मेरो उम्मेदवारी नित्तान्त परिर्वतनका लागि हो । १७ बर्षदेखि नेतृत्व गरेको अभियानको अधुरो मुद्दालाई पूरा गर्नु मेरो जिम्मेवारी हो । त्यो भनेको शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रको सुधार नै हो ।
अहिले म स्वतन्त्र रूपमा चुनाबमा उठिरहेतापनि म हाम्रो पार्टी र विगतको हाम्रो अभियानबाट अलग छैन । अहिलेको निर्वाचनमा पार्टी बाहिर रहेका तर बृहत् अभियानमा भएका साथीहरूलाई समेट्न सकियोस् भनेर नै हामीले स्वतन्त्र उम्मेदवारी दिइरहेको हो ।
जुन नेताले आफूले गरेका वाचाहरू छछ महिनामा फेरिरहन्छन् उनीहरूलाई मौका दिइनु नै भएन । नामै नलिऊँ यहाँ तर छ महिना अघि एउटा आन्दोलन गरिरहनु भएको थियो, छ महिनापछि अर्कै । बाह्र महिनाअघि हेर्नुभयो भने फेरि अर्कै छ । त्यो भनेको के हो भने उहाँहरू अवसरवादी हुनुभयो । अबको निर्वाचनबाट कम्तिमा यस्ता अवसरवादीहरू चुनिनु भएन ।
अर्को कुरा आफ्नै पार्टीको नेता हो तर भ्रष्टाचार वा गैरकानूनी काम गरिरहनु भएको छ भने त्यस्तालाई पनि जनताले मत दिनु भएन ।
आम नागरिकको मुद्दाभन्दा बारिह गएर सँधैभरि राष्ट्रियताका कुरा मात्र अलाप्ने तर आफ्नै पार्टी सत्तामा हुँदा राष्ट्रियताका ठूला ठूला कुराहरूमा मौन बस्नेहरूलाई पनि अब मतदाताले चिन्ने बेला आएको छ ।
वैदेशिक रोजगारीका लागि गएका युवा जोसँग भोटिङ् राइट छैन तर उनीहरूले नै पठाएको रेमिट्यान्सबाट देश चलिरहेको छ । उनीहरूले पठाएको नोट चल्ने तर उनीहरूको भोट नचल्ने यो परिपाटी अब बदल्नु छ । यसका लागि अब सडक अभियानबाट मात्र होइन संसदबाट नै सशक्त आबाज उठाउनका लागि मेरो उम्मेदवारी हो ।
मेरो पहिलो प्रमुख एजेन्डा वा प्राथमिकता भनेको खुला संसद र खुला सिंहदरवार हो जहाँ नगारिकको पहुँच हरेक रूपमा बढोस् । संसद र सिंहदरवारभित्रका काम कारवाही हदैसम्म पारर्दशी होउन् । लामो समय देखिका उनै अनुहार र त्यही प्रणालीलाई फालेर नयाँ अनुहार र नयाँ शक्तिका रूपमा युवाको उदय हुन जरुरी छ ।
चम्चागिरी नगरीकन, झोलागिरी नगरीकन माथि पुग्न सकिन्न भन्ने सोचबाट बाहिरका र पार्टीभित्रै भएका युवा माथि आउनु प¥यो । अहिलेको सन्दर्भमा फेरि पनि तिनै उम्मेदवारहरूलाई सपोर्ट गर्ने, आफूले आफूलाई सक्षमै नदेख्ने हो भने देउवा, दाहाल, ओली वा पौडेल नै आउने हुन्छन् ।
म युवालाई झेले वा चम्चा भन्दिन, तर युवाले पनि आफ्नो मनस्थिति परिवर्तन गर्नुपर्यो । हामी परिवर्तनको संवाहक हो भनेर बुझ्नु पर्यो । आफूले आफूलाई सक्षम देख्नु पर्यो ।
मूलपार्टी भित्रबाट पनि युवाको प्रतिनिधित्वलाई लिएर अब युवा साथीहरूले सोध्ने बेला आएको छ । अब यो देशमा युवालाई पनि परिर्वतनको संवाहक मान्नु पर्छ र त्यो हुन पनि पर्छ । त्यसकारण पनि मेरो उम्मेदवारी हो ।