वेदको अर्थ बुझ्ने विधि
वेदमा कतिपय विषयको स्पष्ट रूपमा र कतिपय विषयको साङ्केतिक रूपमा प्रतिपादन गरिएको पाइन्छ । वैदिक मन्त्रहरूमा बताइएका कुरालाई ब्राह्मणग्रन्थहरूले र वेदाङ्गहरूले स्पष्ट पारेका छन् । तसर्थ देवभाषामा लेखिएका शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष यी वेदाङ्गहरूको तथा मीमांसाशास्त्रको समेत अध्ययन गरेर तिनका सहायताले वेदको वास्तविक अर्थ र तात्पर्य बुझ्नुपर्ने हुन्छ ।
केवल लोकभाषामा गरिएका अनुवाद मात्र पढेर वेदको अर्थ बुझ्न सकिँदैन । विवेकशील र विचारवान् व्यक्तिले त्यस्तो दुस्साहस गर्न पनि हुँदैन । तथापि यस विषयमा भ्रमात्मक प्रचार पनि कतैकतै भैरहेको देखिन्छ । समाजमा र सञ्चारमाध्यममा जथाभावी बोल्ने–लेख्नेहरूले वेदमन्त्रहरूको आशय र तात्पर्य नबुझीकन उल्टो व्याख्या गर्ने गरेको पनि देखिन्छ । एउटाले गलत लेख्दियो वा बोल्दियो भने विनाविवेचना त्यसका पछि दगुरेर दसौँ व्यक्तिले गलत लेख्ने–बोल्ने पनि गर्दा रहेछन् । तथापि त्यो तिनीहरूको अनधिकृत चेष्टा मात्र हो भन्ने बुझ्नुपर्छ । त्यसैले यस विषयमा केही स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएको छ ।
वेदवाक्यको अर्थ गर्दा पूरै प्रकरण हेरेर तथा मन्त्रद्रष्टा ऋषिले व्यक्त गर्न खोजेको तात्पर्य के हो भन्ने पनि बुझेर मात्र अर्थ गर्नुपर्ने हुन्छ । मन्त्रहरूको अर्थ कसरी गर्नुपर्छ भन्ने विषयमा यास्क मुनिले निरुक्तमा महत्त्वपूर्ण सिद्धान्त बताउनुभएको छ— नैकपदानि निर्ब्रूयात् (२।३), न तु पृथक्त्वेन मन्त्रा निर्वक्तव्याः, प्रकरणश एव तु निर्वक्तव्याः । न ह्येषु प्रत्यक्षमस्त्यनृषेरतपसो वा (१३।१२) ।
अर्थात् प्रकरणको विचार नगरीकन एक्लो पदको मात्र निर्वचन नगर्नू । प्रकरणबाट अलग गरेर पनि मन्त्रहरूको निर्वचन गर्नुहुँदैन । प्रकरणअनुसार मात्र मन्त्रहरूको निर्वचन गर्नुपर्र्छ । यी मन्त्रहरूको अर्थबोध सामान्य व्यक्तिलाई हुँदैन, जो ऋषि पनि होइनन् र तपस्या पनि गर्दैनन् ।
निरुक्तको उक्त वचनबाट वेदको अर्थ गर्न ठुलै अध्ययन, ठुलै साधना, ठुलै तपस्या र ठुलै श्रद्धा चाहिन्छ भन्ने कुरा स्पष्ट हुन्छ । यस विषयमा सबैको ध्यान जानुपर्छ । लौगाक्षिस्मृतिमा पनि वेदको जथाभावी अर्थ गर्नेलाई अज्ञ भनेर निन्दा गर्दै ठिकप्रकारले अर्थ गर्नुपर्नेतर्फ ध्यान आकृष्ट गरिएको छ–
यत्रकुत्रस्थितं वेद–
वाक्यं सङ्गृह्य केवलम् ।
अस्य वाक्यस्याऽयमर्थ
इति वक्ताऽज्ञ उच्यते ।। स्मृतिसन्दर्भ–६, पृ.४०६ ।
अर्थात् कुनै ठाउँबाट केवल एउटा वेदवाक्य मात्र उद्धृत गरेर यस वाक्यको अर्थ यो हो भन्ने व्यक्ति अज्ञ (मूर्ख) भनिन्छ । यस भनाइको आशय प्रकरण र प्रसङ्ग हेरेर तात्पर्य बुझ्नुपर्छ भन्ने हो ।
