महाकवि लक्ष्मीप्रसाद देवकोटा (विसं१९६६–२०१६) अद्वितीय आध्यात्मिक व्यक्ति थिए । उनका अनेक रचनाहरूको अध्यनले हामीलाई यसै भन्छ । अंग्रेजी, हिन्दी, नेपाली र संस्कृतलगायत भाषाहरूमा दक्ष देवकोटा पण्डितका छोरा भएकाले पनि आध्यात्मिक वातावरणमा हुर्कने अवसर थिए । उनी मन्दिरै मन्दिरको शहर काठमाडौँका स्थायी बासिन्दा थिए।
देवकोटामा आध्यात्मिक चेतना कत्तिको प्रखर थियो भन्ने तथ्य उनका कविता र निबन्धहरूमा अनुभूत गर्न सकिन्छ। जीवनको अन्तिम कालखण्डमा 'शून्यमा शून्य सरि बिलाएँ' कविता लेख्ने देवकोटाले किन त्यस्तो अनुभूति गरे होलान् ? भन्ने जिज्ञासा आम मानिसलाई लाग्नु स्वाभाविक छ । उनले आफ्ना लागि भन्दापनि समाजका लागि कृतिहरु लेख्ने गरेका थिए । जीवन स्वार्थमा नभएर परार्थमा चल्नु पर्छ भन्ने देवकोटाको सिद्धान्त उनका कृतिहरूमा मात्रै नभएर उनको जीवनशैलीमा समेत रहेको बुझिन्छ।
देवकोटाको 'शून्यमा शून्य सरि' कविता आफैंमा एक रहस्यमय, दार्शनिक र मार्मिक रचना हो। यो कवितालाई लिएर कसैले देवकोटालाई शून्यवादी भन्न सक्छन् त कसैले अद्वैतवादी । कसैले यो रचना न्यायशास्त्रसम्मत छ भन्न सक्छन् त कसैले वैशेषिक दर्शनसँग मिल्दोजुल्दो दावी गर्न सक्छन् । स्वर्गनरकादिका कुरा गरेकाले यस रचनाका आधारमा उनलाई मीमांसावादीका रूपमा पनि व्याख्या गर्न सकिन्छ ।
सर्वसापेक्ष हुने गरेर ज्ञान र जीवनको परम लक्ष्यतर्फ उत्प्रेरित गर्ने शून्यमा शून्य सरि कविता उनले आफ्नो भौतिक जीवनको मृत्युशैय्यामा लेखेका थिए। भनिन्छ– मान्छेले आफ्नो देहान्तको सन्निकट समयमा कहिल्यै झूट बोल्दैन। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि पूर्ण होसहवासमै रहेका देवकोटाले आखिरमा सबै दर्शनशास्त्रीहरूका बीचमा तालमेल हुने गरेर गजबको कविता रचना गरेका थिए । संसारमा जुनसुकै धर्म, दर्शन र सम्प्रदायका व्यक्तिले पनि अपनत्व महसुस गरेर जीवनलाई बुझ्न सक्ने खालको कविता हो यो ।
यस कवितामा रहेको 'आखीर श्रीकृष्ण रहेछ एक' भन्ने अभिव्यक्तिले अद्वैतवेदान्त दर्शनलाई आत्मसात् गरेको छ । 'म शून्यमा शून्य सरि बिलाएँ' भन्ने कथनले बौद्ध दर्शनको शून्यवादलाई आत्मसात् गर्दछ । शून्यमा शून्य सरि बिलाएँ कवितामा एकैसाथ परस्पर विरोधी आस्तिक र नास्तिक दर्शनको झल्को पाउन सकिन्छ।
यस कवितामा देवकोटाले 'जन्में म यो स्वर्गविषे पलाएँ' भन्दै स्वर्गनरकादि व्यवस्थाले भरिएको कर्मपरक पूर्वमीमांसा दर्शनलाई समेटेका छन् भने 'न भक्ति भो, ज्ञान, नभो विवेक' भनेर त्रिगुणात्मिकाका रूपमा साङ्ख्य दर्शनको पनि झल्को दिएका छन्।
