भारतीय शिक्षाविद् गिजुभाईलाई एक दिन एउटा पत्र आएछ । लेखिएको थियो, ‘मेरो छोरो पढाइमा एकदमै कमजोर छ । मैले उसलाई पढाउनकै लागि घरमा शिक्षक राखेको छु । शरीर लुते भए पनि ऊ बलियो र तगडा छ । खेलकुदमा उत्साहित हुन्छ । खेलमा टोलकै टोली नेता भएर हिँड्छ । अब मलाई चिन्ता छ– उसलाई पढाइमा अगाडि बढाउन मैले के गर्नुपर्ला ?’
गिजुभाईको उत्तर थियो, ‘शिक्षक राख्नाले बच्चाको मानसिक शक्ति कमजोर हुने भएकाले शिक्षक राख्नु हुँदैन । बच्चाको खेलकुदको सोख अझ विकसित हुन दिनुहोस् । पढाइका कारण उसको नेतृत्व गर्ने जोसलाई मर्न नदिनुहोस् । पुस्तक पढेर जाग्नुपर्ने प्रेरणा पहिल्यै उसित छ । त्यसैले अन्तरर्निहित शक्ति र प्रेरणालाई विकसित गर्नुमा नै तपाईं र तपाईंको बच्चाको भलाइ छ ।’ (गिजुभाईको आमाबाबुका प्रश्नबाट)
यी हरफहरू पढेपछि मलाई आफू निम्नमाध्यमिक तह पढ्दा ताकाको याद आयो । हाम्रो छिमेकमा एक जना भाइ थिए । उनका बुवा सरकारी कार्यालयमा उच्च पदमाकार्यरत । भाइलाई बोर्डिङ स्कुलमा भर्ना गरिएको थियो । त्यतिबेला अहिलेजस्तो जोसुकैले बोर्डिङ स्कुलमा छोराछोरी पढाउन सहज थिएन । भाइ बोर्डिङ स्कुल जान्थ्यो । हामी सरकारी स्कुल जानेहरूबीच उनलाई देख्दा अलिकति खुसी, अलिकित ईष्र्या र अलिकति उत्सुकता जागेजस्तो बेग्लै र अनौठो मनोदशा पैदा हुन्थ्यो ।
तर राम्रो र महँगो स्कुल भनेर मात्र नहुँदो रहेछ, जब पढ्न सक्ने उसको क्षमता नै छैन भने । त्यो भाइको पढ्न सक्ने क्षमता कमजोर रहेछ । त्यसैले उनले कहिल्यै आफ्ना बाबुआमालाई खुसी पार्न सकेनन् । बाबुआमाको खुसीको मतलब थियो– राम्रो नम्बर ल्याउनु । तर हुन गयो अभिभावकको सोचभन्दा नित्तान्त भिन्न ।
यही कारण उनले दिनहुँ गाली पाउन थाले । स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा भने उनी अगाडि थिए । गीत गाएर जहिल्यै पहिलो हुन्थे । तर योसँग अभिभावकलाई कुनै सरोकार थिएन । उनका बुबाले ठाडै भन्थे, ‘गाइने भएर काम छैन, लेखपढ गरेर मजस्तै सरकारी जागिर खान पर्छ । तब मात्र परिवारलाई सुख दिन सकिन्छ ।’ तर त्यो भाइले जति नै मेहनत गरे पनि बुबाको इच्छा पूरा गर्न सकेनन् । अन्ततः उसलाई बोर्डिङ स्कुलबाट निकालेर सरकारी स्कुलमा सारियो ।
उनको स्वर अति राम्रो थियो । गाउँमा हुने सबैजसो सांस्कृतिक कार्यक्रमहरूमा उनी अग्रणी भूमिका खेल्थे । तर परिवारले हौसला दिनु त परै, कहिल्यै उनको क्षमताको ख्यालसम्म पनि गरेन । बरु पढाइ कमजोर भएकामा उनले दिनदिनै वचन–बाण सहनुपर्यो । बिस्तारै उनमा नकारात्मक सोचाइ विकसित भयो । उनी यसरी कुलतमा फसे कि त्यसबाट निकाल्न उनलाई सुधारगृहमै राख्नुपर्यो । निकै लामो समय सुधारगृहमा बसेपछि अहिले उनी बल्ल आफ्नै घरमा फर्केका छन् ।
अहिले एउटा राम्रै होटलमा गीत गाएर आफ्नो जीविका चलाइरहेका छन् । चर्चित कलाकारहरूका गीत गाएर क्लिप्सहरू सेयर गरिरहेका हुन्छन् । मौलिक गायककै स्वर जस्तो लाग्ने ती क्लिप्सहरूमा अचेल तिनै आफन्तहरू कमेन्ट गरिरहेका हुन्छन्– वाह ! वाह !! मलाई उदेक लाग्छ– यी आफन्तले यसरी नै उतिबेलै वाह ! वाह !! गरिदिएका भए त्यो भाइको जीवन कहाँबाट कहाँ पुग्थ्यो होला ?
