डडेल्धुरा– पाँचपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेका प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभामा यसअघि लगातार ६ पटक जित हासिल गरेजस्तै सातौँपल्ट पनि आफूलाई संसदीय निर्वाचनमा विजयी गराउन डडेल्धुरावासीलाई आग्रह गरेर फर्किएका छन् ।
चुनावी प्रचार प्रसारका लागि पछिल्लाेपल्ट देउवा ४ दिन डडेलधुरामा रहे पनि चर्चा भने उनलेभन्दा बढि उनकी पत्नी आरजूकाे ज्यादा रह्याे । उनले मतदातासामु सार्वजनिक रुपमै भनिन्– "जसरी आज हामी हेलिप्टरमा उडेर यहाँ आयाैं, त्यसरी नै १०–१५ वर्ष अघि नै हेलिकप्टर चढेर आउने हैसियत बनाइसकेका नेतालाई जिताउँ।"
आरजूकाे याे अभिव्यक्तिलाई धेरैले उनकाे यसअघिकाे "राेजगारीका लागि मलेसियाकाे काेटा दिलाइदिने" अभिव्यक्तिकै सिलसिलासँग जाेडे जसले आमजनता र राजनीतिक नेतृत्वप्रतिकाे उनकाे धारणा छर्लङ्ग बनाउँछ ।
प्रधानमन्त्रीकाे यसपल्टकाे चार दिने डडेलधुरा–दाैडाहा यसकारण पनि चर्चित रह्याे कि देउवाले राज्यसंयन्त्रकाे ठूलाे दलबलसहित आफ्नाे निर्वाचन क्षेत्रमा गएर रवाफिलाे प्रचार प्रसार गरेकाे नदेख्ने निर्वाचन आयोगले लगत्तैजसाे उनका प्रतिस्पर्धी युवा उम्मेदवार सागर ढकाललाई केही थान माेटरसाइकल र माइकबाट समेत प्रचार प्रसार नगर्न भन्याे । सिंगाे राज्यसत्ताका अगुवासँगकाे प्रतिस्पर्धामा लड्न अघिसरेका ढकाल अहिले त्यही राज्यसत्त्तासँग अनुनयवियन गर्दै भनिरहेका छन्– म अन्यायमा परेँ न्याय पाउँ । अनि उनी प्रश्न गरिरहेका छन्– के याे देश देउवाकाे मात्र हाे ?
सुदूरपश्चिमको डडेल्धुरा जिल्ला आफैँमा विकासका दृष्टिमा यहाँका अरू ६ पहाडी जिल्लाको तुलनामा अघि छ । भौगोलिक रुपले पनि सातै पहाडी जिल्लाको पायक पर्ने स्थानमा छ ।
२०४८ सालकाे संसदीय निर्वाचनदेखि अनवरतरुपमा जिल्लाको प्रतिनिधित्व गर्दै आएका देउवालाई डडेलधुराले यसअघि नै छ पटक जिताइसकेकाे छ । यसपल्टकाे पनि छनक उस्तै छ । देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालका निर्वाचनमा यहाँबाट निर्वाचित भइसकेका छन् । सोह्र वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन जित्ने देउवा कांग्रेसका एक्ला नेता हुन् ।
छ पल्ट चुनाब जिताएकाे र पाँच पल्ट प्रधानमन्त्री भएकाे देउवाबाट डेडेलधुरावासीले थाेरबहुत जे जति पाए पनि मुलुकले के पायाे भन्ने प्रश्न साेध्न सक्ने हैसियतमा सायद यसपल्ट पनि छैनन् उनीहरु । त्यसैले त आसन्न निर्वाचनमा समेत यहाँका जनताले आफूलाई नै चयन गर्नेमा ढुक्क छन् देउवा । किनभने आफ्नाे विजय यात्रालाई साताैं पटक निरन्तरता दिने तयारीमा रहेका देउवाललाई यस पटक विगतका निकटतम प्रतिद्वन्द्वी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धन दलको समेत दरिलो साथ छ ।
गत बिहीबार डडेल्धुरा सदरमुकाम खलङ्गामा पहिलो चुनावी सभामा सम्बोधन गरेका देउवाले सत्तागठबन्धनका उम्मेदवारसहित सबैजसो पालिका पुगेर मत मागे । आइतबार भित्रीमधेसस्थित जोगबुढामा चुनावीसभामा अन्तिम सम्बोधनपछि गृह जिल्लाबाट बिदा भएर धनगढीतर्फ लागे ।
