म ललितकला प्रज्ञा प्रतिष्ठानमा कुलपति भएकै बेला छोरी शिवाताको मृत्यु भयो । त्यो मेरो जीवनको सबैभन्दा कालो क्षण थियो । छोरीको बिछोडमा म धेरै नै डिस्ट्रर्ब थिएँ । म डिप्रेसनमा पुगेको थिएँ । धेरैले पागल हुन्छे कि के हो सम्म भन्न भ्याएका थिए । मेरी आमाले सम्झाएका कुरा र प्रतिष्ठानको जिम्मेवारीले मैले आफूलाई सम्हाल्न सकें ।
दुःख पीडा त छँदै थियो त्यसलाई भुलाउन कला नै मेरो उपासना भएको थियो । कलाको उपासनाले जीवनमा गुमेका रंग भर्न सकिन्छ । जब पेन्टिङका बेला रंग र क्यानभास हुन्छ त्यतिबेला ‘म’ भन्ने भाव नै हराउँछ । ‘म’ हराएपछि आफूलाई बिर्सिन सकिन्छ । आफूलाई बिर्सिएपछि सबै दुःख पीडा भुलिन्छ ।
म एक कलाकार भएर के भन्छु भने जिन्दगी भनेको विभिन्न रंगहरूको मिश्रण हो । यसमा रातो, पहेँलो, कालो र अन्य रंगहरू छन् । मेरो जीवन पनि यस्तै विभिन्न रंगहरूले सिँगारिरहेका छन् । छोरीले छोडेर गएको पल मेरो जीवनको कालो रंग हो । त्यतिबेला मैले त्यही रंगलाई स्वीकार गरेँ ।
जीवनका रंगहरू निरन्तर परिवर्तन भइरहन्छन् । समय परिवर्तन हुँदा हामी परिवर्तन भएजस्तै । हाम्रो मन, मस्तिष्क र शरीर सबै परिवर्तनशील छ । आमाको पेटमा हुँदाको हाम्रो स्वरूप, जन्मिएपछिको हाम्रो बनावट सबै प्रतिपल परिवर्तन हुँदै जान्छ । बालक, जवान, प्रौढ र वृद्धावस्थामा हुने रुचि पनि फरकफरक हुन्छन् । अनुभव र महसुस गर्ने तौरतरिका सबै भिन्न हुन्छन् । प्रेमका भाव परिवर्तन हुन्छन् ।
आमा र बच्चामा हुने बाहेक अरू प्रेमको अनुभूतिसमेत परिवर्तन हुन्छन् । हरेक सम्बन्धमा रहेका पे्रम परिवर्तन हुन्छन् । कुनै समय आफ्नो मनले बिछट्टै प्रेम गरेको मान्छेलाई हेर्नै मन नलाग्ने पनि हुन्छ । प्रेमी हुँदाको प्रेम, विवाहपछिको प्रेम, बच्चा भएपछिको प्रेम परिवर्तित हुँदै जान्छ । यो सब प्राकृतिक रूपमा नै परिवर्तन हुने कुरा हो । जसरी प्रकृतिमा कहिले घाम, कहिले बादल, कहिले पानी हुन्छ त्यसरी नै जिन्दगीका आयाम परिवर्तन हुन्छन् ।
०००
मेरा कामहरूले प्रायः सामाजिक र राजनीतिक विषय समेटेको हुन्छ । समाजका समस्याहरू चाहे ती महिलाका मुद्दा हुन् वा मौसम परिवर्तनका अथवा कोरोनाजस्ता विश्वव्यापी समस्या नै किन नहुन् । मैले कोरोनाको समयमा बनाएको एउटा चित्र थियो । त्यसमा कोरोना सेफ्टी टुल्स प्रयोग गरेको थिएँ । त्यसलाई न्युयोर्कको ग्यालरीले अग्रपंक्तिमा राखेको थियो ।
हिन्दू धर्ममा जुन मानसम्मान देवीलाई गरिन्छ त्यहीअनुसारको इज्जत महिलालाई अहिलेसम्म मान्छेले दिन सकेको छैन । मैले बनाएका पेन्टिङमा महिला र पुरुषबीचको विभेद हटाउनुपर्छ भन्ने चेतनामूलक सन्देश देख्न सकिन्छ । महिलाले गर्ने कामहरू कस्ताकस्ता हुन्छन् र महिला कतिसम्म महान् छन् भनेर पेन्टिङबाट बुझाउन खोजेको छु । पेन्टिङबाट केही परिवर्तन गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको छु ।
विभेद नेपालमा मात्रै नभएर विदेशतिर पनि हुन्छ । पुरुषले जे गरे पनि हुने महिलाले केही गर्नुपर्दा दसचोटि सोच्नुपर्ने हुन्छ । महिलाहरू जति शिक्षित भए पनि उनीहरूले जति नै घरबाहिरका काम गरून् उनीहरूको वास्तविकता भनेको घरभित्रको काममा लुकेको हुन्छ । सबैले घरभित्र सीमित रही काम गर्ने महिलाको इज्जतलाई मान गरेको पाइएको छ ।
