“नानी, तिम्रो नाम के हो”, नगेन्द्र सरले निहुरिएर उसलाई सोध्नुभयो । उसले आफ्नो टाउको माथि उठाई । तुरुन्तै निहुराई । उसको उक्सिएको निधार नगेन्द्र सरको चिउँडोमा ठोक्किएला झै देखियो । उसले आफ्नो दाँया खुट्टाको बुढी औंला दोब्य्राई । तन्काई । फेरि दोब्य्राई । फेरि तन्काई । तर एकपटक पनि आफ्नो ओठ तन्काईन । ऊ चुप लागिरही ।
सरले नाम सोध्नुहुँदा उसले किन उत्तर दिइन ? मलाई भने अचम्म लाग्यो ।
उसको कपाल मेरो जस्तो कालो थिएन । हातखुट्टा पनि मेराभन्दा साना थिए । अनुहार भने आमाले बनाउने बाबर रोटीजस्तै बाटुलो थियो । नाक चाँहि मेरै जस्तो थेप्चो । आँखाका गेडी अलिक भित्र गडेका जस्ता देखिन्थे । आँखाको तल्लो डिल रातो थियो । आँखीभौं भने गणित शिक्षकले तिखो पेन्सिलले सिरिक्क पारेर कोरिदिएजस्तो लाग्ने पातला । उसले लगाईरहेको स्वीटर ह्वार्ल्याङ्ग परेको थियो । अनि फ्रकको रङ मेरै जस्तो गाढा निलो थियो ।
ऊ स्कुलको गेट नजिकको काठको बेञ्चमा बसेकी थिई । उसको नजिकै नगेन्द्र सर र सारदा मिस उभिनुभएको थियो । म पनि गेट छेउको शिशु कक्षाको भित्ता नजिक उभिएकी थिएँ । उसको हातमा निलो गाता भएको कपी र रातो रङको टुप्पो भाँच्चिएको पेन्सिल थियो । ऊ पक्कै पनि शिशुको कक्षाको नयाँ विद्यार्थी हुनुपर्छ । म पनि शिशु कक्षामा भर्ना हुँदा त्यत्रै त थिएँ नि । अहिले त पाँच कक्षामा पुगिसकेँ ।
“नानी, तिम्रो नाम के हो ?”, शारदा मिसले पनि नगेन्द्र सरले जसरी नै सोध्नुभयो । मेरा कान ठाडा भए । अब त उसले पक्कै पनि आफ्नो नाम बताउँछे होला भन्ने लाग्यो । तर उसले टुप्पा भाँच्चिएको पेन्सिलको फेद आफ्ना दाँतले टोकी । उसको ओठको कुनाबाट र्याल झर्यो । तररर । उसका आँखा बेस्सरी झिम्झिम् भए । दुबै आँखीभौं खुम्चिएर एकै ठाउँमा जोडिएला जस्तै देखिए । ऊ आफ्नो उक्सिएको निधारले भुईँ छोला जत्तिकै गरी घोप्टो परी । मैले आफ्नो ढाड तनक्क तन्काएँ । दाहिने खुट्टा भित्तामा अड्याएँ ।
“नानु, किन नबोलेकी ?” शारदा मिसले उसको चिउँडो समाएर फेरी सोध्नुभयो । तर उसले आफ्नो चिउँडो बल गरेर शारदा मिसको हातबाट छुटाई । र घोप्टो परी । अनि ओठ चुच्चो पारेर सिसाकलमको फेद चुस्न थाली ।
“नानी, तिमी किन कक्षामा नबसेको ?” नगेन्द्र सरले फेरि सोध्नुभयो । ऊ साँच्चै नै कक्षामा नबसेर बाहिर बेञ्चमा बसिरहेकी थिई । नगेन्द्र सर शिशु कक्षामा जानुभयो । एकैछिनपछि नगेन्द्र सरसँगै सानु मिस आउनुभयो ।
“अघि कक्षामा मैले कतिपटक नाम सोधें । बोल्दै बोलिन । अनि पेन्सिल र कपी बोकेर निस्किई ।” सानु मिसले उसको अनुहार हेर्दै शारदा मिस र नगेन्द्र सरसँग भन्नुभयो ।
