अहिले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिक दुबैतर्फको निर्वाचन सम्पन्न भई लगभग परिणामसमेत आइसकेको छ । अब कस्को नेतृत्वमा कस्तो सरकार गठन होला भन्ने आम अनुमानकाबीच मुलुकवासी समक्ष फेरि पनि पुरानै प्रश्नहरू उब्जिएका छन्– चुनाव त सकियो तर के मुलुकले स्थायित्व पाउला ? अहिले चुनिएका नेताहरूले पहिलेकाले भन्दा राम्रो गर्लान् त ? पुराना र पाका नेताहरूलाई नयाँले पाखा लगाउन सक्लान् त ?
चुनावी परिणामले यी सबै प्रश्नका सकारात्मक नै उत्तर आउलान् भनेर ढुक्क हुन सकिने स्थिति देखिएको छैन । त्यसैले फेरि पनि हाम्रा सामु तिनै सवाल खडा हुनेछन् जसको जवाफमा मुलुकको साँचो समृद्धि अल्मलिएको छ । ती सवाल हुन्– पटक पटकको व्यवस्था परिवर्तन वा सरकार परिवर्तनका बाबजुद पनि मुलुकले किन विकासको लय पक्रन सकेन ? किन सुव्यवस्थाको वदला अव्यवस्था हावी भयो ? किन पछौटेपन कायमै रहिरह्यो ? किन यो देश गरीबको गरीब नै भइरह्यो ?
नेपाल किन विपन्न रहिरह्यो भन्ने प्रश्नको अनेक कोणबाट व्याख्या गर्न सकिन्छ । जति नै कोणबाट विवेचना गरे पनि निष्कर्ष उही हुन आउँछ– हामीकहाँ राजनीतिक क्षेत्रमा मात्र हैन, आम रूपमै ज्ञान र कर्म दुबैको कमी भयो । सामूहिकताको भावना ह्रास हुँदै गयो । पछिल्ला दशकहरूमा आएर सकारात्मक सोचमा पनि कमी आएको महसुस गरिँदैछ ।
यसबाहेकका सहायक कारणहरू पनि खोतल्ने हो भने लामै सूची बन्न सक्छ । जस्तो कि– व्यावहारिक र सीपमूलक शिक्षाको अभाव, काम गर्ने संस्कार र सही वातावरण बनाउन नसक्नु, नवीनतम विचार र लगानीको तालमेल मिलाउन नसक्नु, लगानीको प्रतिफल प्राप्त होउन्जेलसम्म धैर्य गर्ने क्षमता नहुनु, उत्पादनमुखी कामभन्दा सेवा र मध्यस्थतामुखी काममा ज्यादा जनशक्ति लाग्नु आदि ।
सूचीका यी यस्ता कारण हुन् जसलाई नियम कानून बनाएर मात्र सच्याउन सकिन्न । आम चेतना र विवेकविना यी समस्याहरूको हठात् हल संभव छैन ।
नेपालको दुर्भाग्यहरूमध्येको एउटा मुख्य के भने यहाँको माटोमा लामो समयदेखि निश्चित व्यक्ति वा वर्गले मात्र शासन सत्ता कब्जा गरिरहे र उनीहरूले सबै नीति नियम यसरी बनाए कि त्यसले आफू र आफ्नालाई मात्रै लाभ दिइरहने तर आम सर्वसाधारणलाई ख्यालै नगर्ने अबस्था बन्यो । जंगबहादुर राणाले भाइभारदारमा शासन सत्ता जाने प्रवन्ध मिलाएको समयदेखि, पञ्चायतकालका पञ्चहरूले दरबारको चाकरी गरेर आफ्नो रजाईँ चलाएको समय हुँदै अहिलेका कांग्रेस, एमाले, माओवादी आदिले आफ्नै लागि मात्र सुविधा र लुटतन्त्र मच्चाएको अवस्थासम्म आईपुग्दाको झण्डै ८० वर्षको अवधिमा जति शासक फेरिए पनि सबैमा एउटा समानता के देखियो भने जनतालाई परिवर्तन भएको ढोल पिटाइयो तर उनीहरूको अवस्था जहिँको त्यहिँ रह्यो । क्रान्तिका कुरा सुनाईए तर जनताको दैनन्दिन जीवन आशान्त बनाइयो । सीमित मानिसहरूले छलाङ्ग मारे तर बाँकी सबैका लागि त्यही परिवर्तन मन्द विष सहर भयो ।
