यो लेख मैले केही जानेर लेखेको होइन । धेरै कुराहरू नजानेकाले लेखेको हुँ । पाठकहरूलाई सुरुमै भनिदिउँ– यो मेरो ज्ञान र अनुभवको भन्दा पनि जिज्ञासा र उत्सुकताहरूको परिणति हो ।
यतिबेला नवरात्र चलिरहेको छ । हिन्दूहरूका घर–मन्दिरमा शक्तिस्वरूपा देवी दुर्गाको पूजा आराधना भइरहेको छ । देवीका रूपमा कुमारी र कन्याहरूको पूजा पनि चलिरहेको छ, काठमाडौं उपत्यकाभर र मुलुकका अन्य शक्तिपीठहरूमा समेत । बालिकालाई कुमारी देवीको रूपमा पूजा गर्ने परम्परा अरु अन्य मुलुकमा समेत पाइए पनि जीवित देवीका रूपमा कुमारी पूजा गर्ने चलन नेपालमै मात्र छ ।
मैले पढे, सुने वा बुझेसम्म कुमारी जीवनचक्रको एउटा अवस्था हो जुन अवस्थामा बालिकामा कामवासनाका शारीरिक र मानसिक लक्षणहरू जागृत भइसकेका हुँदैनन् । कतिले रजस्वला नहुँदासम्मको अवस्थालाई कुमारी मान्छन् भने कतिले यौनक्रियामा संलग्न नभएसम्मको अवस्थालाई । कतिले उमेरै तोकेर १२ वर्षसम्मकी बालिकालाई कुमारी मान्ने भनेर परिभाषित गरेको पाइन्छ ।
कुमारी पूजन परम्पराको वैदिक, तान्त्रिक र लौकिक अनेक कारण वा अभिप्राय होलान् जसका बारेमा मलाई खासै ज्ञान भएन । ती अनेकौं कारणमध्येको एउटाको प्रष्ट आशय हो– रजस्वला हुनुअघि बालिका वा किशोरी जति पवित्र हुन्छन् रजस्वलापछि त्यति हुँदैनन् । यो आशयले समाजैपिच्छे विविध र विकृत बान्की लिंदै जाँदा घरघरमा ‘छुई’ र पश्चिम नेपालमा ‘छाउ’ प्रथा बस्न गएको तथ्य बुझ्न कुनै गाह्रो छैन ।
म पूर्वी नेपालमा जन्मे–हुर्केकी । ‘छुई’बाट अछुतो त रहिन तर तीन दशक अघिको मेरो अवस्था आजको ‘छाउगोठ–ग्रस्त’ समाजको भन्दा पक्कै चेतनशील रहेछ भनेर अहिले आएर बुझिरहेको छु । हाम्रो गाउँमा कम्तिमा म र मेरा समवयीहरूले ‘चिसोका कारण छाउ गोठमै मृत्यु’, ‘छाउगोठमा बलात्कृत’, ‘छाउगोठमा सर्पले डस्यो’, ‘प्लाष्टिक ओडेर रात काट्दै’ जस्ता समाचार शीर्षक बन्नु परेन । कठोर रूपमा छुई बार्नु परेन । आफू सुतेको ओछ्यान छोड्नु परेन । परिवारबाट अलग हुनु परेन ।
म यस्तो ठाउँमा हुर्किए जहाँ रजस्वलालाई सामान्य रूपमा नै हेरिन्थ्यो । चार दिनसम्म खाना र पूजा कोठा छुइँदैन थियो । बस् त्यति नै हो । हामीलाई छुई भनेको भयंकर पाप हो, कतै कसैलाई छोइयो भने भगवानले सजाय दिन्छन् वा खुत्रुक्कै पार्छन् भनेर डर देखाइएन ।
