संयुक्त राष्ट्रसंघको आह्वानमा अक्टोबर १ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको आज ३१ वर्ष भएको छ । सन् २०२२ का लागि राष्ट्रसंघले ‘ज्येष्ठ नागरिकको उत्थानशीलता÷लचकता बदलिँदो विश्वका लागि अपरिहार्यता’ (The resilience of older persons in a changing world) भन्ने नारा तय गरेको छ ।
राष्ट्रसंघले यो नारा तय गर्नुको आशय सम्भवतः ज्येष्ठ नागरिकहरू अब पहिलेजस्तो ‘बूढो भयो सब रंग गयो, आँगन भयो परदेश’ भनेर बसिरहने जमाना रहेन भन्ने सन्देश दिनु हो । त्यसैले हामीले पनि अब ‘जब पुग्यो साठी हातमा लाठी’ भनेर निष्क्रिय हुने होइन बरु सक्दो क्रियाशील रहन प्रयत्न गरिरहनु आवश्यक छ ।
औषधि विज्ञान र स्वास्थ्य पूर्वाधारले मानिसले आयु बढाउन मद्दत गरेको छ । आयुसँगै मानसिक अवस्था र आत्मबल सुदृढ बनाउन सके बुढेसकालमा पनि सार्थक जीवन जिउन कठिनाइ हुन्न । यसबाट आफैंलाई त फाइदा हुन्छ नै राज्य र समाजलाई पनि सहयोग पुग्नेछ । एक व्यक्तिलाई स्याहार्न अर्को व्यक्ति खटिइहरनुपर्ने अवस्था थोरै मात्रामा भए पनि घट्नेछ ।
अलिहे पहिलेको जस्तो न आर्थिक संरचना छ न सामाजिक संस्कार नै । त्यसैले बुढेसकालमा हामी आफैंले आफ्नो आत्मबल बढाउने र कठिन परिस्थितिमा पनि आफूलाई सहजै उभ्याउन सक्ने कला सिक्नु आवश्यक छ । आवश्यक मात्र हैन अपरिहार्य नै छ ।
बूढाबूढी हुँदै जाँदा घुँँडा दुख्ने जोर्नीहरू दुख्ने, हड्डी पातलो र कमजोर हुने, आँखा कान कमजोर हुने क्रम बढ्दै जान सक्छ । अपांगता भएका व्यक्तिहरूका लागि बुढेसकाल थप कष्टकर हुन सक्छ । फरक क्षमता भएका व्यक्तिमध्ये पनि शरीरको कुनै खास भाग कमजोर वा अशक्त छ भने सामान्य व्यक्तिको भन्दा उनीहरूलाई फरक भौतिक संरचना आवश्यक पर्छ । त्यस्ता संरचना नहुँदा आँखा कमजोर भएका, कान कम सुन्ने वा नसुन्ने नागरिक दुर्घटनामा पर्ने र ज्यानसमेत गुमाउनुपर्ने जोखिम हुन्छ ।
अहिलेको हाम्रो भौतिक संरचना न ज्येष्ठ नागरिक मैत्री छन् न अपांगता मैत्री । मानवाधिकारका दृष्टिले हेर्ने हो भने सबै नागरिकले सार्वजनिक स्थल, सेवा र सुविधा समान रूपले उपभोग गर्न पाउनुपर्ने हो । अहिलेका सरकारी कार्यालय, स्थानीय निकायका कार्यालय, सडक, सडकपेटी, सरकारी अस्पताल कतै पनि ज्येष्ठ नागरिक, असक्त र अपांगता भएका व्यक्तिका लागि सहज संरचना छैनन् । अरू त अरू देशको केन्द्रीय कार्यालय सिंहदरबार परिसरमा भएका भौतिक संरचना पनि सबै उमेर र अवस्थाका व्यक्तिको सहज पहुँच हुने गरी बनाइएको छैन । न त सुधारको कुनै योजना नै बनेको छ ।
यो वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका दिन के राज्यका सबै जिम्मेवार निकायले राज्यद्वारा निर्माण हुने वा मर्मत हुने सबै भौतिक संरचना ज्येष्ठ नागरिक र अपाङ्गमैत्री बनाउने सुनिश्चित गर्न सक्छन् ?
