अर्थ र प्रयोजन
योग संस्कृत शब्द हो । संस्कृत व्याकरणका अनुसार युज् धातुमा घञ् प्रत्यय लागेर योग शब्द बनेको छ, जसको सामान्य अर्थ जोड्नु वा मिलाउनु भन्ने हो । प्राचीन पूर्वीय ग्रन्थ र शास्त्रहरूमा योग शब्दको प्रयोग व्यापक र विस्तृत अर्थ बुझाउनका लागि भएको पाइन्छ ।
गणितमा दुई वा दुईभन्दा बढी संख्याको जोडलाई योग भनिन्छ । रसायनशास्त्रमा पनि दुई वा धेरै तत्वहरूको मिश्रणलाई नै योग भनिन्छ । ज्योतिषशास्त्रमा ग्रहहरूको खास अवस्थितिलाई योग भनिन्छ । जीवन विज्ञानका सन्दर्भमा योगको अर्थ शरीर र मनको मिलन हो । अध्यात्ममा चाहिँ योग भन्नाले आत्मालाई परमात्मासँग साक्षात्कार गराउनु (जोड्नु) भन्ने बुझिन्छ ।
योगका सर्वश्रेष्ठ व्याख्याता महर्षि पतञ्जलिले योगलाई ‘चित्तवृत्ति निरोध (रोकिएको) अवस्था (योगश्चित्तवृत्ति निरोधः)’ का रूपमा परिभाषित गरेका छन् । यसैलाई चलन चल्तीको भाषामा भन्नुपर्दा विचाररहित (शून्य विचारको स्थितिमा हुनु) नै योगको अवस्थामा हुनु हो ।
योगको वास्तविक प्रयोजन आफूलाई आफ्नो खास स्वरूपमा अवस्थित गराउनु हो । आफ्नो आत्मा वा जीवात्मा (consciousness) लाई परमात्मा (universal consciousness) सँग जोड्नु हो । योगको अन्तिम लक्ष्य सबै प्रकारका दुःखहरूबाट सदाका लागि छुटकारा पाउनु वा मोक्ष प्राप्ति गर्नु हो ।
उत्पत्ति र अवधारणा
योगको प्रारम्भ कसले र कहिले गर्यो भन्ने विषयमा सबैको एकमत छैन । तर चारै वेद (ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद) मा चर्चा भएकाले योग वैदिककालदेखिकै परम्परा हो भन्ने बुझिन्छ । विभिन्न ग्रन्थहरूमा छरिएर रहेको योगविद्यालाई पतञ्जलिले व्यवस्थित र सूत्रबद्ध गरे ।
त्यसो त पतञ्जलिकै जीवनकाल र स्थानका बारेमा पनि यकिन जानकारी छैन । विभिन्न तथ्यहरूका आधारमा उनी इसापूर्व ४०० देखि ३०० को बीचका हुन् भन्ने अनुमान छ । उनले रचना गरेको ग्रन्थ पातञ्जल योगसूत्रमा १ सय ९५ सूत्र छन् । हरेक सूत्र गहन, रहस्यपूर्ण र लामो दार्शनिक व्याख्या गर्न सकिने खालका अर्थपूर्ण छन् । उनले योगलाई ८ अङ्ग (अष्टाङ्ग) मा विभाजन गरी सरल रूपमा वर्णन गरिदिएकाले अहिलेका आम मानिसलाई योगको अवधारणा बुझ्न सहज भएको छ । ती अङ्ग हुन्– यम, नियम, आसन, प्राणायम, प्रत्यहार, धारणा, ध्यान र समाधि ।
