सोचिएजति वातावरण मैत्री छैनन् विद्युतीय सवारी साधन
जलवायु परिवर्तन अहिलेको एकदमै चासोको विषय हो । यो मानव जातिको आफ्नै कृयाकलापले गर्दा बिग्रेको वातावरण अनि त्यसले जलवायुमा ल्याएको गम्भीर नकारात्मक परिवर्तन सबैको टाउको दुखाइको विषय बनेको छ । जलवायु परिवर्तनमा हरित गृह ग्याँस र त्यसमा पनि कार्बन डाइअक्साइडको अत्यधिक उत्सर्जनलाई मूल कारण मानिएको छ ।
अठारौं शताब्दीमा औद्योगिक क्रान्ति सुरु भएदेखि अहिलेसम्म पनि निरन्तररूपमा भैरहेको कार्बन उत्सर्जन र वायुमण्डलमा यसको बढ्दो मात्राले पूरै विश्वमा तापक्रम बढ्दैछ र वातावरणीय सन्तुलन दिनानुदिन बिग्रदो छ । तुरुन्तै समाधान नखोजिए यसको असर भयावह हुने सबैलाई थाहा छ । हरेक क्षेत्रमा कुनै न कुनै उपायद्वारा यसको असर कम गर्ने प्रयास भैरहेका छन् ।
संसारमा अहिले सबभन्दा धेरै कार्बन डाइअक्साइड उत्पन्न गर्ने क्षेत्र उर्जा उत्पादनको क्षेत्र हो । दोश्रोमा कृषि र तेश्रोमा यातायात तथा पारवहन क्षेत्र पर्छन् । कृषि र पारवहन क्षेत्रले उत्सर्जन गर्ने कार्बन डाइअक्साइड पनि प्रत्यक्ष या परोक्ष रूपमा उर्जासँगै जोडिएको छ ।
सुरुमा औद्योगिकरणले मात्र वातावरणीय सन्तुलनमा नकारात्मक भूमिका खेलेको थियो । बिसौं शताब्दीको सुरुदेखि जैविक इन्धनबाट चल्ने गाडीहरूको प्रयोगमा जब व्यापकता आयो अनि अलिपछि गएर हवाइ यातायात पनि सर्वसुलभ हुन गयो, वातावरणीय प्रदूषणमा यातायात क्षेत्रको भूमिका देखिन थाल्यो ।
अरू क्षेत्रभन्दा यातायात र पारवहन सामान्य मानिसको दैनिकीसँग सिधै जोडिएको छ । त्यसैले यसको असर अरू क्षेत्रको भन्दा छिटो देखिन्छ । हाम्रो जनजीवनमा सोझो प्रभाव पनि पार्छ । यातायात र पारवहनसम्बन्धी कृयाकलापका कारण विश्वव्यापी रूपमा कूल कार्बनडाइअक्साइडको उत्सर्जनमध्ये लगभग २०% को हाराहारीमा कार्बनडाइअक्साइड वायु मण्डलमा मिसिन जान्छ । यसले गर्दा वायु प्रदुषण मात्र नभई ध्वनि प्रदूषण र यी प्रदूषणहरूबाट हुने वातावरणीय हानि र मानव स्वास्थ्यमा गम्भीर असर पारेको प्रष्ट देखिएकै कुरो हो ।
वातावरणीय सन्तुलन फिर्ता ल्याउन सबभन्दा पहिले यातायात र पारवहन क्षेत्रमा नै धेरै देशहरूले ध्यान दिएका छन् । अहिलेको स्थितिमा समाधानको एउटा उपाय भनेको अहिले संचालनमा रहेका जैविक इन्धनबाट चल्ने सवारी साधनहरूलाई विद्युतीय सवारी साधनमा ढाल्नु हो । यसमा सुधार हुन सक्यो भने हामीले शहरमा देख्ने वायु प्रदूषणमा कमी आउनेछ ।
यातायात क्षेत्रमा अहिले अधिकतम प्रयोगमा रहेको जैविक इन्धनबाट सवारी साधनहरूलाई मुक्त गरेर विद्युतीय प्रणालीमा ढाल्न सकियो भने संसारमा ठूलो मात्रामा कार्बन उत्सर्जन कम गर्न सकिन्छ । जैविक उर्जाको तुलनामा विद्युतीय उर्जा वातावरणमैत्री हुने मात्र हैन, कालान्तरमा सस्तो पनि हुन जानेछ ।
