कर्णाली– सुर्खेतको वीरेन्द्रनगर–४ भैरवस्थानका कमल नेपालीले आठ वर्षदेखि रैथाने बालीका उत्पादनहरू मात्र खरिद–बिक्री गर्दै आएका छन् । बाँकेको कोहलपुरमा पसलको शाखा सञ्चालन गर्नुका साथै उनी कर्णालीका रैथाने बाली उत्पादन र अर्गानिक खाद्यवस्तु तथा फलफूल बुटवल, नारायणगढ र काठमाडौंसम्म पठाउने गर्छन् । कोदोको पिठो, फापर, जौंको च्याख्ला, चिनो, कागुनो, जुम्ली सिमी, मार्सी चामल लगायत खाद्यवस्तु बेचेर राम्रो आम्दानी गर्न सफल नेपालीले गत वर्षदेखि ‘मूल्यवान्’ लोगो अंकित उत्पादनहरू बजारमा ल्याएपछि माग झनै बढेको छ ।
चन्दननाथ सहकारी संस्थाले रैथाने बालीका उत्पादनहरूलाई राखेर जुम्लामा मिनीमार्केट र सुर्खेतमा कोशेली घर सञ्चालन गरेको छ । सहकारीका व्यवस्थापक विश्वराज खत्री कर्णालीका हिमाली भेगमा उत्पादन हुने दुर्लभ खाद्यवस्तुहरूको आफूहरूले विश्व बजारीकरण गर्दै आएको बताउँछन् ।
सहकारीले सुर्खेतबाट जुम्ली मार्सी चामल, फापर, चिनो, कागुनोका उत्पादनलाई आकर्षक प्याकेजिङ गरी काठमाडौं, पोखरा र चितवन पठाउने गर्दछ । रैथाने बालीका उत्पादनहरू मात्र बेच्ने सहकारीले गत वर्ष डेढ करोड रूपैयाँभन्दा बढीको कारोबार गरेको जनाएको छ । यो सहकारीले पनि ‘मूल्यवान’ लोगो अंकित रैथाने बालीका उत्पादनहरू बिक्री गर्दै आएको छ ।
स्थायीय बजारका साथै सुर्खेत, नेपालगञ्ज, कोहलपुर, धनगढी, महेन्द्रनगर, बुटवल, पोखरा, हेटौंडा, काठमाडौं, विराटनगर, धरान, झापा लगायत स्थानमा कर्णालीका प्राङ्गारिक एवं रैथाने बालीका उत्पादनको बिक्री हुने गरेको छ ।
कतिपय सहरमा रैथाने बालीका उत्पादनको मात्र बिक्री केन्द्र स्थापना भएका छन् । त्यस्ता उत्पादन भारत, बङ्गलादेश र जापानमा व्यवसायिक निर्यात हुनुका साथै बेलायत, अमेरिकालगायत मुलुकमा कोशेलीका पुग्ने गरेका छन् । स्थानीय व्यापारी र सङ्कलनकर्ताहरू कृषकको घरदैलोमै पुगेर कृषि उत्पादनहरू सङ्कलन गर्ने गर्दछन् ।
प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाली विकास महाशाखाका अनुसार डोल्पामा तीन, मुगुमा चार, हुम्लामा छ, जुम्लामा २४, दैलेखमा एक, सुर्खेतमा १४, रुकुम पश्चिममा आठ, जाजरकोटमा दुई, सल्यानमा तीन बिक्री केन्द्र एवं कोशेली घर छन् ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ मा अर्गानिक माउन्टेन फ्लेवर÷दि अर्गानिक भ्यालीमा ‘मूल्यवान’ लोगो अंकित उत्पादन बिक्रीमा राखिएको छ । सुर्खेतमा जुम्ली मार्सी चामल, चिनो कागुनो प्रतिकेजी रु. २५०, फापरको पिठो २४५, जौंको च्याख्ला १२५, जुम्ली सिमी २०० मा बिक्री हुन्छ ।
रैथाने बालीका खाद्य वस्तुले बजारमा राम्रो मूल्य पाएको व्यवसायी बताउँछन् । युवराज प्रकृति अर्गानिक खाद्य पसलका सञ्चालक नेपाली गर्त वर्ष मात्रै ४५ क्विन्टल रैथाने बालीका उत्पादन प्रदेश बाहिरका आफ्ना बिक्री केन्द्रमा पठाएको बताउँछन् । कर्णाली प्रदेश बाहिर विभिन्न सहरमा रैथाने बालीका उत्पादनहरूको बिक्री केन्द्र छन् ।
