हामी काठमाडौं विश्वविद्यालयका प्राध्यापक हौं जो यतिबेला नेपालको प्राज्ञिक अवस्था खस्किंदै गएकाप्रति चिन्तित छौं । त्रिभुवन विश्वविद्यालयमा लगातारको तालाबन्दीले पधाधिकारीलाई काम गर्ने वातावरण छैन । राजनैतिक संघ संगठनको चलखेलले यस्तो अवस्था सिर्जना गरेको छ । त्यहाँ नियुक्त भएका सबै प्राध्यापक नराम्रा होइनन् तर विश्वविद्यालय व्यवस्थापनै गर्न नसकिने अवस्थामा पुगेको छ ।
एक त त्रिभुवन विश्वविद्यालय आफैंमा ठूलो छ । त्यसमाथि अनेक प्रकारका संघ संगठन र त्यसभित्र रहेका गुटउपगुटको राजनैतिक हस्तक्षेपल मुलुकको जेठो विश्वविद्यालयमा काम गर्ने राम्रो वातावरण छैन । पूर्वाञ्चल, संस्कृत लगायतका विश्वविद्यालयको हालत उस्तै छ । नेपाल संस्कृत विश्वविद्यालयमा त ज्यान मार्ने धम्की समेतको अवस्था आएको थियो । अरू विश्वविद्यालयले पनि त्यही लय समात्दै जान थालेको देखिन्छ ।
राजनीतिक हस्तक्षेपकै कारण प्राज्ञिक योग्यता र क्षमता ओझेलमा परेको छ । एउटा तहमा योग्यता र उत्कृष्टतालाई मानिएन भने उच्च शिक्षा चल्दैन । उत्कृष्टता र योग्यतालाई मान्ने अब्बल प्राध्यापक, विश्वविद्यालयको हितमा काम गर्न सक्ने, राजनीतीबाट निरपेक्ष व्यक्ति नेतृत्वमा नआएसम्म विश्वविद्यालय सुध्रन सक्दैन ।
काठमाडौँ विश्वविद्यालय विगतमा राजनीतिक हस्तक्षेपमुक्त रहँदा यसले तुलनात्मक रूपमा आफ्नो साख उँचो राख्दै आएको थियो । तर यही एउटा संस्था पनि पछिल्लो समय राजनीतिक हस्तक्षेपमुक्त रहन सकेन । भर्खरै राजनीतिक प्रभावमै अच्युत वाग्लेलाई रजिष्ट्रार नियुक्त गरिएको छ जसको प्राज्ञिक अनुभव एकदमै कम छ । सन् २०१७ तिर मात्र पिएचडी सकेका वाग्ले नियमित प्रक्रियाबाट हो भने बल्ल सहायक प्राध्यापक हुने बेला भएको छ ।
उनले खासै अनुसन्धानात्मक लेखहरू प्रकाशन गरेका छैनन् । दैनिक अखबारहरूमा लेख्नु र राम्रो श्रेणीका जर्नलहरूमा लेख्नुमा फरक हुन्छ । स्रोत पर्यवेक्षण नगरेको व्यक्ति जसको पठन पाठनको उत्कृष्टता पनि खासै छैन, त्यस्तालाई जिम्मेवारी दिइएको छ । यस हिसाबले काठमाडौं विश्वविद्यालयमा लामो समयदेखि योगदान दिइरहेको प्राध्यापकका हैसियतले हामीले आपत्ति जनाएका हौं ।
उनको काम गर्ने शैली र पर्फर्मेन्स त हेर्न बाँकी नै छ । यहाँ भित्रकै उपयुक्त प्राध्यापकलाई नेतृत्व दिनुपर्ने थियो त्यो नदिएर लामो समयदेखि अनुभव बटुलेकाहरूलाई पछाडी पारिएको छ । वाग्लेलाई एडीएस इन्डेक्समा पनि कतै भेट्न सकिँदैन जबकि पूर्व रजिष्ट्रार पहिलो नम्बरमा पर्नुहुन्थ्यो ।
प्रधानमन्त्रीको सल्लाहाकार वा कुनै पार्टीको केन्द्रीय विभागमा भएको आधारमा नेतृत्वमा आउनु काठमाडौँ विश्वविद्यालयका लागि एकदमै डरलाग्दो कुरो हो । व्यक्तिगत हिसावले जे जसो भएपनि व्यवसायिक हिसाबले यो एकदमै गलत कुरा हो ।
काठमाडौ विश्वविद्यालयमा दुई प्रकारबाट प्राध्यापक नियुक्त हुन्छन् । नियमित प्रकृयाबाट प्रतिस्पर्धी प्रणाली अनुसार नियुक्त हुने एउटा तरिका हो भने अर्काे सम्झौताबाट ल्याईने प्राध्यापक हुन्छन् । हाल नेतृत्वमा ल्याइएका रजिष्ट्रार सम्झौताको आधारमा आएका हुन् ।