हुन त यो करिब दुई दशकअघिको मात्रै कुरा हो । त्यो त्यस्तै समय थियो जतिबेला पढाइ नै सबैथोक हो भन्ने आम सोचाइ थियो । पढ्न नसक्ने मान्छेले केही गर्न सक्दैन भन्ने लाग्थ्यो सबैजसोलाई । अहिले अवसरका धेरै बाटाहरू थपिएका छन् । सफल हुनका लागि किताबी ज्ञानमै मात्र निर्भर हुनुपर्छ भन्ने छैन । यो कुरा धेरैजसो अभिभावकले बुझेकै पनि छन् ।
तैपनि आफ्ना छोराछोरी किताबी ज्ञानको परीक्षाका नतिजाहरूमा अग्रस्थानमा आएनन् भने हामी आफैं खिस्रिक्क पर्छौं । उनीहरूसँग अरू क्षमता भए पनि त्यसलाई नजरअन्दाज गरिदिन्छौं । जसरी हुन्छ, आफ्ना बालबच्चालाई पढाइतिरै लाग्न जोडबल गर्छौं । यसो गर्दा उनीहरूलाई हामीले मद्दत होइन, उल्टो तनाव दिइरहेका हुन्छौं भन्नेचाहिँ पत्तै पाइरहेका हुँदैनौं ।
बालअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय अभिसन्धिको धारा ३ मा भनिएको छ, ‘जब वयष्कहरूले बालबालिकाबारे निर्णय गर्छन्, उनीहरूले आफ्नो निर्णयले ती बालबालिका कसरी प्रभावित हुन्छन् भन्नेबारे सोच्नुपर्छ ।’ सबै अभिभावक आफ्ना बालबालिकको भलो नै चाहन्छन् । उनीहरूलाई लागिरहेको हुन्छ– आफ्ना बालबालिका आफूले चाहेजस्तै भइदिनु नै उनीहरूको भलाइ हो । हामी कहिल्यै यो सोच्दैनौं कि आफूचाहिँ बालबालिकाले चाहेजस्तो अभिभावक बनिरहेका छौं ? अथवा के हाम्रा बालबालिकाको चाहनामै हामी खुसी हुन सक्दैनौं ? जबसम्म यसरी सोच्दैनौं, हामी बालबालिकाको रुचि वा चाहनालाई मात्र होइन, उनीहरूको स्वतन्त्रबोध एवं निर्णय क्षमतामाथि निरन्तर अतिक्रमण गरिरहेका हुन्छौं ।
मेरो एक जना साथीको छोरा चित्रकलामा खप्पिस छन् । चौध–पन्ध्र वर्षकै उमेरमा उनी यति राम्रो चित्र बनाउँछन् कि त्यो कुनै पोख्त चित्रकारकै चित्र होजस्तो लाग्छ । छोराले चित्रकलामा राम्रो गर्न सक्छ होला भन्ने उनका बाबुलाई पनि राम्रै थाहा छ । तैपनि उनी छोराको समग्र बौद्धिक क्षमताप्रति खासै सन्तुष्ट छैनन् । किनकि किताबी पढाइमा उनी मध्यम छन् । चित्रकलाबाटै छोराले मनग्य नाम र दाम कमाउन सक्छ भन्ने जान्दाजान्दै पनि उनलाई एक प्रकारको छटपटाहटले सताइरहन्छ ।
हामी जतिसुकै तार्किक बहस गरौं, लेख लेखौं वा चेतना अभिवृद्धिका कुराहरू आदानप्रदान गरौं, आम अभिभावकको मानसिकतामा किताबी पढाइको महत्वले एकदमै दरिलोसँग जरा गाडेको छ । यसमा केही हदसम्म हाम्रो शिक्षा र रोजगार–प्रणाली पनि जिम्मेवार छन् । तर ती प्रणालीहरूमा संरचनागत सुधार ल्याउन पनि हामीले पहिले आफ्नै सोचाइमा सकारात्मक परिवर्तन र त्यसको व्यावहारिक कार्यान्वयन गर्नु जरुरी छ ।
