीय तहको फोहर लामो समय यहीँ थुप्रिनु एउटा सामान्य नियति बनेको छ । स्थानीयहरू त्यही दुर्गन्ध खपेर समय कटाउन विवश छन् ।
यस्तो छ वर्गीकरण योजना
प्रारम्भिक चरणमा स्रोतमै फोहर वर्गीकरण गरी व्यवस्थापनको काम थालिएको छ । वर्गीकृत फोहर व्यवस्थापनका लागि उपत्यकाको अन्य स्थानीय तहले जग्गा उपलब्ध गराउने र कामपाले उक्त स्थानमा आवश्यक लगानी गर्ने गरी छलफल चले पनि निष्कर्ष आइसकेको छैन । यसले छुट्टयाइएका फोहर पनि सिसडोललै लैजानुको विकल्प नभएको देखाउँछ ।
यस्तो अवस्था रहीरहन नदिन उपत्यकामै जग्गा खोजी भइरहेको र पाइनेवित्तिकै जैविक फोहर उपत्यकामै व्यवस्थापन गर्ने योजना रहेको महानगरको भनाइ छ ।
फोहोरमैला व्यवस्थापन सङ्घ, नेपाल (स्वमान) का महासचिव मित्र घिमिरे र वातावरण संरक्षण गैसस महासङ्घका अध्यक्ष टीकाराम दाहालले पनि फोहोर वर्गीकरण गर्ने महानगरको योजना, नीति र कार्यक्रमअनुसार दायित्व पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उपत्यकाको फोहरमध्ये ५५ देखि ६० प्रतिशत घरमै व्यवस्थापन गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ । त्यस्ता फोहरलाई करेसाबारीमै व्यवस्थापन गर्न सके धेरै हदसम्म समस्या कम हुने फोहर व्यवस्थापन विज्ञको भनाइ छ ।
ग्यास वा बिजुली निकाल्नु अव्यावहारिक
फोहोरमैला व्यवस्थापनका लागि काठमाडौं महानगर र उपत्यकाका अन्य १७ नगरबीच गहन छलफल भइरहेको छ । उपत्यकाको यो साझा समस्या पहिचान र समाधानको उपाय निकाल्ने योजनाका साथ छलफल अघि बढाइएको हो । काठमाडौं महानगर प्रमुख साहले फोहोरमैलाका साथै ट्राफिक व्यवस्थापन, खानेपानी वितरणजस्ता साझा समस्याका रूपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान गर्ने प्रस्ताव गर्नुभएको छ । त्यसमा मुख्य विषय फोहर व्यवस्थापन नै हो ।
साहको योजनानुसार घरघरबाट उत्पादन भएको फोहोर स्रोतमै वर्गीकरण गरिने छ । फोहोरलाई ग्यासका रूपमा रुपान्तरण गर्दा ३० देखि ३५ प्रतिशत मात्र प्रभावकारी देखिएकाले त्यो घाटापूर्ण छ । बिजुली निकाल्दा पनि २० देखि २५ प्रतिशतसम्म मात्र उत्पादन आउने देखिएको छ । त्यसैले जैविक फोहोरलाई मल बनाउने उपाय नै सबैभन्दा भरपर्दो छ । त्यसका लागि करिब २ सय देखि २ सय ५० रोपनी जग्गा आवश्यक पर्ने भएकाले साहले नगरप्रमुखहरुसँग सहकार्यको हात अघि बढाउनुभएको हो ।
नगरप्रमुखहरूले पनि उपत्यकाको एकीकृत र दिगो फोहोर व्यवस्थापनका लागि कामपाले अगुवाई गर्ने र सबै नगरले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँहरूले उपत्यका नगरपालिका फोरमलाई जीवित गराउँदै उपत्यकालाई कस्तो बनाउने भनेर एकीकृत विकासको गुरुयोजना आवश्यक भएको औँल्याउनुभएको छ ।
पानी पुनःभरण, नागरिक सचेतना, नदी किनारामा करिडोर बनाउने, नदीको सरसफाइ गर्ने, सडक सञ्जाल र ट्राफिक व्यवस्थापनजस्ता विषयमा साझा सङ्कल्प आवश्यक छ । महानगरकी उपप्रमुख सुनिता डङ्गोल भन्नुहुन्छ, ‘फोहर व्यवस्थापनमा पालिकाहरूबाट पनि खर्च भएको छ, तर नतिजा मापन गर्न सकिने खालको भएन, त्यसतर्फ ध्यान दिनु आवश्यक छ ।’
दुई वर्ष भनिएकाे ठाउँमा सत्र वर्ष फोहर, अझै थुपारिँदै
जाइकाको सहयोगमा दुई वर्षका लागि भनेर २०६२ सालमा काठमाडौं उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो । आज १७ वर्ष हुँदा पनि त्यहाँ फोहर फ्याँक्ने क्रम जारी छ । सिसडोलमा ४ सय ३२ रोपनी जग्गामा फोहर फालिँदै आएको थियो । बन्चरेडाँडामा भने फोहर व्यवस्थापनका लागि १ हजार ७ सय ९२ रोपनी क्षेत्र छुट्याइएको छ ।
सिसडोलमा हाल दैनिक १ हजारदेखि १ हजार २ सय मेट्रिक टनसम्म फोहर जाने गरेको छ । विकल्प नहुँदा योजनाविहीन रूपमा त्यहाँ फोहर विसर्जन गरिंदै आइएको छ । गाउँ नै दुर्गन्धित हुँदा पटक–पटक स्थानीयवासीले आन्दोलन गरी फोहर रोकेका थिए । सत्र वर्षसम्म आन्दोलन, सम्झौता, फेरि आन्दोलन अनि फेरि सम्झौताबाहेक दीर्घकालीन समाधानका उपायको खोजी भएन । नजिकै रहेको नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरेडाँडामा विकल्पका रूपमा अर्को ठाउँ तयार पारिए पनि समस्याको दिगो समाधान बन्न सकेन ।
अहिले काठमाडौं महानगरका प्रमुख आफैं फिल्डमा खटिएर फोहरको उचित व्यवस्थापनमा क्रियाशील रहेको र स्थानीयको माग पनि सम्वोधन गर्ने आश्वासन दिएकाले आन्दोलन तत्कालका लागि मत्थर भएको छ तर रोकिएको छैन । उनीहरू ‘पर्ख र हेर’ को स्थितिमा छन् । बन्चरेडाँडाका स्थानीयवासीको आक्रोस पनि कायमै छ ।
अहिले उपत्यकाका १८ पालिकाको फोहर दैनिकरूपमा सिसडोलमा पुग्छ । सुरूमा गोकर्ण, सिसडोल हुँदै अहिले बन्चरेडाँडामा फोहर व्यवस्थापनको प्रयास गरिएको छ । दुई वर्षअघि नै बन्चरेडाँडामा फोहर विसर्जनको काम सुरु हुनुपर्नेमा अहिलेसम्म पनि राम्ररी सञ्चालन हुन सकिरहेको छैन । फोहरलाई कुहिने र नकुहिने गरी छुट्याएर व्यवस्थापन गर्ने र कुहिने फोहरलाई मलका रुपमा प्रयोग गरी आम्दानी गर्ने नगरप्रमुख साहको योजना योजनाको कसैले पनि बिरोध गरेका छैनन् । तर त्यो फोहर साँच्चै मोहरमा परिणत होला भन्नेमा चाहिँ धेरैको आशंकापूर्ण प्रश्न छ । रासस