काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा चुनाव आउन अब एक साता मात्र बाँकी छ । मुलुकभरका उम्मेदवार तथा नेता–कार्यकर्ता प्रचार–प्रसार र घरदैलो कार्यक्रममा व्यस्त छन् । सडक र सहतमा आ–आफ्ना योजना र कार्यक्रम सुनाएर मतदाता रिझाउने क्रम चलिरहेको जस्तो देखिन्छ । भित्र भित्रै कसलाई जिताउने र कसलाई हराउनेमा आफूलाई निर्णायक ठान्ने स–साना शक्ति–समूहहरू आर्थिक र रणनीतिक लाभ हानिको लेखाजोखा गर्दै भोट तान्ने, परिआए किन्ने वा विथोल्ने प्रयत्न गरिरहेका छन् । यस्ता प्रयत्न सबैतिर उस्तै र उही ढंगले भइरहेका छन् भन्ने होइन । खासगरी शक्तिशाली नेताहरू उम्मेदवार भएको ठाउँमा चाहिँ यस्तै भइरहेको छ । मुलुकको राजनीतिक भविश्यलाई नै दूरगामी असर पार्न सक्ने उम्मेदवारहरू भएका केही क्षेत्रहरूमा चुनाबको बाह्य प्रचारप्रसारको तुलनामा आन्तरिक चलखेल तीव्र छ । त्यस्तै क्षेत्रहरूमध्येमा पर्छ– काठमाडौं क्षेत्र नं ४ ।
काठमाडौं ४ लाई यसकारण पनि निकै चासोका साथ हेरिएको कि यहाँ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको उम्मेदवारी छ, जो यसपल्ट आफूलाई प्रतिनिधिसभा सदस्यको हैसियतमा मात्र नभई भावी प्रधानमन्त्रीकै रूपमा प्रस्तुत गरिरहेका छन् । धेरैको अनुमान यो क्षेत्रबाट उनैले जित्छन् भन्ने छ । थापाले स्वयंले निर्वाचनपछिको सरकारको नेतृत्व गर्न आफू तयार रहेको र त्यसका लागि पार्टीभित्र पहल गर्ने दावी गरिरहेका छन् । उनको यो प्रस्तुति मुख्य प्रतिस्पर्धी नेकपा (एमाले)का विदेश विभाग प्रमुख डा. राजन भट्टराईका लागि त चुनौति हुने नै भयो, नै त्यो भन्दा ज्यादा चुनौति नेपाली कांग्रेसकै सभापति एवं हालका प्रधानमन्त्री शेरबहादुर देउवा समूहले महसूस गरेको छैन भन्न सकिन्न ।
पार्टी सभापतिका तुलनामा अहिले नै आम जनमानसबीच ज्यादा लोकप्रिय रहेका गगन थापाले छोटो अवधिमै सफलताको जुन उचाई हासिल गरेका छन् त्यसलाई मन नपराउनेहरू नेपाली कांग्रेसभित्रै थुप्रै छन् । राष्ट्रिय राजनीतिमा अहिले नै हस्तक्षेपकारी भूमिकामा आफूलाई स्थापित गरिसकेका थापा यो चुनाबलगत्तै सरकारको समेत नेतृत्वदायी भूमिकामा पुग्लान् कि भन्ने आश यस क्षेत्रका तटस्थ मतदातामा जति छ, त्योभन्दा ज्यादा त्रास देउवा खेमाका नेता–कार्यकर्तामा छ । यही त्रासका कारण चुनावी प्रचारप्रसारका आखिरी दिनहरूमा उनलाई हराउन उनकै पार्टिभित्रको शक्ति सक्रिय भइसकेको बुझिएको छ ।
अर्कोतर्फ एमालेका उम्मेदवार डा. भट्टराईको जनआधार र चुनावी रणनीति सतहमा देखिएभन्दा निकै बलियो छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार भएर काम गरेका भट्टराईलाई नेतृत्व क्षमता र कार्यकुशलताका हिसाबले मात्र नभई अन्तर्राष्ट्रिय मामिलामा समेत दक्खल राख्ने उम्मेदवारका रूपमा लिने गरिएको छ । त्यसैमाथि एमालेको यसपल्टको चुनाबी प्रचारशैली भिन्न तर आक्रामक छ । उनीहरू बाह्य तामझाममा भन्दा पनि आन्तरिक रूपमा तटस्थ मतदातालाई आफूतिर तान्न जोडबल गरिरहेका छन् । अपेक्षित नतिजा यसरी नै हासिल हुने एमालेको निस्कर्ष छ र यो क्रम क्षेत्र नं ४ मा पनि जोडतोडका साथ चलिरहेको छ ।
काठमाडौँ क्षेत्र नं ४ मा प्रतिनिधिसभातर्फ विभिन्न १७ राजनीतिक दल र १४ स्वतन्त्रसहित ३१ उम्मेदवार प्रतिस्पर्धामा छन् । तिनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत छन् । थापा गठवन्धनका उम्मेदवार हुन् तापनि राप्रपा लगायतले भने भट्टराईको भन्दा उनैको भोट बढी काट्ने अनुमान छ ।
के चाहन्छन् मतदाता ?
बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत १०, ११ र १२ नं वडामा पर्ने कपन क्षेत्रको डुबान समस्यालाई लिएर स्थानीयवासी आक्रोशित छन् । गौशाला, रातोपुल र ज्ञानेश्वर क्षेत्रको सडक विस्तारमा भएको ढिलाइलाई लिएर पनि स्थानीय रुष्ट छन् । राष्ट्रिय स्तरका नेता उम्मेदवार भएकाले उनीहरूले मेलम्चीको पानी कहिले आउँछ ? भन्ने प्रश्नको पनि मतदातालाई चित्तबुझ्दो जबाफ दिनु पर्ने अवस्था छ । मतदाताका यी सबै आक्रोश र रोषको प्रभाव भट्टराईलाई भन्दा थापालाई ज्यादा पर्ने स्थानीयवासी बताउँछन् । किनभने थापा पछिल्लोपल्ट मात्र नभई त्यसअघि पनि यसै क्षेत्रबाट बिजयी नेता हुन् ।
थापाले भने आफ्नो निर्वाचन क्षेत्रका आवश्यकता पहिचान र त्यसको पूर्तिका लागि हरसम्भव प्रयास गरिरहेको दावी गरेका छन् । काठमाडौँ महानगरपालिकाभित्रका सम्पदा जोगाउने र त्यस्ता सम्पदाको वास्तविक परिचय कसरी दिन सकिन्छ भनेर आफूले काम गरिरहेको उनले मतदातालाई बताउने गरेका छन् । धोवीखोला कोरिडोरलाई दुबैले आ–आफ्नै ढंगले जस लिने मुख्य माध्यम बनाइरहेका छन् ।
सार्वजनिक र आन्तरिक खपतका लागि कतिबेला कस्तो अभिव्यक्ति दिने भन्नेमा पोख्त अनि मिडिया व्यवस्थापनमा निपुण थापा यतिबेला मतदातालाई भनिरहेका छन्– ‘नक्साल र चाबहिललाई केन्द्र बनाएर सांस्कृतिक पुनर्जागरण अभियान चलाएको छु । भगवतीबहालबाट नागपोखरीसम्मको सडकमा सवारीसाधन पूर्णरूपमा बन्देज लगाएर ‘हेरिटेज वाक’ का रूपमा विकास गर्ने योजना छ । खुला स्थानको अतिक्रमण रोक्ने र त्यस्ता स्थानलाई पार्कका रूपमा विकास गर्ने योजना पनि छ ।’
डिठ्ठाचौरमा नगर अस्पताल बनाएको, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र चलाएर त्यसबाट घर–घरमा स्वास्थ्य सुविधा दिएको, स्थानीयस्तरका एक दर्जनभन्दा बढी खानेपानी आयोजना सम्पन्न गरेको, निःशुल्क पाठेघर र स्तन क्यान्सर परीक्षण तथा जनचेतना कार्यक्रम चलाएको, यौन दुव्र्यवहार र मानसिक स्वास्थ्यलगायत अभियान सञ्चालन गरेको आदिलाई उनले आफ्नो सफलताका रूपमा प्रस्तुत गर्ने गरेका छन् । उनको आश्वासनका अघिल्तिर संभावित बिजयी छविका उम्मेदवार भएका कारण आम जनता नतमस्तकप्रायः देखिन्छन् । बाहिर उनको कुरा काट्नेभन्दा पनि महिमागान गर्ने नै बढी देखिन्छन् । भित्र भित्रै भने उनको चुरिफुरी बढेकोमा असन्तोष चुलिँदो छ । यो कुरा कांग्रेस इतरका नेता कार्यकर्ताबाटभन्दा पनि कांग्रेसीहरूबाटै ज्यादा सुन्न पाइन्छ ।
एमाले उम्मेदवार भट्टराईले जनजीविका, सामाजिक सुरक्षा, सुशासन, ढल तथा डुबान नियन्त्रण, सडक तथा यातायातलगायत पूर्वाधार क्षेत्रको परिवर्तनका लागि काम गर्ने भन्दै मतदातालाई आश्वस्त पारिरहेका छन् । यो निर्वाचन क्षेत्रभित्रका विश्व सम्पदा सूचीमा रहेका सम्पदाको संरक्षण, नियमन र विकासका लागि एकीकृत गुरुयोजना तयार पारिने उनको चुनावी एजेण्डा छ ।
