एक हजार वर्षभन्दा बढी समयदेखि कर्णाली प्रदेशका अभिलेखमै जीवित र अभिलेखमा लेख्य स्तर प्राप्त गर्नुपूर्व लोकजिब्रोमा प्रचलित खस भाषा विकासको अध्ययन अझै राम्ररी हुन सकिरहेको छैन । आजभन्दा तेइस सय वर्षपूर्वका पाटलीपुत्रका राजा विन्दुसारको मृत्युपछि उनका छोरा अशोकलाई राज्यको उत्तराधिकारी बनाइयो ।
त्यतिबेला पश्चिम नेपालका खसहरूले सहयोग गरेको लामा तारानाथको ‘बुद्ध धर्मको इतिहासको परिशिष्टका’ ‘दिव्यावदान’ र ‘अशोकावदान’ मा उल्लेख छ । यसले पश्चिम नेपालका खसहरूको त्यति बेलैबाट भारतका तत्कालीन शक्तिशाली राज्य र तिनका शासक एवं सभ्यता र संस्कृतिसँग व्यवहार भएको सङ्केत मिल्छ । यहाँको भाषा र संस्कृतिमा पाइने पुरावशेषहरूले पनि यसको पुष्टि गर्न सघाउँछन् ।
त्यसो त आज खस जातिकै सम्बन्धमा पनि मतैक्य देखिँदैन । युराल पर्वतको दक्षिणमा बस्ने खस महाजाति इरान हुँदै भारतका सिन्धु र गंगा नदी बीचको मैदानी भागमा फैलिएर वेदलाई ऋचाबद्ध लेखन गर्नुपूर्व भारतका कश्मीर, उत्तराञ्चल तथा पश्चिम नेपाल हुँदै तिब्बतसम्म फैलिएको शाखा नै खस हो । यसलाई आगन्तुक नभएर पामिर परिसरकै भनिएको छ ।
वेद निर्माण हुनुपूर्व फाटेकाले वैदिक संस्कार नभएको हुँदा उनीहरू ‘अवैदिक आर्य’ भनिए । पछि दक्षिणतिरबाट आएका वैदिक आर्यहरूसँगको भेट र संसर्गबाट वैदिक संस्कार ग्रहण गरे । कतिपय अझै वैदिक संस्काररहित नै छन् । खस भाषाको उत्पत्तिगत साइनो त्यो सांस्कृतिक परिघटनासँग पनि जोडिएको हुन सक्छ । यस जातिले प्रयोग गर्ने भाषा र संस्कृतिको इतिहासको सिलसिलेवार अध्ययन अझै हुन सकेको छैन ।
खस भाषाका आज उपलब्ध अभिलेखहरू पूर्व मध्यकालको आरम्भतिरका मात्र छन् । योगी नरहरिनाथले खोजेर वि.सं. २०१३ तिर इतिहास प्रकाश भाग–१ मा प्रकाशित एउटा शिलालेखलाई पूर्णप्रकाश नेपाल ‘यात्री’ ले योगीको भन्दा भिन्न पठन गरे । यात्रीले त्यसलाई शाके ९०३ मा अभिलिखित दामुपाल सउँपाल अढैको भन्दै नेपाली भाषाको पहिलो शिलालेखका रूपमा प्रस्तुत गरे ।
यसलाई भाषाशास्त्री बालकृष्ण पोखरेल, समालोचक वासुदेव त्रिपाठी र भाषासेवी कमल दीक्षितसहितले सहर्ष स्वीकार गर्दै नेपाली भाषाका पाँच सय वर्षको अग्रपृष्ठमा स्थान दिए । पछि इतिहासकार सूर्यमणि अधिकारीले त्यसको भिन्न पठन गर्दै यात्रीको अभिमतको खण्डन गरे । उनले यो नेपाली भाषाको पहिलो शिलालेख होइन भन्ने आफ्नो मत प्रस्तुत गरे ।
