अल्जाइमर्स डिजिज इन्टरनेसनल (एडीआई) र विश्व स्वास्थ्य संगठनले सेम्टेम्बर २१ लाई विश्व अल्जाइमर्स सचेतना दिवसका रूपमा मनाउँदै आएका छन् । यो वर्ष पनि ‘अल्जाइमर्सबारे जानी राखौं, डिमेन्सियाबारे जानी राखौं (Know Alzheimers, Know Dementia) भन्ने नाराका साथ सेप्टेम्बर महिनाभर विभिन्न चेतनामूलक कार्यक्रमहरू गरिँदै छ । सेप्टेम्बर २१ लाई विश्व अल्जाइमर्स दिवस घोषणा गरिएको भए पनि धेरैभन्दा धेरै मानिसमा यो रोगबारे चेतना बढोस् भन्ने हेतुले महिनाभर विभिन्न कार्यक्रम गर्ने गरिएको छ ।
अल्जाइमर्स डिजिज इन्टरनेसनलको प्रतिवेन अनुसार संसारमा प्रत्येक ३ सेकेन्डमा एक जना यो रोगका रोगी थपिने गरेका छन् । भयावह रूप लिँदै गएकाले यो रोगबारे व्यापक चेतना जगाउन हरेक सचेत नागरिक, सामाजिक संघ संस्था, सरकार र सरोकारवाला निकाय सबैलाई आह्वान गरिएको छ । नेपालमा अल्जाइमर्स विस्मृति समाज र राष्ट्रिय मानव अधिकार आयोगले संयुक्त रूपमा विभिन्न चेतनामूलक अन्तरक्रिया कार्यक्रम राखेका छन् ।
विश्वबाट कोरोना त्रासदी हटिनसकेको र यो अझै कति समय रहने हो भन्ने यकिन नभएको अवस्थामा विस्मृति रोगबाट पीडित नागरिक झन् बढी जोखिममा पर्ने देखिन्छ । अल्जाइमर्सको अहिलेसम्म खोप त के निको हुने औषधि पनि बन्न सकेको छैन । त्यसैले यो ज्यादै चुनौतीपूर्ण र उपचार नहुने रोग हो ।
अल्जाइमर्सले मानिसको सम्झन सक्ने क्षमतामा बिस्तारै कमी गराउँदै लैजान्छ । स्मरणमा ह्रास आउँदै गर्दा उसको दैनिकी त प्रभावित हुन्छ नै समग्र शारीरिक, मानसिक र आध्यात्मिक क्षमतासमेत अवरुद्ध हुन पुग्छ । अल्जाइमर्सका अन्य लक्षण स्मरण शक्ति घट्दै जानु, बोल्दा सही शब्द चयन गर्न नसक्नु, सधैं प्रयोग गरिरहेको शब्दको पनि अर्थ लगाउन नसक्नु, व्यक्तिगत नियमित काम गर्न नसक्नु वा कठिनाइ हुनु, व्यक्तित्व परिवर्तन हुनु, सामान्य दैनिक कामका लागि पनि अरूमा भर पर्नु आदि हुन् ।
सुरुमा सामान्यजस्तो लाग्ने विस्मृति समस्या बिस्तारै पुराना कुरा सम्झने तर भर्खर भए–गरेका काम–कुरा बिर्सने लक्षणमा परिणत हुँदै जान्छ । पछिपछि गएर त यति धेरै बिर्सन्छ कि मुखमा राखेको खाना निल्नसमेत बिर्सेर बिरामीको मृत्यु हुने अवस्था आउन सक्छ ।
आफ्नो सर्टको टाँक लगाउन बिर्सने, सधैं हिँडेको बाटो बिर्सने, आफ्नै नजिकका नातागोताका मानिसलाई बिर्सने समस्या सामान्यजस्तै बन्दै जान्छन् । यस्ता रोगीहरूले आफ्नै छोराछोरी वा श्रीमतीलाई समेत बिर्सन्छन् । यस्तो अवस्थालाई डिमेन्सिया (बिर्सने रोग लागेको) भन्दछन् । हुन त डिमेन्सियाका धेरै कारण हुन सक्छन् । तीमध्ये ६५% भन्दा बढी अल्जाइमर्सका कारणले हुने कुरा विज्ञहरू बताउँछन् ।
हाम्रो समाजमा अहिलेसम्म पनि बिर्सने समस्या भनेको बुढ्यौलीको सामान्य प्रक्रिया हो भन्ने अन्धविश्वास छ । यस्तो अन्धविश्वासलाई चिर्नु अत्यन्तै आवश्यक छ । अन्य कारणले बिर्सनु एउटा यस्तो स्वास्थ्य समस्या हो जुन निको हुन सक्छ तर अल्जाइमर्सका कारण भएको विस्मृति र यसको कुप्रभावलाई ढिलो गराउनसम्म त सकिन्छ, निको पार्न सकिन्न ।
