संस्कृत संसारको प्राचीनतम र परिष्कृत भाषा हो । यो ज्ञानविज्ञानले भरिपूर्ण समृद्ध भाषा पनि हो । संस्कृत शब्दको अर्थ नै परिमार्जित भन्ने हुन्छ । कुनै पनि भाषा विशिष्ट र महत्त्वपूर्ण हुनका लागि त्यस भाषामा ज्ञानविज्ञानको विशाल भण्डार हुनुपर्छ । साथै त्यो भाषा सरल र वैज्ञानिक पद्धतिले सिक्न सकिने पनि हुनुपर्छ । यी दुवै दृष्टिले हेर्दा विश्वमा संस्कृत मात्र त्यस्तो भाषा देखिन्छ । यस तथ्यलाई विश्वभरिका आधुनिक भाषाशास्त्रीहरूले र अनुसन्धाताहरूले समेत स्वीकारेका छन् । त्यसैले विश्वभरि संस्कृतप्रति चासो र रुचि बढेको हो ।
संस्कृत वाङ्मयले मानवजीवनका सर्वाङ्गीण पक्षलाई समेटेको छ । यसले जीवनका धर्म, अर्थ, काम र मोक्ष यी चारै पुरुषार्थलाई सन्तुलित रूपमा प्रतिनिधित्व गर्दछ । संसारको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेददेखि आधुनिकतम ग्रन्थसम्म यसै भाषामा उपलब्ध छन् । वेद, वेदाङ्ग, स्मृति, पुराण, आयुर्वेद, इतिहास, विधिशास्त्र, नीतिशास्त्र, दर्शन, ज्योतिष, योग, तन्त्र, प्रशासन, कृषि, पशुपालन, वाणिज्य, यन्त्र, स्थापत्य, मूर्तिकला, चित्रकला, सङ्गीत, काव्यशास्त्र, नाट्यशास्त्र आदि शास्त्रका असङ्ख्य ग्रन्थहरूले यसलाई समृद्ध बनाएका छन् । संस्कृतका लाखौँ हस्तलिखित पाण्डुलिपि अझै पनि अमुद्रित रूपमै विश्वभरि छरिएर रहेका छन् । नेपालकै राष्ट्रिय अभिलेखालयमा पनि हजारौँ संस्कृतका पाण्डुलिपि सुरक्षित छन् ।
ध्वनिविज्ञानका उच्चतम ज्ञान प्रातिशाख्य र शिक्षाग्रन्थहरूमा पाइन्छन् । अङ्ग्रेजहरूले यी ग्रन्थ पढेपछि नै अङ्ग्रेजीमा फनेटिक्स र फनोलोजी विकास गरेका हुन् । वेदाङ्गज्योतिष विश्वकै इतिहासमा उल्लेखनीय र गहन छ । पाइथागोरसको साध्य भनिएको ज्यामितिको सिद्धान्त त्योभन्दा धेरै पहिले आपस्तम्ब र बौधायनका शुल्बसूत्रमा सिद्ध गरिसकिएको थियो । तर यस विषयको चर्चा त्यति भएको देखिँदैन ।
मानवसभ्यताका विभिन्न पक्षको, इतिहासको र उपलब्धिको अनुसन्धान गर्न चाहनेहरूका लागि यो वाङ्मय अक्षय भण्डार हो भन्ने तथ्य विश्वभरि नै जानिएको छ । धर्म, कर्म र अध्यात्मको ज्ञान वेदबाट सुरु हुन्छ र स्मृति–पुराणहरूमा विस्तार हुन्छ । ध्वनिविज्ञानका उच्चतम ज्ञान प्रातिशाख्य र शिक्षाग्रन्थहरूमा पाइन्छन् । अङ्ग्रेजहरूले यी ग्रन्थ पढेपछि नै अङ्ग्रेजीमा फनेटिक्स र फनोलोजी विकास गरेका हुन् ।
