यदि तपाईंले बिसौं शताब्दीका प्रख्यात अङ्ग्रेजी लेखक जर्ज अर्वेलको चर्चित पुस्तक ‘१९८४’ पढ्नु भएको छ भने त्यसमा वर्णन गरिएको पात्र ‘बिग ब्रदर’काबारे अवश्य पनि अनभिज्ञ हुनुहुन्न होला । उक्त पुस्तकमा लेखक अर्वेलले काल्पनिक देश ओसेआनियामा ‘इङ्गसोक’ नामक अधिनायकवादी राज्यसत्ता चलाइरहेको दलको रहस्यमय तर निकै शक्तिशाली प्रमुख ‘बिग ब्रदर’ले हरेक क्षण त्यहाँका हरेक नागरिक र उनीहरूका कृयाकलापहरूलाई हेरिरहेको हुन्छ । उसको नजरबाट कोही पनि उम्कन पाउँदैन ।
यो पुस्तक त्यो बेला रुस र अन्य देशहरूमा साम्यवादको बढ्दो लोकप्रियता र जर्मनीमा हिटलरको नरसंहारलाई व्यङ्ग्य गर्दै यदि त्यसो हुन नरोकिए भविष्यमा संसार कस्तो राजनैतिक प्रणालीमा पुग्न सक्छ भनेर देखाउन राजनीतिक पृष्ठभूमिमा लेखिएको हो । जर्ज अर्वेलले आफ्नो पुस्तकमा वर्णन गरेको जस्तो राज्यसत्ता अहिलेको संसारमा सायद छैन होला । भए पनि केही साना र अविकसित देशमा होला । अहिलेको संसारको अधिकांश जनसंख्या त्यस्तो राजनैतिक प्रणालीको कडा निगरानीमा छैनन् ।
‘१९८४’ र ‘बिग ब्रदर’को कुरो त कुनै लेखकको कल्पना भयो । अहिले समय धेरै फेरिएको छ । प्रविधिले तिव्र विकास गरेको छ । मानिसको शिक्षा र चेतनामा वृद्धि भएको छ । मानिसहरू कसैको निगरानी वा नियन्त्रणमा बस्न चाहँदैनन् । सबैलाई आफ्नो स्वतन्त्रता र व्यक्तिगत गोपनीयता प्यारो लाग्छ ।
आजको जमानामा ‘इङ्गसोक’ जस्तै वा अन्य कुनै पनि प्रकारका अनिनायकवादी राज्यसत्ता कसैले संचालन गर्न खोजे पनि त्यो टिक्ने स्थिति छैन । यो सुन्दा सुरुमा हामीलाई आश्चर्य लाग्ला कि हामी बाँचिरेहको र स्वतन्त्र भनिएको समाजमा पनि हामी अँझै पनि कुनै ‘बिग ब्रदर’को निरन्तर निगरानीमा छौं । खाली समय फेरिएको हो । ‘बिग ब्रदर’ भनिने पात्र फेरिएको हो । निगरानी गर्ने तरिका फेरिएको हो तर निगरानी फेरिएको छैन ।
वास्तवमा हामी ‘१९८४’ मा वर्णन गरिएको कडा सामाजिक र व्यक्तिगत निगरानी भन्दा पनि सूक्ष्म निगरानीमा छौं । ‘१९८४’ मा ‘बिग ब्रदर’ भौतिक रूपमा थियो या थिएन भन्ने कुरा लेखकले प्रष्ट पारेका छैनन्, उसले नागरिकहरूलाई साँच्चै नै निगरानी गरेको भन्ने यथेष्ट प्रमाण पनि पाइँदैन । केवल ओसेआनियाका जनतालाई त्रसित गराउन मात्र निगरानीको कुरा गरिएको पनि हुन सक्थ्यो । अहिलेको समयमा हामीलाई स्पष्टसँग थाहा छ- हाम्रो जमानाको ‘बिग ब्रदर’ भौतिकरूपमै छ । उसले हामीलाई त्रसित पार्न हैन साँच्चै नै हाम्रा हरेक गतिविधि नियालिरहेको छ । त्यति जान्दाजान्दै पनि हामी ढुक्कसँग बाँचिरहेका छौं ।