अल्जाइमर्स कसरी हुन्छ र यो के–के कारणले लाग्छ भन्नेबारे अझै पत्ता लागिसकेको छैन । तैपनि विज्ञहरूले मादकपदार्थको अत्यधिक सेवन, धूमपान, लागूऔषधको प्रयोग, उच्च रक्तचाप, मधुमेह, ब्रेन स्ट्रोक, डिप्रेसनजस्ता समस्याले यो रोगको जोखिम बढ्ने औंल्याएका छन् ।
विज्ञहरूले यो रोगका बिरामीलाई तीन मुख्य चरणमा बाँड्ने गरेका छन् ।
पहिलो चरण (२–४ वर्ष) : बिरामीमा बिर्सने क्रम बढ्दै जान्छ । दैनिक क्रियाकलापमा असर पर्न थाल्छ । सामान्य नामहरू बिर्सने हुन्छ । जस्तै तरकारीको नाम, खानेकुराहरूको नाम, दूध, रोटी आदि बिर्सने, अंकहरूको अर्थ बिर्सने, आफूलाई मन पर्ने र सुखद काम गर्न पनि रुचि नदेखाउने, समय अनुसार निर्णय लिन नसक्ने हुन्छ । एकोहोरो हुने वा कम बोल्ने हुन सक्छ ।
दोस्रो चरण (२–८ वर्ष) : यो चरणमा बिरामीले नजिकका परिवारजन तथा साथीभाइसमेत चिन्न सक्दैनन् । उनीहरूमा भौंतारिइरहने, भ्रम बढ्ने, व्यक्तित्वमा परिवर्तन आउने, दाँत माझ्ने, लुगाको टाँक लगाउनेजस्ता सामान्य दैनिक काम पनि पूरा गर्न नसक्ने, राति निदाउन नसक्ने र छटपटी हुने समस्याहरू देखा पर्छन् ।
तेस्रो चरण (१–३ वर्ष) : यो चरणमा भर्खर घटेका घटनाहरू पनि सम्झन नसक्ने, परिवारजन चिन्न नसक्ने, खाना खाएको वा नखाएको बिर्सने, नयाँ विषयवस्तु बुझ्न नसक्ने, शब्दहरूको प्रयोग गर्न नसक्ने हुन्छ । अर्थ नबुझ्नेजस्ता जटिलता बढ्छन् । संगीतले भने प्रभाव पार्न सक्छ । खाएको खाना निल्न गाह्रो हुने, आफैं नुहाउन नसक्ने, लुगा लगाउन नसक्ने, सफासुग्घर गर्न नसक्ने हुन्छ । अझै पछि भएपछि दिसापिसाब खुस्किएको पनि थाहा हुन छोड्छ । बर्बराइरहने हुन्छ ।
नेपालमा यो अल्जाइमर्सपीडितको संख्या करिब ७८ हजार (एडीआई प्रतिवेदन २०१५ अनुसार) भएको अनुमान छ । विश्वका १ सय ५ मुलुकका करिब १ सय २० अल्जाइमर्स एसोसिएसनले यो रोगबाट पीडित र तिनका स्याहारकर्ताको हितमा काम गरिरहेका छन् ।
विश्वमा हाल करिब ५ करोड ५० लाख मानिस अल्जाइमर्सबाट पीडित रहेको अनुमान छ । एडीआई प्रतिवेदन २०२२ का अनुसार सन् २०५० सम्ममा यो संख्या बढेर १३ करोड ९० लाख पुग्ने अनुमान छ । उल्लिखित संख्यामध्ये करिब ६८% पिछडिएका वा निम्न आय हुने मुलुकका हुने प्रक्षेपण गरिएको छ ।
विश्वका प्रत्येक तीन जना मानिसमध्ये दुई जनालाई यो रोगबारे जानकारी नभएको पाइन्छ । विश्वका ६२% स्वास्थ्य सेवामा संलग्न हुनेहरू नै डिमेन्सिया उमेरका कारणले हुने रोग हो भनेर विश्वास गर्छन् । यो रोगका लागि संसारमा हरेक वर्ष करिब १ ट्रिलियन अमेरिकी डलर खर्च हुने गरेको छ । सन् २०५० मा यो खर्च दोब्बरभन्दा पनि बढ्ने अनुमान गरिएको छ ।
अल्जाइमर्सबाट बच्न वा जोखिम न्यूनीकरण गर्न हरेक व्यक्तिले सकेसम्म शारीरिक र मानसिक रूपमा सक्रिय रहनु आवश्यक छ । मादकपदार्थ र धूमपानबाट टाढै रहनुपर्छ । सक्रिय जीवनशैली, सकारात्मक सोच, सन्तुलित भोजन, रक्तचाप र मधुमेहलाई सन्तुलनमा राख्नु नै अल्जाइमर्सबाट बच्ने सामान्य उपाय हुन् ।
