काठमाडौँ– काठमाडौँको नक्सालमा शंकर ग्रुरुपले ८ अर्ब रूपैयाँको लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । यो होटल बनाउन शंकर ग्रुपले ६ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ । होटलले लिएको ६ अर्ब कर्जाको न्यूनतम ब्याजदर १२ प्रतिशत मात्रै मान्ने हो भने पनि वार्षिक ७० करोड त ब्याजमा मात्रै खर्च गर्नुपर्छ । जबकी अहिले वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्याइसकेका छन् ।
हिल्टन होटलमा १७४ कोठा रहनेछन् । होटलमा भएका सबै कोठा ३६५ दिनै चल्ने हो भने पनि कर्जाको ब्याज तिर्न मात्रै प्रत्येक कोठाले न्यूनतम दैनिक ९ हजार ५०० रूपैयाँभन्दा बढी कमाउनु पर्ने हुन्छ ।
पछिल्लो समय घट्दो पर्यटक संख्याका कारण त्यसरी आम्दानी हुने सम्भावना निकै कम छ । यस्तै समस्या हिल्टनले मात्रै होइन, अन्य निर्माणधीन तारे होटलहरूले समेत भोग्नुपर्ने देखिन्छ । कोरोनाको असर, बढ्दो ब्याजदर, पर्यटमा संकुचन जस्ता कारणले तारे होटलहरूमा भइरहेको अर्बौ लगानी जोखिममा पर्न सक्ने जानकारहरू बताउँछन् ।
होटल एशोसिएशन नेपाल (हान)का अनुसार अहिले मुलुकभरका होटलको औसत ‘अकुपेन्सी’ २५ प्रतिशत छ । काठमाडौँ बाहिरका होटलमा करिब १५ प्रतिशतको अकुपेन्सी छ । आजका दिनमा होटलमा भइरहेको लगानीमाथिको प्रतिफल सुनिश्चित गर्नका लागि पूर्ण दरमा बिक्री गर्ने हो भने पनि अकुपेन्सी ९० प्रतिशतभन्दा माथि हुनुपर्छ ।
नेपाल भ्रमण वर्ष २०११ का संयोजकसमेत रहेका हानका पूर्वअध्यक्ष पर्यटन व्यवसायी योगेन्द्र शाक्य होटलमा ओइरिएको लगानीमाथिको प्रतिफल अहिलेकै अवस्थामा सुनिश्चित नभएको बताउँछन् । उनका अनुसार हाल तारे होटलहरूले औसतमा प्रतिकोठा न्यूनतम ७० देखि ९० डलरसम्म बिक्री गरिरहेका छन् । यही अवस्था रह्यो भने होटलहरूले ब्याज मात्रै तिर्न पनि हम्मेहम्मे पर्ने उनको भनाई छ ।
‘यदि पूर्ण दरमा कोठा बिक्री गर्न नसक्ने हो भने कर्जा चुक्ताका लागि मात्रै पनि होटलहरूले बराबरको आम्दानी गर्न सक्दैनन्’ शाक्यले भने, ‘होटलहरूले गर्ने आम्दानीको ७० प्रतिशत हिस्सा कोठा बिक्रीबाट आउँछ भने बाँकी ३० प्रतिशत आम्दानी खाना र अन्य कार्यक्रममार्फत् हुन्छ ।’ लगानीमाथिका प्रतिफल सुनिश्चित गर्न होटलहरूले कोठाहरू औसतमा तीन सयदेखि ३५० डलरमा बिक्री गर्न सक्नुपर्छ ।
त्यस बराबरको खर्च गर्ने पर्यटक संख्या नबढेसम्म सम्भव देखिंदैन । ‘सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाउँदा होटलहरूको संख्याका आधारमा हेर्दा १० लाख पर्यटक आवश्यक थियो । सन् २०२० मा होटलहरूको संख्या र पूर्वाधारका आधारमा २० लाख पर्यटक चाहिन्थ्यो । अब त्यो संख्या बढेर ३० लाख पुगेको छ’, उनले भने, ‘तर कोभिडअघिकै अवस्थामा पुग्न पनि हामीलाई अझै दुई वर्ष लाग्ने देखिन्छ ।’