त्यो नयाँ ‘बिग ब्रदर’ अरू कोही नभएर हामीलाई निगरानी गरिरहेको सीसीटीभी हो । त्यही क्यामराले गर्दा संसारको अधिकांश जनसंख्या त्यस्तै अर्को ‘बिग ब्रदर’को निगरानीमा छ । ‘१९८४’ को ‘बिग ब्रदर’लाई कहिल्यै नदेखिएजस्तै आधुनिक युगको ‘बिग ब्रदर’ पनि देखिंदैन तर उसको आँखा हामी सबैमा अधिकाधिक समय परिरेहकै हुन्छ । हाम्रा जीवनका अधिकांश आयाममा नयाँ ‘बिग ब्रदर’ आँखा पुगिसकेको छ । नपुगेको भए पनि छिट्टै पुग्नेछ ।
‘सावधान! तपाईँ सीसी क्यामराको निगरानीमा हुनुहुन्छ’ भनेर लेखिएको चेतावनी हामीले धेरै स्थानमा देखेको हुनुपर्छ । अहिले बैंक या प्रहरी चौकी जस्ता सम्वेदनशील कार्यलयमा मात्र हैन साना ठूला पसलदेखि सार्वजनिक यातायात, स्कुल, खेलकुल प्रतियोगिता, पार्क र सडकका कुना कुनामा क्यामराहरू जडान गरिएका छन् । क्यामराका ती निर्जीव आँखाहरूले हरक्षण हाम्रो ‘सजीव’ निगरानी गरिरहेका हुन्छन् ।
प्रविधिको यो विकासले हामीलाई धेरै फाइदा पनि गरेको छ । यसको सहयोगले अपराधीहरूका आपराधिक कृयाकलाप पत्ता लगाउन सजिलो मात्र भएको छैन, सम्भावित अपराध गर्न चाहनेहरूलाई पनि यसले डर सृजना गरेर अपराधमा नियन्त्रण गरेको छ । बैंक र पसलहरूमा हुने लुट र सडकमा हुने दुर्घटनामा सत्यतथ्य बाहिर ल्याउन पनि क्यामराले धेरै सहयोग गरेको छ । सार्वजनिक स्थानहरूमा नागरिकहरूको अनैतिक कृयाकलाप रोक्न र सुधार गर्न पनि यसले योगदान गरिरहेको छ ।
त्यही कारणले नै हो, अहिले संसारका सबैजसो शहरहरूमा सीसीटीभी क्यामराहरू जडान गरिएको छ । पछिल्लो आंकडा अनुसार संसारमा अहिले एक अर्ब भन्दा बढी क्यामराहरू जडित छन् । यो संख्यामा मानिसहरूले व्यक्तिगत प्रयोजनको लागि आफ्नो घरमा, अफिसमा र गाडीमा राखेका क्यामराकाे गणना छैन ।
सीसीटीभीको तथ्याङ्क संकलन र विश्लेषण गर्ने संस्था आइ एच एस मार्किटका अनुसार चीन, भारत, सिङ्गापुर, बेलायत, कोरिया, रुस लगायतका देशहरूका शहरमा प्रतिव्यक्ति क्यामराको संख्या तथा प्रति वर्ग किलोमिटर क्यामराको संख्या निकै उच्च छ । अन्य देशहरूमा पनि यसको प्रयोग तिव्र रुपमा बढिरहेको छ । यही रफ्तारमा क्यामराको संख्या बढ्दै गयो भने केही वर्ष भित्रमा नै संसारमा मानिसको जनसंख्या भन्दा सीसीटीभी क्यामराको संख्या बढी हुनेछ ।
हामीलाई थाहै भएको कुरो हो, मानिसले आविष्कार गर्ने हरेक प्रविधिले सकारात्मक परिवर्तनको साथसाथै नकारात्मक असर पनि ल्याएर आएको हुन्छ । त्यो प्रविधिलाई कसरी प्रयोग गर्ने भन्ने कुरामा यसको सकारात्मक र नकारात्मक असर देखा पर्छ ।
बिजुली प्रयोगको सम्बन्धमा एउटा चर्चित भनाइ छ- बिजुलीले हाम्रो खाना पनि पकाउँछ तर यसलाई दुरुपयोग गर्ने हो भने यसले हामीलाई नै पनि पकाउन सक्छ (अर्थात् करेन्ट लागेर हामी मर्न पनि सक्छौं) । हरेक वर्ष बिजुलीको कारणले हजाराैं मानिस मरिरहेका छन् ।