सूर्यमणि अधिकारी कुनै आधिकारिक लिपिविज्ञ र भाषाशास्त्री थिएनन् । त्यसैले उनको भनाइमा शतप्रतिशत विश्वास गरिएन । भाषाशास्त्री माधवप्रसाद पोखरेलले लिपिसम्बन्धी केही भारतीय पुस्तकको सहयोग लिँदै उक्त शिलालेखको लिपि र भाषा पुनर्गठन गरे । यसबाट उक्त शिलालेख नेपाली भाषाको पहिलो होइन भन्ने सबैमा पर्यो । पूर्णप्रकाश नेपाल ‘यात्री’ को कार्यमाथिको विश्वास पनि घट्न गयो ।
सूर्यमणि अधिकारी इतिहासकार भए पनि उनले इतिहासका दृष्टिले उक्त शिलाभिलेखको काल निर्णय गर्न सकेनन् । उनले उक्त शिलालेखमा दुई स्थानमा देखिने ‘पाल’ शब्दले सङ्केत गर्ने यस क्षेत्रका पालहरूका ऐतिहासिकताको निरुपण गर्नुपर्ने थियो । त्यसमा उल्लिखित दामुपाल र साउपालमध्ये कुनैलाई पनि पाल पढेनन् । यहाँका पालहरू बंगालतिरका आठौं–नवौं शताब्दीका पाल हुन् वा पृथ्वी मल्ल, पुण्य मल्लका पुर्खाका हुन् अथवा छुट्टै हुन्, स्पष्ट गर्नुपथ्र्यो । ती पालहरूको वंशावली खोजेर उक्त वंशावलीको वृक्षरेखामा दामुपाल, सउपालको स्थान निर्धारण गरी काल निर्णय गर्न सक्नुपथ्र्यो । त्यसो हुन सकेन ।
भाषाशास्त्री माधवप्रसाद पोखरेल भाषा विज्ञानका विद्वान् भए पनि उनको पठनमाथि पछि कुनै लिपिविज्ञ वा शिलालेखको काल निर्धारित गर्ने प्रविधि भित्रिएको दिन प्रश्न नउठ्ला भन्न सकिन्न । त्यसलाई भविष्यकै जिम्मा दिऊँ । अहिलेका लागि कम्तीमा ती शिलाभिलेखका साथै त्यहाँका भाषाको ऐतिहासिकतालाई भाषा विज्ञानको भाषिक पुनर्निर्माण पद्धतिद्वारा तिनको प्राचीनता पहिल्याउनु आवश्यक छ । त्यो भाषा कति समय लोकको कथ्य प्रचलनमा रही कति समयको विकासपश्चात् अभिलेखीय स्तरमा उक्लियो पत्ता लगाउनुपर्छ । किनकि अभिलेखमा लेखिएकै दिनमा त पक्कै त्यो भाषाको उत्पत्ति भएको होइन ।
आज हामी सबै उपनिवेशकालीन भारतमा आएर भारतीय र अझै दक्षिण एसियाकै भाषिक सर्वेक्षण र अध्ययन गर्ने ग्रियर्सन आदि अंग्रेज भाषा–अध्येताका अध्ययन र त्यस आधारमा भनेका कुरामाथि मात्र सहीछाप लगाइरहेका छौं । के त्यसबाहेकको प्रश्नसम्म गर्न सक्ने स्थिति नेपाल–भारतबाटै हुन सक्दैन ? के हामी नव्य भारतीय आर्य भाषाहरू एघारौं शताब्दीमै जन्मनु सम्भव छ कि छैन भन्नेबारे पनि तर्क गर्न सक्दैनौं ?
