काठमाडौँ- बूढानीलकण्ठ नगरपालिकाका विभिन्न सात स्थानमा ‘होमस्टे’ (घरबास सेवा) सञ्चालन गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न सम्भावित ७ स्थानमा ‘होमस्टे’ सञ्चालन गर्ने नगरपालिकाले नीति लिएको हो ।चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा नगरभित्रका वडा नं १ तौलुङ, ३ ठूलोगाउँ, ५ स्थित डाँडागाउँ, चिसिनी, लिपिकोट, ११ जगडोल र वडा नं १३ मा रहेको चुनिखेललगायत ठाउँमा ‘होमस्टे’ सञ्चालनका लागि स्थानीयलाई नगरले प्रोत्साहन गर्ने उल्लेख छ ।
नगरपालिकाभित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र व्यवसाय प्रर्वधनमा टेवा पुर्याउन नगरले ‘होमस्टे’ सञ्चालनको योजना ल्याएको नगर प्रमुख मीठाराम अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “होमस्टे सेवा नगरभित्रका केही ठाउँमा सञ्चालनमा आएका छन् । उहाँहरुलाई प्रोत्साहन गर्न र अन्य नयाँ स्थानमा सञ्चालन गरेर पर्यटक भित्र्याउन योजना अगाडि बढाएका हौँ ।”
बूढानीलकण्ठ सहरदेखि गाउँसम्म फैलिएको स्थानीय तह हो । यहाँका कतिपय ग्रामीण बस्तीमा ‘अर्गानिक’ (जैविक) उत्पादन पाइन्छ । ‘अर्गानिक’ परिकारको स्वादमा रम्ने र सहर नजिकैका गाउँघर घुम्नेको सङ्ख्या बढेको बुनपा–५ का वडासदस्य हेप्सिवा तामाङको भनाइ छ ।
नगर उपप्रमुख अनिता लामाले सञ्चालनमा रहेका विभिन्न व्यवसाय प्रवर्धन गर्नका लागि योजना अघि सारिएको बताउनुभयाे । उहाँले भन्नुभयो, “नगरभित्रका विभिन्न पर्यटकीयस्थलको प्रचार गर्न र रोजगारीको अवसर नगरभित्रै जुटाउन हामीले ‘होमस्टे’ अभियान अगाडि सारेका हौँ । होमस्टे सञ्चालनमा आएपछि स्थानीयको आम्दानीमा थप सहयोग पुग्ने विश्वास लिएका छौँ ।”
डाँडागाउँ तथा चिसिनीलगायतका ‘होमस्टे’ पुगेपछि त्यहाँको चिसो मौसमसँगै काठमाडौँको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । काठमाडौँको सुन्दरता हेर्दै सफा वातावरणमा विभिन्न स्थानीय परिकारसमेत पाइने हुँदा पर्यटकको आकर्षण बढ्न थालेको डाँडागाउँका ‘होमस्टे’ व्यवस्थापक दोर्जे तामाङको भनाइ छ ।
स्थानीयले सञ्चालन गर्ने ‘होमस्टे’ सेवा प्रवर्धनका लागि नगरपालिकाले समेत योजना ल्याएपछि व्यवसायी उत्साहित छन् । नगरले यस अभियान थालनी गर्ने भएपछि व्यवसायमा थप आम्दानी हुने विश्वास रहेको बूढानीलकण्ठ–५ डाँडागाउँमा होमस्टे सञ्चालन गर्दै आउनुभएकी देवकी तामाङ बताउनुहुन्छ ।
सहरभित्रका ग्रामीण क्षेत्र भ्रमणमा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहनसहनसहित घरघरमा खाने, बस्ने व्यवस्था ‘होमस्टे’ हो । यसलाई परम्परागत संस्कृतिको आधुनिक रुप पनि मान्न सकिन्छ । रासस