वेदाङ्गज्योतिष विश्वकै इतिहासमा उल्लेखनीय र गहन छ । पाइथागोरसको साध्य भनिएको ज्यामितिको सिद्धान्त त्योभन्दा धेरै पहिले आपस्तम्ब र बौधायनका शुल्बसूत्रमा सिद्ध गरिसकिएको थियो । तर यस विषयको चर्चा त्यति भएको देखिँदैन । राजनीतिशास्त्रमा कौटल्यको अर्थशास्त्रका सिद्धान्तहरू अद्वितीय छन् । हितोपदेशका र पञ्चतन्त्रका नीतिकथाहरू जनजीवनमा समेत भिजेका छन् र विश्वभरि फैलिएका छन् । अरू पनि थुप्रै महत्त्वपूर्ण विद्या र ग्रन्थ संस्कृतमा पाइन्छन् ।
संस्कृतमा रहेका विभिन्न शास्त्रले धार्मिक, नैतिक, सामाजिक, भौतिक र आध्यात्मिक शिक्षालाई समेटेका छन् । मानिस शरीर, मन र आत्माको संयोजन भएकाले यसलाई केवल भौतिक कुराले मात्र सन्तुष्ट बनाउन सकिँदैन । संस्कृतका विभिन्न विशेषताले आकर्षित भएर नै विदेशी विद्यालयहरूमा पनि विद्यार्थीलाई सानैदेखि संस्कृत पढाउनुपर्ने आवश्यकता महसुस गरिएको छ ।
बेलायतको सेन्टजेम्स नामको एउटा विद्यालयमा धेरै अघिदेखि इसाई मतावलम्बी तथा अङ्ग्रेजी भाषाभाषी बालबालिकालाई समेत सानैदेखि अनिवार्य रूपले संस्कृत पढाइने गरेको छ । संस्कृतका श्लोक कण्ठस्थ पारेर तिनलाई भाका हालेर वाचन गर्दा र अर्थको मनन गर्दा हुने विभिन्न लाभका विषयमा ती बालबालिका आफैं बताउन सक्नेसमेत भएका छन् । संस्कृतको शुद्ध उच्चारण गर्ने अभ्यास गरेकालाई जुनसुकै भाषाको पनि शुद्ध उच्चारण गर्न सजिलो हुन्छ । उसको बोली स्पष्ट हुन्छ ।
छोटकरीमा धेरै कुरा बताउन सक्ने विलक्षण क्षमता पनि संस्कृत भाषामा छ । त्यसैले संस्कृतका छोटा तर गम्भीर भाव बोकेका थुप्रै सूक्ति नेपालीमा समेत प्रसिद्ध छन् । जस्तै– जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी, वादेवादे जायते तत्त्वबोधः, सन्तोषं परमं सुखम्, आचारः परमो धर्मः इत्यादि ।
पाणिनिको संस्कृत व्याकरण अत्यन्त व्यवस्थित र वैज्ञानिक छ । त्यसैले साधारण जनताको बोलिचालीको भाषा नहुँदा पनि संस्कृत भाषा व्याकरणका आधारमा राम्ररी सिक्न, बोल्न र लेख्न अहिले पनि सम्भव भएको हो । संसारका अरू कुनै पनि भाषाको व्याकरण यति व्यवस्थित देखिँदैन । संस्कृत व्याकरण राम्ररी पढ्ने हो भने व्यक्तिको बौद्धिक र तार्किक क्षमता धेरै नै बढ्ने तथ्य पनि अनुसन्धानबाट स्पष्ट भएको छ ।
शिक्षामा सुधारको आवश्यकता
अतिभौतिकतावादी विचारले प्रभावित हुन लागेको वर्तमान समाजले भने संस्कृत भाषामा रहेका बहुउपयोगी विषयहरूको महत्त्व तथा औचित्य राम्ररी बुझ्न र त्यसबाट पर्याप्त लाभ लिन सकिरहेको छैन । शिक्षा क्षेत्रमा भएको विदेशी हस्तक्षेप र चलखेलका कारण सरकारी स्तरबाटै संस्कृतशिक्षालाई पाखा लगाउने काम भैरहेको छ । वि.सं. २०२८ भन्दा अगाडि प्रवेशिका परीक्षामा ५० पूर्णाङ्कको संस्कृत अनिवार्य विषयका रूपमा थियो । त्यतिखेर नयाँ शिक्षा योजनाका नाममा षड्यन्त्रपूर्ण रूपमा संस्कृत विषय हटाउने काम भयो । यसले शिक्षार्थीहरूलाई धेरै लाभबाट वञ्चित गर्यो । पछि त ४ देखि ७ कक्षासम्म राखिएको संस्कृत पनि हटाइयो । यसमा परिवर्तन हुन जरुरी छ ।
