काठमाडौँ– डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोलको अभाव देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल औषधि उत्पादक संघले भने सिटामोल अभाव नभएको दावी गरेका छन् ।
काठमाडौँ उपत्यका लगायत देशका विभिन्न जिल्लामा डेङ्गुका बिरामी दिनहुँ बढिरहेका छन् । अहिलेसम्म ६ हजारभन्दा बढी डेङ्गुका बिरामी पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खान मन नलाग्ने, पखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । ती लक्षणका लागि बिरामीलाई सिटामोल र जीवनजललगायत खानुपर्छ । औषधि पसलमा सिटामोल किन्न जाँदा सर्वसाधारणले पाइरहेका छैनन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल अधिकृत डा. श्रवणकुमार मण्डलका अनुसार डेङ्गुका बिरामीलाई उच्च ज्वरो आउँछ । ‘ज्वरो कम गर्नका लागि सिटामोल खानुपर्छ,’ उनले भने, ‘धेरै नै ज्वरोका बिरामी बढेकाले सिटामोलका माग बढेर अभाव भएको हुनसक्छ ।’ मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार मण्डलले भने बजारमा सिटामोलको अभाव नभएको दावी गरे ।
नेपाल औषधि व्यवस्था विभागका निर्देशक भरत भट्टराईले सिटामोल पाइएन भन्ने जानकारी आएको बताए । ‘डेङ्गु बढेसँगै एक/दुई दिनयता सिटामोल पाइन भन्ने सुनेको छु’, उनले भने, ‘सिटामोलको अवस्था के हो भन्नका लागि औषधि उत्पादक सङ्घलाई आइतबार बोलाएर छलफल गर्ने छु ।’ सङ्कटका बेला औषधिको मूल्य बढाउनका लागि अभाव सिर्जना गर्न थालिएको हुनसक्ने पनि उनले आशंका व्यक्त गरे । ‘औषधि उत्पादक सङ्घलाई बोलाएर तत्काल सिटामोल उत्पादन गर्न निर्देशन दिइनेछ,’ उनले भने ।
नेपाल औषधि लिमिटेडका सूचना अधिकारी टीकाराम अर्यालका अनुसार डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि करिब ५० लाख ट्याबलेट सिटामोल उत्पादन गर्नका लागि कच्चा पदार्थ ल्याउन लागिएको छ । एक हप्ता भित्र कच्चा पदार्थ आउने र त्यसपछि सिटामोल उत्पादन हुने उनले बताए । हाल औषधि लिमिटेडसँग करिब १५ लाख ट्याबलेट मौज्दात रहेको उनले जानकारी दिए ।
सङ्घका उपाध्यक्ष सन्तोष बरालले बजारमा सुनेको जस्तो सिटामोलको अभाव नभएको बताए । उनका अनुसार नेपालमा बार्षिक १० करोड ट्याबलेट सिटामोलको माग छ । सङ्घले वार्षिक पाँचदेखि साढे पाँच करोड ट्याबलेट उत्पादन गरिरहेको छ ।