अहिले तुरुन्तै पानी जहाज र हवाइ यात्रामा विद्युतीय उर्जा अबलम्बन गर्न नसके पनि स्थल यातायात र पारवहनमा जैविक उर्जाबाट चल्ने सवारी साधनहरुलाई विद्युतीय उर्जाबाट चल्नेमा ढाल्न सकिन्छ । यसले वातावरणमा कार्बनडाइअक्साइडको मात्रा कम गरेर अहिले गम्भिर पर्यावरणीय समस्याका रूपमा रहेको वायुमण्डलको उष्णीकरणमा कमी ल्याउनुका साथै जलवायु परिवर्तनमा सकारात्मक परिवर्तन ल्याउनेछ । वायु प्रदुषणबाट हुने बिरामी र यसको रोकथाम अनि उपचारमा हुने खर्चमा पनि भारी कटौती गर्नेछ ।
यस अर्थमा जतिसक्यो छिटो जैविक उर्जाबाट चल्ने सवारी साधनहरूलाई विद्युतीय उर्जाबाट चल्ने सवारीसाधनले विस्थापित गर्नुपर्छ । यही तथ्य बुझेर नै संसारका सबैजसो देशहरू विस्तारै विद्युतीय सवारी साधनमा आकर्षित हुँदैछन् । यसको असर नेपालमा पनि देखिन सुरु गरिसकेको छ ।
के त्यति गर्दैमा यातायात र पारवहन क्षेत्र पूर्णरूपमा वातावरण मैत्री हुन जान्छ त ? दु:खकासाथ भन्नुपर्छ- ‘हुँदैन’ । त्यसैले विद्युतीय सवारी साधनलाई प्रयोगमा ल्याउँदैमा यसबाट पहिले हुने गरेका सबै समस्याहरू समाधान हुनेछछन् भनेर सोच्नु भने अपरिपक्व हुनेछ ।
अहिलेसम्म मानिसले आविष्कार गरेका कुनै पनि प्रविधि पूर्ण छैनन् । हरेक प्रविधिले केही समस्या त समाधान गर्छ तर अर्को नयाँ समस्या खडा गरिदिन्छ । यो चक्र मानव जीवनको अभिन्न अङ्गसरह बनिसकेको छ । यसबाट मुक्त हुने कुनै उपाय मानिसले पत्ता लगाउन सकेको छैन । सायद नसक्ला पनि । किनभने यो प्रकृतिको नियमसँग जोडिएको विषय हो । त्यही कारणले गर्दा विद्युतीय सवारी साधनको प्रयोग पनि यो चक्रबाट बाहिर जान सक्दैन । विद्युतीय सवारी साधनहरू प्रयोगमा आएसँगै केही सुधार अवश्य हुनेछन् तर त्यसले अरू वातावरणीय समस्याहरू उत्पन्न गर्नेछ । यसरी आउने वातावरणीय समस्या मूलतः दुई प्रकारका छन् ।
पहिलो समस्या त विद्युतीय सवारी साधनमा प्रयोग हुने विद्युत नै हो । विद्युतीय सवारी साधन भन्ने बित्तिकै यो साधन बिजुलीबाट चल्ने नै भयो । त्यसको लागि ब्याट्री होस् या अन्य जुनसुकै प्रारूपमा होस्, बिजुली खपत हुन्छ ।
नेपालको सन्दर्भमा कुरा गर्दा हामीले प्रयोग गर्ने लगभग ९९% बिजुली जल विद्युतबाट प्राप्त हुन्छ । बिजुली भन्ने बित्तिकै हामीमध्ये अधिकांशले ‘स्वच्छ’ उर्जा भन्ने सोच्न सकौंला तर विश्वव्पयापी रूपमा हेर्ने हो भने विद्युत् उत्पादनको मानचित्र नितान्त फरक छ ।
अहिले संसारको बिजुली उत्पादनमा जैविक उर्जाले ५०% भन्दा बढी हिस्सा ओगटेको छ । त्यसमा पनि लगभग ४०% जति कोइलाद्वारा विद्युत उत्पादन हुन्छ त्यही उर्जा नै हामीले प्रयोग गर्ने विद्युतीय सवारी साधनले प्रयोग गरिरहेका हुन्छन् । यसरी जैविक उर्जाबाट उत्पादन हुने विद्युतको मात्रा कटौती नहुने हो भने सवारी साधन मात्र विद्युतीय बनाएर कुनै अर्थ राख्दैन ।
जब सवारी साधनहरू बिजुलीले चल्ने बन्न थाल्छन् त्यही अनुपातमा बिजुलीको उत्पादन पनि बढाउनुपर्छ । सवारी साधनले गर्दा हुने वातावरण प्रदूषण त रोकिएको जस्तो देखिन्छ तर वृद्धि भएको बिजुली उत्पादनले वातावरणमा पार्ने असर कम भएको हुँदैन । खालि एकातिरको समस्या अर्कोतिर सारे जस्तो मात्र हुन्छ ।
