यही नोभेम्बर १८ देखि २४ सम्म संसारभर विश्व एन्टीमाइक्रोबियल सचेतना सप्ताह मनाइएको छ । विश्वभरका सर्वसाधारण, स्वास्थ्यकर्मी र नीति निर्माता समेतमा चेतना जगाउने उद्देश्यले यो सप्ताह मनाउने गरिएको हो । पछिल्लो कालखण्डमा एन्टिबायोटिक प्रतिरोध संसारभर देखिइरहेको छ । यो प्रतिरोधका कारण संक्रामक रोगहरूको उपचार पनि प्रभावित भइरहेको छ । त्यसैले कुनै पनि एन्टिबायोटिक प्रयोग गर्नुअघि चिकित्सकको उचित परामर्श लिनु अनिवार्य छ । एन्टिबायोटिक प्रतिरोधबारे सबैले जानिराख्नु जरुरी छ ।
एन्टिबायोटिक भनेको के हो ?
स्वास्थ्य हेरचाहमा, एन्टिबायोटिकहरू खतरनाक ब्याक्टेरियल संक्रमणहरूबिरुद्द लड्नका लागि मानिससँग उपलब्ध सबैभन्दा शक्तिशाली औषधिहरू मध्ये एक हो ।
एन्टिमाइक्रोबियल रेजिसटेन्स (प्रतिरोध) के हो ?
एन्टिमाइक्रोबियल रेजिसटेन्स (प्रतिरोध) त्यो अवस्थालाई भनिन्छ जब ब्याक्टेरिया वा अन्य कीटाणुहरूले तिनीहरूलाई मार्न डिजाइन गरिएका औषधीहरूलाई प्रतिक्रिया दिँदैनन् र ती औषधीहरूले उनीहरू मर्दैनन् वा नस्ट हुँदैनन् ।
एन्टिमाइक्रोबियल रेजिसटेन्स (प्रतिरोध) किन हुन्छ ?
ब्याक्टेरियाहरू केही हदसम्म समयका साथै वातावरण अनुकूलन परिवर्तन हुन सक्षम हुन्छन् । मानिसबाट गलत वा अनावश्यक बेलामा एन्टिबायोटिक प्रयोग भएका कारण उनीहरूले प्रतिरोध क्षमता बढाउँदै लैजान्छन् ।
एन्टिमाइक्रोबियल रेजिसटेन्स (प्रतिरोध)ले मानिसको मृत्यु पनि हुन सक्छ ?
विश्व स्वास्थ्य संगठन WHO को अनुमान छ कि विश्वमा हरेक वर्ष, बहुऔषधि प्रतिरोधी (MDR) ब्याक्टेरियाको संक्रमणले सबै उमेरका गरी सात लाख मानिसको मृत्यु हुने गरेको छ । त्यसमध्ये लगभग दुई लाख नवजात शिशुहरू हुने गरेका छन् । एन्टिमाइक्रोबियल प्रतिरोधसम्बन्धी सन् २०१६ को एक समीक्षा अनुमान अनुसार सन् २०५० सम्म बहुऔषधी प्रतिरोध (AMR) को परिणामस्वरूप प्रत्येक वर्ष १० लाख मानिसहरूको मृत्यु हुन सक्नेछ ।
एन्टिबायोटिक कुन अवस्थामा मात्र प्रयोग गर्ने त ?
एन्टिबायोटिकको प्रयोग अत्यावश्यक परेका बेला चिकित्सकको सल्लाहमा भनिए अनुसारको मात्रामा तोकिएको अवधिसम्म मात्र लिनु पर्छ । आफैँले वा औषधी पसलेले दिएको भरमा मात्र कहिल्यै प्रयोग गर्नु हुँदैन ।
रूघाखोकी, ज्वोरो, झाडाबान्ता आदि जस्ता स्वास्थ्य समस्यामा आफैँले खान सकिन्न र ?
साधारण रूघाखोकी, झाडावान्ता, ज्बरो, कोविड, डेंगी, आदि धेरैजसो भाईरल संक्रमण हुन् , यिनीहरूमा एन्टिबायोटिक खानु वा दिनु पर्दैन ।
घाँटी दुख्दा अजिथ्रो वा पखाला लाग्दा मेट्रोन खानु ठीक हैन र ?
प्रायः घाटी दुख्ने, पखाला लाग्ने पनि भाईरल संक्रमणकै कारणले हो । त्यसो भएकाले चिकित्सकलाई नजँचाई एन्टिबायोटिक खानु हुँदैन ।
एन्टिबायोटिक नखाई रूघाखोकी नै निको हुन्न त ?
रूघाखोकी पनि भाईरल संक्रमणका कारणले हुने भएकोले एन्टिबायोटिक दिनु हुँदैन । भाईरल संक्रमणले हुने रूघाखोकी ७–१० दिनमा आफैँ निको हुन्छ । एन्टिबायोटिकले निको हुने होइन ।
एन्टिबायोटिकले हाम्रो शरीरमा नकारात्मक असर गर्छ र ?
एन्टिबायोटिकले चाहिएकै अवस्थामा पनि केही अनावश्यक–असर (साइड–इफेक्ट) गर्न सक्छ । नचाहिएको बेलामा एन्टिबायोटिक प्रयोग गरियो भने त झनै गर्ने नै भयो । अनावश्यक समयमा एन्टिबायोटिक प्रयोग गरियो भने शरीरमा चाहिने असल ब्याक्टेरियाहरूसमेत मर्न सक्छन् । त्यसो भयो भने पाचन प्रक्रिया कमजोर हुने, रोगबिरुद्ध लड्ने शक्ति निर्माण क्षमता घट्ने, एलर्जी बढ्ने जस्ता सम्भावनाहरू रहन्छन् ।
एन्टिमाइक्रोबियल रेजिसटेन्स (प्रतिरोध) कम गर्न के गर्न सकिन्छ ?
उमेर अनुसार रोगविरुद्धका खोपहरू लगाउने। संक्रमणबाट बच्न हात धुने, मास्क लगाउने, रूघाखोकी लागेको व्यक्तिको नजिक नपर्ने, औषधी खानु पर्छ जस्तो लागेको छ भने चिकित्सकको सल्लाह लिने गर्नुपर्छ । एन्टिबायोटिक जति दिनलाई जति मात्रामा भनिएको छ त्यति नै मात्र प्रयोग गर्नुपर्छ ।