नेतृत्वको अकर्मण्यताकै कारण ठूलो परिमाणमा पुँजी या त पलायन भयो या त घरजग्गा जस्तो अनुत्पादक क्षेत्रमा गयो । जति नै गफ गरिए पनि उत्पादनमूलक ठाउँमा लगानी जानै दिइएन । मुलुकभित्रको श्रमशक्ति यति उपेक्षित हुने अवस्था बनाइयो कि आम युवा हुल बाँधेर खाडीका मुलुक वा मलेशिया जान बाध्य बनाइए । उनीहरूबाट आएकै विप्रेषण पनि सही र उत्पादनशील ठाउँमा प्रयोग भएन । उल्टै त्यो आलस्य बढाउने र जमीन बाँझो राख्ने कारक बन्न पुग्यो । अलिक राम्रो पढेलेखेका वा क्षमता भएका अमेरिका, युरोप र अष्ट्रेलिया पलायन भए । उनीहरूले नेपाललाई आर्थिक योगदान गर्नु त परै भएको जग्गा जमीन बेचेर उतै लगानी गर्ने वा किस्ता तिर्ने गर्न थाले । वर्षाैंदेखिका यस्तै गतिविधिको परिणाम– पछिल्ला वर्षहरूमा मुलुकमा विदेशी मुद्राको सञ्चिती नराम्ररी घटेको छ भने व्यापार घाटा भयावह बन्दै गएको छ ।
मुलुक यति विषम परिस्थितिमा पुगिसक्दा पनि राजनीतिक नेतृत्व भने व्यक्तिगत स्वार्थ, आपसी कलह र अवैध लेनदेनमै लिप्त भइरह्यो । थोरै अपवाद होलान् तर मूलतः राजनीतिमा आवद्ध व्यक्तिहरूको ठूलो हिस्सा पद, पैसा र प्रतिष्ठाको व्यक्तिगत लाभकै हिसाबकिताबमा मात्र रुमल्लिरह्यो । राजनीतिमा लागेकाहरूमा थोरै मात्र पनि त्यागको प्रवृत्ति नहुँदा हरेक पार्टीभित्र झुण्ड झुण्डका गुट उपगुटहरू बने । ती सबैले राजनीतिक अस्थिरतालाई नै मलजल गरे । व्यक्तिगत वा पार्टीगत स्वार्थसिद्धका लागि वाह्य हस्तक्षेपबाट सहजै परिचालित भइदिए । राजनीतिले नीतिगत भ्रष्टाचारलाई मलजल गरिरह्यो । अन्ततः मुलुकको आधारभूत आवश्यकताका विषयहरू शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यम र विकास जस्ता सबै क्षेत्रहरू कमजोर बन्न पुगे ।
शक्तिशाली छिमेकीहरू चीन र भारतबीच रहेर पनि विकासका कार्यहरूमा सही साझेदारी गर्न नसक्नु र उनीहरूसँग ज्ञान र प्रविधिमा काँधमा काँध मिलाएर अघि बढ्न नसक्नुले उनीहरूको तुलनामा हामी निकै पछि परिरहेका छौं ।
सही र दिर्घकालीन विकास भनेको मानवीय पुँजीको विकास हो भन्ने गाँठी कुरो बुझ्न र त्यसलाई कार्यान्वयन गर्न नसक्दा हामी आजको अवस्थामा आईपुगेका छौं । हात्तीजत्रो प्रशासनिक खर्च र कमिला जत्रो विकास खर्चमै पनि कमिसन र भ्रष्टाचारको चक्कर चलिरहँदा मुलुकको यो हालत नभए के हुन्छ ?
अब के गर्ने त ?
