आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्म सूर्य कन्या राशिमा छँदा सोह्रश्राद्ध गर्ने शास्त्रीय परम्परा छ । यो समयमा आफ्ना समस्त पितृहरूको श्राद्ध गर्नाले उनीहरू मुक्त हुन्छन् भन्ने मान्यता छ । श्राद्ध गर्नाले पितृहरूले आशिर्वाद दिन्छन् । गृहस्थाश्रमीहरूलाई कल्याण गर्छन्, कार्य सफल हुन्छ, ऐश्वर्य प्राप्त हुन्छ भन्ने पुराणहरूमा उल्लेख छ ।
श्राद्धकर्म अर्थात् पितृयज्ञ वेदसम्मत छ । यो कुनै व्यक्ति वा समूहले चलाएको चलन मात्र होइन । पूर्वीय दर्शनको चुरो पुनर्जन्म यसैसँग गाँसिएको छ ।
संसारमा जन्म लिएका हामी सबैको मृत्यु हुन्छ । जब हाम्रो मृत्यु हुन्छ, अहिले आँखाले देखिरहेको शरीर (स्थूल शरीर) निस्क्रिय बन्छ । स्थूल शरीर पञ्चमहाभूतकृत सुखदुखादि भाेगायतन शरीर हो । मर्नु (स्थूल शरीर निस्क्रिय हुनु) भनेको पञ्चमहाभूतले बनेको शरीरले काम गर्न छोड्नु हो । त्यतिबेला पनि सूक्ष्म शरीरको अस्तित्व कायमै रहन्छ ।
स्थूल शरीर भएका हामीले सूक्ष्म शरीर भएका पितृहरूलाई चर्मचक्षुले देख्न सक्तैनौँ । ‘पश्यन्ति ज्ञानचक्षुषः’ (गीता १५।२०) ज्ञानचक्षु भएका व्यक्तिले देख्न पनि सक्छन् ।
मृत्युपछिको सूक्ष्म शरीरले पनि स्थूल शरीरलेझैं हरेक चाहना राख्छ तर उपभोग गर्न असमर्थ हुन्छ । सूक्ष्म शरीरधारी आफैं अक्षम हुने भएकैले उसका निम्ति स्थूल शरीरधारी सन्ततिहरूले ‘कार्य’ गरिदिनु परेको हो । दिवंगत प्राणीको उपभोग गर्ने चाहना पूर्ति हुन सकोस् भनेर श्राद्ध गर्नु परेको हो ।
श्राद्ध विभिन्न प्रकारका हुन्छन् । प्रायः सामान्य गृहस्थहरूले बुझ्ने र गर्ने श्राद्ध दुई प्रकारका छन्– मृत्यु तिथिमा गरिने एकोदिष्ट श्राद्ध र शरद ऋतु, आश्विन महिनाको पितृपक्षमा गरिने पार्वण श्राद्ध वा महालय श्राद्ध । एकोदिष्ट श्राद्धमा मुख्यतः तर्पण र पिण्डदान सम्बन्धित पितृलाई मात्र गरिन्छ । पार्वण श्राद्धमा आफ्ना दिवंगत समस्त पितृलाई तर्पण र पिण्डान गरिन्छ । त्यसैले पार्वण श्राद्धको विशेष महत्व छ । तर्पण र पिण्डदानद्वारा समस्त पितृको उद्धार गरिने हुनाले यसलाई ठूलो पुण्यकार्य मानिएको छ ।
हाम्रो धर्मसंस्कार अनुसार पितृशक्ति पनि ईश्वरीयजस्तै विशेष शक्ति हो । त्यसैले पितृ देवो भवः भनिएको हो । पितृकार्य यज्ञ नै हो तापनि देवयज्ञ र पितृयज्ञमा फरक छ । देवशक्तिको तुलनामा पितृशक्ति सीमित हुन्छ । आफ्ना सन्तानसम्म मात्रै त्यो शक्तिको अन्तरक्रिया हुन्छ । यसलाई तर्पण, पिण्डदान जस्ता सत्कार्यद्वारा व्यवस्थित गर्नुपर्ने विधि छ ।