रैथाने बाली भन्नाले परम्परागत रुपमा सदियौंदेखि कृषकहरूले खेती एवं संरक्षण गर्दै आइरहेका कृषि बाली हुन् । कर्णालीमा उत्पादन हुने केही यस्ता खाद्यान्न बाली छन् जसको खपत कर्णालीभन्दा बाहिर बढी हुने गर्छ । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार बजारीकरण र उच्च मूल्यका हिसाबले किसानका लागि यो महत्वपूर्ण हो । ‘मूल्य नपाएर किसान चिन्तित हुनुपर्ने अवस्था छैन्,’ उनी भन्छन्, ‘उत्पादन मात्रै गर्न सक्नुप¥यो, सङ्कलनकर्ता किसानकै घरमा पुग्छन् ।’
उनका अनुसार बदलिँदो खानपान शैलीका कारण ग्रामीण भेगमा रैथाने बालीहरूको उपभोग निकै कम र सहरी क्षेत्रमा बढी छ । कम शारीरिक श्रम गर्ने सहरी जनसंख्या उच्च रक्तचाप, मधुमेह, कोलेस्टोलजस्ता समस्याबाट पीडित हुने थालेपछि अचेल रैथाने बालीमा भएको पौष्टिक तत्वको महत्वका कारण यसको माग दिनदिनै बढ्दै गएको छ ।
रैथाने बाली उत्पादन हुने कर्णालीका क्षेत्रहरू स्वतः प्राङ्गारिक छन् । भौगोलिक विकटताले रासायनिक मल र विषादी उपलब्ध हुन नसक्दा स्वतः प्राङ्गारिक उत्पादन हुने गरेको कृषि विज्ञहरू बताउँछन् ।
वरिष्ठ कृषि विज्ञ सूर्यनाथ योगी कर्णालीको विशिष्ट भूगोल, रैथाने हावापानी र विषादीरहित खेती प्रणालीबाट उत्पादन गरिने भएकाले आन्तरिक तथा बाह्य बजारमा क्रमिक रूपले माग बढिरहेको बताउँछन् ।
‘यी बालीको उपभोग सहरी क्षेत्रमा खानाको रूपमा मात्र नभई औषधिको रूपमा समेत उपभोग हुने हुँदा बजारमा यसको माग बढ्दो छ,’ उनी भन्छन्, ‘रैथाने कृषि उपजहरूको उपभोग सचेत नागरिक, सहरका ठूला होटलहरूमा मार्सीको भात, खीर, कोदोको ढिंडो, फापरको रोटी, राज्मा, जौको सातुको रुपमा भएको पाइन्छ ।’ रैथाने बालीका उत्पादनलाई विविधिकरण गरी हलुवा, पाउरोटी, केक, बिस्कुट, दुनोट, चाउमिन आदि बनाउने गरिन्छ ।
कर्णालीमा आर्थिक वर्ष २०७७÷०७८ मा ६ हजार ४ सय ११ टन रैथाने सिमी उत्पादन भएकामा झन्डै ६० प्रतिशत कर्णाली बाहिर खपत भएको छ । सोही वर्ष कर्णालीका हिमाली जिल्लाबाट ७ हजार ७ सय टन मार्सी चामल कर्णाली बाहिर गयो । १४ सय १५ टन चिनो, ४ सय ४३ टन कागुनो र एक हजार ७ सय ४७ टन फापर उत्पादन भएको मन्त्रालयले जनाएको छ । ‘कागुनो, चिनो र फापर उत्पादनको ८० प्रतिशत राष्ट्रिय बजारमै गएको छ,’ मन्त्रालयका प्रवक्ता कठायतले भने, ‘स्थानीय बजारमा २० प्रतिशत मात्रै खपत हुन्छ । बाहिर गएकोमध्ये १० प्रतिशत विदेश निर्यात भएको छ ।’
यी हुन् रैथाने बाली
कर्णाली सरकारद्वारा सूचिकृत नौ रैथाने बालीहरू चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ, स्थानीय सिमी हुन् । चिनो विश्वकै पुरानो खेती बालीमध्येको एक हो । कर्णालीका जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, मुगु, जाजरकोटमा यसको खेती गरिन्छ । यसमा औषधीय गुण हुन्छ । क्यान्सर निरोधक रसादीहरू र क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियम, आइरन पाइन्छ । कर्णाली प्रदेशमा रातो चिनो, दुधे चिनो, हाडे चिनोको खती गरिन्छ ।