हामी अभिभावक प्रायः आफ्नो खोक्रो रवाफको लागि हर समय बालबालिकाहरूलाई पेलिरहेका हुन्छौं । उनीहरूले पूर्ण रूपमा स्वतन्त्र र उन्मुक्त भएर केही गर्नै पाइरहेका हुँदैनन् । बामे सर्दादेखि नै कुन स्कुल जाने ?कुन विषय पढ्ने ? डाक्टर बन्ने कि इन्जिनियर ? के खाने ? कस्तो लगाउने ? सम्पूर्ण कुरामा बालबालिकाहरू अभिभावकको नियन्त्रणमा हुन्छन् ।
बच्चाहरूले म यो विषय पढ्न सक्दिन वा मलाई यो गाह्रो लाग्छ भन्ने अवसरसमेत पाउँदैनन् । अभिभावककै लागि भए पनि बालबालिकाले डाक्टर, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट आदि बनिदिनुपरेको छ । बिरलै बच्चा मात्र आफ्नो खुसीले गायक, खेलाडी, नर्तक वा चित्रकार बन्न पाएका हुन्छन् ।
अहिलेकै कैयन् स्थापित कलाकारहरूका विगत सुन्दा, पढ्दा वा बुझ्दा पनि थाहा हुन्छ कि उनीहरूले यो ठाउँसम्म आइपुग्न घर परिवारभित्रै कति संघर्ष गर्नुपरेको थियो । कसैले घरबाटै निकालिनुपरेको छ त कसैको बुवाआमासँग बोलचाल नै बन्द भएको पाइन्छ । गायक, कलाकार वा अरू नै केही बन्छु भन्दा घरबाट सहर्ष स्विकार्न सक्ने वातावरण अझै बनिसकेको छैन । पुस्ताहरू छिटोछिटो परिवर्तन भएका छन् । तर सोच बदलिने क्रम सुस्त छ ।
औसत समाज वा परिवारकै त यो स्थिति छ भने, द्वन्द्व–प्रभावित र नाजुक परिस्थितिका बालबालिकाको अवस्था त झनै दयनीय हुने नै भयो । संसारभर करिब ८० करोड बालबालिका दुव्र्यवहार, शोषण र दासत्वको स्थितिमा रहेको अनुमान छ । कल्पना गरौं– हामीले यस धर्तीमा आफ्नै सन्ततिहरूमाथि कस्तो अत्याचार गरिरहेका छौं ? यस्तो अत्याचारका लागि कतै हामी आफैं पनि हिस्सेदार त भइरहेका छैनौं ?
एकपल्ट शान्त भएर आफैंसित प्रश्न गरौं । जवाफ पत्ता नलागे आफ्ना बालबालिकालाई सुनौं । उनीहरूलाई सक्दो समय र साथ दिऊँ । जुन काम पनि आफ्नो भित्री मनदेखि गरिन्छ, त्यो अवश्यै सफल हुन्छ । कसैको दबाबमा वा करकापमा गरिएको काम विफल हुने मात्र हैन त्यसले जिन्दगीबाटै वितृष्णा पैदा गराएर कुबाटोमा धकेल्न पनि सक्छ ।
हामीलाई प्रायः के लाग्छ भने अभिभावकको महत्वपूर्ण जिम्मेवारी भनेकै कमाउनु, परिवार एवं बालबालिकालाई खान–लाउन दिनु, उनीहरूलाई राम्रो शुल्क तिरेर विद्यालय पठाउनु वा त्यतिले नपुगे शिक्षक खोजेर ट्युसन राखिदिनु आदि हुन् । तर बालमनोवैज्ञानिकका दृष्टिमा एउटा अभिभावकको सबैभन्दा महत्वपूर्ण खुबी यी सबैभन्दा पनि बेग्लै छ । त्यो हो– आफ्नो बच्चालाई बुझ्नु ।
र, यसरी बुझ्ने क्रममा सधैं दिमागमा के ख्याल राख्नुपर्छ भने तपाईंको बच्चासँग एउटा अद्वितीय व्यक्तित्व छ जुन उसको जीवनभर रहिरहनेछ । त्यसैले तपाईंले उसलाई गर्ने व्यवहार पनि त्यस्तै अद्वितीय हुनुपर्नेछ । तपाईंलाई तपाईंको बुबाले कस्तो व्यवहार गर्नु भयो वा तपाईंकी हजुरआमाले आमालाई कस्तो व्यवहार गर्नुभयो भन्ने सोचाइमा आधारित भएर होइन । बिलकुलै होइन ।