नाम किन नबताएकी होली ? मलाई अचम्म लाग्यो । मैले मनमनै उसको नाम सानी केटी राखिदिएँ ।
“नानी, हिँड भित्र जाउँ ।” सानु मिसले उसलाई फकाउँदै भन्नुभयो । ऊ कसैलाई पनि नहेरी घोप्टो मात्र परिरही ।
“यसले त कान सुन्दिन जस्तो छ सर ।” ऊ नबोलेको देखेर शारदा मिसले नगेन्द्र सर र सानु मिससँग भन्नुभयो ।
“ओह ! उसले कान सुन्दिन ? कान नसुन्ने मान्छेले सरमिसले पढाएको कसरी बुझ्ने होला ?” मलाई झन् अचम्म लाग्यो ।
“त्यही त मिस । बोल्दै बोल्दिन । नसुेनेरै त होला नि ।” नगेन्द्र सरले एकपटक आफ्ना फराकिला दुबै काँध उचाल्नुभयो । बाक्ला ओठ लेपार्नुभयो ।
“एकैछिन् है मिसहरू ।” यति भनेर नगेन्द्र सर अफिस कोठातिर लम्कनुभयो ।
“पाल्मो, आज पनि होमवर्क गरिनस् । सजाय पाईस् होइन त ? फटाही ।” मलाई देखेर नगेन्द्र सरले गिज्याउनु भयो । मलाई लाज लाग्यो । सर अफिस कोठामा पस्नुभयो । त्यो अफिस कोठाको ठीक माथि म पढ्ने कक्षा थियो । कक्षाको ढोका ढप्काइएको थियो । काँचको झ्यालबाट भने केही साथीहरूले मलाई नै हेरिरहेका थिए । तिनीहरुले मलाई लामो जिब्रो झिकेर देखाए । मलाई रोउँ रोउँ लाग्यो । नगेन्द्र सर अफिसबाट फर्किनुभयो । उहाँको हातमा गोलो बिस्कुटको चित्र भएको सानो प्याकेट थियो । सरले त्यो प्याकेट सानी केटीको हातमा राखिदिनुभयो ।
“खाऊ नानी ।” सारदा मिसले हातले इशारा गर्नुभयो । अहँ, उसले बिस्कुट खाइन । बरु खुट्टाको बुढी औंला दोब्य्राई । तन्काई । आँखा छिटो–छिटो झिम्झिम् गरी । ओठ चुच्चो पारी । निधार झन् घोप्टो पारी ।
“सर, यिनले त आँखा पनि देख्दिनन् जस्तो छ । एकपटक त्यो बिस्कुट देखाएर के हो भनेर सोध्नुस् त ।” सारदा मिसले नगेन्द्र सरसँग भन्नुभयो ।
“नानी, यो के हो भन त ।” नगेन्द्र सरले बिस्कुट उसको आँखामै टाँसुला झै गरि सोध्नुभयो । फेरि पनि ऊ बोलिन । बिस्कुट पनि खाइन । आँखा भने झन् छिटो–छिटो झिम्झिम् गरी ।
“ला ! आँखा पनि देख्दिन ? त्यो कपीको निलो गाता पनि देख्दिन ? त्यो पेन्सिलको रातो रङ पनि देख्दिन ? अब उसले कसरी पढ्ली ? म त दुबै आँखा देख्छु । कान राम्रै सुन्छु । त्यही पनि मझौला कोष्ठकभित्रको हिसाब पहिले गर्ने कि सानो कोष्ठकभित्रको भन्ने बुझिनँ । त्यसैले होमवर्क गरिनँ । नत्र त सबैले देख्नेगरि यहाँ यसरी उभिनै पर्थेन ।” मलाई आफ्ना खुट्टाहरू त्यसै गले जस्तो लाग्यो । म थचक्क बसेँ । फेरि कसैले देखेर सरलाई चुक्ली लाइदेला भनेर जुरुक्कै उठेँ ।
“ल, यस्तो लठ्यौरीलाई त कसरी पढाउने ? न सुन्छे । न बोल्छे । न देख्छे ।” सारदा मिसले टाउको झड्कालेर भन्नु भयो । पक्कै पनि उहाँलाई झर्को लागेको हुनुपर्छ । पढाउँदा नबुझ्ने केटाकेटीदेखि सर मिसहरू दिक्क मान्नुहुन्छ । झन् मजस्तो होमवर्क नगर्ने देखेर त वाक्क हुनुहुन्छ ।