चिनोबाट खिर, चिनोको उपमा बनाएर खान सकिन्छ । कागुनो (काउनो) पनि सबैभन्दा पुरानो अन्नबालीमा पर्छ । यसको खेती कर्णालीका डोल्पा, जुम्ला, हुम्ला, मुगु र कालीकोटमा गरेको पाइन्छ । कागुनोमा प्रोटिन, चिल्लो पदार्थ र खनिज पदार्थ बढी हुन्छ यसको मिठाई बनाउनुका साथै भात, खीर, खिचडी, केक बनाएर पनि खान सकिन्छ ।
उवा पनि निकै पुरानो बालीमा पर्दछ । घरेलु मदिरा, सातु बनाएर खाने चलन छ । पौष्टिक रुपमा राम्रो मानिन्छ । डोल्पा, जुम्लामा यसको खेती बढी हुन्छ । लट्टे (मार्से) कर्णाली प्रदेशमा रातो मार्से, सेतो मार्से र सेतो लडी मार्सेको खेती गरिन्छ । हरिया पातलाई सागको रुपमा प्रयोग गर्न सकिन्छ भने दाना भुटेर वा लड्डु बनाएर खाने गरिन्छ । यसमा विशेषगरी क्याल्सियम प्रचुर मात्रामा पाइन्छ ।
फापर कर्णालीको उच्च हिमाली क्षेत्रको मुख्य बाली हो । फापरको पिठोलाई गहुँ, जौ र कोदोको पिठोसँग मिसाएर ढिडोँ वा रोटी बनाएर खाने गरिन्छ । यसको पिठोबाट फुलौरा, पाउरोटी पनि बनाइन्छ ।
कलिलो फापरको बोटलाई तरकारी अचार र सुपको रुपमा खाने गरिन्छ । यसमा प्रशस्त मात्रामा कार्बोहाइडेट, प्रोटिन, खनिज पदार्थ, चिल्लो पदार्थ पाइन्छ । फापर मधुमेहका बिरामीले धेरै उपभोग गर्छन् । शरीरमा रक्तसञ्चार बढाउन र कोलस्टोललाई घटाउन उपयोगी मानिन्छ ।
हिमाली हावापानीमा खेती हुने जौलाई हिन्दू समाजमा पवित्र अन्नको रुपमा लिइन्छ । हिन्दू परम्परा अनुसार गरिने हरेक क्रियाकलापमा जौ अनिवार्य छ । दसैंमा जौंको जमरा उमारेर लगाउने गरिन्छ । जौको रोटी, ढिंडो, सातु, दाना भुटेर खान सकिन्छ । जौलाई उमारेर खाँदा धेरै रोग निको पर्ने विश्वास गरिन्छ ।
जुम्ली मार्सी संसारमै सबैभन्दा धेरै उचाईमा उत्पादन हुने धानबाली हो । यो दुर्लभ प्रजातिको स्थानीय जातको धान हो । यसको स्वाद रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तराष्ट्रियस्तरसम्म पुगेको छ ।
राणाकालमा मार्सी धानको चामल हुलाक चलान गरी काठमाडौंसम्म पठाउने गरेको बुढापाका बताउँछन् । मार्सीबाट भातका अतिरिक्त खीर बनाएर खान सकिन्छ । हाल यसको बजार राम्रो छ । मार्सीलाई कोशेलीका रूपमा प्रयोग गर्ने गरिन्छ । यसमा फाइबरको मात्रा बढी हुने भएकाले मधुमेह र उच्च रक्तचापका बिरामीले खोजी गर्ने गर्दछन् ।
कर्णालीको पहाडी हिमाली जिल्लाको खाद्य सुरक्षामा कोदोको महत्वपूर्ण योगदान छ । जुम्ला, मुगु, डोल्पा, हुम्ला, कालीकोट, दैलेख, जाजरकोट, सल्यान रुकुम पश्चिममा खेती बढी छ । कोदोमा क्याल्सियम र आइरन बढी पाइन्छ ।
कोदो गर्भवती महिला, मधुमेह, युरिक एसिड, उच्च रक्तचाप, दम, रुघाखोकी, पटे दुख्ने, कब्जियत, झाडापखालाका बिरामीलाई निकै फाइदाजनक छ । यसको पिठोबाट रोटी, ढिंडो बनाएर खाने गरिन्छ । अचेल हलुवा, केक, पाउरोटी बनाउने गरिन्छ ।
घरेलु मदिरा बनाउन पनि कोदो प्रयोग भएको पाइन्छ । कोदोसँगै कागुनो, भटमास वा लट्टे मिश्रण गरेर खेती गर्ने गरिएको पाइन्छ । त्यस्तै स्थानीय सिमी तरकारी र दालबालीको रुपमा खेती गरिन्छ । कर्णालीमा सेतो सिमी, डल्लो सिमी, कालो सिमी, रोतो मिसीको खेती गरिन्छ ।
कहाँ–कति उत्पादन ?
