नेपालीहरूको महान् चाड बडादशैं सुरु भइसकेको छ । सबै जातजातिको विशेष र साझा पर्व भएकाले यसको उमंग छुट्टै खालको छ । दशैंका नवरात्र ब्रह्माण्डीय स्त्रैण शक्तिकोे आराधना गर्ने उत्सव हो जसका लागि शरद ऋतु, आश्विन महिनाको शुक्लपक्षलाई विशेष समय मानिएको छ । यो समयमा देवी शक्ति विशेष रुपमा जाग्रित हुन्छिन् भन्ने शास्त्रीय मान्यता छ ।
संसारका सबै धर्म संस्कारका मानिसले शक्तिलाई कुनै न कुनै रुपमा महत्व दिएकै छन् । हिन्दू संस्कार र संस्कृतिमा यसलाई विशेष धार्मिक अनुष्ठानका रुपमा लिइन्छ । नेपाल पाशुपत क्षेत्र भएकाले उनकी परा शक्ति दुर्गा, कालीको पूजा विशेष रुपमा हुनु स्वभाविक हो ।
मन्दिरै मन्दिर र शक्तिपीठहरूको क्षेत्र नेपाल तन्त्र साधनाको अभ्यास स्थल पनि हो । यहाँ विभिन्न जातजातिले विभिन्न नाम र स्वरुपमा तन्त्र साधनाको अभ्यास गरिहेका छन् । शक्तिसाधनाको यो पद्धति र परम्पराले नेपालका सबै जातजातिलाई एउटै सूत्रमा आवद्ध गरेको छ। त्यसैले दशैं नेपालको सांस्कृतिक अनेकतामा एकताको पहिचान पनि हो ।
नेपालमा देवीशक्तिको स्थापन र पूजन अरु समाजको भन्दा भिन्न र विशेष प्रकृतिको छ । भारतमा प्रायः देवीका माटाका मूर्ति बनाएर पूजा गर्ने र दुर्गा पक्ष सकिएपछि नदीमा सेलाउने चलन छ । नेपालमा प्राचीन समयदेखि पहाडका थुम्का तथा विशेष स्थानहरूमा शक्तिपीठहरू स्थापित छन् चाहे त्यो सती देवीका अंग पतनको प्रसँगमा होस् वा कन्या कुमारीको पूजा–परम्पराको सन्दर्भमा । अस्वाभाविक मृत्यु वरण गरेकन विभिन्न जातजातिका कन्याहरू वा शुद्धआत्मा महिलाहरू शक्तिस्वरुपा भएको मानेर पूजा गर्ने परम्परा पनि उत्तिकै छ । ती सबै तान्त्रिक विधिद्वारा पहिचान गरिएका शक्ति रूप हुन् । विभिन्न नाम दिइए पनि सबै शक्तिपीठहरूको पूजापद्धति मिल्दोजुल्दो छ । सबैलाई देवी काली मानेर पूजा गर्दै आएको पाइन्छ ।
धर्मशास्त्र अनुसार देवी पार्वती हिमालय पुत्री हुन् । अधिकांश शक्तिपीठहरूमा ब्रह्मणभन्दा वाहेकका जातजातिका पुजारी रहने चलन छ । दक्षिणकाली, मनकामना, सुपा देउराली, आलमदेवी, गढीमाईदेखि नेपालभरका अन्य अनेकौं देवीस्थान यस्तै परम्परामा आधारित छन् जहाँ जातिभेदबाट माथि उठेर सबैले समान आस्था प्रकट गर्छन् । पछिल्लो समय गाउँ, शहरहरूमा दुर्गाका मन्दिर स्थापना गरेर पूजा गर्न पनि थालिएको पनि छ । यो विशेष संस्कारले के देखाउँछ भने देवीशक्तिले नेपालका सबै जातजातिलाई अत्यन्तै सद्भावका साथ जोडेर राखेको छ । देवीशक्तिसँग जोडिएको दशैं नेपाली नेपालीबीच सांस्कृतिक सेतु पनि हो ।
दशैंको दुर्गा पक्षमा विशेषगरी नवदुर्गाको पूजा हुन्छ । देशभरका शक्तिपीठहरूमा नौ दिनसम्म निष्ठापूर्वक शक्तिको पूजा हुन्छ । थोरै पीठबाहेक प्रायः सबै देवीस्थानमा बलि दिएर पूजा गरिन्छ । पछिल्लो समय नेपालमा बलिप्रथाको विरोध हुन पनि थालेको छ । देवी सबै प्राणीकी माता हुन्, एउटा सन्तानको तृप्तिका लागि अर्को सन्तानको हत्या चाहन्नन्, तसर्थ बलिप्रथा सर्वथा गलत हो, हटाउनैपर्छ भन्ने आवाज विभिन्न सम्प्रदाय, व्यक्ति तथा संस्थाबाट आउन थालेको छ ।