आजको युवा पुस्ता समाज, राष्ट्र र समग्र विश्वकै पनि भविष्य हो । युवाको सही सोचमा नै सबैको भविष्य उज्ज्वल हुन सक्छ । तर आजको अशान्त र व्यस्त वातावरणमा समुचित शिक्षा र संस्कारको अभावबाट युवा दिग्भ्रान्त हुने, विदेशी विकृतिको देखासिकी गर्ने र विभिन्न दुर्व्यसनमा पर्ने समेत गरेका छन् । मन र इन्द्रियको असंयम, आत्म–तत्त्वसम्बन्धी चेतनाको अभाव, तीव्र निराशा, अवसाद, अनुचित महत्त्वाकाङ्क्षा र विदेशमोहजस्ता समस्याले नयाँ पुस्तालाई आक्रान्त पार्दै लगेको छ । हाम्रा शास्त्रमा सुखको मूल सन्तोष हो भने असन्तोष नै दुःखको मूल हो भनिएको छ—
सन्तोषं परमास्थाय
सुखार्थी संयतो भवेत् ।
सन्तोषमूलं हि सुखं
दुःखमूलं विपर्ययः।। मनुस्मृति ।
हाम्रो देशको प्रचलित शिक्षाले व्यक्तिकोे सर्वाङ्गीण विकास गर्न सकिराखेको छैन । मानवीय संवेदना, धार्मिक साँस्कृतिक र नैतिक मूल्य–मान्यता तथा सामाजिक कर्तव्यबोध, स्वदेशप्रेम, विचारको गम्भीरता, आत्मविचार इत्यादिका दृष्टिले आधुनिक शिक्षा अपूर्ण र असफल देखिन्छ ।
शिक्षामा आमूल परिवर्तन गरेर नैतिक र चारित्रिकशिक्षामा जोड दिनुपर्ने देखिन्छ । संस्कृतका वेद, उपनिषद्, रामायण, महाभारत, गीता इत्यादि ग्रन्थहरूबाट महत्त्वपूर्ण र व्यवहारोपयोगी विषय छानेर तल्लो कक्षादेखि माथिल्लो कक्षासम्मै पाठ्यक्रममा समावेश गर्नुपर्ने देखिन्छ । हाम्रा बालबालिकाले सत्यं वद, धर्मं चर, मातृदेवो भव, पितृदेवो भव जस्ता अमृतमय वैदिक उपदेश र शिक्षा सुन्नै नपाउने स्थिति बनाइनु अत्यन्तै अनुचित कार्य हो । यसमा तुरुन्तै सुधार गर्नुपर्छ । संस्कृत विषयका साथै नैतिक शिक्षा विषय पनि आधारभूत र माध्यमिक तहमा समावेश गर्नुपर्छ । यसका निम्ति विद्यालयहरू पनि अग्रसर हुनुपर्ने देखिन्छ । नेपालका कतिपय विद्यालयहरूले संस्कृत विषयको पठनपाठन चलाउन थालेका छन् । धेरैभन्दा धेरै विद्यालयले यसतर्फ विचार गर्नुपर्छ ।
सुसंस्कारको आवश्यकता
आज सबैलाई सुसंस्कार, सत्सङ्ग, सदाचार, सद्वाङ्मयको अध्ययन, सुशिक्षा, स्वदेशप्रेम र सुस्वास्थ्यको अत्यन्त खाँचो छ । नयाँ पुस्तालाई सही बाटो देखाउन पनि संस्कृत वाङ्मयको महत्त्वपूर्ण भूमिका हुन्छ । तसर्थ विचारशील अभिभावक¬हरूले आप्mना बालबालिका¬का निम्ति सानै उमेरदेखि धार्मिक–साँस्कृतिक शिक्षा, चारित्रिक शिक्षा, नैतिक शिक्षा र सदाचारशिक्षा दिनुका साथै सत्सङ्गको पनि नियमित रूपले व्यवस्था गर्न अत्यावश्यक भैसकेको छ ।