एउटै कवितामा अनेक दार्शनिक कोणहरू पाउन र पर्गेल्न सकिने भएका कारण देवकोटाको यो रचना बडो रहस्यमयी र मार्मिक छ । संसारमा रमाएर बस्दा श्रीकृष्ण चिन्न नसकिने र सांसारिक मोह त्याग गर्दा मात्र चिन्न सकिने न्याय पनि उनले यस रचनामा सम्पादन गरेका छन्। ज्ञान, भक्ति वा विवेकरूपी वैराग्यद्वारा नै श्रीकृष्णलाई चिन्न सकिने प्रष्ट्याएका छन्। यस अर्थमा प्रमाणस्वरूप ज्ञान,भक्ति तथा विवेक र त्यसद्वारा ज्ञात हुने ज्ञेय अर्थात् प्रमेयका रूपमा श्रीकृष्णलाई लिएर प्रमाण अनि प्रमेयको सिद्धान्तद्वारा न्यायदर्शन पनि उनले यसै कवितामा अटाएका छन्।
संसार अनात्म स्वरूप रहेको र आत्मस्वरूपमा ज्ञान मात्रै रहेको सन्देश यो कवितामा छ। आत्म र अनात्मको विश्लेषण गर्दै उनले यसमा वैशेषिक दर्शनलाई पनि समेटेको पाइन्छ।
अन्य दर्शनलाई जत्तिकै योगदर्शनलाई प्राथमिकता नदिएको हो कि भन्ने पनि कतपयलाई लाग्न सक्छ । त्यो यसकारण कि यसमा योगका सबै अंग यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई स्पष्ट रूपले उल्लेख गरिएको छैन । त्यसतर्फ उन्मुख हुनाका लागि आग्रह भने गरिएको छ ।
श्रीकृष्णको भक्तिद्वारा नै ज्ञान हुन सक्ने, ज्ञानद्वारा नै वैराग्यको प्राप्ति हुन सक्ने र अन्तत वैराग्यले नै जन्मजन्मान्तरको चक्रबाट मुक्ति दिलाउन सक्छ भन्ने तथ्यलाई स्वीकारिएको छ । जीवन क्रमैसँगको एउटा योग हो भन्ने बुझेको जोसुकैले देवकोटाको 'शून्यमा शून्य सरि' कवितामा योगदर्शन आत्मसात गर्न सक्दछ ।
देवकोटाले जीवनका आखिरी क्षणमा रचना गरेको यो कविताले पूर्वीय दर्शनका छ ओटै आस्तिक दर्शनको भावार्थलाई समेट्नुका साथै बौद्धदर्शनको शून्यवादलाई पनि आत्मसात् गरेको छ। संसार शून्यमय छ भन्ने संदेश पनि प्रस्तुत कवितामा पाउन सकिन्छ।
शान्त भवन अस्पतालमा मृत्युशैय्यामा रहेका बेला देवकोटाले लेखेको कविता 'शून्यमा शून्य सरि बिलाएँ' को पूर्ण पाठ यस्तो छ–
संसार रूपी सुख स्वर्गभित्र,
रमें रमाएँ लिइ भित्र चित्र ।
सारा भयो त्यो मरुभूभि तुल्य,
रातै परेझैं अब बुझ्छु बल्ल ।
रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखीर श्रीकृष्ण रहेछ एक,
न भक्ति भो, ज्ञान, नभो विवेक ।
महामरुमा कण झैं म तातो,
जलेर मर्दो बिनु आश लाटो ।
सुकी रहेको तरु झैं छु खाली,
चिताग्नि तापी जल डाल्न फाली ।
संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ ।
जन्में म यो स्वर्गविषे पलाएँ,
आखीर भै खाक त्यसै बिलाएँ।
देवकेटाले आफ्नो दैहिक जीवनको अन्त्य आइसकेको थाहा पाएपछि रचना गरेको कविता भएकाले यो सिर्जना उनका अन्य सिर्जनाहरूको तुलनामा सत्यको ज्यादा निकट छ भनेर भन्न सकिन्छ। देवकोटाले साँच्चिकै के सोचेर यो कविता रचना गरे त्यो उनै जानून् । तर आम पाठकका दृष्टिले यो कवितालाई धेरै कोणबाट व्याख्या गर्न सकिने भएतापनि यो मूलत: अद्वैतपरक जीवन दर्शनको उच्चतम अनुभूति हो ।