के महिलाले घरभित्रै सीमित हुनपर्ने हो त ? घरमा उनीहरूले कुचो, कोदालो र भाँडाकुँडा नचलाएमा उनीहरूले आफ्नो मान र उनीहरूले आफ्नो सम्मान गुमाउनैपर्ने हो त ? अहँ होइन । हामीले चेतनामूलक कार्यक्रम गरिरहने हो भने एक न एक दिन अवश्य यी र यस्ता सोचाइमा परिवर्तन आउँछ । महिलाहरूलाई गरिने विभेदको अन्त्य हुन्छ । त्यसका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको शिक्षा हो, त्यो शिक्षा भनेको किताबी ज्ञान मात्रै भएर हुँदैन, व्यावहारिक ज्ञान हुनुपर्छ । सुरुमा परिवारले विभेदको अन्त्य गर्नुपर्छ, त्यसपछि बिस्तारै समाजमा र देशले विभेद अन्त्य गर्नुपर्छ ।
मैले २००८ मा बनाएको एउटा पेन्टिङमा देवीको चित्र बनाएको थिएँ, त्यसमा मैले कमल फूलको ठाउँमा ल्यापटप बनाएको छु । हातहरूमा देवीका शस्त्रअस्त्रहरू हटाएर महिलाले भान्सामा प्रयोग गर्ने सामग्रीहरू राखिदिएको छु । त्यतिबेला कल्पना गरिएका धेरै कुरा अहिले परिवर्तन भएका छन् । महिलाहरू धेरै अगाडि बढिरहेका छन् । यो देखेर खुशी लाग्छ । मान्छेको सोचमा परिवर्तन नआउने होइन आउँछ तर समय भने लाग्छ । धैर्य गर्न सक्नुपर्छ ।
कलामा मौलिकता हुनुपर्छ । मैले राधा र कृष्णको चित्रमा कृष्णलाई नेपाली टोपी लगाइदिएँ । त्यसरी मौलिकता झल्किने पेन्टिङ गरियो भने कलामा स्तरोन्नति हुन सक्छ । अरूको नक्कल गरेर फ्युजन गरेर कोरिएका पेन्टिङमा युवापिँढीको लोकप्रियता अहिले बढेको देखिए तापनि त्यो दिगो हुन सक्दैन । पुराना मौलिक परम्परा झल्किने खालको पेन्टिङ हुनुपर्छ जसले युवा पिँढीले थाहा पाओस् हाम्रो संस्कृति कस्तो रहेछ भनेर ।
यतिबेला संसारभर जलवायु परिवर्तनको नकारात्मक असरहरू देखिइरहेको छ । हाम्रै देशमा पनि विभिन्न ठाउँमा बाढीले असर गरेको छ । प्रकृतिको आफ्नै स्वभाव हुन्छ । त्यसलाई नबुझेर हामीले प्रकृतिलाई विस्फोट हुने अवस्थामा पु¥यायौं । हामीले नदीका किनार मिचेर घर बनाइरहेका छौँ । नदीले आफ्नो बाटो त जसरी पनि खोज्छ, खोज्छ । त्यसरी नदी नाला व्यवस्थापन नहुँदा बर्सेनी हामीले बाढीको समस्या भोग्नुपरेको छ ।
हामीले वायु प्रदूषण पनि त्यत्तिकै गरेका छौँ । मानव जातिले आफ्नो सुविधाका लागि पृथ्वीको हावालाई प्रदूषित गराइरहेको छ । त्यसको गलत परिणाममा मौसम परिवर्तन भोगिरहेका छौँ । यी सबै मेरा कलाका विषयवस्तु हुन् । मैले बाँदरको हातमा नरिवल अथवा सुँगुरको हातमा स्याउजस्ता व्यंग्यात्मक चित्रहरू पनि कोरेको छु । हामी कलाकारले राजनीति गर्दैनौं तर व्यंग्यात्मक चित्र बनाउँछौँ ।
मान्छेको जीवनमा हरदिन केही न केही मानवीय संवेदनाहरू आउँछन् । समसामयिक घटना घटेका हुन्छन् । राजनीतिक विषयहरू हुन्छन् । यी र यस्तै कुराले मलाई चित्र कोर्न ऊर्जा दिन्छन् । चित्र कोेर्नका लागि पहिला म विषय रोज्छु । त्यसपछि चित्र बनाउँछु । जतिबेला आनन्द आउँछ त्यतिबेला चित्र बनाउँछु ।