सन् २०११ र २०२० मा पर्यटक ल्याउने लक्ष्य लिनुका पछाडि केही वैज्ञानिक कारण थिए । यसमा बढ्दो होटलहरूको संख्या र अकुपेन्सीका आधारमा त्यति पर्यटक आवश्यक भनिएको थियो । लक्ष्यअनुसार पर्यटक नआउँदाको प्रत्यक्ष असर होटलहरूमा बढिरहेको लगानी र त्यसको प्रतिफलमा देखिने शाक्यको भनाइ छ ।
उद्योग विभागका अनुसार हाल निर्माणाधीन तारे होटलहरूमा भएको लगानी मात्र ५० अर्ब रूपैयाँभन्दा बढीको छ । एकातिर धमाधम तारे होटलहरूमा लगानी बढिरहने र अर्कोतर्फ अपेक्षाकृत रूपमा विदेशी पर्यटकको संख्या नबढ्ने हो भने लगानी डुब्नसक्ने जोखिम देखिन्छ ।
करिब ४० वर्षदेखि पर्यटक व्यवसायमा लागेका वसन्त मिश्र पनि होटलहरूमा भइरहेको लगानीको प्रतिफल सुनिश्चित हुने आधार आजका दिनमा नदेखिएको बताउँछन् । ‘कोरोनाअघिदेखि नै होटलहरूमा लगानी बढिरहेको हो, यो पर्यटन क्षेत्रका लागि निकै राम्रो पक्ष हो, तर लगानीमाथिको प्रतिफलका लागि हामीले आजकै अवस्थामा पूरा गर्न भने नसक्ने अवस्था छ, ’ मिश्रले भने । सरकारको नीति, पूर्वाधारमा तीव्र विकास, नयाँ गन्तव्यको खोजी र विश्व बजारमा गरिने प्रचारप्रसारमा सुधार नगरिएसम्म होटलहरूमा अहिले भइरहेको लगानीले निर्धारित समयमै प्रतिफल दिन मुस्किल पर्ने उनले बताए ।
हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहका अनुसार हाल नेपालमा सञ्चालित होटलहरूमा करिब ५० हजार कोठा छन् । त्यसबाहेक निर्माण भइरहेका होटलका कारण दुई हजार कोठा थपिनेछन् । एकातिर होटलहरूमा लगानी बढिरहेको छ भने अर्कोतर्फ आम्दानी संकुचन हुँदै गएको छ । कोरोना महामारीका कारण घटेको पर्यटक आगमन सन् २०१९ मा जत्तिकै पुर्याउन सन् २०२५ सम्म कुर्नपर्ने अवस्था छ ।
उद्योग विभागका अनुसार नेपालमा हाल पाँचतारे मान्यता प्राप्त होटल १७ वटा छन् । यीमध्ये कोरोना महामारीपछि दरबारमार्गको होटल डेला अन्नपूर्ण र लाजिम्पाटको होटल सांग्रिला बन्द छन् । सञ्चालित अन्य होटलहरूमा कोरोना महामारीपछि आम्दानीमा सुधारका संकेतहरू देखिन थालेका छन् । हाल निर्माणाधीन केही पाँचतारे होटलहरूमा हिल्टन, सेराटन, बुढानीलकण्ठ हेरिटेज, द म्यासिफ, ट्रयाङकुलिटी रोयल, इस्टर्न होटल, सूर्य नेपाल, होटल सेफ्रोन, गोपिकृष्ण कम्प्लेक्स, आयुष्मानलगायत होटल छन् ।