विश्वविद्यालयमा काम गरेर अब्बल सावित भएकोलाई हामी प्राध्यापक भन्छौं । तर अहिले त प्राध्यापक हुने निश्चित प्रकृया पनि नपुगेको मान्छे रजिष्ट्रारको पदमा देख्न पर्ने अवस्था आएको छ । पिएचडी सकेको अवधिलाई नै हेर्ने हो भने पनि उनी बल्ल सहायक प्राध्यापक हुने बेला भएको छ । छनोट समितिबाट प्राध्यापक भएकै होइनन् ।
यसो भन्दै गर्दा छोटो समयमै कसैले प्रगति गर्नै नसक्ने र त्यति ठूलो नेतृत्वमा पुग्नै नसक्ने भन्ने होईन । तर उनले त पछि आएपनि अब्बल क्षमता प्रदर्शन गर्ने, स्रोत पर्यवेक्षण गर्नेजस्ता केही गरेको देखिँदैन ।
नियमित प्रकृयाबाट आएका, अनुसन्धानात्मक लेख लेख्ने, स्रोत जुटाउने दक्ष प्राध्यापक पनि काठमाडौँ विश्वविद्यालयमा नभएका होईनन् । दक्ष हुँदा–हुँदै पनि राजनीतिक हस्तक्षेपका कारण उहाँहरूलाई पछाडी पारेर ‘राम्रालाई नभई हाम्रालाई’ ल्याइनु दुर्भाग्यपूर्ण छ ।
प्राज्ञिक जगत्, शिक्षाविद् र सचेत वर्गले यस्ता हस्तक्षेप घटाउन निरन्तर आवाज उठाउनु पर्छ । हामीले आफूले पनि आफ्नो काम अब्बल हिसावले देखाउनु पर्छ र यस्ता गलत कामलाई पनि चुनौती दिइनै रहनु पर्छ । विरोधका नाममा हामी बन्द हड्तालतिर जान हुँदैन । प्रणालीमा बसेर आवाज उठाईराख्नु पर्ने हुन्छ । राजनीतितक पार्टीका व्यक्तिलाई पनि समय–समयमा राम्रो काम होईन भनेर घच्घचाउन जरूरी छ ।
विश्वविद्यालयमा विभिन्न व्यक्ति विभिन्न पृष्ठभूमिबाट आउन सक्छन् । आफ्नो क्षेत्रमा अब्बल सावित भएको र प्राज्ञिक योग्यता पुगेको व्यक्ति आउनु अस्वभाविक भएन । तर कसैको सल्लाहाकार अथवा केन्द्रीय सदस्य विश्वविद्यालयजस्तो संस्थामा स्थापित पृष्ठभूमी पक्कै होईन । काठमाडौँ विश्वविद्यालय यस्तो संस्था हो जसले राज्यलाई संस्था यसरी चलाउनु पर्छ भनेर उदारहण दिईरहेको हुन्छ । त्यही ठाँउमा असक्षम ब्यक्ति ल्याएर राख्नु एकदमै लज्जास्पद कुरा हो ।
हामी यसविरुद्ध सधैँ शान्तिपूर्ण ढंगले आवाज उठाईरहने छौँ । किनभने रणीैतिक तहमा यसरी व्यक्ति भित्र्याउने प्रकृयाले भोलिका दिनमा यही लहरले निरन्तरता पाउन सक्छ । आज कांग्रेसले ल्यायो । भोली एमालेले ल्याउला । यसको निरन्तर बिरोध नै हुनेछ । कुनै राजनैतिक पार्टीले यो ढंगले काम गर्दा सहने पक्ष हुँदैन ।
लोकतन्त्रमा संस्थाहरूलाई निष्पक्ष र स्वतन्त्र ढंगले चल्न दिने हो भने मात्र ती टिकाउ हुन्छन् । यसरी भएकै तटस्थ संस्थालाई पनि राजनीतिक भर्तिकेन्द्र जस्तो गरेर कमजोर बनाएपछि कसरी बच्छन् ? काठमाडौं विश्वविद्यालय कम्तिमा अरू विश्वविद्यालयकै जस्तो हालतमा नपुगोस् भन्ने हाम्रो चाहना हो । यस्तै तरिकाबाट जुनसुकै पार्टीका पदाधिकारी आए पनि हाम्रो निरन्तर विरोध रहन्छ ।
(यी विचार राजनीतिमुक्त- काठमाडाैं विश्वविद्यालयका पक्षधर केही प्राध्यापकका अभिव्यक्ति हुन् । विश्वविद्यालयमा अनावश्यक आरोप–प्रत्यारोपको शृंखला सुरू हुनसक्ने भन्दै उनीहरूले आफ्नो नाम भने खुलाउन चाहेनन् ।)