यदि हामीले हाम्रा यी समस्याहरूलाई समाधान गर्नु छ भने सबैभन्दा पहिले आफ्नो सामथ्र्यलाई पहिचान गर्न सक्नुपर्छ । किनभने हरेकले आफ्नै सामथ्र्यले हो आफूलाई विकास र प्रगतिको बाटोमा अघि बढाउने ।
नेपाल जैविक विविधतामा यति सम्पन्न मुलुक हो जहाँ संसारका अधिकाधिक प्रकारका हावापानी पाइन्छन् । माटोको प्रकारमा पनि उत्तिकै विविधता छ । त्यसैले नेपालको मुख्य प्राथमिकताको विषय भनेकै कृषि हो । त्यसका लागि पनि पहिलो र अपरिहार्य अवश्यकता हो उचित शिक्षा र प्राविधिक सीप । सँगसँगै कृषिको सामूहिक र व्यावसायिक पद्धतिको विकास र त्यही कृषि उत्पादनमा आधारित साना तथा मझौला उद्योग स्थापना गरिनु अनिवार्य छ । राज्यले सडक, मलखाद र बजार व्यवस्थापन लगायतका आवश्यक पूर्वाधारमा लगानी गरेर सहज वातावरण बनाइदिने हो भने खाडीमा पोखिने पसीना हाम्रै माटोमा पोखिन नसक्ने कुरै छैन । त्यसैले कृषि हाम्रो पहिलो सामथ्र्य हो ।
हाम्रो दोस्रो सामथ्र्य हो– उर्जा । खासगरी जलविद्युत् । जलविद्युत्बाट हामीले ठूलो धनराशी आर्जन गर्न वा जोगाउन सक्छौं तर सँधै होइन । विश्वव्यापी तापमान बृद्धिको असर अहिल्यै यति तीव्र रूपमा देखिन थालिसक्यो कि अबको ५० वर्षपछि हामीले आजका हिमाललाई आजकै रूपमा पक्कै देखिरहन पाउने छैनौं । हामीले जलविद्युत्बाट लाभ लिने हो भने भोलि लिउँला भनेर कुर्ने होइन, आजै लिन सक्नुपर्छ । आयोजना निर्माणको समयभन्दा एक वर्षमात्रै पनि खेर फालियो भने त्यो राज्यका लागि ठूलो क्षति हो । अहिले हामी बिजुली उत्पादन गरेर मुलुकमा पर्याप्त खपत बढाउन र जैविक इन्धनको आयात घटाउन सक्छौं । तर केही दशकपछि हामी आफैं पनि उर्जाको अर्को विकल्प खोज्ने अवस्थामा नपुगौंला भन्न सकिन्न ।
हाम्रो तेस्रो सामथ्र्य हो– पर्यटन । सामान्य घुमफिर र पर्वतारोहणमा सीमित हाम्रो पर्यटनलाई हामीले पर्यापर्यटन, धार्मिक–आध्यात्मिक पर्यटन, कृषि पर्यटन र सांस्कृतिक पर्यटन लगायतका क्षेत्रमा विस्तार गर्न सक्ने प्रचूर संभावना छ । संसारभरिका मानिसलाई हिमाल, पहाड तराईकासुन्दर दृष्यहरू नियाल्दै अर्गानिक खाना खुवाएर केही दिन बिताउने रिसोर्ट–कन्ट्रीका रूपमा नेपाललाई बनाउन किन पो सकिँदैन र ?
नेपाल पाँच शब्दहरूले मात्र पनि बन्न सक्छ यदि यी शब्दहरूलाई व्यवहारमा मूर्त रूप दिने गरी उतार्न सक्ने हो भने । उर्जा, सडक, शिक्षा, कृषि र पर्यटन । उर्जामा आत्मनिर्भर भएर यातायातदेखि घरायसी प्रयोजनका धेरैभन्दा धेरै सरसामान विद्युतीय चलाउन सके अर्बौंको आयात प्रतिस्थापन हुन्छ ।
सडकको सञ्जाल गतिलो र चुस्त बनाउन सके कम्तिमा तरकारी र फलफूलमा हाम्रै कुनाकाप्चाका उत्पादनहरूबाट धेरै हदसम्म बजार धानिन सक्छ । खाद्य सामग्रीमा आत्मनिर्भर बने अर्को अर्बौं रकम विदेशिनबाट बच्छ । अर्थतन्त्र भित्रैबाट मजबुत बन्दै जान्छ । कृषिमा आधारित उद्योग बनाएर सहकारी वा इजरायलको किबुज जस्ता सामूहिक संस्था र लगानीमा सुनिश्चितता बढाउने हो भने साना उद्योगबाट निस्केको उत्पादनका लागि बजार पनि देश भित्र नै हुन्छ र बजारको र उपभोक्ताको आकारले पनि थेग्छ । सरकारले कुनै व्यक्ति वा संस्थालाई थप लगानीका लागि हरेक नीति सहज र सरल बनाएर उद्यमशीलताको वातावरण बनाइदिने हो भने अधिकांश युवा स्वतः त्यसतर्फ आकर्षित हुनेछन् । युवा जागरणबाटै मात्र मुलुकको उन्तति र प्रगति संभव छ ।
आशा गरौं यी तथ्यहरूलाई हाम्रा नवनिर्वाचित जनप्रतिनिधिहरूले बुझ्नेछन् । जनताका सपनामाथि विगतमा जस्तै तुषारापात गर्ने छैनन् । सत्ताको भागवण्डा र लुछाचुँडीमा मात्र सीमित नरही मुलुकको अवश्यकता अनुकूलका नीति निर्माण र योजनाहरू बनाएर लागू गर्नेतर्फ अग्रसर हुनेछन् ।