निर्माणाधीन होटल ‘हिल्टन’को लागत कोरोनाअघिको तुलनामा एक अर्ब ८० करोड रूपैयाँले बढेको छ । कम्पनीका अनुसार सुरुमा प्रतिकोठा लगानी दुई करोड ८० लाख रुपैयाँ हुने अनुमान गरिएकामा एक करोडले बढेर तीन करोड ८० लाख रुपैयाँ पुगेको छ । अब होटलको कुल लगानी ८ अर्ब रुपैयाँ पुग्नेछ ।
हिल्टन मात्रैको होइन, ठमेल चोकमा निर्माण भइरहेको होटल बाराहीको लागत पनि करिब ३५ प्रतिशतले बढेको सञ्चालक विप्लव पौडेलको भनाइ छ । चार वर्षअघि ९० करोड रुपैयाँ लाग्ने अनुमान गरिए पनि विभिन्न कारणले होटल निर्माणमा ढिलाइ हुँदा लागत बढेको छ ।
काठमाडौँको बूढानीलकण्ठमा निर्माण भइरहेको बूढानीलकण्ठ हेरिटेज होटलको लागत पनि करिब ४६ प्रतिशतले बढेको छ । ‘कोरोना महामारीमात्रै कारण होइन, यसबीच बढेको ब्याजदरका कारण पनि लागत बढेको हो,’ अध्यक्ष राजेन्द्र केसीले भने, ‘यसबीच हामीहरूले एक रोपनी जग्गा थप किन्दा, चार तारेलाई पाँच तारे बनाउँदा, बैंक्वेट हल तथा हेल्थक्लब थप्दा समेत लगानी बढेको हो ।’ काठमाडौंकै लैनचौरस्थित सेराटन होटलको पनि लगानी र समय दुबै बढेको छ ।
होटल संघ नेपाल (हान)ले केही दिनअघि एक विज्ञप्ति जारी गरी आम्दानीमा भइरहेको संकुचन तथा ब्याजदर वृद्धिका कारण तत्काल बैंक तथा वित्तीय संस्थालाई कर्जाको साँवा र ब्याज तिर्नै नसक्ने अवस्था भएको जनाएको छ । हानले यस्तो गम्भीर अवस्थामा कम्तीमा दुई वर्षका लागि कर्जाको पुर्नतालिकीकरण वा पुर्नकर्जाको सुविधा उपलब्ध गराउन सरकार समक्ष माग गरेको छ ।
कसरी बढाउन सकिन्छ पर्यटक ?
सरकारले १५औं आवधिक योजनामार्फत् ३५ लाख पर्यटक ल्याउने योजना त अघि सा¥यो तर त्यसका लागि आवश्यक पूर्वाधार (विमानस्थल, पर्यटकीय गन्तव्य) लगायतमा लगानी बढाउन सकेन । कनेक्टिभिटीमा सुधार गर्न सकेन । होटलहरू मात्रै खोलेर पर्यटक आउने वातावरण बन्दैन ।
व्यवसायी वसन्त मिश्रका अनुसार पर्यटक बढाउन हामीले अनुसन्धानमा आधारित बजारीकरण गर्न सकेका छैनौं । पर्वतारोहणको हकमा नेपालको बजार निकै बलियो छ । तैपनि त्यो संख्या हामीले अपेक्षा गरेभन्दा निकै सानो हो । पर्यटक बढाउनका लागि सबैभन्दा पहिले पूर्वाधार र पर्यटकीय उत्पादनमै ध्यान दिनुपर्ने उनको धारणा छ । ‘दुई छिमेकी मुलुक भारत र चीनमा मात्रै प्रभावकारी बजारीकरण गर्न सकियो भने पनि राम्रो संख्यामा पर्यटक ल्याउन सकिन्छ’ उनले भने ।
होटलमा भइरहेको लगानीमाथिको प्रतिफल सुनिश्चितताका लागि नेपालले युरोपसँगको हवाई सेवा सुरु गर्न सक्नुपर्छ । अमेरिकालगायतका धेरै पर्यटक आउने सम्भावना भएका मुलुकसँग सिधा हवाई सेवा सञ्चालन गर्न सक्नुपर्छ । विमान सञ्चालन खाडीलगायतका विभिन्न मुलुकमा श्रमिक लैजाने र ल्याउनेमा मात्रै केन्द्रित हुने हो भने पर्यटक बढाउन सकिन्न ।