देवकोटाले उल्लेखित कविता रच्दा संभवत: उनको मनमा उद्वेलित भावतरङ्गहरू यस्ता थिए–
"महात्माहरू यस संसारलाई दुखै दुखको भण्डार भन्छन्। अचम्म के भने उनीहरू संसारलाई झूटो तर ईश्वरलाई सत्य मान्छन्। ईश्वरलाई सच्चिदानन्दस्वरूप भनेर व्याख्या गर्छन्। तिनै सच्चिदानन्दस्वरूप ईश्वरले बनाएको संसार चाहि दुखको भण्डार रे ! बुझेर बुझिनसक्नु दर्शन र दार्शनिकका भेदहरूले संसार अल्मलिएको देखिन्छ।
जसले जे जे भने पनि यस संसारमै सुख र समृद्धिका सपना देख्ने मानिसको पनि कमी छैन । हाम्रा नीतिशास्त्रहरू र अग्रजहरूले संसारलाई स्वर्गसरी जीवन जिउनका लागि भनेर अनेकौं उपायहरू सिकाएका पनि छन्। तिनै उपायको साहारा लिएर संसार साँच्चै रमाइलो ठन्नेहरू पनि उत्तिकै छन् । उमेर चढ्दै गरेको किशोरले आफूलाई अमर रहने ठानेझैं जीवनमा स्वार्थको भूत सवार रहँदासम्म मैले पनि आफूलाई यो सांसारिक स्वर्गको एक प्रमुख नायक ठान्ने गरेको थिएँ। सांसारिक सुखको भूत सवार भएका बखत मनमा अनेकौं रङ्गीन सपनाहरू सजाएर बडो आनन्दका साथमा जीवन व्यतित गरेको थिएँ। मलाई जीवन बुझ्नसम्म पनि आवश्यक लागेन, न त लाग्यो जगत् नै। वैंसालु रहरहरूका सामुन्ने कसले पो वृद्धत्वको कल्पना गर्छ र ? आफूलाई सदावहार ठान्नु नै जवानीको मूलभूत विशेषता हो।
भौतिक सुखसुविधाको लालसाले ग्रस्त रहँदा, विवेकको संचार नहुँदा, यथार्थबोध गराइदिने सद्गुरु प्राप्त नहुँदा अनि आफ्ना सपनाहरू साँचेर सांसारिक जीवनमा रमाइरहेका बेला जीवन ढल्न लागेको खबरले म निकै मर्माहत बन्न पुगेँ। जीवनमा मैले पनि एकदिन मर्नुपर्नेछ भन्ने भावको उद्बोधन कहिल्यै हुन सकेन। अहिलेका वृद्ध नेताहरूले आफूलाई सदावहार जवान ठानेजस्तै म पनि आफूलाई एउटा अमरत्वको वरदान पाएको चिरन्जीवी मनुष्य ठान्ने गर्थें। आफ्ना बाहुबलका अघि पंचभूतको साम्राज्य पनि फिक्का लाग्ने गर्थ्यो। बरु प्रकृति नै असहाय रहेकी र म आफू सर्वशक्तिमान् रहेको आभास हुन्थ्यो।
सांसारिक जीवनमा यसरी नै रमाइरहेका बेला जब जीवन ढल्नै लागेको चाल पाएँ म निकै मर्माहत बन्न पुगेँ । सबै कुराको हतारो मलाई त्यहि बेला आइपर्र्यो। त्यति बेला जीवनमा ज्ञान आर्जन गर्न नसक्नुको पश्चात्ताप हुँदै थियो। मान्छेको जीवन न हो। अलिकति भए पनि आशा त रहन्छ नै। जीवनमा अझै पनि केहि ज्ञान आर्जन गर्न सकिन्छ भन्ने भावना मनमा बाँकी नै थियो। भौतिक जीवन जीर्ण हुँदै गए पनि मान्छेको मन कहिल्यै जीर्ण बन्दैन भन्ने कुराको स्पष्ट आभास मैले त्यहि बेला गर्दै थिएँ। तर मेरो शरीरको सामर्थ्य सबै हराएर मृत्युशैय्यामा हुँदा मलाई लाग्यो– यो संसार मेरा लागि निर्जर मरुभूमितुल्य भयो । जीवनका रङ्गीन दिन ढल्दै गर्दा रातको निबड कालीमाले स्वागत गर्ने बेला भएको बोध हुन पुग्यो।