प्रसार र प्रयोग
करिब ५ हजार वर्षअघि भारतवर्षमा प्रादुर्भाव भएकोे योगको प्रसार र प्रयोग कहिले तीव्र र कहिले मन्द गतिमा हुँदै आएको पाइन्छ । पातञ्जल योगसूत्रले अर्थबोध गराएको योगको मौलिक अभ्यासविधि अहिलेसम्म आइपुग्दा निकै भिन्न भइसकेको छ । पछिल्ला दशकहरूमा योग संसारभरि नै शारीरिक र मानसिक तन्दुरुस्तीको एउटा मुख्य उपायका रूपमा विकसित भइरहेको छ ।
आध्यात्मिक उन्नतिको एउटा महत्वपूर्ण पाटो कमजोर भए पनि यो शरीरलाई स्वस्थ्य र मनलाई तनावमुक्त गराउने लाभदायी अभ्यासका रूपमा स्थापित हुँदै गएको छ । त्योभन्दा बाहेक विश्व बजारमा, खासगरी अमेरिकी र युरोपेलीमाझ योग र यससँग सम्बन्धित उत्पादनहरूले एउटा अलग्गै र उल्लेखनीय बजारको आकार ग्रहण गरिसकेका छन् ।
अमेरिकी योग बजार
अमेरिकीहरूले योगबारे १ सय २५ वर्षभन्दा अघि नै (सन् १८९० को दशकमा) परिचित हुने अवसर पाएका थिए । तर लामो समयसम्म उनीहरूले यसको महत्वलाई खासै बुझ्न सकेनन् । खास महत्व त अझ पनि राम्ररी बुझ्न बाँकी नै छ । तैपनि पछिल्ला वर्षहरूमा अमेरिकी समाजमा योगाभ्यास परालको आगोजस्तै भएको छ ।
योगाभ्यासी प्रायः सबैजसोले यसबाट आफूलाई शारीरिक र मानसिक लाभ मिलेको बताइरहेका छन् । तर उनीहरूमध्ये बिरलैलाई मात्र योग दुःखको आत्यन्तिक निवृत्ति र परमानन्द प्राप्तिको अचूक साधन हो भन्नेबारे ज्ञान छ । अमेरिका लगायत विश्वका अधिकांश ठाउँमा योग शब्दको सही उच्चारणसमेत हुन सकिरहेको छैन । हुँदाहुँदा अहिले आएर नेपाल र भारतजस्ता स्रोत मुलुकहरूमै समेत योग शब्दको अंग्रेजी अपभ्रंश उच्चारण ‘योगा’ मानिसहरूको जिब्रोमा झुन्डिन थालेको छ ।
फिटनेस ट्रेन्डको अग्रणी सूचीमा परेसँगै अर्थतन्त्रमा योगको प्रभाव पर्न थालेको हो । योग गर्दा बस्ने म्याटदेखि लिएर लगाउने पोसाक, प्रशिक्षक र प्रशिक्षण शुल्कसम्म सबैलाई जोड्ने हो भने योग अहिले राम्रो आर्थिक कारोबार हुने बजारका रूपमा विकसित भएको छ ।
विश्वमा करिब ३० करोड मानिसले दैनिक योग अभ्यास गर्छन् । सन् २०१८ मा विश्व योग बजार १३ अर्ब ३० करोड डलर बराबरको रहेकामा २०२७ सम्ममा यो २३ अर्ब २० करोड डलर बराबर पुग्ने अनुमान छ । यसमा सबैभन्दा ठूलो हिस्सा अमेरिकी बजारको छ । सबैभन्दा बढी योग गरिने १० देशको सूचीमा क्यानाडा, सिंगापुर, अस्ट्रेलिया, आयरल्यान्ड, अमेरिका, भारत, न्युजिल्यान्ड, स्विजरल्यान्ड, हङकङ र अस्ट्रिया छन् ।