वेदका विशेषता
विश्ववाङ्मयमा संस्कृत–वाङ्मयमयको स्थान अद्वितीय छ । त्यसमा पनि वेदको स्थान सर्वोच्च र विशिष्ट रहेको छ । प्राच्य परम्परामा त वेदलाई परमात्माको निश्श्वासरूप र सर्वथा दोषमुक्त ज्ञानराशि मानिएको छ । अनादि, अपौरुषेय, नित्य तथा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभक्त, अनेक शाखा भएको, गुरुशिष्यको अध्यापन र अध्ययनका परम्पराबाट आएको तथा मन्त्र र ब्राह्मणका रूपमा रहेको शब्दराशिलाई विद्वान्हरू वेद भन्दछन् । वेदको विधानको पालन गर्नु सनातन–वर्णाश्रम–धर्मावलम्बी आर्यहरूको परम कर्तव्य मानिन्छ । यसैबाट मानवजीवनका धर्म, अर्थ, काम, मोक्ष यी चार पुरुषार्थ सिद्ध हुन सक्छन् । चार वेदमध्ये ऋग्वेद विविध दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ ।
यमयमी–सूक्तको विवेचना
ऋग्वेदको दसौँ मण्डलको दसौँ सूक्तका रूपमा रहेको प्रसिद्ध यमयमी–सूक्तका विषयमा व्यापक रूपमा भ्रम रहेको देखिएकाले यहाँ यसको सङ्क्षिप्त विवेचना गरिन्छ । यस सूक्तमा जम्मा १४ ओटा ऋचा वा मन्त्र छन् । यहाँ विवस्वान्का सन्तति जुम्ल्याहा दाजु–बहिनी यम र यमीको संवाद छ ।
संवादमा बहिनी यमीले दाजु यमलाई सहवासका निम्ति तथा विवाहका निम्ति विभिन्न कुराहरू देखाएर प्रस्ताव गरेको र यमले यमीका प्रत्येक कुरामा अनौचित्य देखाएर उनको प्रस्तावको प्रत्याख्यान गरेको देखाइएको छ । सूक्तभरि नै यमीले आफ्ना प्रस्तावका पक्षमा र यमले त्यसका विपक्षमा तर्क राखेर बोलेको देखाइएको छ । अन्तमा यमीको प्रस्ताव यमबाट अस्वीकृत गरिएको पनि देखाइएको छ । यो कुरा निरुक्तमा यसरी बताइएको छ— “यमी यमं चकमे, तां प्रत्याचचक्षे, इत्याख्यानम्” (११।३४) ।
यसै संवादका आधारमा “त्यति वेलाको सामाजिक मान्यताअनुसार दाजु–बहिनीका बिचमा यौन सम्बन्ध हुने रहेछ, विवाह हुने रहेछ, त्यसैले यमीले यमसमक्ष त्यस्तो प्रस्ताव राखेकी रहिछन्, आदिम कालको व्यवहार त्यस्तै हुने रहेछ, त्यति वेलाका निम्ति त्यो पनि ठिकै मानिएको रहेछ, तर यमले प्रगतिशील विचार राखेर पुरानो परम्परा बदल्नुपर्छ भनेका रहेछन्, त्यसैले पछिपछि यसमा सुधार वा परिष्कार गरेर दाजु–बहिनीका बिचको विवाहलाई निषेध गरिएको रहेछ” इत्यादि अनर्गल, असत्य र अप्रामाणिक कुराहरू प्राज्ञ मानिएका वा ठानिएका आधुनिक व्यक्तिहरूले गर्ने गरेको देखिन्छ सुनिन्छ ।
जुनसुकै कुराको पनि विवेचना गर्दा पहिला त्यस विषयको तलस्पर्शी गम्भीर अध्ययन गरेर मात्र गर्नुपर्दछ । यस्ता कुरामा ध्यान नदिएर सतही अध्ययनका आधारमा मात्र विभिन्न विषयमा बोल्न–लेख्न खोज्ने व्यक्तिहरूले साधारण लौकिक विषयमा पनि गलतलाई सही र सहीलाई गलत भनेका–लेखेका उदाहरणहरू थुप्रै भेटिन्छन् ।