आधा दशकअघिको एक तथ्यांक अनुसार नेपालमा ६० वर्ष नाघेका ज्येष्ठ नागरिकको संख्या करिब ३० लाख छ । शारीरिक अपांगता भएका एक लाख ८६ हजार ४ सय ५७ जना छन् । दृष्टिविहीन ९४ हजार ७ सय ६५, सुस्त श्रवण क्षमता भएका ७९ लाख ३ सय ७, बौद्धिक अपाङ्गता भएका १४ हजार ८ सय ८८ छन् । त्यस्तै बहु अपाङ्गता भएका ३८ हजार ६ सय १६ छन् भने समग्र फरक क्षमता भएका व्यक्तिहरू (अपाङ्गता भएका) को संख्या ५ लाख १३ हजार ३ सय २१ छ ।
यसरी हेर्दा हामीले ज्येष्ठ नागरिकहरू र फरक क्षमता भएकालाई सेवा सुविधा पु¥याउने हो भने करिब ३५/३६ लाख जनाका निम्ति सहज पहुँच हुने भौतिक निर्माण र मर्मत कार्य गर्नु गराउनुपर्ने हुन्छ । त्यसका लागि ज्येष्ठ नागरिक मन्त्रालयले सहरी विकास मन्त्रालय, योजना तथा भौतिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, यातायात मन्त्रालय, प्रदेश सरकार र स्थानीय सरकारसमेत सम्बन्धित सबै निकायसँग समन्वय गरी काम अगाडि बढाउनुपर्ने हुन्छ ।
सबै स्थानीय तहलाई अभिमुखीकरण गरेर स्रोत उपलब्ध गराउने हो भने यो काम त्यति गाह्रो पनि छैन । हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रमा ज्येष्ठ नागरिकमैत्री संरचना बनाउने र भैरहेका संरचनामा सुधार गर्ने योजना बनाए भौतिक पूर्वाधारको निर्माण र सुधार अझ सहज ढंगले हुन सक्छ । त्यसका लागि स्थानीय तहहरूलाई अहिले भइरहेको भन्दा अतिरिक्त प्राविधिक सल्लाह र सहयोग आवश्यक पर्न सक्छ ।
ज्येष्ठ नागरिकमैत्री भौतिक संरचना सार्वजनिक संस्थानका भवन र परिसरभित्र बनाउन जरुरी छ । विद्यालय भवन तिनका कक्षाकोठा, अस्पताल, पैदल हिँड्ने सडकपेटी, बाटो, ढोका, लिफ्ट, बाटो काट्ने हरेक ठाउँमा पइओभरमा ध्यान दिन जरुरी छ । त्यस्ता संरचना सबै ज्येष्ठ नागरिक र सबैखाले अपांगता भएका व्यक्तिलाई सहज हुने छन् कि छैनन् भन्नेमा ध्यान पुर्याइनुपर्छ ।
सडक, सडकपेटी, फ्लाइओभर सबैतिर सहज तरिकाले व्हीलचियर जान सक्ने बनाउनुपर्छ । जेब्रा क्रसिङ, मनोरञ्जनस्थल, सिनेमा हल, पार्क, बगैंचा, यातायातका साधन, सार्वजनिक शौचालय आदिलाई पनि ज्येष्ठ नागरिक र अपांगमैत्री बनाउनु जरुरी छ । मनोरञ्जनका लागि बनेका पार्क, बगैंचा, पौडी पोखरी, पैदलबाटो नजिक विश्राम गर्ने बेन्चहरू राखिनुपर्छ । ठाउँठाउँमा पिउनेपानी र शौचालय बनाउनुपर्छ । ती सबै ज्येष्ठ नागरिक र अपांगमैत्री हुनुपर्छ ।
यातायात साधनका चालक, सहचालक, यातायात मजदुर, स्वास्थ्यकर्मी, शिक्षक र शिक्षकमार्फत विद्यार्थीलाई समेत ज्येष्ठ नागरिक र अपांगहरूका सवालमा हरेक व्यक्तिले के कसरी व्यवहार र सहयोग पुर्याउन सकिन्छ भन्नेबारे अभिमुखीकरण गराउनुपर्छ । सामाजमा यस्ता व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको जरुरी छ ।