पशुपति, गुह्येश्वरी, बौद्धस्तूप, बूढानीलकण्ठलगायत धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका संरचना संरक्षण र संवद्र्धनसँगै शिवपुरी क्षेत्रलाई काठमाडौँको हाइकिङ हबका रूपमा अघि बढाउनेसम्मका योजना भट्टराईका छन् । कालोबजारी नियन्त्रण, बजार अनुगमन र उपभोक्ता हितका क्षेत्रमा गम्भीरताका साथ काम गर्ने एजेण्डा उनको प्राथमिकता छ । मौलिक उत्पादनको संवद्र्धन, प्रवद्र्धन र बजारीकरण गर्ने, उक्त निर्वाचन क्षेत्रभित्र पर्ने सबै भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्नेलगायतका एजेण्डा उले अघि सारेका छन् । जनस्वास्थ्य र सरसफाइका क्षेत्रमा आमूल परिवर्तन गर्ने उनका दावी छन् ।
थापाका तुलनामा भट्टराईका समर्थक र विरोधी दुवै कम देखिन्छन् । अबको एक हप्तामा समर्थकको संख्यामा सार्थक फेरवदल ल्याउन सके भने उनको पल्ला भारि नहोला भन्न सकिन्न । यसै पनि स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका सबै वडाको मत जोड्ने हो भने कांग्रेसभन्दा एमाले नै अगाडि छ । गठवन्धनका माओवादी र नेकपा समाजवादीले रुख चिन्हमा मतदान गर्ने जाँगर देखाएनन् भने परिणाम सोचिएझैं थापाको पक्षमा अनाउन पनि सक्छ । तैपनि यस्तो परिदृश्य निर्माण गर्नु भट्टराईका निम्ति लर्तरो पहलबाट मात्रै संभव देखिन्न ।
अघिल्ला नतिजा कस्ता छन् ?
काठमाडौं क्षेत्र नं ४ मा महानगरपालिकाको १, ७, ८ र ३० वडा र बूढानीलकण्ठ नगरपालिकाको १, २, ८, ९, १०, ११, १२ र १३ वडा छन् । ६९ हजार ७ सय ५२ मतदाता रहेको यस क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको १ नं वडामा एमाले तथा ७, ८ र ३० नं वडामा कांग्रेस विजयी भएको थियो । बूढानीलकण्ठ नगरपालिकाभित्र पर्ने क्षेत्र नं ४ का सबै वडामा एमालेले जित हासिल गरेको थियो । वडाध्यक्षले पाएको मतका आधारमा त्यहाँ एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छ । तर नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितको मतका आधारमा भने गठबन्धन अगाडि छ ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–४ मा २१ जना प्रतिस्पर्धी थिए । उक्त निर्वाचनमा कांग्रेसका थापा २१ हजार पाँच सय ५८ मत ल्याएर निर्वाचित भएका थिए भने भट्टराईको मत १८ हजार १ सय ४० थियो । तेस्रो स्थानमा रहेको विवेकशील साझा पार्टीले ३ हजार ४० मत ल्याएको थियो । नेपाल कम्युनिष्ट पार्टी (माले), नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरमका उम्मेदवारले पाएको मत क्रमशः १ सय ५४, १ सय ३३ र १ सय १२ थियो । प्रतिस्पर्धामा रहेका अन्य दल र स्वतन्त्र उम्मेदवारले सय मत पनि कटाउन सकेका थिएनन् ।
संविधानसभाको दोस्रो निर्वाचन २०७० मा पनि काठमाडौँ क्षेत्र नं ४ मा थापा नै विजयी भएका थिए । उनले एमालेका निर्मल कुँइकेल र तत्कालीन एकीकृत माओवादीका उम्मेदवार नन्दकिशोर पुनलाई पराजित गरेका थिए । थापाले २२ हजार तीन सय ३६ मत ल्याउँदा कुइँकेलको ९ हजार २८ र पुनको ६ हजार ४ सय ६२ मत थियो ।
२०६४ को संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट एमाले उम्मेदवार विद्यादेवी भण्डारीले नेपाली कांग्रेसकी सुप्रभा घिमिरेसँग पराजय भोग्नुपरेको थियो । विसं २०७० को निर्वाचनमा कांग्रेसले गगन थापालाई उम्मेदवार बनाएपछि सुप्रभा घिमिरेले कांग्रेस परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । तैपनि थापाले नै निर्वाचन जितेका थिए ।
साना दल र स्वतन्त्रले कस्को मत काट्लान् ?