गढीमाई मेलाका सन्दर्भमा सर्वोच्च अदाललते ६ वर्ष अघि नै नेपाल सरकार र सम्बद्ध पक्षहरूलाई निर्देशात्मक आदेश दिंदै भनेको छ– ‘धार्मिक, सामाजिक, साँस्कृतिक, पर्यावरणीय, नैतिक वा तार्किक, कुनै पनि दृष्टिले विचार गर्दा बलीप्रथा कायम रहनु उचित होइन । अन्ततः बली दिने प्रथा बन्द गरिनु पर्दछ । तर, सुधार र परिवर्तनका हाम्रा प्रयासहरू व्यवस्थित हुनु पर्दछ । सामाजिक संरचनालाई खलबल्याउने किसिमको हुन हुँदैन । बलीप्रथा रोकिनु पर्ने भए तापनि सामाजिक सन्दर्भ तथा साँस्कृतिक यथार्थलाई नहेरी लामो समयदेखी समाजमा प्रचलनमा रहेको बलीप्रथामा तत्काल रोक लगाउनु मनासिब देखिएन ।’
अदालतको आशय के हो भने अहिलेको सन्दर्भमा बलीप्रथा रोक्न वाञ्छनीय देखिएको र यसका लागि प्रचलित सामाजिक एवम् सांस्कृतिक मान्यताहरूलाई पनि यथोचितरूपमा सम्बोधन गर्न आवश्यक देखिएको हुँदा बली दिने कार्य रोक्न वा बन्द गर्न सामाजिक संरचना र सन्दर्भ, मानिसको आस्था, साँस्कृतिक मान्यता आदि विविध पक्षलाई सम्बोधन गरी निश्चित समयसीमा भित्र पशु बली दिने प्रथा समाप्त गर्न (बन्द गर्न) रणनीतिक योजना तथा कार्यक्रम तयार गरी चरणबद्धरूपमा कार्यान्वयनमा ल्याउनू र पशु बलीप्रथाको अन्त्य गर्ने गरी आवश्यक कानून निर्माण गर्ने प्रबन्धसमेत मिलाउनु उपयुक्त हुन्छ ।
बलीप्रथा रोक्नका लागि व्यापकरूपमा जनचेतना अभिवृद्धि गर्ने, गराउने कार्य सञ्चालन गर्न र निश्चित समयसीमा तोकी बलीप्रथाको अन्त गरिने सूचना र सन्देश प्रचारप्रसार गराउन पनि अदालतले भनेको छ । त्यस अनुसार बली दिने कार्य बन्द नहुने अवस्थासम्मका लागि दिन प्रतिदिन बढ्दै गएको बली दिने कार्यमा नियन्त्रण गरी क्रमिकरूपमा यसको मात्रा घटाउँदै लैजाने उपाय स्वरूप बली दिनेबाट संस्थागतरूपमा आकर्षक दस्तुर असुल गर्ने, प्रक्रियागत सर्तहरू निर्धारण गर्ने, बली दिन पाउने अधिकतम पशु संख्या निर्धारण गर्ने, बली दिने पशुको उमेर निर्धारण गर्ने, अस्वस्थ वा विरामी पशु पन्छीलाई बली दिन नपाउने, खुल्ला ठाउँमा सार्वजनिक तवरबाट बली नदिने जस्ता आवश्यक र उपयुक्त सर्तहरू निर्धारण गरी, निरोधात्मक उपाय अपनाई बली दिने कुरालाई निरूत्साहित गर्दै लैजान भनिएको छ ।
पशुबली दिने, दिलाउने कार्यमा प्रत्यक्ष वा परोक्षरूपमा प्रोत्साहन वा सहयोग पुग्ने गरी सरकारको तर्फबाट कुनै कार्य नगर्न वा त्यस्तो कार्यलाई निरूत्साहित गराउनु सर्वोच्च अदालतले सरकारका नाममा परमादेश समेत जारी गरिदिएको छ ।
त्यसो त चलिआएका परम्परामा पशुबलिको विधान भए पनि वेद पुराण आदिले त्यसको विकल्प पनि दिएका छन् । सात्विक विधिबाटै पनि शक्ति साधना गरेर देवीलाई प्रसन्न बनाउन सकिन्छ । फूल, चन्दन, अक्षताजस्ता सात्विक पूजासामग्रीबाटै पनि शक्तिको उपासन गरी वाञ्छिल फल हासिल गर्न सकिन्छ । सात्विकले पशुबलिका विकल्पमा नरिवल, कुभिण्डो, काँक्रो जस्ता फलफूलको बलि दिने गरिरहेकै छन् ।