छुई बार्दा के फाइदा हुन्छ, नबार्दा के बेफाइदा, यो पनि कसैले हामीलाई बुझाएन । हामी आफैंले पनि सायद बुझ्ने धेरै जाँगर गरेनौं कि ? खैै ! आमा, हजुरआमा, काकी, फुपुहरूले जसरी बारे हामी त्यसैलाई अनुशरण गर्दै गयौं ।
अहिले छाउगोठमा बस्ने जति पनि महिला छन् तीमध्ये धेरै आँफै चाहदैनन् घरमा बस्न । किनभने उनीहरूलाई देउतीको डर देखाइएको छ । उनीहरूमा देउतीको डरको खिल यसरी गाडिएको छ, त्यो सानोतिनो सम्झाइबुझाइले उखेलेर फाल्न सकिन्न । यो यथार्थ हाम्रा सामु जगजाहेरै छ ।
माथिल्लो कक्षामा पुगेपछि मैले बुझेँ– छुई हुनु भनेको महिला बच्चा जन्माउनको तयारी हुँदै गरेको अवस्था हो । यतिसम्म त बुझियो तर बच्चा जन्माउन किन छुई नै हुनुपर्ने ? छुई नभई बच्चा जन्माउन सकिने कि नसकिने ? छुई हुँदा किन अलग्गै बस्नुपर्ने ? जस्ता अनेकौं प्रश्नबारे थप बुझ्न सकिएन ।
प्रजनन् स्वास्थ्यबारे खुलेर पढाउन सक्ने न शिक्षकमा हिम्मत थियो न सुन्न र सोध्न सक्ने हामी विद्यार्थीमा आँट । जनस्वास्थ्य पढाउने शिक्षक कक्षामा पस्ता हामी कालोनीलो हुन्थ्यौं । पुरुष सहपाठीतिर न हामी हेथ्र्याै न उनीहरू हामीतिर । महिनावारीको कुरा निस्कदा हामी लाजले पानी पानी हुन्थ्यौं । भरसक त्यो कुरै कसैले ननिकालिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । यसरी टालटुलमै हाम्रो पढाई सकिन्थ्यो । महिनावारीबारे खासै कुरै हुदैनथ्यो । अनि हामीले बुझ्यौं– महिनावारी भनेको एकदमै लाजमर्दाे कुरा हो ।
जब म पहिलोपल्ट छुई भएँ, मलाई डरभन्दा बढि लाज लाग्यो । आमालाई भन्छु भनेर छेउमा पुगेँ तर के भन्ने ? कति कोसिस गर्दा पनि लाजले भन्नै सकिन । आमाले आफैँ बुझिदिए हुने नि । तर अँह बुझिदिनु भएन । बुभ्mनु पनि कसरी ? के परिवर्तन देखिन्छ र रजस्वला भएको बेला शरीरमा बुभ्mनलाई त्यस्तो बेग्लै ?
घरमा मैले खाना बनाउन पर्दैनथ्यो । भान्साको छेउमा अलि अलग्गै बसेर खाएँ । यसरी अलग्गै बस्दा त कसैले थाहा पाउलान् भन्ने सोचेकी थिएँ । अहँ, कसैले पत्तै पाएनन् । बेलुकाको खाना खाएर आप्mनै ओछ्यानमा गएर घुप्लुक्क सुतेँ । आमाले सुती सारीको कपडा प्रयोग गर्ने गरेको देखेकी थिएँ । मैले पनि त्यसै गरेँ। राति अबेरसम्म निन्द्रा लागेन । भोलि त बिहानै उठेर आमालाई भन्छु भन्ने मनमनै अठोट गरेँ । राति अबेरसम्म खटपटी भैरहेको थियो मनमा । कति बेला निदएछु पत्तै भएन । बिहानीपख उठेर भन्न कोशिस गर्दा भन्नै सकिन ।