जीवन र जगत्को वास्तविकता बुझाएर मानवलाई शाश्वत सत्यतिर उन्मुख गराउने गीता–उपनिषद्लगायत संस्कृतका ग्रन्थहरूको ज्ञान थोरै मात्र पनि नयाँ पुस्ताले पाउने हो भने आजका युवामा देखिएकाजस्ता विविध मानसिक समस्या र अनावश्यक महत्त्वाकाङ्क्षा धेरै कम भएर जान सक्ने थिए ।
स्वधर्म, स्वदेश र स्वाधीनताप्रति प्रेमको भावना विकसित गराउन पनि संस्कृत भाषा र वाङ्मयको महत्त्वपूर्ण भूमिका छ । पुर्खादेखि चल्दै आएको सनातन धर्म–संस्कृति, रहनसहन, खानपान र जीवनशैलीको वास्तविक अर्थ र महत्त्व बुझेर तिनको पालन तथा अनुसरण गरेमा त्यसले व्यक्तिगत, पारिवारिक, सामाजिक र राष्ट्रिय जीवनमा परिपूर्णता ल्याउँछ । जीवन र जगत्को वास्तविकता बुझाएर मानवलाई शाश्वत सत्यतिर उन्मुख गराउने गीता–उपनिषद्लगायत संस्कृतका ग्रन्थहरूको ज्ञान थोरै मात्र पनि नयाँ पुस्ताले पाउने हो भने आजका युवामा देखिएकाजस्ता विविध मानसिक समस्या र अनावश्यक महत्त्वाकाङ्क्षा धेरै कम भएर जान सक्ने थिए । यसतर्फ शिक्षाविद्को ध्यान जान जरुरी छ ।
छान्दोग्योपनिषद्मा भनिएको छ— आहारशुद्धौ सत्त्वशुद्धिः सत्त्वशुद्धौ ध्रुवा स्मृतिः, स्मृतिप्रलम्भे सर्वग्रन्थीनां विमोक्षः । अर्थात् आहार शुद्ध भए मात्र आत्मा शुद्ध हुन्छ, आत्मा शुद्ध भए स्थिर स्मरण हुन्छ, त्यसपछि सम्पूर्ण गुत्थीहरू
खुल्दछन् ।
मानिसलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनेर जीवनयापन गर्न दिनचर्या र ऋतुचर्या अर्थात् दिनको कुन समयमा के गर्ने के खाने तथा कुन ऋतुमा के गर्ने के खाने, कुन ऋतुमा के नगर्ने के नखाने भन्ने कुरा पनि आयुर्वेदमा वर्णन गरिएको छ । स्वस्थको परिभाषा सुश्रुत मुनिले राम्ररी गरेका छन्—
समदोषः समाग्निश्च
समधातुमलक्रियः ।
प्रसन्नात्मेन्द्रियमनाः
स्वस्थ इत्यभिधीयते ।।
अर्थात् वात पित्त कफ यी तिन तत्त्वले समान रूपमा काम गर्ने, पाचनशक्ति ठिक भएको, रस, रगत इत्यादि धातु र मलत्याग समान हुने, आत्मा इन्द्रिय र मन सबै प्रसन्न भएको मानिस नै स्वस्थ हो ।
नेपाली समाजमा परम्परागत रूपले दैनिक भान्सामा सबैले प्रयोग गर्ने हलेदो(बेसार)मा घाउ सञ्चो पार्ने, छालाको सुन्दरता बढाउने, रगत सफा गर्ने, रुघा खोकी सञ्चो पार्ने आदि गुण छन् । अदुवाले भोक जगाउने, भोजन पचाउने र घाँटीलाई शुद्ध पार्ने काम गर्छ । यस्तो जीवनोपयोगी ज्ञानबाट पनि नयाँ पुस्तालाई वञ्चित पारिएको छ ।