निस्सहाय अवस्थामा आफूलाई पाउँदा जीवनमा सक्षम अवस्थामा, संसारको मायाजाल छेदन गर्न सक्ने अवस्थामा पनि क्षणिक सुखका खातिर आफ्नो अमूल्य समय व्यतीत गरेकामा निकै पश्चात्ताप महसुस भयो । जीवन रहँदासम्म दिनझैं झलमल रहेको संसार जीवन ढल्ने बेलामा निबड रात्रीमा एक लट्ठ बनाउने निशाका रूपमा मेरा सामुन्ने प्रस्तुत हुँदै थिए। सांसारिक नशामा म यतिसम्म चुर्लुम्म डुबेको थिएँ कि जीवनमा सामर्थ्यवान् रहँदा ममा जगत् र जीवनप्रतिको मोहले गाँजेको हुँदा ज्ञानका कुरा लिनेतर्फ मेरो ध्यानै गएन।
संसारमा ईश्वर छन् र श्रीकृष्ण नै एकमात्र ईश्वर हुन् भन्ने कुरा मैले सामर्थ्यवान् उमेरमा बोध गर्न सकिनँ। स्वयंप्रकाशित हुने ज्ञान दिने जुन तत्त्व हो, त्यो तत्त्वदेखि बिल्कुलै विमुख र बेखबर रहेछु म । जसले संसारलाई ज्ञानको प्रकाश दिंदै मोक्षको उपाय सिकाए उनै श्रीकृष्णलाई चिन्न नसक्दा आज मेरा सामुन्ने संसार श्रीकृष्णका रूपमा अवभासित हुनुपर्नेमा निशासमान मरुभूमितुल्य बन्न पुगेको छ।
सर्वव्यापक, सर्वान्तर्यामी श्रीकृष्ण चिन्न सक्ने ममा कुनै साधन रहेनन्। न मैले श्रीकृष्णको भक्ति गर्नुपर्छ भन्ने कुराको बोध गर्न सकेँ न ज्ञान आर्जन गर्न नै । भक्ति र ज्ञान दुवैले रहित भएको अवस्थामा ममा विवेकको उदय हुन नसक्दा निबड अन्धकारले ग्रस्त बन्न पुगिरहेछु।
भक्ति भएको भए त्यो भक्तिको प्रभावले जगत् र जीवनको बोध अवश्यै हुने थियो। जगत् र जीवनको बोधसँगै मेरा मिथ्या सपनाहरू विसर्जित भएर मैले मेरो वास्तविक स्वरूपको बोध गर्दै परमात्मा श्रीकृष्णलाई चिन्ने, जान्ने र बुझ्ने मौका अवश्यै पाउने थिएँ। नेपालजस्तो आध्यात्मिक धरामा जन्मिएर, ऋषिको गोत्रमा उत्पन्न भएर पनि मैले जीवनमा अध्यात्मको अकारसम्म पनि सिक्न र बुझ्न नसक्दा आज आफ्नो जीवन आफैंलाई भारीभारी महसुस भैरहेको छ।
मेरा पहिलेका सामर्थ्यवान् उमेरमा केहि गर्न नसक्नुको परिणाम नै आज मेरा सामु झल्झली देखा परिरहेको छ । जीवनको सूर्य ढल्नुअगावै तत्त्वबोध गर्न सकेको भए आज यो निबड अन्धकारमय संसार मेरा लागि श्रीकृष्णसमान ज्वाज्वल्यमान् हुने थियो। म कस्तो थिएँ, आज कस्तो भएँर ? जीवन के रहेछ ? भन्ने कुराको बोध बल्ल अहिले आएर म गरिरहेछु।
महामरूरुपी संसारमा रहँदा म महामरूको त्यो तातो बालुवाको कणसमान थिएँ। मृगमरीचिकाको त्यो तातो रापिलो बालुवाको कणले सोच्ने गर्छ– म आफ्नै स्वप्रकाशले तातप्यमान् छु, सूर्यले मलाई तातो बनाएको होइन। म यौवनावस्थामा सोच्ने गर्थें– म आफ्नै बाहुबलले सृष्टिमा बाँचीरहेछु । म अमर छु । मैले कहिल्यै मर्नुपर्ने छैन।
संसारमा जन्मनेहरू सबै एकदिन मरेर जानुपर्छ भन्ने कुराको बोध मैले कहिल्यै गरिनँ। कहिलेकाहीं मलामी जानुपर्दा घाटमा क्षणिक वैराग्य चढेका बखतमा जीवन केहि होइन, ज्ञान नै सबै कुरा हो भन्ने बुझ्ने म घाटबाट बाहिर निस्केपछि पूर्ववर्ती अवस्थामै अहङ्कारले युक्त हुन्थेँ। स्वार्थको घेराले म यतिसम्म बाँधिएको थिएँ कि स्वार्थ र परार्थ समेत बुझ्न नसक्ने अवस्थामा पुगेको रहेछु ।