ठुला मानिएका लेखकहरूले लेखेका र ठुला ठानिएका संस्थाहरूले प्रकाशित गरेका पुस्तकहरूमै असत्य र भ्रमपूर्ण कुराहरू धेरै पर्न थालेका छन् । अतः वेदका विषयमा शास्त्रीय ज्ञानको अभाव भएका आधुनिक अल्पज्ञ व्यक्तिहरूले यमयमी–सूक्तका आधारमा निकालेको उक्तप्रकारको निष्कर्ष पनि भ्रमपूर्ण, असत्य र अप्रामाणिक हो भनेर बुझ्नुपर्दछ ।
वेदमा कतिपय वाक्य अर्थवादका रूपमा विषयको प्रशंसा वा निन्दा गर्ने उद्देश्यले प्रस्तुत गरिएका हुन्छन्, कतिपय कुरा कथाका रूपमा भनिएका हुन्छन्, कतिपय विषय संवादका रूपमा छलफल गरेर निष्कर्ष निकाल्ने शैलीमा आएका हुन्छन् र कतिपय विषय साङ्केतिक तथा प्रतीकात्मक पनि हुन्छन् । साथै वेदमन्त्रका आधिभौतिक, आधिदैविक र आध्यात्मिक तीनथरी अर्थ पनि हुन्छन् । यिनै पृष्ठभूमिमा वेदमन्त्रहरूको प्रयोजन र तात्पर्य बुझ्नुपर्ने हुन्छ, सोझो अर्थ मात्र बुझ्ने गल्ती गर्न हुँदैन ।
वेदमा कुनै विषयमा निष्कर्ष निकाल्नुपर्दा त्यसमा विभिन्न प्रश्न उठाएर वा तर्क राखेर तिनको खण्डन गर्ने शैली पनि लिइएको हुन्छ । कुनै पनि काम गर्नुपर्दा लोकमा पनि त्यस कामका सकारात्मक र नकारात्मक पक्षलाई पहिला जसरी विचार गरिन्छ, त्यसरी नै वेदमा पनि पक्ष–विपक्षमा तर्क–वितर्क गरेर निर्णय गर्ने पद्धति पनि ठाउँठाउँमा अवलम्बन गरिएको देखिन्छ ।
यस सूक्तमा पनि दाजु–बहिनीको संवाद गराएर तिनीहरूका बिचमा वैवाहिक सम्बन्ध राख्न उचित हुन्छ कि हुँदैन भन्ने कुरा उठाइएको छ र त्यस्तो गर्न उचित हुँदैन भन्ने निष्कर्ष निकालिएको छ । यस विषयमा समाजमा उत्पन्न हुन सक्ने संशयलाई नाटकीय रूपले अर्थात् संवादका माध्यमले स्पष्ट पार्नु नै यस सूक्तको उद्देश्य र वैशिष्ट्य पनि हो भन्ने देखिन्छ । कुनै पनि कर्म गर्दा त्यसबाट के परिणाम निस्केला भन्ने पहिल्यै विचार गरी त्यसको निवारण गरेर अघि बढ्नुपर्ने शिक्षा पनि यस सूक्तबाट लिन सकिन्छ ।
अतः प्राचीन कालमा सहोदर दाजु–बहिनीका बिचमा पनि विवाह हुने गर्दथ्यो भन्ने कुरा यस सूक्तबाट देखिँदैन । बरु पछिपछिका मानिसहरूले मर्यादा नाघेर दाजु–बहिनीकै बिचमा पनि विवाह गर्लान् कि भन्ने आशङ्का व्यक्त गरेर यहाँ तिनीहरूलाई सावधान हुन प्रेरित गरिएको छ । यमले यमीलाई भनेको एउटा ऋचाको अर्थविचार गरौँ—
आ घा ता गच्छानुत्तरा युगानि
यत्र जामयः कृणवन्नजामि ।
उप बर्र्बृहि वृषभाय बाहु–
मन्यमिच्छस्व सुभगे पतिं मत् ।।१०।१०।१०।।
यमले यमीलाई भन्छन्— “हे ऐश्वर्यशालिनी यमी, भविष्यमा त्यस्तो समय पनि आउला, जुन समयमा दिदीबहिनीहरूले दाजुभाइहरूलाई नै पति बनाउलान् । तिमीले मबाहेक अरूलाई नै पतिका रूपमा चाहना गर । वीर्यसेचन गर्न समर्थ त्यस पुरुषलाई नै अँगालो हाल ।”