आणविक उर्जा र सौर्य उर्जाको स्थिति पनि त्यही नै हो । सौर्य उर्जामा प्रयोग हुने फोटो भोल्टिक पदार्थको उत्पादन अनि विसर्जनले वातावरणमा असर पार्छ । आणविक उर्जा एउटा गतिलो उर्जा हुन सक्छ तर उत्पादन गर्न लाग्ने खर्च र सुरक्षाका कारणले गर्दा सबै देशले यसको उत्पादन गर्न सक्दैनन् ।
अहिले हामीले प्रयोगमा ल्याउने आणविक उर्जाको उत्पादन प्रविधि आणविक विखण्डन अर्थात् न्युक्लियर फिसन (Nuclear Fission) मा आधारित छ । यो प्रविधि परमाणु संलयन अर्थात् न्युक्लियर फ्युजन (Nuclear Fusion) को तुलनामा त्यति राम्रो मानिदैन । न्युक्लियर फिसनको उर्जा उत्पादन प्रभावकारिता कम हुने मात्र हैन यसले अधिक आणविक फोहर पनि उत्पादन गर्छ ।
न्युक्लियर फ्युजनको प्रविधि अहिले प्रयोगशालालमा मात्र सीमित छ । यसरी हेर्दा अहिलेकै अवस्थामा उर्जा उत्पादन गर्ने र त्यही उर्जा विद्युतीय सवारी साधनमा प्रयोग गर्नु भनेको समस्याको दीर्घकालीन समाधान हाेइन ।
यी सबैभन्दा पनि गम्भिर समस्या विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्रीको उत्पादन र प्रयोग पछिको विसर्जन हो । ब्याट्रीहरूमा सिसा धातुको प्रयोग गरिएको हुन्छ । सिसा मानव स्वास्थ्यको लागि निकै घातक धातु हो ।
हुन त प्रविधिमा सुधार भएर अहिले प्रयोगमा आएका विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्रीहरू सिसाबाट मूलतः लिथियम ब्याट्रीमा परिणत भएका छन् । लिथियम ब्याट्री पनि वातावरणमैत्री चाहिँ छैनन् ।
लिथियम ब्याट्रीमा उल्लेख्य मात्रामा निकेल र कोबाल्ट पनि प्रयोग गरिएको हुन्छ । यी धातुहरूको उत्पादन निकै जटिल प्रकृयाबाट हुन्छ । यी धातुहरू खानीबाट निकाल्नको लागि अत्यधिक पानीको प्रयोग हुन्छ भने त्यसबाट निस्केको फोहरले जलचर र स्थलचर प्राणीहरूको स्वास्थ्यमा गम्भीर असर पर्छ ।
ब्याट्री उत्पादनमा पनि अत्यधिक उर्जाको प्रयोग हुनुको साथै यो प्रकृयामा प्रदूषण पनि उत्पादन हुन्छ । त्यसैले सिसामा आधारित होस् या लिथियममा आधारित ब्याट्री होस् जुन प्रयोग गरे पनि उत्पादन र विसर्जनमा हामीले ठूलो वातावरणीय मूल्य चुकाउनुपर्छ ।
यसरी हेर्दा उर्जाको कारणले होस् या यसको प्रयोगको कारणले होस् अहिलेका विद्युतीय सवारी साधनहरू हाम्रो वातावरणीय समस्याका पूर्ण समाधान हैनन् । यसो भन्दैमा यी सवारी साधन प्रयोगमा ल्याउनु र नल्याउनुमा कुनै अन्तर छैन भन्ने हैन ।
पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको तुलनामा विद्युतीय सवारी साधनहरूले वायु प्रदुषण र ध्वनी प्रदुषणमा कमी ल्याएर वातावरण र मानव स्वास्थ्यमा निश्चय नै सकारात्मक परिवर्तन ल्याउने कुरामा शंका छैन । दीर्घकालिन रूपमा हाम्रो अहिलेको पर्यावरणीय समस्या समाधानका लागि यी उपाय अपूर्ण छन् ।
पूर्ण रूपमा वातावरण मैत्री उर्जा उत्पाउन गर्ने न्युक्लियर या हाइड्रोजन या अन्य कुनै नयाँ प्रविधि प्रयोगमा नल्याउँदासम्म सवारी साधन मात्र परिवर्तन गरिनु भनेको समस्याको तत्कालिन स्थानान्तरण मात्र हो, समाधान हैन ।