होटलमा प्रवाह हुने कर्जामा ३०० प्रतिशतले वृद्धि
पछिल्लो छ वर्षमा होटलहरूमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३०१.७१ प्रतिशतले बढेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख विदेशी पर्यटक ल्याउने घोषणा गरेसँगै होटलहरूमा स्वदेशी र विदेशी दुबै लगानी बढेको हो । बैंक तथा वित्तीय संस्थाको लगानी यस अवधिमा मात्रै बढेर एक खर्ब ६० अर्ब ३१ करोड १० लाख रुपैयाँ पुगेको छ । जुन सन् २०२१ को तुलनामा सन् २०२२ मा १० प्रतिशतले बढी हो ।
सन् २०२१ मा होटलहरूमा कुल लगानी १ खर्ब ४५ अर्ब ७५ करोड रुपैयाँ थियो । यो सन् २०२० को तुलनामा २८ प्रतिशतले बढी हो । सन् २०२० मा बैंक तथा वित्तीय संस्थाले होटलहरूमा कुल एक खर्ब १३ अर्ब ८९ करोड लगानी गरेका थिए जुन सन् २०१९ को तुलनामा २४.७ प्रतिशतले बढी थियो ।
सन् २०१९ मा ९१ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । सन् २०१८ को तुलनामा यो ३५.१ प्रतिशतले बढी थियो । सन् २०१८ मा ६७ अर्ब ५९ करोड रुपैयाँ लगानी थियो भने सन् २०१७ मा कर्जा लगाानी ५० अर्ब ९२ करोड र सन् २०१६ मा होटलहरूमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३९ अर्ब ९० करोड रुपैयाँमा सीमित थियो ।
कसरी सुरक्षित हुन्छ लगानी ?
सन् १९५० मा फ्रान्सका मउसाइस हेजजोग र लोइस लाचेनले पहिलोपटक अन्नपूर्ण हिमालको सफल आरोहणपछि विश्वभर नेपालको चर्चा शुरु भयो । विभिन्न देशबाट पर्यटकहरू आउने क्रम बढेसँगै तारे होटलको आवश्यकता महसुस भएको थियो । सन् १९६५ मा राजपरिवारका सदस्यहरूको अग्रसरतामा पहिलोपटक नेपालमा पाँचतारे होटल सोल्टी सञ्चालनमा आयो ।
पञ्चायतकालमा कुनै पनि व्यवसाय गर्दा राजपरिवारको संलग्नता हुनु अस्वभाविक थिएन । आजका दिनमा पनि पूर्वराजा ज्ञानेन्द्र शाह सोल्टी होटलमा सबैभन्दा ठूला सेयरधनी हुन् । पञ्चायतकालमा राजपरिवारकै संलग्नतामा दरबारमार्गमा होटल डेल अन्नपूर्ण सञ्चालनमा आयो । त्यसको सात वर्षपछि नयाँबानेश्वरमा द होटल एभरेष्ट इन्टरनेशनल सञ्चालनमा आयो । २०६३ सालसम्म पाँच वटा पाँचतारे होटलहरू थपिए ।
अहिले पाँचतारे होटलको संख्या १७ पुगेको छ । निर्माणाधीन पाँचतारे होटल डेढ दर्जनको हाराहारीमा छन् । पाँच वर्षभित्रमा नेपालमा पाँच तारे होटलको संख्या कम्तीमा ३४ वटा हुनेछ । वर्षाैंदेखि सञ्चालनमा रहेका पाँचतारे होटलहरूको प्रतिफल सामान्य भइरहेको अवस्थामा अर्बौ रकम लगानी भइरहेका नयाँ तारे होटलको लगानीको प्रतिफलको सुनिश्चित कसरी हुन्छ भन्ने अन्योल छ ।