यमको यस उक्तिबाट दाजुबहिनीका बिचमा विवाह गर्नेजस्तो अमर्यादित र अनुचित कार्य त पछिपछिका नास्तिक व्यक्तिहरूले पो गर्न सक्छन्, अहिले त त्यस्तो अमर्यादित कार्य गर्ने नास्तिक व्यक्ति कोही पनि छैन भन्ने आशय व्यक्त भएको छ । यस ऋचामा यस्तो अधार्मिक र अनुचित कार्य गर्नबाट पछिका नास्तिकै व्यक्ति पनि हतोत्साहित भएर पछि हटून् भन्ने मन्त्रद्रष्टा ऋषिको गूढ भाव रहेको बुझिन्छ ।
वैदिक ऋचाको यस्तो व्याख्या वा स्पष्टीकरण वेदमन्त्रको व्याख्या गर्ने विभिन्न सिद्धान्तहरूमध्ये एउटा आख्यानसिद्धान्तका आधारमा गरिएको हो । अन्य सिद्धान्तबाट वा आध्यात्मिक सिद्धान्तबाट उक्त ऋचाको अर्थ लगाउने हो भने त साधारण पाठकले अर्थै नबुझ्ने स्थिति पनि आउन सक्छ । तसर्थ वेदमन्त्रको अर्थ गर्नु वा तात्पर्य पर्गेल्नु ख्यालठट्टा होइन भन्ने बुझ्नुपर्छ ।
यसरी वैदिक ऋचामा लुकेको सार्वकालिक तथा लोककल्याणकारी भाव बुझ्न परम्परागत गुरुशिष्यका सम्बन्धले विधिवत् वेद पढ्नुपर्छ । वैदिक ऋषिमा र वेदमा समुचित श्रद्धा पनि हुनुपर्छ । भगवद्गीतामा श्रद्धालुले मात्र ज्ञान पाउन सक्छ, अश्रद्धालुले ज्ञान पाउन सक्तैन भनेर स्पष्ट गरिएको छ— “श्रद्धावाल्ँ लभते ज्ञानम्” (४।३९) ।
त्यसैले वैदिक ज्ञानप्रति श्रद्धा नभएका, वैदिक व्यवस्थाले कल्याण गर्छ भन्ने विश्वास नभएका र वेदमै खोट देखाउने पनि इच्छा भएका आधुनिक व्यक्तिहरूले गरेका वैदिक ऋचाका अपव्याख्याबाट आस्तिक जनसमुदाय प्रभावित हुन हुँदैन ।
कार्तिक महिनाको शुक्लपक्षको द्वितीयालाई भ्रातृद्वितीया वा यमद्वितीया वा भाइटीका भन्ने गरिन्छ जुन चाड यम र यमकी बहिनी यमुनासित जोडिएको छ । यमुनाले यसै दिन आफ्ना दाजु यमको स्वागत–सत्कार गरी यमलाई आफ्ना घरमा भोजन गराएको र यमले यमुनालाई पनि लुगा र गरगहना दिएर सत्कार गरेको भन्ने कथा पनि पुराणहरूमा पाइन्छ । यस दिन दिदीबहिनीहरूले दाजुभाइहरूको लामो आयु होस् भनी यमुनासहित यमराजको पूजा गर्ने गर्दछन् ।
यमयमी–सूक्तबारे कतिपय व्यक्तिले गरेका अपव्याख्यालाई हामीले जस्ताकाे त्यस्तै बुझ्न थाल्याैं भने त्याे ठुलाे भूल हुनेछ । दाजु–बहिनी नै पनि पति–पत्नी हुन सक्ने समयका यम र यमीलाई पौराणिक ग्रन्थमा सुधार गरेर दाजुबहिनीको स्नेहपूर्ण व्यवहार गर्ने यम र यमुनाका रूपमा प्रस्तुत गरिएको हो भन्ने तर्क वेद र शास्त्रको सरासर अपव्याख्या हो ।
यस्ता विषय अरू पनि धेरै छन्, जसका विषयमा समाजमा भ्रम फैलाउने गरिएको छ । पौराणिक कथाका प्रतीकात्मक अर्थ वा तिनको तात्पर्यार्थ नबुझेर केवल सोझो अर्थ लिएर पनि जथाभावी व्याख्या गर्ने गरिएको छ । यस्ता भ्रमात्मक विषयको निराकरण गर्नु र आफ्नाे धर्म–संस्कृतिको सङ्लो रूप जनसमक्ष राख्नु विचारशील विद्वान्हरूको कर्तव्य हो ।