काठमाडौँ– राजनीतिक नेतृत्व र राज्य संयन्त्रको मनपरीका कारण महँगी आकासिएको छ । तराई–मधेसमा मूल्य बृद्धि सबैभन्दा बढी छ ।
नेपाल राष्ट्र बैकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महिनाको अन्त्यसम्ममा तराईमा उपभोक्ता मुद्रास्फीति ९.३३ प्रतिशत बराबर छ । जबकि २०७८ भदौमा तराईको उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत बराबर थियो । गत भदौ महिनामा काठमाडौँ उपत्यकामा ७.६२ प्रतिशत र पहाडमा ८.८२ प्रतिशत मुद्रँस्फीति छ । हिमालमा ६.६८ प्रतिशत छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यबृद्धिसँगै सरकारको स्वेच्छाचारिता, प्रशासनतन्त्रको उदासीनता र अनुगमनमा वेवास्ताका कारण आन्तरिक मूल्यबृद्धि थप चर्किएको हो ।
२०७८ भदौमा काठमाडौँमा ३.२३ प्रतिशत, पहाडमा ३.९६ प्रतिशत र हिमाली क्षेत्रमा ३.५१ प्रतिशत बराबर मु्रद्रास्फीति थियो ।
भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत छ ।
२०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेन्ट तथा होटल, मदिराजन्य पेयपदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७.२९ प्रतिशत, १४.५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४ प्रतिशत छ ।
समीक्षा महिनामा गैर खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा र घरायसी उपयोगका वस्तु उपसमूहको मुद्रास्फीति क्रमशः २३.४१ प्रतिशत, १०.५४ प्रतिशत, ९.२५ प्रतिशत, ८.११ प्रतिशत र ७.६९ प्रतिशत छ ।