शास्त्रोक्त विधिअनुसार पूजा गर्न सकिएन भने मनले सम्झेर मात्र पनि देव शक्तिको नजिक पुग्न सकिन्छ । देवयज्ञ गरिएन भने फल पाइन्न तर ब्रह्माण्डको नियम अनुसार सबै प्राणीले पाउने यथाफल पाइन्छ । पितृलाई त्यसो गरेर मात्र पुग्दैन, वैदिक मन्त्रको शुद्ध उच्चारण र विधि अनुसारै गर्नुपर्छ । तर्पण र पिण्ड दान वैदिक विधि अनुसार गर्नै पर्छ ।
मान्छेलाई जन्मसँगै प्रकृतिका अनेक रूप र स्वरूपसँग अनेक अन्तरक्रिया गरिरहनुपर्छ । समाजसँग पनि अनेकौं कार्यव्यवहार गरिरहनुपर्छ । कार्यव्यवहारका क्रममा मानिस कहिले खुसी हुन्छ, कहिले रिसाउँछ । केही प्राप्ति गरेर मनलाई प्रफुल्लित बनाउने र गुमाउँदा दुःखी बन्ने क्रम चलिरहन्छ । अनेक व्यवहार गर्ने, सोच्ने, योजना बनाउने क्रम जीवनभर चलिरहन्छ ।
जब मान्छे मर्छ, भौतिक जीवन समाप्त हुन्छ । जिउँदो छँदा सोचिएका, गरिएका कामले मनमा दिने सकारात्मक, नकारात्मक प्रभाव मानिसको दैनिकीको प्रभाव सपनामा परेजस्तै मृत्युपछिको आत्मासँग सँगै जान्छन् । तिनै कार्यप्रभाव अनुसारको सूक्ष्म शरीर बन्न जान्छ । यो तथ्यलाई गीताको चौधौं अध्यायमा यसरी भनिएको छ– रजसी प्रलयं गत्वा कर्मसंगिषु जायते । तथा प्रलीनस्तमसिमूढयोनिषु जायते ।
अर्थात् मृत्युपछि मान्छेको सूक्ष्म जिउँदो छँदा आफूलाई मानव र प्रकृतिसँग उच्च व्यवहार गरेर शुद्ध र मुक्त राख्न सकेको छ भने सूक्ष्म शरीरसहितको आत्मा मुक्त अवस्थामा पुग्छ । मध्यम खालको अर्थात् रजो गुणमा रमाएका मानिस मरेपछि सकाम कर्मयुक्त शरीर प्राप्त गर्छन् । प्रकृति र मानव तथा समस्त प्राणीप्रति दुव्र्यवहार, लोभ, लालच, मद, मात्सर्यमा भुलेको वा तामसी व्यवहार गरेको छ भने त्यस्तो व्यक्ति मरेपछि मूढ अवस्थामा भड्किरहन्छ । त्यस्तो मूढ विचारसहितको आत्मा अर्थात् आत्मिक रूपमा अशुद्ध शक्ति जिउँदो छँदा लामो समय माया र भरोसा गरेका आफ्ना सन्तानको नजिक आइरहन्छ । यो वेद, पुराण तथा गीताको निष्कर्ष हो ।
मान्छेले दिनभर जस्तो काम गर्छ, पहिलेदेखि जस्तो चाहना राखेको छ त्यस्तै सपना देख्छ । मृत्यु एक प्रकारको लामो निद्रा भएकाले पहिले गरेका काम अनुसार सूक्ष्म शरीर धारण गरेर भोग्नु स्वाभाविक हो ।
अतृप्त आत्मालाई तर्पण र पिण्डदानद्वारा तृप्त पार्न सकिने वैदिक मान्यता हो । यो मन र भावको संगमको सूक्ष्मशक्तिसँगको अन्तक्र्रिया हो । ऋषिमुनिहरूले यही मानस र भाव शक्तिद्वारा ब्रह्माण्डको ज्ञान प्राप्त गरेको बुझिन्छ । यसैपनि मानिसको शरीर ब्रह्माण्डको प्रक्रिया अनुसार नै चलेको छ । त्यसैले भनिएको हो– यत् पिण्डे तत् ब्रह्माण्डे ।
कतिपयले प्रश्न गर्छन्– मान्छे मरे । शरीर डढाइयो । अब पानी र अन्नका डल्ला पल्टाएर कसरी उनीहरूले पाउने ? कसरी अघाउने ?