भारतमा बेलाबेलामा सरकारी स्तरबाटै भाषिक सर्वेक्षण र अध्ययन गर्ने काम भएको देखिन्छ । सन् २०१० मै पनि ३५०० स्वयंसेवक र २००० भाषाविद्ले उक्त कार्य गरेका थिए ।
यी उपल्लो स्तरका भाषा विज्ञानको सैद्धान्तिक कुरालाई छोडेर यस क्षेत्रमा आज पनि प्रचलनमै रहेका शब्दहरूको अर्थ बुझाइमा पनि बाहिरबाट आएर अध्ययन गर्नेहरूमा भिन्नता देखिन्छ । वल्लो खोला, पल्लो खोला र वल्लो डाँडा, पल्लो डाँडा बोलीको अर्थमा फरक पर्नाले यहीँकै पनि अलि वरपरका आगन्तुक अध्येताहरूका अर्थबोधमा फरक परेको देखिन्छ ।
कर्णाली प्रदेशको भूगोल, यहाँको आञ्चलिक रङ, गन्ध वा वस्तुगत परिस्थिति, मानव र यससँग सम्बन्धित सांस्कृतिक पृष्ठभूमि र यसका वृक्ष, वनस्पति आदिको बुझाइमा पनि बाहिरबाट आएर सामान्य सर्वेक्षण, पर्यवेक्षण गर्ने स्वदेशी विदेशी अध्येताहरूका लेखनमा भिन्नता देखिन्छ ।
यस ठाउँमा आउँदै नआएर मावली भएका नाताले सुनेका भरमा नाट्य सम्राट् बालकृष्ण समले वि.सं. १९८६ मा प्रकाशित ‘मुटुको व्यथा’ मा जुम्लामा आँप खाएको, ऐंसेलुका रूखमा पिङ हालेर खेलेको, ऐंसेलुका रूखमा चढेर ऐंसेलु टिपेर खाएको कुरा लेख्नुलाई अस्वाभाविक नमानिएला । तर भाषा, संस्कृतिकै अध्येताबाट पनि त्यस्तो हुन कसरी सुहाउला ?
बाह्र वर्ष नेपालभर यायावर जीवन बिताएका पूर्णप्रकाश नेपाल ‘यात्री’ले ‘भेरीका गाँउघर’, ‘भेरी लोक साहित्य’, ‘राउटे लोकजीवन’ आदि कृतिहरूका साथै सिजापतीबाला महाकाव्य लेखे । यो महाकाव्यको आलम्बन दैलेखकै उमतिरकी कुनै ग्रामबालालाई मात्र नभएर नेपाली भाषालाई नै प्रतीकात्मक रूपमा प्रस्तुत गरे । उनैले यसै ठाउँका राम्ररी नबुझेका कुनै एक सूचकका आधारमा अथ्र्याउँदा भेरी लोक साहित्यमा ‘सुना भुरुल्ली’को अर्थ फरक पर्न गएको छ ।
नेपाल राजकीय प्रज्ञा प्रतिठानले आफ्नो समयका प्रतिष्ठ विद्वान्हरूद्वारा लेखाएको नेपाली बृहत् शब्दकोश (२०४६) मा पनि यस क्षेत्रका कतिपय शब्दको अर्थ अनर्थ हुनेगरी सूचीकृत छ । तीमध्ये एक–दुई उदाहरणमा धमारी, सौराहजस्ता शब्द पर्दछन् । यस क्षेत्रमा विशेषतः देवीदेवतासँग सम्बद्ध पवित्र गीतहरूलाई बुझाउने धमारी शब्दको अर्थ (१) उधुम मच्चाउने क्रिया–प्रक्रिया, (२)उपद्रो, उत्पात, (३) नचाहिँदोसँग चलाचल र खेलद्वारा धुमचक्र मच्चाउने काम (त्रिपाठी र अन्य, २०४०ः६८४) उल्लेख छ ।
त्यस्तै यस क्षेत्रमा अत्यन्त गाढा मायालाई बुझाउने ‘सौराह’ शब्दको अर्थ प्रस्तुत शब्दकोशमा स्मरण, सम्झना, सम्झना गराइ (त्रिपाठी, २०४०ः१३७९) दिइएको छ । यो शब्द वर्तमान सातौं प्रदेशका पहाडी जनजीवनका साथै कुमाउनीमा समेत कतै ‘सौँराह’ कतै ‘सउँरठी’ का रूपमा प्रचलित देखिन्छ । सुदूरपश्चिम र कुमाउनीमा पनि कतै कतै सम्झनाको अर्थ दिने गरी प्रयोग गरिएको पाइए पनि प्रायः सबैतिर यसको अर्थ अतल गहिराइयुक्त गाढा मायाकै अर्थमा प्रयोग भएको छ ।