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा कर्णालीका १० जिल्लामा कोदो १९ हजार ६ सय ७४ मेट्रिक्टन, फापर दुई हजार २ सय ५ मेट्रिक्टन र जौ १३ हजार ३ सय ६६ मेट्रिक्टन उत्पादन भएको छ ।
कोदोको सबैभन्दा बढी उत्पादन सुर्खेत, दैलेख, फापर डोल्पा, हुम्ला र मुगुमा तथा जौ जुम्लामा उत्पादन भएको छ । फापरको भने सुर्खेत र रुकुम पश्चिममा उत्पादन शून्य छ । सोही वर्षको तथ्याङ्क अनुसार चिनो एक ६ सय ८० मेट्रिक्टन, कागुनो ९ सय ३६ मेट्रिक्टन र लट्टे ४५ मेट्रिक्टन भएको छ । रुकुम पश्चिम, सल्यान, दैलेख र सुर्खेतमा चिनो र कागुनो उत्पादन शून्य छ । लट्टे सुर्खेत, दैलेख, सल्यान, हुम्ला र डोल्पामा शून्य छ । लट्टे जुम्लामा बढी उत्पादन हुने गरेको छ ।
चिनो कागुनो हिमाली जिल्लामा उत्पादन बढी छ । रैथाने सिमी ११ हजार १ सय ७४ मेट्रिक टन, मार्सी धान नौ हजार ७ सय १४ र उवा एक हजार ८ सय १८ मेट्रिक टन उत्पादन भएको छ । रैथाने सिमी र मार्सी धानको जुम्ला र कालीकोटमा उत्पादन राम्रो छ ।
उवाको उत्पादन डोल्पा, हुम्ला र मुगुमा उत्पादन राम्रो छ । कर्णालीमा कोदो १८ हजार ४ सय ७३ हेक्टर, फापर दुई हजार २९, जौ नौ हजार २ सय ८९, चिनो १ हजार ७ सय ८८, कागुनो एक हजार १ सय १७, लट्टे (मार्से) २४, स्थानीय सिमी छ हजार ६ सय ५२, जुम्ली मार्सी धान चार हजार ६ सय १५ र उवा एक हजार ८ सय १४ हेक्टर खेती हुने गरेको छ ।
‘मूल्यवान’ लोगो
कर्णाली प्रदेश सरकारले रैथाने बालीका उत्पादनहरूको बजारीकरण र प्रर्वद्धनका लागि ‘मूल्यवान’ नामक लोगो प्रचलनमा ल्याएको छ । यसमा लेखिएको छ, ‘मूल्यवान कर्णाली किसानका सम्पदा ।’
प्रदेश प्राङ्गारिक कृषि ऐन, २०७६ मा परम्परात रुपमा खेती गरिँदै आएका रैथाने बालीहरूको उत्पादनका लागि छुटै लोगोको व्यवस्था गर्नुपर्ने उल्लेख छ । प्रदेश सरकारको २०७८ जेठ २० गतेको बैठकले यस्तो लोगो प्रयोगमा ल्याउने, मूल्यवान लोगो अंकित खाद्यवस्तु खरिदबिक्री गर्नेहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो ।
प्रदेशको पहिचान झल्किने गरी निजी तथा सहकारी क्षेत्रको सहभागितामा स्वीकृत ‘मूल्यवान’ लोगोलाई अलग पहिचानसहित मूल्य अभिवद्धि गरी राष्ट्रिय÷अन्तराष्ट्रिय बजारमा परिचित गराउने उद्देश्यले कर्णाली सरकारले उक्त ऐनबमोजिम लोगो प्रयोगसम्बन्धी अनुमति एवं मापदण्ड निर्धारण गरेको छ ।
लोगो टाँस गरी प्याकिङ गर्दा प्याकेटमा तौल स्पष्ट, उत्पादन मिति, उपयोग गर्न सकिने अधिकतम समय, किसिम, गे्रड र उत्पत्तिस्थल स्पष्ट खुलेको हुनुपर्छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसंग स्वामित्व रहेको लोगो प्रयोग गर्न इजाजत लिनुपर्ने, रैथाने बालीहरूको विवरण प्रत्येक वर्ष मन्त्रालयमा उपलब्ध गराउनुपर्ने लगायतका शर्तहरू राखिएको छ ।