सीसीटीभीको कुरा पनि यस्तै हो । सकारात्मक प्रयोजनको लागि सुरुवात गरिएको सीसीटीभीको प्रयोग नकारात्मक प्रयोजनको लागि पनि बढ्दै गैरहेको छ । यसको प्रयोगको व्यपकतासँगै यसले हामीलाई असीमित चुनौतीहरू पनि थपिदिएको छ । सीसीटीभी प्रयोगले थपेको मुख्य चुनौती भनेको व्यक्तिगत स्वतन्त्रता र गोपनीयता हो ।
व्यक्तिगत स्वतन्त्रता र गोपनीयताबारे कुरा गर्दा प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनको एउटा कथन उद्धृत गर्नु सान्दर्भिक हुन आउँछ । आइन्सटाइनले एक पटक भनेका थिए- 'हरेक मानिस सम्मानित हुनुपर्छ तर कुनै पनि मानिसको देवत्वकरण गरिनु हुँदैन ।'
व्यक्तिगत स्वतन्त्रता र गोप्यता मानिसको इज्जत र सम्मानसँग सिधै जोडिएको विषय हो । तर सीसीटीभीको प्रयोगले स्वतन्त्रता र गोप्यता कायम राख्न हाम्रो लागि चुनौतीको पहाड खडा गरिदिएको छ । अपराध नियन्त्रण गर्न सहयोग गर्ने यही प्रविधिले नै अपराधीहरूलाई अपराध गर्नको लागि सजिलो बनाउने सूचनाहरू प्रदान गरिरहेको छ ।
सीसीटीभीकाे दुरुपयोग गरेर आपराधिक गिरोहले नागरिकका नितान्त व्यक्तिगत र गोप्य विषयहरूमा आक्रमण गरेर व्यक्तिगत स्वतन्त्रतामाथि प्रहार गरिरहेका छन् । कतिपय देशहरूमा त सरकारद्वारा नै सुरक्षाको नाममा सरकारले सीसीटीभीको प्रयोग गरेर नागरिकको दैनिक जीवनको निगरानी गरिरहेको छ । यस्तै दुरुपयोगहरू बढ्दै गएमा तपाईँको सडक, पार्क, कार्यालय, गाडी र बैठकसम्म पुगिसकेको नयाँ ‘बिग ब्रदर’को आँखा यदि तपाईँले सावधानी अपनाउनु भएन भने तपाईँको शौचालय, स्नानकक्ष र शयन कक्षसम्मै पुगेर हानि नगर्ला भन्न सकिन्न ।
तर हाम्राे जीवनमा केही नकारात्मक असर पारिरहेको भएपनि, हाम्रा गतिविधिहरूको निगरानी गरिरहेको भएपनि, हाम्रो स्वतन्त्रता र व्यक्तिगत गोप्यतामा धावा बोलिरहेको भए पनि यदि यो सीसीटीभीको प्रयोग सकारात्मक रूपमा गर्ने हो भने यसले हामीलाई हानी भन्दा धेरै सहयोग गरिरहेको छ । यसैको उपस्थितिले गर्दा कुनै अनैतिक या आपराधिक काम गर्नुभन्द पहिले यसको उपस्थितिले हामीलाई एक पटक सोच्न बाध्य बनाउँछ ।
कसैले आफूलाई हेरिरहेको छ भन्ने जानकारी हुने बित्तिकै पूर्णत आपराधिक मानसिकता नभएको मान्छे छ भने उसले झट्टपट्ट अपराध गर्ने आँट गर्दैन । तर बिजुलीको सन्दर्भमा भने जस्तै सीसीटीभीको सन्दर्भमा पनि हामीले यसलाई निगरानी गर्ने कि यसले हामीलाई निगरानी गर्ने भन्ने कुरा हामीमा निर्भर हुने कुरा हो ।
‘१९८४’ को ‘बिग ब्रदर’लाई कसैले नियन्त्रण गर्न सक्दैनथ्यो र उसलाई नकारात्मकताको प्रतीकको रूपमा चित्रित गरिएको थियो तर हाम्रो आधुनिक ‘बिग ब्रदर’लाई चाहिँ हामी आफ्नो आवश्यकता अनुसार सकारात्मकरूपमा प्रयोग गर्न सक्छौं । त्यसैले कुनै अनैतिक र आपराधिक कृयाकलाप गर्ने विचार मनमा आयो भने एक पटक ‘बिग ब्रदर’लाई सम्झनुहोस् । यसले तपाईँलाई हानी भन्दा फाइदा नै गर्नेछ ।