वेद, स्मृति, धर्मशास्त्र, तन्त्रशास्त्र आदिले निर्दिष्ट गरेको बाटोमै रहेर पनि हामी बलिको विकल्पका रूपमा नयाँ पुस्ताहरूमा विस्तारै सात्विक संस्कार र भाव प्रवाह गर्न सक्छौं । कालिका पुराण, देवीपुराण, भविष्यपुराण, विष्णु धर्मोत्तरपुराण, सौरपुराण, मार्कण्डेयपुराण आदिले पशुवलीका साथै देवी पूजनका सात्विक विधान तय गरेकै छन् ।
ब्रह्मसम, देवसम, ऋषिसम ब्राह्मणले त पशुबलि दिनै हुँदैन भन्ने शास्त्रमै उल्लेख छ । उच्च शक्तिवाला उन्मत्त स्वरुपा देवीको पूजा गर्ने, सुख, सुविधा, धन, ऐश्वर्य चाहनेले पनि विधिसम्मत अनुष्ठान गरेर कालीलाई शीतलाका रुपमा शान्त स्वरुपको आराधना, पूजा गर्दा बलि दिनु आवश्यक पर्दैन ।
यी सबैबाट माथि उठेर अझ उच्च चिन्तन राख्न सक्ने हो भने आफूभित्र रहेका खराब तत्वहरू मोह, मात्सर्य, लोभ, रिस, डाहलाई हटाउनु नै वास्तविक बलि हो । त्यसो गर्न सकिए देवी माताहरू मानिसको व्यवहारबाट स्वतः प्रशन्न हुने कुरामा दुई मत छैन । किनभने देवीले उग्ररूप धारण गर्नु परेकै दानवरुपी दुष्ट प्रवृत्तिहरूको विनाशका लागि हो । समाजमा दुष्ट प्रवृत्तिहरू नै नहुने हो भने देवीको उग्ररूपको आवश्यकता नै पर्दैन ।
यति हुँदा हुँदै पनि बलिप्रथालाई मात्रै लिएर नेपालको समग्र संस्कृति र सनातन परम्परालाई नै निचधर्मको परिणाम, असभ्यताको परिणाम, भनेर प्रचार गर्नु सर्वथा गलत छ । पछिल्लो समय विभिन्न सम्प्रदायका मानिस तथा पशु अधिकारवादीले पशुबलि लगायतका केही कमजोरीलाई औंल्याएर हाम्रो सिंगो धर्म परम्परा र संस्कृतिलाई नै खल्वल्याउने कुचेष्टा गर्न थालेको प्रष्टै छ । बलिप्रथाको विरोध गर्नु ठीक हो तर यसैलाई देखाएर समग्र नेपाली संस्कृतिलाई नै हिंस्रक, निच र असभ्य देखाउने दुस्प्रयास आपत्तिजनक छ । यसमा धर्म परिवर्तनमा क्रियाशील पश्चिमा क्रिश्चियन मिसनरीहरूको घुसपैठ बुझ्न कुनै गाह्रो छैन ।
यसै पनि नेपालका ठूला राजनीतिक परिवर्तनका परिघटनाहरू भित्र घुसेर, राजनीतिक नेतृत्वलाई लोभलालचमा फसाएर, विभिन्न विकासे संस्थाहरूको आवरणमा गाउँ गाउँमा पुगेर वा खुलमखुला चर्चहरूको संख्या बढाएर नेपाली धार्मिक सांस्कृतिक सद्भावमाथि अतिक्रमण गर्ने पश्चिमाहरूको अभीष्ट दिनानुदिन हावी भइरहेको जगजाहेर छ ।
देवीशक्ति एउटा जीवन्त शक्ति हो जसले पूरै नेपाललाई साधना क्षेत्र बनाइरहेको छ । यो शक्तिलाई कसरी सँधै उर्जावान् वा जीवन्त बनाइरहने ? उपयुक्त साधना वा अभ्यासविधिद्वारा जीवन्त राख्न नसक्ने हो भने यो शक्ति निष्क्रिय बन्दै जानेछ । त्यसो हुन नदिन हामीले प्रथमतः शक्ति साधनाको सुदीर्घ परम्परालाई सात्विक स्वरुपमा रुपान्तरण गर्दै लैजानु जरुरी छ । त्यसो नगरी केवल विरोध मात्रै गरियो भने यसले अन्ततः धर्मान्तरणलाई मात्र बढावा दिनेछ । वैदिक विधि नजान्ने र तन्त्रविधिको पनि विरोध गर्ने हो भने सदियौंदेखिको एउटा जीवन्त संस्कृति संकटमा पर्नेछ । त्यसबाट भइरहेको संस्कृतिको विरोध र अपमान गरेर विधर्मीलाई मौलाउने मैदान तयार गर्न सहयोग मिल्नेछ ।