काठमाडौ- नेपालमा सुर्तीजन्य सेवनबाट वर्षेनी करिव २७ हजार मानिसको मृत्यु हुने गरेको छ । यो सङ्ख्या नेपालको कूल मृत्युको करिब १५ प्रतिशत हो । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ । तैपनि राज्यमा मुलुकमा सुर्तिजन्य पदार्थलाई पूर्ण प्रतिबन्ध लगाउनुको वदला चुरोट खैनी लगायतका बट्टामा ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र छाप्नुपर्ने नियमकाे प्रपञ्च भइरहेकाे छ ।
सर्वोच्च अदालतले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने ) ऐन २०७६ र निर्देशिका २०७१ अनुसार ९० प्रतिशत चेतनामूलक र रङ्गिन चित्र कार्यन्वयनमा आउनुपर्ने आदेश दिएपछि अब अनिवार्य रुपमा कार्यन्वयनमा जानुपर्ने भएको छ ।
‘सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशका २०७१’ र सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने ) ऐन, २०७६ दुवै कानुनमा ९० प्रतिशत भागमा चेतनामूलक र सन्देशमुलक सामग्री राख्ने उल्लेख छ ।
चुरोट सुर्ती सेवन गर्ने मानिसमा हृदयघातकाे सम्भावना बढी हुने भएकाले नेपालमा सुर्तिजन्य पदार्थलाई पूर्ण प्रतिबन्ध लगाउनु पर्छ । सरकारले चाहने हाे भने यसाे गर्न संभव पनि छ । यसले मानव स्वास्थ्यका धेरै समस्या कम गराउन मद्दत मिल्छ । तैपनि नीति नियम र कानून तर्जुमा गर्नेहरुलाई यो तथ्यले अझै छुन सकेकाे छैन ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०७६ को दफा ९ मा उत्पादकले सुर्तीजन्य पदार्थको बट्टा, र्यापर्स, प्याकेट तथा पार्सलको प्याकेनिङ र लेबलको बाहिर कूल भागमध्ये कम्तिमा ९० प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्नेजस्ता व्यहोराको स्वास्थ्य मन्त्रालयले तोके बमोजिमका चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रङ्गिन चित्र प्रस्ट रुपमा बुझ्ने र देख्नेगरी नेपाली भाषामा छाप्नु तथा अङ्कित गर्नुपर्ने उल्लेख छ ।
हानिकार छ पनि भन्ने र व्यापार पनि गरिरहने यो तरिका सभ्य समाजका लागि आफैंमा नसुहाउने कार्य हो । तर सुर्ती चुराेटजस्ता हानिकारक पदार्थका उत्पादक कम्पनी नै मुलुकको अग्रणी करदाता भएकाले सरकारी नीतिनिमय देखावटी बन्न पुगेका हुन् ।
निर्देशिकामा दफा ४ मा चुरोटको बट्टा, प्याकेट र र्यापर्सको मुख्य माथिल्लो भागको अगाडि र पछाडि ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र राख्नुपर्ने अनिवार्य व्यवस्था रहेको थियो ।
चुरोटको बट्टा, प्याकेट र र्यापर्समा मुख्य भागमा ७० प्रतिशत चित्र र २० प्रतिशत चेतनामूलक सन्देश राख्ने निर्देशिकामा उल्लेख गरिए पनि उत्पादक कम्पनीले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ अनुसार नै बट्टामा ७५ प्रतिशत मात्र चेतनामूलक र घातक रङ्गिन चित्र राखी पछिल्लो निर्देशिका र ऐनअनुसार ९० प्रतिशत चेतनामूलक र घातक चित्र राखेका थिएनन् ।
विसं २०७२ जेठ १ गतेदेखि निर्देशिका र ऐनअनुसार ९० प्रतिशत चेतनामूलक र रङ्गिन चित्र कार्यान्वयनमा आउनुपर्ने उत्पादकले कार्यान्वयन नगरेपछि बाध्य भएर सर्वोच्च अदालतमा रिट दायर गर्नुपरेको थियो ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ को दफा ९ मा कूल भागको ७५ प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने चेतनामूलक सन्देश र सुर्तीजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रङ्गिन चित्र प्रस्ष्ट रुपमा बुझने र लेख्नेगरी नेपाली भाषामा छाप्नुपर्ने उल्लेख छ ।
कतिपयले विभिन्न अध्ययन अनुसन्धानलाई उधृत गर्दै चुरोटमा जति ठूलाो घातक चित्र भयो त्यति नै मानिस डराएर सुर्तीजन्य पदार्थको सेवन गर्दैनन् भन्ने पुष्टि भएको दावी गरेका छन् । तर घातक हो भन्ने जानिसकेपछ पनि ठूलाे चित्र छँदैछ भनेर बेचिरहनु आफैंमा विडम्बनापूरंण छ । त्यसैले सुर्तिजन्य पदार्थमा ७५ प्रतिशतको सट्टा ९० प्रतिशत चेतनामूलक र घातक चित्र राख्ने वित्तिकै मानिसले सेवन गर्न छाड्छन् भन्नु आफैंमा हास्यास्पद तर्क हो ।
चुरोट पिउने मानिसमा हृदयघात हुने सम्भावना बढी हुने गरेको छ। युवामा चुरोट सेवन गर्ने क्रम बढेको पाइन्छ । हृदयघात भएकामध्ये ६५ प्रतिशत चुरोट सेवन गर्नेहरू हुन्छन् । तीमध्ये ४० वर्ष उमेर समूहका व्यक्ति धेरै छन् । ४० वर्षभन्दा कम उमेरको व्यक्तिले चुरोट सेवन गर्छ भने उसलाई हृदयघात हुने सम्भावना नखानेको तुलनामा आठ गुणाले बढी हुने गर्दछ ।
हृदयघात ६० वर्षमाथिकामा हुने गरे पनि चुरोट खाने व्यक्तिमा भने ४० वर्षमुनि पनि हुने गरेको छ ऽ चुरोट सेवन गर्नाले युवावस्थामा नै हृदयघात हुने सङ्ख्या अत्यधिक बढदै गएको छ ।
यस्ताे अवस्थामा कानून र अदालत र सरकारी प्रक्रियाको चक्करमा सर्वराधारणलाई सुर्ती चुराेट खान दिइरहनुभन्दा यसमा पूर्ण प्रतिवन्ध लगाउनु नै सबैभन्दा श्रेयस्कर हुन्छ ।