जवानीमा रहेको बाहुबलको अहङ्कार अहिले चितामा जल्ने बेला हुन लाग्दैछ। सुकेको रूखलाई वनमा लागेको दावानलले चर्चर गर्दै खरानी तुल्याएझैं मेरा आशारहित्यले युक्त बन्दै गएको जीवन चिताको अग्निले तातप्यमान हुँदै जलले शान्त बन्ने तरखरमा लाग्दैछ। चितामा जल्नुअघि जनै लगायतका सबै कर्मबन्धनहरू फुकाउने क्रम चल्दै गर्दा म आफ्ना सबै संस्कारहरू भुलेर एक अनन्तको यात्रामा लाग्ने तरखरमा छु।
जाति, वर्ण, लिङ्ग, धर्म, सम्प्रदाय लगायतका सबै कुरा संस्कार र कर्मबन्धन मात्रै रहेछ। संस्कार र कर्मदेखि पर रहन सकेको भए, 'सर्वं खल्विदं ब्रह्म'को अवभासले मैले मोक्ष पाउने थिएँ । दुर्भाग्य ! म संस्कार र कर्मबन्धनबाट टाढा रहनै सकिनँ। ज्ञान भएको भए म श्रीकृष्णको गोकुलधाममा जाने थिएँ, जहाँ जन्म–मृत्युको चक्रको कुनै सामर्थ्य चल्ने थिएन । तर म अज्ञानले ग्रस्त हुँदा, श्रीकृष्णलाई चिन्न नसक्दा एक निबड शून्यतर्फको यात्रामा जान लाग्दैछु।
अज्ञानी थिएँ, अज्ञानमै बिलिन हुन पुग्दैछु। सबै संस्कारहरू फालेर मोक्षको मार्गमा चल्नुपर्ने म, अज्ञान फाल्न नसक्दा अज्ञानकै मार्गमा अघि बढीरहेछु। म पूर्ण बन्न सकिनँ। म ईश्वर बन्न सकिनँ। 'अहं ब्रह्मास्मि'को बोध गर्न सकिनँ। 'पूर्णमद: पूर्णमिदम्' के भाव बोध गर्न सकिनँ। त्यसैले आज पूर्णबाट रहित भएर, ज्ञानबाट रहित भएर शून्य शून्य भएर अज्ञानमा बिलिन हुँदैछु।
तैपनि संभव छ भने यहि हिमवत्खण्डमा जन्म लिन पाउँ। यो धर्तीमा ममताले युक्त मानवजीवन पाउनु नै मेरा लागि अहोभाग्य थियो। मलाई पालनपोषण गर्ने यो धरा आफैंमा पनि धन्य छ । मेरा लागि एक किसिमको स्वर्गसमान। त्यो स्वर्गसमानको धरामा जन्मिन पुगेँ, जहाँ दैहिक मृत्यु केवल खाक बनेर यहि धर्तीमा बिलिन हुन जान्छ। आखीर भै खाक त्यसै बिलाएँ । आखीर भै खाक त्यसै बिलाएँ….।"
मृत्युका मुखमा पुगेका बेला मानिसले के सोच्छ भन्ने कुरा सबैमा एउटै लागू नहुन सक्छ । देवकोटा आफैँमा उच्च चेतनाले युक्त मानव थिए । वोध र अभिव्यक्ति दुबै क्षमता उच्च भएकैले देवकोटाले मृत्युशैय्यामा पनि आफूलाई जस्ताको त्यस्तै अभिव्यक्त गर्न सके । यस्ता उच्च चेतनायुक्त मानवले त जीवनका आखिरी तर मृत्यु नहुँदैका क्षणहरुमा यति धेरै पीडा र पश्चात्तापको अग्निमा जल्नु पर्यो भने स्वार्थै स्वार्थ, अज्ञानै अज्ञान र पापै पापले भरिएका अरु आम मानिसको गति के होला ?
'शून्यमा शून्य सरी' कवितामार्फत देवकोटाले मानवजीवनलाई समय नघर्किँदै सचेत हुने महान् प्रेरणा दिइरहेका छन् । प्रेरणा लिने नलिने चाहिँ हाम्रै जिम्मा ।