न्यूयोर्क– राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा नयाँ स्थायी सीट सृजना गर्न बेलायतले सहमति जनाएको छ । बेलायतले भारत, जर्मनी, जापान र ब्राजिललाई नयाँ सदस्यका रूपमा परिषद्मा भित्र्याउन आफ्नो पूर्ण समर्थन रहको बताउँदै परिषद् विस्तारका निम्ति आह्वान पनि गरेको छ ।
सुरक्षा परिषद् सुधारसम्बन्धमा बिहीबार भएको वार्षिक बहसलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका लागि बेलायतका राजदूत बारबरा वुडवर्डले स्थायी र गैर–स्थायी सदस्यका लागि आफ्नो देशको समर्थन दोहोर्याइन् । बेलायतले लामो समयदेखि सुरक्षा परिषद्को स्थायी र अस्थायी सीट विस्तारका लागि आह्वान गर्दै त्यसलाई समर्थन गरेको उनले बताइन् । सुरक्षा परिषद्को कुल सदस्यतालाई २० को हाराहारीमा पुर्याउने प्रस्तावमा आफ्नो राष्ट्रको सहमति रहेकाे पनि उनले बताइन् । “हामी भारत, जर्मनी, जापान र ब्राजिलका लागि नयाँ स्थायी सिटहरूको निर्माणका साथै परिषद्मा स्थायी अफ्रिकी प्रतिनिधित्वको समर्थन गर्छौं,” उनले भनिन् ।
महासभाले आफ्नो वार्षिक बहसलाई वक्ताहरूले १५ सदस्यीय निकायलाई विस्तार गर्न र त्यसलाई पारदर्शी, समावेशी, प्रतिनिधिमूलक, जवाफदेही एवम् प्रभावकारी बनाउन अपील गर्दै आफ्नो वार्षिक बहस प्रारम्भ गरेको थियो । बहसमा भागलिँदै संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले ब्राजिल, जर्मनी, जापानलगायत जी फोरका तर्फबाट मन्तव्य व्यक्त गर्दै चार दशकसम्म समतामूलक प्रतिनिधित्व पाएको परिषद्मा ठोस काम हुन नसकेकामा खेद प्रकट गरिन् । लामो समयसम्म परिषद्मा सुधार रोकिएकामा उनले चिन्ता व्यक्त गरिन् ।