फेरि अर्काे समस्या आइलाग्यो– प्रयोग गरेको कपडा कहाँ धुने ? कसरी सुकाउने ? धोएर सुकाएपछि सबैले थाहा पाउँछन् । त्यो के गर्ने ? कसैले देखे भने ? ढाट्न पनि कति गारो । आफूले आफैँलाई ढाट्न त झनै गाह्रो । म आफैंलाई सान्त्वना दिइरहेकी थिएँ– मैले ढाँटेको त होइन, नभनेको पो त । ढाट्नु र नभन्नु उही हो कि फरक ? यो त मलाई आजसम्म पनि थाहै छैन ।
मेरो कोठाको छेउमा अर्काे एउटा सानो कोठा थियो । त्यसमा पुराना फर्निचर थुपारिएको थियो । त्यसमै एउटा दराज पनि थियो । प्रयोग गरिसकेका टाला मैले त्यही दराजको मुनिपट्टि एउटा पुरानो झोलामा कोचेर राखिदिएँ । तीन दिनदेखि रगत आउन छोड्यो । अब त झन् कसैलाई किन सुनाउने ? यसरी म पहिलो पटक ‘नछुने’ भएको कुरा घरमा कसैले पत्तै पाएनन् ।
मेरो बुवा सरकारी जागिरे । प्रायः बाहिरै बस्नुहुन्थ्यो । हप्ता पन्ध्रदिनमा कहिले कहिले घर आउनु हुन्थ्यो । म ‘नछुने’ भएको पन्ध्र दिनपछि उहाँ घर आउनु भयो । बुवा घर आएको भोलिपल्ट बिहान बेस्सरी पेट र ढाड दुख्यो । त्यो दुखाई अहिले पनि याद छ । तर मलाई ‘नछुने’ हुन लागेँ भन्ने कतै शंकै लागेन ।
एकैछिनमा तरल पदार्थ तिघ्राबाट झरेर पिडुँला हुँदै कुकुर्चा छुन पुग्यो । आबुई । म त छक्कै परेँ । त्यो त रगत थियो । आमाहरू त महिना महिना दिनमा ‘नछुने’ हुनुहुन्थ्यो । म कसरी सोह्रै दिनमा भएँ ? म आत्तिएँ । फेरि पनि उही पारा । भन्न संकोच लाग्यो । अघिल्लो पटकको मौन बसाइले मलाई हौसला दिएकै थियो । यो पटक पनि नभन्ने निर्णयमा पुगे म ।
त्यो दिन दिउँसोे म एकजना हजुरआमाकहाँ पुगे । ती हजुरआमा अहिले ९८ बर्ष पुग्नु भएको छ । उहाँ त्यतिबेला पनि आप्mना बुहारीहरूलाई ‘नछुने’ भएका बेला बेलुका एक एक गिलास दूध दिनुहुन्थ्यो जतिबेला गाउँमा ‘नछुने’ भएकालाई गाईको दूध दिनै हुँदैन भन्ने चलन थियो । ती हजुरआमा भन्नुहुन्थ्यो, ‘नछुने भएका बेला शरीर कमजोर हुन्छ । यस्तो बेला भारी पनि उचाल्नु हुन्न ।’ अहिले सम्झदा पनि धन्य लाग्छ ती हजुरआमा ।
उहाँ हामीलाई औधि माया गर्नुहुन्थ्यो । म उहाँकी नातिनीकी मिल्ने साथी पनि थिएँ । उहाँलाई सोधेँ, ‘हजुरआमा, कोेही पन्ध्र सोह्र दिनमै पनि नछुने हुन सक्छ ?’ उहाँले शंकालु नजरले हेर्दै भन्नुभयो, ‘किन ? को नछुने भयो पन्धै दिनमा ?