कर्णालीका सन्दर्भमा रैथाने बालीहरू संस्कृतिसंग जोडिएकाले सम्पदाको उपमा दिएको बताइएको छ । अर्गानिक रैथाने बालीका उत्पादनहरू बिक्री गर्नेले अनिवार्य रुपले ‘मूल्यवान’ अंकित लोगो राख्नुपर्ने व्यवस्था छ ।
प्रदेश सरकारको २०७४ फागुन ६ गते बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले अर्गानिक कृषिको आधारहरू तय गर्दै रैथाने बालीको संरक्षण गर्ने निर्णय गरेको थियो । यही निर्णयका आधारमा प्रदेश सरकारले प्राङ्गारिक कृषि ऐन, २०७५ ल्याएको हो ।
बाली संरक्षण प्रयास
कृषकहरूले बढी उत्पादन लिने उद्देश्यले स्थानीय तथा रैथाने बालीहरूको सट्टा आयातित बालीको खेती बढाउनाले रैथाने बालीहरूको उत्पादन घट्दो छ । ग्रामीण क्षेत्रमा वर्णशङ्कर (हाइब्रिड) जातका बीउ आयात गर्ने क्रमले यस्ता बालीहरू सङ्कटमा पुगेका हुन । कृषककै रुची कम हुँदा खाद्य सुरक्षा र पोषणका हिसाबले राम्रो मानिने बालीको संरक्षणमा चुनौती देखिएको छ ।
सङ्घीय र प्रदेश सरकारले संरक्षणका लागि विभिन्न क्रियाकलाप सञ्चालनमा जोड दिएका छन् । गत आवमा परम्परागत बाली संरक्षण तथा प्रवद्र्धनका लागि जिल्लाहरूमा सङ्घीय सरकारको विशेष अनुदानबाट १५ लाख रूपैयाँ बजेट उपलब्ध गराएको थियो ।
सङ्घीय सरकारले यस वर्षको बजेटमा पनि यसलाई निरन्तरता दिएको छ । प्र्रदेश सरकारले चालू आवमा प्राङ्गारिक कृषि प्रर्वद्धन एवं रैथाने बाली विकास कार्यक्रमका लागि रु साढे चार करोड बजेट विनियोजन गरेको छ ।
पछिल्ला वर्ष बजारको समस्या हट्दै गएपछि किसानमा रैथाने बालीतर्फ आर्कषण बढ्न पुगेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । रैथाने बिउ लोपोन्मुख अवस्थामा पुगेपछि जिल्लास्थित कृषि विकास कार्यालयहरूले बीउ बैङ्क स्थापना गरेका छन् ।
मन्त्रालयका कृषि अर्थ विज्ञ भुजले रैथानी बाली प्रवद्र्धनका लागि कृषकलाई तालिम, मेसिन अनुदान, लेबलिङ र प्याकेजिङ लगायतमा सहयोग गर्दै आएको बताउनुहुन्छ । ‘रैथाने बालीका उपजहरूको मूल्य उच्च छ, मार्केटिङको पनि समस्या छैन्,’ उहाँ भन्नुहुन्छ, ‘जति उत्पादन गर्न सक्यो त्यति कृषकलाई फाइदा छ, खाद्य सुरक्षा र पोषणका दृष्टिले रैथाने बालीहरूमा आकर्षण छ ।’
प्रदेश सरकारले ‘मूल्यवान’ लोगो अंकित प्याकेजिङको व्यवस्था गरेपछि यस्ता उत्पादनले झन् राम्रो मूल्य पाएका छन् । यसका साथै प्रदेश सरकारले बजारीकरण, कोशेली घर निर्माणलगायत कार्यक्रमलाई जोड दिएको छ ।
मन्त्रालयले कृषि विकास रणनीति र प्राङ्गारिक नीतिमा पनि यो कार्यक्रमलाई समावेश गरेको छ । ‘जसका लागि ‘मूल्यवान मार्ग ः सबैका लागि, सधैंँका लागि’ नारा अघि सारिएको छ ।