अन्तर्राष्ट्रिय योग फेडेरेसनका अनुसार, विश्वमा करिब ३० करोड मानिसले दैनिक योग अभ्यास गर्ने गर्छन् । अमेरिकामा मात्रै करिब ६ करोड ६० लाख मानिस दैनिक योग गर्छन् । प्रत्येक ३ मध्ये १ एक अमेरिकी आफ्नो जीवनमा कम्तीमा एक पटक योग अभ्यासमा सहभागी भएको अनुमान छ ।
योगा बेसिक्समा प्रकाशित एक रिपोर्टका अनुसार, संसारमा सबैभन्दा बढी योग गरिने १० देशहरूमा क्यानाडा, सिंगापुर, अस्ट्रेलिया, आयरल्यान्ड, अमेरिका, भारत, न्युजिल्यान्ड, स्विजरल्यान्ड, हङकङ र अस्ट्रिया छन् । अमेरिकामा सबैभन्दा बढी योग गरिने १० सहरहरूमा सानफ्रान्सिस्को, डेन्भर, सियाटल, बोस्टन, पोर्टल्यान्ड, सान्डिएगो, अस्टिन, न्युयोर्क, वासिङ्टन र मिनियापोलिस छन् ।
विश्व योग बजारको आकार
बिजनेस वायरको सन् २०२० को एक रिपोर्ट अनुसार, सन् २०१८ मा विश्व योग बजार १३ अर्ब ३० करोड डलर बराबरको थियो । सन् २०२७ सम्ममा यो २३ अर्ब २० करोड डलर बराबर पुग्ने अनुमान छ । यसमा सबैभन्दा ठूलो हिस्सा अमेरिकी बजारकै छ । अहिले अमेरिकीहरूले योग सिक्न र योगका सरसामान किन्न प्रतिवर्ष झन्डै १६ अर्ब डलर खर्च गरिरहेको अनुमान छ । यहाँ योगाभ्यास गर्नेहरूमध्ये ७२ प्रतिशत महिला छन् । २० लाख अमेरिकी बालबालिकाले अहिले दैनिक योगाभ्यास गर्ने गरेका छन् । यहाँ १ लाख योग प्रशिक्षक दर्ता भएका छन् ।
इभेन्ट ब्राइट २०१९ का अनुसार, अमेरिकामा एक व्यक्तिले एक महिनामा योगका लागि औसत ९० डलर खर्च गर्छ जुन उसको जीवनकालको हिसाबमा ६२ हजार ६ सय ४० डलर हुन आउँछ । इन्डिड डट कम २०२१ का अनुसार, अमेरिकामा एक योग प्रशिक्षकको औसत पारिश्रमिक ३०.४६ डलर प्रतिघन्टा हुने गरेको छ । ओर्लान्डो र फ्लोरिडा सहरमा योग प्रशिक्षकलाई सबैभन्दा बढी अर्थात् ४७.१२ डलर प्रतिघन्टा तिरिन्छ । दोस्रोमा सानफ्रान्सिसको पर्छ जहाँ ४२.८४ डलर प्रतिघन्टा तिर्नुपर्छ । तेस्रोमा न्युयोर्क सहर पर्छ । यहाँ ४१.४७ डलर प्रतिघन्टा तिरिन्छ । योग प्रशिक्षक तालिमका लागि दुई हजारदेखि ५ हजार डलरसम्म पर्ने गर्छ ।
किन फैलियो पश्चिममा योग ?