मैले केही नभएको जस्तो आउभाउमा बोलेँ, ‘हैन यसै सोधेको ।’ अनि उहाँले हाँस्दै भन्नुभयो, ‘सुरुचोटी नछुने भएपछि फेरि चौध पन्ध्र दिनमा नै नछुने हुन्छन् धेरैजसो । म पनि भएकी थिएँ । अनि कस्तो डराएर बजैलाई सुनाएकी थिएँ । तर केही पनि होइन रहेछ त्यो । त्यसरी नछुने हुनु राम्रो हो । त्यसलाई काँशी गएको भन्छन् ।’
हजुरआमाको कुरा सुनेर खुशी हुँदै ‘काँशी गएछु’ भनेर मैले मनलाई आनन्दित पारेँ । तर काँशी गएको भनेको के हो भनेर अहिलेसम्म पनि बुझेको छैन ।
अधिल्लोपल्ट जस्तै फेरि टालाटुली त्यही पुरानो दराजमा राखेर जस्ताको तस्तै भएर बसे म । उही प्रक्रिया दोहारिन थाल्यो फेरि । भोलिपल्ट बिहान सबै खाना खान संगै बस्यौ । बुवा पनि हुनुहुन्थ्यो । मेरो मुखमा पुलुक पुलुक हेरिहनु भएको थियो । किन हेर्नु भएको मैले केही वास्तै गरिन । खाना खाइसकेपछि बुवाले आमालाई बोलाउदै भन्नु भयो, ‘त्यो माथिल्लो कोठाको पुरानो दराज मुनि गएर हेर त के छ ।’
बुवाको कुराले म थरथर कामेँ । लौ बर्बाद भयो । म अपराधीझैँ कामिरहेकी थिएँ । मेरो अपराध महिनावारी हुनु थियो वा कुरा लुकाउनु ? मैले आफैं कुरा लुकाएँ कि समाजले मलाई कुरा लुकाउन बाध्य बनायो ? त्यो सब मलाई सुझ्ने बेला थिएन त्यो । म केवल लाज र डरले एउटै डल्लो भएँ ।
बुबाले त्यति भनेपछि आमा जुरुक्क उठेर माथि जानु भएको थियो । फर्कंदा हातमा एउटा पोको लिएर तल झर्नु भयो । त्यसमा मेरा लुगाहरू थिए । पहिलो पटक महिनावारी हुँदा सात दिनसम्म घरमा बस्न हुदैँन भन्ने उहाँहरूको बुझाई थियो । त्यसैले कुनै आफन्तकहाँ लैजान उहाँले मलाई नजिकै रहेको दिदीको घरतिर तत्काल दौडानुभयो ।
म छुई भएको थाहा पाउने बित्तिकै मलाई त्यसरी बार्न लगाइए पनि हाम्रै कति आफन्तको घरमा त्यो समयमा पनि बार्दैनथे । अहिले आएर धेरै आफन्तका र चिने जानेका मान्छेका घरमा छुई बार्न छोडेका छन् । मन्दिर नजाने तर घर–भान्साका सबै काम गर्ने गरेको पाएकी छु ।
म घरमा परिवारका अन्य सदस्यहरूका अतिरिक्त ७० बर्षकी सासुआमासँगै बस्छु । म छुई हुँदा उहाँ मैले पकाएको खाना खानुहुन्न । न त मैले उहाँलाई कर नै गर्छु । उहाँको ६० वर्षदेखिको आस्था र विश्वास अब मेरो वा कुनै एनजीओ÷आइएनजीओको ६ मिनेटको चेतनामूलक सन्देशले बदल्न सक्दैन । बदल्नुको औचित्य कति होला त्यो पनि यसै भन्न सकिन्न । सासुआमाको सोच बदल्ने कुराभन्दा पनि मलाई महत्वपूर्ण लागेको विषय अर्कै छ ।
अहिले घरघरमा कुमारी पूजा भइरहँदा संस्कृति र परम्पराका नाममा हामीले कुमारी वा कुमारित्व पूज्य हो भन्ने भाष्यलाई निरन्तरता दिने कि नदिने ? यसलाई निरन्तरता दिने हो भने गैर–कुमारी वा गैर–कुमारित्वमा कँही न कतै खोट देखाउने काम यसैबाट स्थापित हुँदैन र ?