प्रज्ञा प्रतिष्ठानले मात्र होइन जुम्लामै पुगेर जुम्ली भाषिकामै विद्यावारिधि गरी लेखिएको भाषा अन्वेषक रामविक्रम सिजापतिको ‘केन्द्रीय नेपाली भाषिकाहरू’ (२०४१) नामक पुस्तकमा पनि सौराँहको अर्थ सम्झना नै दिइएको छ । त्यसमा त अंग्रेजी स्थानापन्न remembrance पनि दिइएको छ । (सिजापति, २०४१ः५३)।
उनकै २०५४ मा प्रकाशित ‘वैतडेली भाषिका शब्द संग्रह’ मा त सौराँहको अर्थ सुर्ता र अंग्रेजीमा anxiety/care/grief। (सिजापति, २०५४ः२५) दिइएको छ । दैलेखको दहका साहित्यकार लालबहादुर खत्रीले त्यस क्षेत्रका प्रसिद्ध न्याउला गीतको लयमा ‘सौँराह लागी राइसुवाकी’ नामक गीति काव्य लेखे । प्रस्तुत शीर्षकका वाक्यांशको अर्थ ‘राइसुवाकी माया लाग्यो’ भने । प्रज्ञा प्रतिष्ठान वा रामविक्रमले अर्थ लगाउँदा ‘राइसुवाको सम्झना लाग्यो’ भन्नुपर्ने हुन्छ । जबकि राइसुवाको सम्झना आयो हुन्छ, लाग्यो हुँदैन ।
आजको उपभोक्तावादी बजारमा यस क्षेत्रको अशिक्षा, गरिबी, पछौटेपन, द्वन्द्व आदि समस्या बिकाउ वस्तु सहर हुन गएका छन् । तिनलाई अलिकति काँटछाँट गरेर जसजसले प्रस्तुत गर्न सक्छ, चर्चा, परिचर्चा, विज्ञापन वा पुरस्कार जिप्ट्याउने उसैले हो । त्यसैले आजका थुप्रै पर्यटक लेखकहरू यस क्षेत्रमा यसो केही दिन भ्रमण गर्छन् र देखेका सतहका कुरालाई अतिरञ्जित गरेर लेखिदिन्छन् ।
देवीचन्द्र श्रेष्ठ आदि केहीका लेखनलाई छोडेर ती सबमा लेखनका भित्र पसेर खोतल्दा ती प्रायः खोक्रा लाग्छन् । अझ यसै स्थानका अनुभव, अनुभूति र यहीका आँखाले यहाँको सांस्कृतिक पृष्ठभूमि र वस्तुगत परिस्थिति सापेक्ष पर्गेल्दा त्यहाँ त्यस्ता थुप्रै त्रुटिभेद फेला पर्ने गर्छन् । तिनको पुनर्अध्ययन र समीक्षा आवश्यक छ । भाषाका सम्बन्धमा झनै अन्योल र अराजकता छ । जसले जे भने पनि हुने, जे गरे पनि हुने स्थिति छ ।
समग्रमा भन्नुपर्दा कर्णाली प्रदेश भाषा, संस्कृति, मानवशास्त्र, समाजशास्त्र तथा इतिहास, पुरातत्त्व आदि दृष्टिले अत्यन्त महत्त्वपूर्ण भण्डारका रूपमा छ । भाषाका दृष्टिले नेपालीको वर्चस्व भए पनि मगर, काइके, खाम, राजी बदी भोटबर्मेली परिवारका भाषाभाषी राम्रै संख्यामा छन् । साढे पाँच दर्जन जति भाषाका वक्ता रहेको यस परदेशमा कतिपय भाषाको सूचीकरण छुटेको छ । कतिपय खस नेपालीकै भेदहरूलाई अलग भाषामा सूचीकरण गरिएको छ । जसरी भए पनि नेपाली भाषाका वक्ताको प्रतिशतलाई घटाएर कम देखाउने र कमजोर पार्ने स्थिति सिर्जना भएको छ ।
खस, नेपाली र यसका भेदका विषयमा एकत्व सिर्जना गर्न त्यसका वक्ताका बीचको भ्रम निवारण गर्नुपर्ने आजको आवश्यकता हो । खस नेपाली र अन्य राष्ट्रिय भाषा तथा तिनका वक्ताका बीच आपसमा स्नेह, सद्भाव र सम्मानको भावना जागृत गर्नु पनि उत्तिकै जरुरी छ । ती सबै भाषाका वक्ताका बीचमा बहुभाषिक सङ्गोष्ठी गर्दै तिनका व्याकरण, शब्दकोश र साहित्य लेखनका कार्यलाई अगाडि बढाउने हो भने मात्र यहाँका भाषाको सही संरक्षण र संवद्र्धन हुन सक्नेछ ।