व्यक्तिगत घरको सवालमा कुरा गर्ने हो भने युवावस्थामा प्रायः सबैलाई सकेसम्म ठूलो घर बनाउने रुचि हुन्छ । सकेसम्म माथिल्लो तलामा चारैतिर देखिने ठाउँमा आफ्नो कोठा राख्न मन लाग्छ । घर बनाउँदा पनि त्यसै अनुसार बनाइन्छ । बिस्तारै उमेर घर्किंदै जाँदा आफूले बनाएको घरमा तलमाथि गर्न आफैंलाई मुस्किल पर्न थाल्छ ।
मेरो छिमेकमा एक जना काका हुनुहुन्थ्यो । उहाँलाई ठूलो घर बनाउने सोख थियो । उहाँले साढे ५ तले घर बनाउनुभयो । आफू बस्ने कोठा पनि सबैभन्दा माथि ठूलो कौसी नजिक पर्नेगरी बनाउनुभयो । एट्याच बाथरुम बनाउनुभएन । हामीले भन्दा किन चाहियो, एक तला ओर्लेर जान सकिहालिन्छ नि भन्नुभयो । तर जब उहाँलाई दमको रोग लाग्यो, माथि उक्लिँदा पनि सास फेर्न सास्ती भयो । घुँडा दुखेर सारोगारो पर्न थाल्यो । राति शौच गर्न जाँदा तल ओर्लनुपर्ने त्यो पनि कठिन भयो । चिसो हावा आउँछ भनेर सबैभन्दा माथिको कोठामा बस्दा आवतजावत गर्न मात्र कठिन भएन बरु चिसो स्याँठले कौसीको त के कुरा जाडो महिनामा कोठामा नै पनि चिसो हुने भयो । दम बढाउन पो सहयोग पुग्यो ।
युवा अवस्थामै घर बनाउँदा पनि बुढेसकाललाई समेत सोचेर बनाइयो भने पछि गएर आफैंलाई सहज हुन्छ । सकिन्छ र जग्गा छ भने आफू बस्ने र व्यवसाय गर्ने घर एकै ठाउँमा नबनाउँदा राम्रो । आवासीय प्रयोजनको घर धेरै तले नबनाउँदा राम्राे । भुइँ तला वा पहिलो तलाको राम्रोसँग घाम आउने ठाउँ भए पर्याप्त हुन्छ ।
कोठा शौचालयसहितको राम्रो भेन्टिलेसन हुने खालको बनाउनुपर्छ । कोठामा आवतजावत गर्ने भर्याङ, प्यासेज आदि संरचना सहज र कतै नठोक्किने हुनुपर्छ । शारीरिक अवस्था अनुसार आवश्यक परे भर्याङ र शौचालयमा र्याम्प र रेलिङ राख्नुपर्छ ।
ढोका फराकिलो र लगाउन खोल्न सहज हुनुपर्छ जसले गर्दा आकस्मिक रूपमा बाहिर निस्कनुपरे सजिलो हुन्छ । ज्येष्ठ नागरिकका लागि कोठा बनाउँदै हुनुहुन्छ भने उक्त कोठा र शौचालयमा ह्वीलचेयर पसाउन सकिने गरी बनाउनुपर्छ । शौचालय जान आउन सजिलो हुने गरी रेलिङ राख्दा त्यो बूढाबूढीलाई मात्र हैन जोसुकै बिरामी पर्दा पनि उपयोगी हुन्छ ।
वृद्धवृद्धाको रेखदेखमा राज्यको अहम् भूमिका छ । खासगरी भौतिक संरचना निर्माण वा सुधार गर्न । सामाजिक सुरक्षाको सुनिश्चितता गर्न । संक्रमणकालीन अवस्थामा ज्येष्ठ नागरिकलाई पर्ने सामाजिक र मानसिक पीडाबाट बचाउन ।
राज्यको तहबाट होस् वा व्यक्तिगत तहबाटै किन नहोस् अब बनाइने सबैखाले भौतिक संरचनाहरू ज्येष्ठ नागरिक र अपाङ्गतामैत्री बनाउन पहल गरौं । ‘ज्येष्ठ नागरिकको उत्थानशीलता/लचकता, बदलिँदो विश्वका लागि अपरिहार्यता’ बारे व्यापक जनचेतना जगाऔं । बृद्धबृद्धालाई सम्मानित जीवनयापन गर्न सहयोग गरौं । तीनै तहका सरकार र सबै क्षेत्र एवं वर्गका नागरिकलाई ज्येष्ठ नागरिकमैत्री भौतिक पूर्वाधारको अपरिहार्यता बुझाएर परिवर्तनका लागि जागरुक बनाऔं ।