नेपाली साहित्यको राम्ररी अध्ययन गर्न तथा नेपाली भाषामा रचनाक्षमता बढाउन र विकसित गर्न पनि संस्कृतको ज्ञान अत्यन्त उपयोगी हुन्छ । कतिपय ठेट नेपाली शब्द अस्तरीय वा अशिष्ट जस्ता लाग्ने र संस्कृत शब्दचाहिँ स्तरीय वा शिष्ट लाग्ने गरेको पनि पाइन्छ । तसर्थ शिष्ट र सभ्य नेपाली भाषामा बोल्न–लेख्न पनि संस्कृतको शब्दभण्डारसित राम्ररी परिचित हुनै पर्दछ । संस्कृतका सुललित शब्दहरूको प्रयोग नगरीकन स्तरीय नेपाली साहित्यको सिर्जना हुन सक्तैन । छन्दोबद्ध काव्य लेख्नपढ्न छन्दहरूको ज्ञान चाहिन्छ । लेखक–पत्रकारहरूलाई शुद्ध र परिष्कृत नेपाली भाषामा लेख्न पनि संस्कृतको ज्ञानले धेरै सघाउ पुर्याउँछ ।
एकोहोरो रूपले अङ्ग्रेजी भाषाको माध्यम भनी शिक्षा चलाउनाले उच्च माध्यमिक तह उत्तीर्ण गरेका आजभोलिका केटाकेटीे नेपाली भाषामा मात्र होइन अङ्ग्रेजी र अरू विषयमा पनि अत्यन्तै कमजोर हुन पुगेका छन् । उनीहरू नेपालीमा गन्न मात्र पनि नजान्ने, नेपाली पत्रिका पढ्नै नसक्ने र देवनागरी लिपिमा नाम पनि लेख्न नसक्ने हुन पुगेका छन् । यो देशकै निमित्त लज्जास्पद अवस्था हो ।
निष्कर्ष
उपर्युक्त तथ्यहरूबाट मुलुकको शिक्षा प्रणालीमा संस्कृत भाषा र शिक्षालाई पुनः समावेश गर्नु अति नै आवश्यक देखिन्छ । साथै बौद्ध र जैन परम्पराका समेत धेरै ग्रन्थ संस्कृतमै लेखिएका हुनाले ती परम्पराका अनुयायीहरूले पनि संस्कृत भाषा जान्नबुझ्न उचित हुन्छ । राष्ट्रियता, स्वाभिमान र आत्मगौरवको रक्षा गर्न र आफूलाई एउटा विचारशील सुसभ्य मानव बनाउन पनि संस्कृत भाषा र वाङ्मयको ज्ञान आवश्यक छ । यसमा व्यवहारोपयोगी नीतिज्ञानसमेत भएकाले अरू जोसुकैले पनि संस्कृत वाङ्मयको ज्ञानबाट लाभ लिन सक्छन् ।
अनौपचारिक रूपमा भए पनि संस्कृत भाषा र त्यसमा रहेका ज्ञान–विज्ञान सिक्ने–सिकाउने व्यवस्था र वातावरण देशभरि मिलाउन आवश्यक भएको छ । औपचारिक संस्कृत पढ्न नपाएका युवा र प्रौढहरूका निम्ति सरल तरिकाले छोटो समयमा संस्कृत भाषा सिकाउने र वैदिक जीवनशैलीको महत्त्व बुझाउने कक्षासमेत स्वाद्ध्यायशालाको संस्कृत–संस्कृति– अध्ययन–केन्द्रका सक्रियतामा चलाइरहिएको छ ।
नेपाललाई वास्तविक रूपमै स्वतन्त्र राष्ट्रका रूपमा स्थापित गर्न चाहनेहरूले पनि संस्कृत विषयलाई तलदेखि स्नातक तहसम्म पढ्ने–पढाउने व्यवस्था गर्न–गराउन ध्यान दिन जरुरी छ । यस कार्यमा सरकारी अधिकारीहरू, सबै विद्यालयहरूका विचारशील सञ्चालक र शिक्षक तथा अभिभावकहरूले पनि गम्भीर भएर सोच्न र पाइला चाल्न आवश्यक छ । संस्कृतमा भएका विभिन्न ज्ञानविज्ञानका कुरा पाठ्यक्रममा समावेश गर्ने काममा ढिला नगरौँ ।