“यो कोसँग स्कुल आएकी रहेछ ?” नगेन्द्र सरको आवाज अघिको भन्दा चर्को सुनियो । त्यति नै बेला नगेन्द्र सरको भन्दा चर्को आवाजमा घण्टी बज्यो । टिनिनिनि टिङ् । खाजा खाने छुट्टी भयो । सबै ह्वार्र बाहिर निस्किए । चार कक्षाबाट विशाल तामाङ खुरुरु दौडिएर आयो । त्यो सानी केटीको सामुन्ने उभियो । सानी केटीले टाउको उठाएर विशाललाई हेरी ।
“ज्योजो, पेन्सिल क्युइजी (दाइ, पेन्सिल भाँच्चियो) ।” सानी केटीले आफ्नो भाँच्चिएको पेन्सिल विशाललाई देखाउँदै भनी । उसले बिस्कुट पनि देखाई । कपी पनि देखाई । ए, ऊ त विशालको बहिनी पो रहेछ । उसले मैले जस्तै घरमा बोल्ने भाषा पो बोल्दी रहिछे । पक्कै पनि उसले अघि सर, मिसले सोधेको नबुझेको हुनुपर्छ । त्यही भएर चुपचाप भुईँ कोट्याईरहेकी रहिछे क्यारे !
शुरु–शुरुमा म पनि त ऊ जस्तै सर, मिसले बोलेको नबुझेर चुपचाप बस्थेँ । घरमा सबै तामाङ भाषामा कुरा गर्छन् । म त्यही भाषा सुनेर, बुझेर हुर्केकी थिएँ । पहिलो पटक स्कुलमा नेपालीमा बोलेको म बबुरीले कसरी बुझ्थेँ त ! के भनेको–भनेको ? केही बुझेको भए मरिजाउँ ! नबुझेपछि उत्तर दिने कुरै थिएन । म पनि त्यो सानी केटीजस्तै चुपचाप रहन्थेँ । त्यतिखेर मलाई सर, मिसले “नबोल्ने केटी’ भन्ने नाम दिनुभएको थियो । अझ केही सरले त जिद्दी केटी पनि भन्नुभयो ।
मलाई कस्तो खल्लो लाग्थ्यो । स्कुल आउन नपरेपनि हुन्थ्यो जस्तो पनि लाग्थ्यो । पछि–पछि अलि–अलि गर्दै मैले स्कुलमा बोल्ने भाषा बुझ्न थालेँ । त्यतिन्जेलसम्म मलाई पाठ बुझ्न र जवाफ फर्काउन निकै गाह्रुंगो भएको थियो । राम्रोसँग नेपालीमा उत्तर लेख्न नसक्दा मैले प्रत्येक वर्ष कक्षा दोहर्याउनु परेको थियो ।
“पाल्मो, सरले भन्नुभएको खाजा खान जाऊ रे ।” मेरी साथी डोल्मा कक्षाकोठाको ढोका उघारेर चिच्याई । उसको आवाजले मलाई झस्याङ्ग पार्यो । कस्तो एकैछिनमा मैले आफ्नो पुराना दिनहरू पो सम्झन पुगेछु ! बल्ल मैले सजायबाट छुट्कारा पाएँ । अब खाजा खान जान्छु । जानु अघि मैले त्यो सानी केटीलाई हेरेँ । त्यो सानी केटीको दाइले आफ्नो गोजीबाट कटर झिक्यो । उसले बहिनीको भाँच्चिएको पेन्सिल ताछिदियो । ताछिएको पेन्सिल देखेर उसकी बहिनी अगाडिका सबै दाँत देखिने गरी हाँसी ।
“आङा, प्रो चाबारी नि (बहिनी, खाजा खान जाउँ) ।” विशालले बहिनीको हात समाएर तान्यो । सानी केटी हाँसी । ऊ हाँस्दा आँखा चिम्म भयो । हाँस्दै अघि सरले दिनुभएको बिस्कुट गोजीमा हाली । आफ्नो टाउको एकपटक दाँया अर्कोपटक बाँया हल्लाई । अनि दुबै खुट्टा पालैपालो उफार्दै दाइसँग गई ।