मुलुकमा प्रजातन्त्र पुनर्थापना देखिकै निर्वाचनहरुमा देउवालाई मत दिएर राष्ट्रिय राजनीतिमा स्थापित गराउँदै आएका डडेल्धुरावासीको यस पटकको दायित्व र हैसियत मुलुककाे भावी राजनीतिक परिदृश्यलाई नै बदल्न सक्नेसम्मकाे छ । तैपनि उनीहरुका माग भने शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका साथै भित्रीमधेसमा नदी कटान नियन्त्रणका लागि तटबन्धदेखि महाकालीमा पुलजस्ता सदावहार प्रकृतिका छन् ।
चुनावी सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले स्थानीयस्तरमा रहेका समस्या समाधानका साथै डडेल्धुरामा मेडिकल कलेज स्थापनादेखि विमानस्थल निर्माणसम्मका आश्वासन दिए । आश्वासन बाँड्दा बाँड्दा देउवाकाे हालत यस्ताे देखिन्थ्याे कि उनले चुनावकाे मितिसम्मै भुलिसकेका थिए ।
डडेल्धुराको आलितालमा आयोजित चुनावीसभामा उनले भने– "चुनाबमा हामी अगाडि आइसकेका छाैं । चुनाब मंसीर ६ गते चुनाब हुँदैछ । त्याे मंसीर ६ गतेकाे दिनमा एकै दिन संसद र प्रदेशकाे चुनाबमा भाेट हाल्नु पर्नेछ ।"
यसलाई कतिले सामान्य झुक्किपरेकाे मात्र भनेर पनि अर्थ्याउन सक्नेछन् तर यथार्थ त्यस्ताे हाेइन । यथार्थ के हाे भने जसरी लुम्बिनीमा आयाेजित कार्यक्रममा भारतीय प्रधानमन्त्रीसमेतका सामु उनले र्याल चुहाएका थिए त्यसरी नै अहिले पनि देउवा आफूले बाेलेका र गरेका कामहरुप्रति वेपर्वाह छन् । उनकाे शारीरिक र मानिसक अवस्था दर्शाउने यस्ता व्यवहार पटक पटक झल्किने गरेकाे उनी निकटस्थहरु नै बताउँछन् ।
चुनावी सभामा प्रधानमन्त्रीले आफूलाई मात्र नभई प्रदेशसभाका सत्ता गठबन्धनका उम्मेदवारलाई समेत मत माग्दै हिँडे । “मैसित माओवादी नेता खगराज भट्टजी तीनपटक निर्वाचन हारे”, देउवाले भने, “यसपटक गठबन्धनबाट उहाँलाई जिताउनुहोस्, सुदूरपश्चिमको मुख्यमन्त्री बनाइने छ ।”
उनले विगतको राजनीतिक लडाइँ बिर्सेर आगामी दिनमा स्थायी सरकारका लागि पनि गठबन्धन आवश्यक रहेको मतदातालाई बताए । चुनावी सभाका क्रममा परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर, अजयमेरु गाउँपालिका, गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा सम्बोधन गर्दै देउवाले पाँचदलीय गठबन्धनलाई मत मागेका थिए ।
डडेलधुरावासीका लागि सायद देउवाले निकै काम गरेका हाेलान् । यसै पनि डडेल्धुराका सबै पालिकाका सडकपूर्वाधार, विद्युत्, खानेपानी, सिँचाइ लगायतका विकासका काम भइसकेका छन् ।अहिले देउवाले जोगबुढा क्षेत्रमा नदी कटान नियन्त्रण, महाकालीमा पक्की पुल, मेडिकल कलेज स्थापना, विमानस्थल निर्माण लगायतका विकासका योजना अघि सारेका छन् ।
तर डडेलधुराबासीले बुझ्नुपर्ने कुरा के हाे भने उनकाे जीत फगत् डडेलधुराका लागि मात्र हाे त ? हाे भने ठीकै छ । सायद विगतमा डडेलधुरावासीले राम्राे विकल्पकाे अभावमा पनि देउवालाई राेज्नु परेकाे हुनसक्छ । तर यसपल्ट उनीहरुका सामु राम्रा विकल्प छन् । देउवा राजनीतिमा हाेमिदा जस्ता थिए ठीक उस्तै युवा प्रतिनिधि सागर ढकाल चुनावी मैदानमा छन् । ढकाल बाहेक नेपाली कांग्रेस बिपीका नेता कर्ण मल्ल र विक्रमबहादुर शाही पनि प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
त्यसैले ७६ जिल्लावासीका अधिकांश नेपालीले संभवत: अहिले डडेलधुरावासीसँग साेध्न चाहिरहेकाे प्रश्न हाे– तपाईंहरुको प्राथमिकता सिंगाे नेपाल बनाउने हाे कि डडेलधुरा मात्रै? फैसला तपाईंहरुकै हातमा छ ।