दैनिक ध्यान, योग र प्राणायामले मानसिक स्वास्थ्य तन्दुरुस्त राख्न मद्दत पुग्छ । ज्येष्ठ नागरिकहरूले आफूलाई मानसिक रूपमा सक्रिय राख्न लुँडो, चेस, बागचाल आदि खेल्नु उपयुक्त हुन्छ । दिनहुँ कुनै न कुनै शारीरिक अभ्यास गर्ने र सामाजिक क्रियाकलापमा सहभागी हुने गर्नुपर्छ ।
अल्जाइमर्सपीडितको संख्या बढिरहेकाले हामीले स्याहारकर्तालाई कसरी सहज वातावरण दिने भन्नेमा पनि ध्यान पुर्याउनु उत्तिकै जरुरी छ । अहिले सम्पन्न परिवारले आफ्नो सहजताका लागि यो रोगबाट पीडितलाई वृद्धाश्रम वा स्याहार केन्द्रमा राख्ने गरेको पाइन्छ ।
यो रोगले रोगीलाई भन्दा रोगीको स्याहारकर्ता वा परिवारजनलाई बढी दुःख दिन्छ । किनकि रोगी आफैं त सबै कुरा बिर्सने नै हुन्छ । कोरोना, डेंगुजस्ता महामारीका रूपमा आउने रोगहरू यसैमाथि थपियो भने स्थिति झनै कष्टकर बन्न पुग्छ । अल्जाइमर्समा स्याहारकर्ताको विशेष भूमिका हुन्छ । रोगी कुन चरणमा छ, त्यस अनुसा स्याहारकर्ताको भूमिका पनि फरकफरक हुन्छ ।
पहिलो चरणका रोगीलाई स्याहारकर्ताले उसको अवस्था र बिर्सनुको कारण थाहा पाउनुपर्ने हुँदा उनीहरूलाई विज्ञ चिकित्सककहाँ जँचाउन लैजानुपर्छ । पीडितलाई भ्रम भएका विषयमा धेरै कुरा नगर्ने, सजिलै थाहा पाउने गरी उनीहरूका चाबी, फोन, चस्मा, घडी, क्यालेन्डरजस्ता सामान राखिदिने गर्नुपर्छ । उनीहरूलाई साथीभाइ, इष्टमित्र आदिसँग कुरा गर्न र गीत–संगीत, व्यायाम आदिमा प्रोत्साहित गर्नुपर्छ । सकभर एक्लो राख्नु हुँदैन ।
दोस्रो चरणका बिरामीका लागि स्याहारकर्ताले चिन्न सजिलो होस् भनेर उनीहरूका सामानमा नाम लेखेर सजिलै भेट्टाउने ठाउँमा राखिदिने, शौचालय बाथरुम उज्यालो राख्ने, हिँड्न सजिलो हुनेगरी रेलिङ राख्ने, बाथरुम, शौचालय, हिँड्ने बाटो चिप्लो नहुने अवस्थामा राख्ने, ढोकाहरू बाहिरबाटै खोल्न लगाउन मिल्ने बनाउने गर्नुपर्छ । प्रत्येक पटकका लागि चाहिने लुगाफाटो वा सामान छुट्टै तयार पारेर राखिदिनुपर्छ । दाँत माझ्ने, हात धुने लगायत साथ दिन सकिने काम आफूले पनि रोगीसँगै मिलेर गर्ने हो भने उनीहरूलाई अझ सहज हुन्छ ।
तेस्रो चरणका बिरामीको हेरचाह झनै कठिन हुन सक्छ । वृद्धाश्रममा राखिएको बिरामी हो भने उनीहरूसँग बारम्बार सम्पर्क गरिरहनुपर्छ । एक प्रकारको सञ्चार नबुझे फरक तरिकाको प्रयास गनुपर्छ । चिन्ने चिनाउने काममा फोटो, संगीतको प्रयोग गर्न सकिन्छ । भान्छा, बाथरुम प्रस्ट चिन्न सक्ने बनाउन उनीहरूले चिन्ने गरी रंगको प्रयोग गर्न सकिन्छ । यस्तो अवस्थामा पीडादायक परीक्षणहरू सकेसम्म घटाउनुपर्छ ।
विस्मृति रोग लागेका बिरामीबारे जानकारी छ भने बेलैमा जँचाउन प्रेरित गरौं । मद्दत गरौं । किनभने करिब ३५% बिर्सने समस्या अल्जाइमर्स नहुन पनि सक्छ । अल्जाइमर्सबारे थप जानकारी चाहिएमा अल्जाइमर्स विस्मृति समाज नेपाल, नयाँ बानेश्वरमा ९८५११५५२२० वा [email protected] मा सम्पर्क गरौं ।