पृथ्वीका यावत् प्राणीमध्ये मान्छेको मानसशक्ति, भावशक्ति अत्यन्तै शक्तिशाली र क्रियाशील हुन्छ । मान्छेले आफ्नो मनलाई एकत्रित गरी ध्यान गर्दा अपार शक्ति प्राप्त हुन्छ । भावशक्तिद्वारा प्रकृतिमाथि विजय पाउन सकिन्छ । यो तथ्य विगतदेखि अहिलेसम्मै प्रमाणित मान्यता हो । ॐ को जप, ध्यानमा अपार शक्ति हुन्छ भन्ने कुरा पश्चिमा वैज्ञानिकहरूले पनि स्वीकारेकै छन् ।
पराशक्ति (आत्मिक शक्ति) वैज्ञानिक खोजकै विषय हो । असाध्य बिरामीलाई टाढाका शुभचिन्तकले सन्चो होस् भनेर प्रार्थना गर्दा पनि आराम भएको कुरा धेरैले अनुभूत गरेकै विषय हो । आधुनिक वैकल्पिक उपचार पद्धति ‘रेकी’ पनि मन र प्राकृतिक शक्तिसँगको अन्तरक्रिया नै हो । यी सबै कुराले पितृशक्ति पनि मानसशक्तिको एउटा नै हो भन्ने देखाउँछ ।
केही वर्ष पहिले युरोपका वैज्ञानिकहरूले ‘हिग्सबोसोन’ (गड पर्टिकल) ईश्वरीय कण पत्ता लगाए जुन अदृश्य छ, जसले कुनै पनि वस्तुलाई अस्तित्वपूर्ण बनाउँछ र यसैका कारण वस्तुले तौल प्राप्त गर्छ । यो ईश्वरीय कण अस्थिर पनि छ । यसले पनि भड्किरहेको अति सूक्ष्म शरीर प्राप्त आत्माशक्ति हुन्छ भन्ने प्रमाणित गर्छ ।
पितृयज्ञ गर्दा मन, वचन र शरीर शुद्ध हुनुपर्छ । अघिल्लो दिनदेखि नै सात्विक भोजन र ब्रह्मचर्य आवश्यक पर्छ । जो मरेका छन् उनीहरू पितृलोक जाऊन् ‘पितृणां लोकमपि गच्छन्तु ये मृताः’ (अथर्ववेद १२।२।४५) भन्ने इच्छा हामीले राखेका हुन्छौँ । अनेकतिर भड्किरहेको मन, अशुद्ध शरीर र वचन सूक्ष्म शक्तिसँग जोडिन सक्दैन । अशुद्ध अवस्थाले अशुद्धताका कारण भड्किरहेको आत्मालाई सकारात्मकतातिर लैजान सकिन्न । सकारात्मक अवस्थामै रहेछ भने झन् विकृत हुन सक्छ ।
ब्रह्माण्डमा विकृत शक्ति रह्यो भने त्यसले सबैलाई असर गर्छ । यो स्वाभाविक हो । श्राद्ध त्यसलाई शुद्ध बनाउने प्रयत्न हो । त्यसैले आफ्ना मातृपितृ मात्र नभएर पृथ्वीभरका सबै पितृको कल्याणका लागि ‘अतीत कुलकोटिनाम् सप्तद्वीपनिवासनाम् आब्रह्म भुवनल्लोकां निदमस्तु तिलोदकम्’ अर्थात् धेरै पहिलेदेखि करोडौं कुलका मानिस जो सातै द्वीपमा बस्थे तिनीहरूलाई पनि मैले तिलसहितको जल अर्पण गरेको छु भनेर जल अर्पण गरिन्छ । यो हाम्रो संस्कृतिको विशेष मान्यता हो । पूर्वीय दर्शनको उच्चता हो ।
अन्य धर्ममा जस्तो सबैलाई कब्जा गरेर अधीनमा लिने, समाप्त गरिदिने पूर्वीय दर्शनको अभीष्ट होइन । बरु सबैको उद्धार गर्ने, कल्याण गर्ने हो । समस्त मृतात्मा अर्थात् पितृशक्ति यो ब्रह्माण्डको शक्तिको एउटा अंश भएको कुरा वेदले बताएको छ । पितृभ्य स्वधायिभ्यः स्वधा नमः ... भनेर यसको महत्व स्पष्ट पारेको छ ।
महर्षि दयानन्द सरस्वतीले आफ्नो सत्यार्थ प्रकाशमा श्राद्ध गर्नु आवश्यक छैन, देवशक्ति मात्र पुज्य हुन्छ भनेका छन् । अन्य केही सन्त, महन्त, धर्मगुरुले पनि त्यसमा बल दिएका छन् । आधुनिक शिक्षा मात्र पाएका कतिपयलाई श्राद्ध गर्दा आफू रुढीवादी भन्ने हुन् कि भन्ने डर पनि मानेको पाइन्छ तर त्यसो होइन । पितृशक्ति विशेष प्राकृतिक शक्ति नै हो । यसको बेवास्ता गरियो भने प्रकृतिको शक्ति सन्तुलन खल्बलिन्छ । वेदले पितृशक्तिलाई बेवास्ता गर्दा ब्रह्माण्डमा असन्तुलन आउँछ भनेको छ ।
प्रकृतिमा देवशक्ति मात्र नभएर पितृशक्तिका साथै अन्य शक्तिपुञ्ज पनि छन् । ती सबै शक्तिको सन्तुलनबाट मात्र प्रकृति सही रूपमा अघि बढ्छ छ । यज्ञ गर्दा सबै शक्तिलाई समान रूपमा आह्वान तथा पुजन गर्नुको कारण पनि यही नै हो । पितृशक्तिलाई तृप्त, स्थिर र प्रफुल्ल राख्दा सन्ततिहरूको कल्याण हुन्छ । अतृप्त र विकृत शक्ति ब्रह्माण्डमा रहँदा त्यसले पिरोलिरहन्छ ।