कांग्रेस र एमालेका अतिरिक्त यो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. ठाकुरमोहन श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका रमेश डङ्गोल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका भानुकुमार खड्का, मौलिक जरोकिलो पार्टीका नुमनाथ प्याकुरेल र हाम्रो नेपाली पार्टीका अर्चनशम्शेर राणा उम्मेदवार छन् । पुनर्जागरण पार्टीका श्यामबाबु गौतम, नेपालका लागि नेपाली पार्टीका दीपककुमार पोखरेल, मितेरी पार्टी नेपालका राजेश भारती, नेकपा (माले)का लीलामाया पौडेल र मङ्गोल नेशनल अर्गनाइजेशनका लालकुमारी थापा राना, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पिकेश परियार, राष्ट्रिय जनमुक्ति पार्टीका चेतबहादुर आले, एकीकृत शक्ति नेपालका नवराज भण्डारी, आमूल परिवर्तन मसिहा पार्टी नेपालका ध्रुवराज गिरी र जनसमाजवाद पार्टीका खुरहरि पुडासैनीको पनि उम्मेदवारी छ ।
यसबाहेक क्षेत्र नं ४ मा १४ जना स्वतन्त्र उम्मेदवार छन् । अर्जुनकुमार प्रसाईँ, काजीबहादुर कार्की, कृष्णकुमार तामाङ, थर्कबहादुर बस्नेत, दिनेश चौलागाईँ, नवराज थापा, महेश्वर केसी, रवीन्द्रदेव ढकाल, रुद्रप्रसाद पौडेल, रोशन बर्मा, रोहित डङ्गोल, शिवेन्द्र केसी, श्यामराज भेटवाल र हेमबहादुर बोम्जन स्वतन्त्र उम्मेदवार हुन् ।
उल्लेखित सबै परिदृश्यहरूलाई दृष्टिगत गर्दा अहिलेलाई धेरैले भन्ने गरेझैं गगन नै यहाँका संभावित विजेता हुन् । तर यो कथनबाट ‘संभावित’ शब्द हटाउन उनीसामु चुनौति नै चुनौतिका चाङ् छन् । स्थानीय निर्वाचनमा उनले चिढाएका कार्यकर्ता उनी विरुद्ध छन् । पुराना कार्यकर्तालाई पन्छाएर नयाँ नयाँलाई च्याप्ने उनको प्रवृत्ति कांग्रेसीहरू नै रुचाइरहेका छैनन् । अन्य दल र स्वतन्त्रले भट्टराईको भन्दा उनकै मत बढी काट्ने संभावना छ । यीसबैभन्दा माथि कांग्रेसको संस्थापन पक्ष नै गगनको गतिलाई अल्पविराम लगाउन उत्सुक देखिन्छ ।
भट्टराईको मुख्य चुनौति भने गठवन्धन नै हो । गठबन्धनको मत पूरै एकोहोरिएर थापाको पक्षमा गयो भने उनको अवस्था अघिल्लो संसदीय निर्वाचनको भन्दा खासै फरक हुने छैन । असन्तुष्ट कांग्रेसहरूको पहिचान गरेर आफ्नो पक्षमा ल्याउन र गठवन्धन समर्थक मतदाताको विश्वास जित्न उनी जुन हदसम्म सफल हुन्छन् त्यसमै उनको विजय–पराजय निर्भर रहने छ ।