हाम्रा शास्त्रहरूमा पुरुषलाई शिव र नारीलाई शक्ति वा देवीको स्वरूप मानिएको छ । जगन्माता देवी सर्वव्यापी र सर्वशक्तिमान् हुनुहुन्छ । दुर्गाको अबतार भनेकै सबै देवताहरुको शक्ति र सामर्थ्यको एकत्रित रुप हो । जब हाम्रा सारा संस्कृति र रीतिरिबाज यति महान् आदर्शबाट अभिप्रेरित छन् भने देवीको अछुत अवतार (महिलाको महिनावारिको अवस्थालाई अपवित्र मान्ने प्रथा) को परिकल्पना नै कसले र किन गर्यो होला ?
शैशव, कौमार्य, यौवन र जरा उमेरका खास खास अवस्था हुन् । कौमार्यावस्थाबाट यौवनावस्थामा प्रवेश गरेसँगै व्यक्तिमा कामेच्छाहरू पैदा हुन थाल्छन् । त्यही कामेच्छालाई नियन्त्रित र व्यवस्थित गर्न सकिएन भने तिनले व्यभिचारको रूप लिन सक्छन् । कुमारी पूजालाई त्यही व्यभिचारी प्रवृत्ति निस्तेज गराउने प्रतीकात्मक अर्थमा लिने हो भने पनि देवी देवताको मन्दिरमा कामदेव र रतिको पूजा गर्न त हामीलाई कसैले रोकेको छैन त ?
कामाख्या मन्दिरमा वर्षमा ४ दिन देवी रजस्वला भएको मानिने परम्परा बाहेक हिन्दू धर्मशास्त्र र परम्परामा देवी–रजस्वलाको परिकल्पना भएजस्तो बुझिन्न । जुन देवदेवीका आदर्शबाट समाजलाई डोर्याउन खोजियो, त्यही समाजमा देवी (महिला) लाई रजस्वलाका वेला किन अपवित्र मानियो होला ?
यी र यस्तै धेरै प्रश्नहरू, कम्तिमा मेरा निम्ति आज पनि अनुत्तरित नै छन् जसको उत्तर मैले हिजो स्कुल जाँदाकै दिनहरूमा चाहिरहेको थिएँ ।
कुनै पनि संस्कृति वा परम्परा विना कारण समाजमा स्थापित भएको हुँदैन । देवी पूजन र कुमारी पूजनका सुदीर्घ परम्पारका पछाडि पक्कै पनि पर्याप्त वैदिक, तान्त्रिक वा लौकिक कारणहरू होलान्। प्रश्न यत्ति हो कि ती कारणहरू आज पनि उत्तिकै सान्दर्भिक छन् कि छैनन् ? अथवा तिनै सांस्कृतिक परम्पराहरूलाई पनि हामीले फरक अर्थमा मनाउनु पर्ने पो हो कि ?
अहिले बाल यौन दुराचार बढिरहेको सन्दर्भमा त्यसलाई निमिट्यान्न बनाउन संसारभरका कुमारी/किशोरी पूज्य हुन् भनेर अर्थ्याउनु पो अझ समसामयिक हो कि ?
कुनै पनि महिलालाई रजस्वला भएका छुन नहुने होइन, बरु उनीमाथि यौन दुर्व्यवहार वा यौन हिंसा हुन जाला कि भन्ने हिसाबले चाहिँ एउटा ‘सामाजिक र मानोवैज्ञानिक दूरी’ कायम गर्नु बुद्धिमानी हुन्छ भनेर पो नयाँ पुस्तालाई सिकाउनु पर्ने हो कि ?
देवी पूजनको यो महान् उत्सव दशैंले आम नारीलाई ‘घर पुछ्ने र मासु भुट्ने’मा मात्र सीमित नराखी साँच्चिकै देवीकाे गरिमामय रुपमा रुपान्तरित गर्न सके कति जाति हुन्थ्यो ?!