अमेरिका लगायत पश्चिमेली मुलुकहरूमा यसरी योग फस्टाउनुको मुख्य कारण– यहाँ योगलाई शारीरिक स्फूर्ति एवं लचकता बढाउने र तनाव विसर्जन गर्ने भरपर्दो माध्यम हो भन्ने अर्थमा धेरैले बुझेका छन् । एसियसयम हेल्थ एन्ड फिटनेस जनरलको २०१९ को एक रिपोर्ट अनुसार विश्वको शारीरिक व्यायामको सूचीमा योग १४ औं नम्बरमा छ ।
अमेरिकी योग अभ्यासकर्तामध्ये अधिकांशले योग गरिसकेपछि सकारात्मक महसुस भएको बताउने गरेका छन् । कतिपयले तनाव विसर्जन भएको महसुस गर्ने गरेका छन् । कतिचाहिँ योगाभ्यासकै कारण आफ्नो खानपान र निद्रामा सकारात्मक परिवर्तन आएको स्विकार्छन् । अझ कतिले त योग गर्न थालेपछि ढाड दुख्ने समस्यामा फाइदा पुगेकोसमेत बताएका छन् ।
कोही योग प्रशिक्षक बन्नका लागि मात्र योग अभ्यास गर्नेहरू पनि छन् । योगले एकाग्रता र स्मृति बलियो बनाउँछ, कुलत र कुसंगतबाट बचाउँछ अनि सामाजिक सम्बन्ध मजबुद बनाउँछ भन्ठान्नेहरू पनि प्रशस्तै छन् । जीवन जिउने सबैभन्दा उचित कला सिक्न मद्दत मिल्छ भन्ने लागेर योग सिक्नेहरू पनि उत्तिकै छन् ।
योगको विश्व बजार मौलाउँदै जानुका अझै थप कारण छन् । जस्तो कि, यसको प्रचारप्रसारमा रिचर्ड गेरे, किम कार्दसियन, म्याडोना, शिल्पा सेट्ठी, करिना कपूर, विपासा वासुजस्ता चर्चित सेलिब्रेटीहरू लागि परेका छन् । विभिन्न मुलुकका सरकारहरूले यसको प्रवर्धनमा उत्तिकै सहयोगी भूमिका निर्वाह गरेका छन् । विश्व योग दिवसले पनि यसको प्रचार प्रसारमा टेवा पुर्याएको छ ।
आलिक्याट योगी अमेरिकाको आलाबामा सहरमा सन् २०२१ देखि बिक्रम योग सिकाउँदै आइरहेका छन् । उनी आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक उन्नतिका लागि योग गर्ने गरेको बताउँछन् । ‘म योग प्रशिक्षक बन्न चाहनुको कारण आफ्नो मात्र नभई अरूको पनि शारीरिक, मानसिक र आध्यात्मिक उन्नतिमा सहयोग पुर्याउन सकूँ भन्ने नै हो,’ उनी भन्छन्, ‘जब म योग सिकाउँछु, त्यतिबेला विद्यार्थीहरूको रोग वा अरू समस्या निको पार्नमा बढी जोड दिन्छु ।’
यानली लिन्डहोल्म स्विडेनमा जन्मिएकी योग प्रशिक्षक हुन् । उनी भन्छिन्, ‘योगाअभ्यासले मलाई शारीरिक स्वास्थ्य, मानसिक अविचलन र स्पष्टता प्रदान गर्दछ । योगाभ्यासबाट मलाई भावनात्मक शान्ति मिलेको अनुभव हुन्छ । आध्यात्मिक विकास र आत्मकेन्द्रित गराउँछ । त्यसैले म योग गर्छु ।’ उनका अनुसार योगाभ्यासले मानिसहरूलाई जीवनमा स्वस्फूर्त रूपमा अल्पकालीन र दीर्घकालीन फाइदाहरूको अवसर प्रदान गर्छ ।
तपाईं अरूलाई चाहिँ किन सिकाउनुहुन्छ नि ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘म मानिसहहरूमा साँचो खुसी उनीहरूभित्रै रहेको स्मरण दिलाउन चाहन्छु । उनीहरूलाई परम चैतन्यतिर डोर्याउनका निमित्त मैले योग सिकाउने गरेको हुँ ।’
फ्लोर भिलाजन भेनेजुएलामा जन्मिएर हाल न्युयोर्कमा बस्दै आएकी छन् । उनले ब्राजिलमा जन्मेर विगत ५० वर्षदेखि योग सिकाउँदै आएका, श्री धर्म मित्रका नामले चिनिने एक योग गुरुसँग योगाभ्यास सिकिन् । अहिले उनी आफैं योग प्रशिक्षक बनेकी छन् । भन्छिन्, ‘मैले आत्म साक्षात्कारको परम उद्देश्यका साथ योग गर्ने गरेको छु । मैले योग सिकाउनुको कारणचाहिँ अरूको दुःख र पीडा हटाउनमा आफू पनि केही न केही रूपमा सहयोगी बन्न सकियोस् भन्ने लागेर हो ।’ योग प्रशिक्षणकै लागि उनी २० वर्षदेखि मेक्सिको, स्विजरल्यान्ड, जापानजस्ता मुलुकहरू गइरहेकी हुन्छिन् ।
पश्चिमी समाज के सोच्छ ?