मैले बनाएका धेरै चित्रमध्ये खरानी नामको पेन्टिङ मलाई बढी मन परेको छ । यसमा शिवजीले सतीको पार्थिव शरीर बोकेजस्तै मैले मेरो छोरी शिवाताको मृत शरीरलाई बोकेकी छु । शिवजीको अनुहारमा मेरो अनुहार बनाएको छु । पानीबिना माछा छट्पटिएजस्तै छट्पटिँदै माछाको शरीर लिएर आकाशमा उडिरहेको छु । छोरीको शरीर बोकेर कहिले म अमेरिका पुग्छु, कहिले बेल्जियम पुग्छु र कहिले कहाँ पुग्छु । मलाई शिवाता नभएको महसुस हुँदैन । मैले मेरो मनमा बोकेर हिँडिरहेको छु ।
शिवाता नभएपछि मेरो जीवनले दु:खका पलसँगै ल्याएका अरू पल पनि छन् जसले मलाई बचाइरहेका छन् । अहिलेको मेरो अवस्था शिवजीले जगत्को रक्षा गर्नका लागि विषसेवन गरेर घाँटीमा लिनुभएजस्तै छ । मैले मेरा काला दिन र दुःखका पलहरूलाई त्यसरी नै निलेको छु । त्यसैको पेन्टिङ बनाउँदै छु ।
०००
मैले जीवनमा कला कलाका लागि मात्रै होइन, कला जीवनका लागि बनाएको छु । शून्यबाट सुरु गरेको कलाकर्म अहिले यहाँसम्म आइपुगेको छ । योभन्दा ठूलो उपलब्धि र चर्चाको विषय मेरो अरू के हुन सक्छ ? अब छिट्टै आर्टको क्लास सुरु गर्ने लक्ष्य छ ।
बाहिरबाट म जति कठोरजस्तो देखिन्छु, मेरो मन त्यति नै नरम छ । छोरीले मलाई बेलाबेलामा भन्ने गरेकी थिइन्, “आमा तपाईं नरिवलजस्तै हुनुहुन्छ । साथीहरूले तपाईंलाई देखेपछि, तपाईंका ठूलठूला आँखासँग नै डराउने गर्छन् । तर मलाई थाहा छ मेरी आमा त्यति धेरै कठोर हुनुहुन्न भनेर । म साथीहरूलाई पनि यही कुरा सम्झाउँछु ।” छोरीको यो कुरा म अहिले बारम्बार सम्झिन्छु ।
यति लामो जिन्दगी बिताएपछि, धेरै भोगेपछि जिन्दगी के रहेछ भन्ने लाग्छ भने– मलाई ईश्वरले दियो पनि र लियो पनि । ईश्वरलाई धन्यवाद भन्नैपर्छ आफ्नो मिहिनेतले धेरै पाएको छु । मभित्र लक्ष्मी, सरस्वती र अन्य देवीहरूको बास छ जसले गर्दा जीवनका कैयौँ यात्रामा मलाई हिँड्न सहज भएको छ । जीवनका कैयौँ सफलताका खुड्किला चढ्ने बेला आउने गरेका उतारचढाव पार गर्न सजिलो भएको छ । मान्छेको भीडमा होस् या एकान्तमा जस्तोसुकै परिस्थितिको सामना गर्न सक्ने शक्ति पाएको छु ।
मलाई मात्र होइन, ईश्वरले हामी सबैलाई सबै दिनुभएको छ । हामीले हाम्रो जन्म किन र केका लागि भएको हो, त्यो बुझ्नु जरुरी छ । यतिबेला मैले बुझेको कुरा के हो भने मैले मेरो आर्टबाटै समाजसेवा गर्नुपर्छ । मेरो बाहिरको रूप, रंग भनेको क्षणिक हो । केही समयसम्म रहने हो । मेरो कला सधैँ रहिरहने हो । यसमा दिएको योगदान जीवन्त रहन्छ । त्यसैले पनि मैले आफू बाँच्ने काम गरेको छु । उमेरले वृद्घ देखिए पनि जवान हुने काम गरिरहेको छु । आफ्नो पेन्टिङ बेचेर कसैको जीवन बचाउने काम गरिरहेको छु ।
मैले समाजबाट आफ्नो कामको राम्रो प्रशंसा पाएको छु । राजपरिवारलाई आफ्नो पेन्टिङ बेचेको छु । धेरै साहित्यकारका किताबमा चित्र कोरेको छु । आफ्ना पेन्टिङको राम्रो मूल्यांकन भएको पाएको छु । मलाई विश्वास छ मेरो मृत्युपछि मेरो कलाको मूल्यांकन अझ बढ्नेछ । म घमण्ड गर्दिनँ । किनभने ‘म’ भन्ने शब्द नै दुःखको कारण हो । जब ‘म’ आउँछ त्यहाँ अहङ्कार आउँछ । म यो, मैले, मेरो घर, मेरो टोल, मेरो सम्पत्ति, मेरो गाडी भन्ने अनेक अहंकारका भाव पैदा हुन्छन् । पेन्टिङ गर्दा म भन्ने हराउँछ । म त्यहाँ हुदिनँ । बस् क्यानभास हुन्छ, रंग हुन्छ ।