पहिलो कुरो त, पश्चिमेलीहरू ‘योग’ लाई ‘योग’ नै भन्दैनन्, ‘योगा’ भन्छन् । उनीहरूका लागि यसको अर्थ मुख्य रूपमा ‘आसन’ मात्रै हो । करिबकरिब ९५ प्रतिशतको बुझाइमा ‘योगा’ भनेको शारीरिक व्यायाम मात्र हो । यो बुझाइ पूरै गलत त होइन, तर एकदमै अपूर्ण हो । उदाहरणका लागि प्राणायाम योगको एक प्रमुख अङ्ग हो । तर प्राणायामबारे पत्तै नभएका वा पत्तो पाउनै नचाहेका योग केन्द्रहरू यहाँ प्रशस्तै छन् ।
यहाँ करिब १ सय ५० भन्दा बढी योगका शैलीहरू प्रचलित छन् । तीमध्ये धेरैजसोको उपयोगिता पनि छ । तर केहीमा भने म उपयोगिताभन्दा बढी विकृतिको सम्भावना देख्छु । जस्तो कि, बाख्रा योगा र रक्सी (वाइन र बियर) योगा ।
बाख्रासहितको योगामा बाख्राका पाठाहरूलाई ढाडमा वा शरीरका अंगहरूमा टेक्न लगाइन्छ । यसो गर्दा काउकुती लागेजस्तो फरकपनको अनुभव हुने र हँसी मजाकजस्तो पनि हुने उनीहरूको भनाइ छ । रक्सीसहितको योगामा चाहिँ योगका अनेक आसनहरू गर्दै बीच–बीचमा रक्सीको चुस्की लिने गरिन्छ । यसो गर्दा थप फुर्तिलो महसुस हुने र तनाव हट्ने उनीहरूको दाबी छ ।
यी दुवै उदाहरणले के दर्साउँछन् भने अधिकांश पश्चिमेलीहरूले योगलाई अझैसम्म पनि गहिराइमा गएर बुझ्न सकेका छैनन् । उनीहरूका लागि यो एउटा यो एउटा नितान्त शारीरिक व्यायाम वा बढीमा तनावमुक्त हुने उपायसम्म मात्र हो । अझ कतिले त यसलाई यौनशक्ति जगाउने अस्त्रका रूपमा पनि बुझेको पाइन्छ । कतिपय ठाउँमा नग्न योगको पनि अभ्यास हुने गरेको छ । योगप्रतिका यस्ता भ्रम चिर्न मैले सकेसम्म हरेक कक्षामा प्राणायाम र ध्यानलाई पनि समावेश गर्ने गरेको छु ।
गलत प्रयोग र असर
सही प्रशिक्षक नहुँदा वा आफैंले योगासनहरूको गलत अभ्यास गर्दा अमेरिकामा घाइते हुने वा शरीरमा हानि पुग्ने गरेका घटनाहरू पनि पाइन्छन् । अर्थाेपेडिक जर्नल अफ स्पोर्टस् मेडिसिनका अनुसार सन् २००१ देखि २०१४ को अवधिमा २९ हजार ५ सय ९० योगा–सम्बद्ध घाइतेहरू अस्पतालको आकस्मिक कक्ष पुगेको तथ्यांक छ । यसरी घाइते हुनेमध्ये ६५ वर्ष वा त्यसभन्दा बढी उमेर समूहका व्यक्तिहरूको संख्या सबैभन्दा बढी छ ।
त्यस्तै सिड्नी विश्वविद्यालयको फ्याकल्टी अफ हेल्थ साइन्सेजले सन् २०१७ मा गरेको अनुसन्धानमा सहभागीमध्ये १० प्रतिशतले आफूलाई योगका कारण मांसपेशी र अस्थिपञ्जरसम्बन्धी (मस्कुलोस्केलेटल) दुखाइ भएको बताए भने २१ प्रतिशतले पहिलेदेखिकै दुखाइ अझ बढेको बताए ।
योगबारे हाम्रो (पूर्वीयहरूको) भ्रम के हो ?
हाम्रो स्थिति झन् खराब छ । पश्चिमेलीहरू शारीरिक व्यायाम नै ठानेर भए पनि कम से कम योगाभ्यास गर्दै छन् । हामी त त्यति पनि गर्दैनौं । योगको उद्गम थलो भारतवर्ष हो र भारतमा अहिले पनि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले योगको प्रचार प्रसारमा एकदमै जोड दिइरहेका छन् । चीनले पाण्डा कूटनीति अघि बढाएजस्तै अन्तर्राष्ट्रिय जगत्मा आफ्नो प्रभाव देखाउन मोदीले योग–कूटनीति अघि बढाए ।
तैपनि धेरैजसो भारतीयहरू योग अभ्यास गर्दैनन् । प्युउ रिसर्च सेन्टरले सन् २०१९–२०२० मा २९ हजार ९ सय ९९ सहभागीबीच गरेको एक सर्वेक्षणको नतिजा अनुसार ६२ प्रतिशत भारतीयले कहिल्यै योग नगरेको बताए । खास तथ्यांक उपलब्ध नभए पनि नेपालको हालत योभन्दा खासै भिन्न होला भन्ने लाग्दैन ।
पश्चिमेलीहरू शारीरिक व्यायाम नै ठानेर भए पनि कम से कम योगाभ्यास गर्दै छन् । हामी त त्यति पनि गर्दैनौं । योगको उद्गमस्थलमै भएर पनि हामी आम रूपमा योगाभ्यासदेखि वञ्चित छौं । न आफू योगाभ्यासको अनुभव लिइरहेका छौं न त सन्ततिहरूलाई नै यसतर्फ प्रेरित गरिरहेका छौं ।
मैले यसो भनिरहँदा नियमनिष्ठ ढंगले योग गर्नुहुनेहरूलाई पटक्कै बिर्सेको छैन । तर आम रूपमा जसरी हामी ‘यो योग हाम्रै त हो नि’ भन्छौं, त्यो मात्रामा अभ्यास फिटिक्कै गर्दैनौं । नगर्नुको तर्क पनि बडा गज्जबको छ हाम्रो– योगको मूल स्रोत नै हामी । हाम्रै ऋषिमुनिहरूले सुरु गरेका न हुन् योग । पश्चिमाहरू त विचरा, बल्ल मेसो पाएर सुरु गर्दै छन् । हामीले त उहिल्यै योगको शिखर चढिसकेका । आदि इत्यादि ।
यस्तै यस्तै फन्टुस तर्कहरू दिएर हामी योगाभ्यासबाट आफूले आफैंलाई वञ्चित गरिरहेका छौं । पतञ्जली, स्वात्माराम, गोरखनाथ वा रामदेवले योग गर्दैमा हामीलाई फाइदा हुने होइन । प्रत्येकले आफ्ना लागि आफैं गर्नुपर्छ । नत्र मेरा बाजेले घिउ खाएथे, मेरो हात सुँघ सुँघ भनेजस्तै हुन जान्छ ।
पश्चिमेलीहरू जे जस्तो स्तर र रूपमा भए पनि कम्तीमा योगाभ्यास गरिरहेका छन् । हुन सक्छ उनीहरू आज नभए भोलि, भोलि नभए पर्सी, शरीरको तहबाट आत्मा हुँदै, परमात्माको मिलन सम्म पुग्ने अभ्यासमा पनि प्रवृत्त होलान् । त्यो सम्भावनालाई नकार्न सकिन्न । तर हाम्रो त त्यो सम्भावना पनि छैन । किनभने हामी न आफू योगाभ्यासको अनुभव लिइरहेका छौं न त सन्ततिहरूलाई नै यसतर्फ प्रेरित गरिरहेका छौं । योगको उद्गमस्थलमै भएर पनि हामी आम रूपमा योगाभ्यासदेखि वञ्चित छौं । बत्तीमुनिको अँध्यारो भएका छौं ।