हामीले बर्सेनि अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदै आएका छौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले सन् १९६७ देखि सेप्टेम्बर ८ का दिन विश्वभर यो दिवस मनाउन थालेयता हामीले पनि त्यही कर्मकाण्ड पूरा गर्दै आएका छौं ।
कर्मकाण्ड यस अर्थमा कि हाम्रा प्रायः काम गराइ व्यवहारमा उत्रिन सक्दैनन् । जस्तो कि विद्यालय तहदेखि माथिसम्मै विद्याथीहरू गणितलाई गाह्रो विषयका रूपमा मान्छन् । एसईई र अन्य परीक्षाका नतिजाले पनि त्यस्तै देखाइरहेका छन् । शिक्षक सेवा आयोगले हालै सार्वजनिक गरेको माध्यमिक तह गणित विषयको लिखित परीक्षाको नतिजामा ५२.७९ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।
नेपालमा गणित शिक्षाको हालत अन्य विषयको भन्दा पनि नाजुक छ । साह्रै थोरै विद्यार्थी मात्र यसतर्फ आकर्षित भएको देखिन्छ । यसमा पठन र सिकाइ प्रक्रिया एकदमै दोषी छ । विद्यार्र्थीलाई वर्णन गरेर पढाइन्छ । यसो गरिरहँदा उनीहरूलाई पढ्न पटक्कै रुचि लाग्दैन । रुचि नभएपछि विषय जतिसुकै महत्त्वपूर्ण भए पनि विद्यार्थीले पढ्दैन ।
विद्यालय शिक्षा सबैका लागि हो । त्यसैले हरेक विषय सबैले बुझ्ने सक्ने गरी पढाउनैपर्छ । अहिले गणित शिक्षा एकदमै कमजोर छ । भोलि केही समयपछि गणित शिक्षक नपाइन सक्ने अवस्था आउन सक्छ । शिक्षक परीक्षाको नतिजा त्यसैतर्फको संकेत हो ।
गणितका विज्ञले पढाउनेबाहेकका क्षेत्रमा पनि योगदान पुर्याउन सक्छन् । तर ती क्षेत्रमा गणितलाई प्रायोगिक हिसाबले जोड्ने काम एकदमै कम भएको छ । कसैले पनि नबुझ्ने वा अमूर्त (आब्स्ट्राक्ट) बनाएर प्रस्तुत गर्ने परिपाटीले गर्दा एउटा गणित पढेको व्यक्तिले पढाउनेबाहेक अन्य अवसर पाउनै सकेको छैन ।
गणित अन्तर्राष्ट्रिय हिसाबले सबैतिर एकै खालको हो भन्ने हाम्रो बुझाइ छ । दुईमा दुई जोड्दा चार हुन्छ भन्ने बुझिन्छ । तर दुईमा दुई जोड्दा चार हुँदा सोच्ने तरिका फरक पर्न सक्छ । कसले कसरी सोचिरहेको छ भन्ने प्रश्न एकदमै महत्त्वपूर्ण हुन्छ ।
नेपालमा विभिन्न प्रकारका समुदाय छन् । एउटा लिम्बू, तामाङ वा ओलाङचुङगोलाको बच्चाले कसरी सोचिरहेको छ भनेर जान्नु जरुरी छ । सोचाइको त्यो तरिका जान्यो भने मात्रै सिकाइ प्रक्रिया प्रभावकारी हुन्छ । हामी जहिल्यै पाठ्यक्रमलाई केन्द्रमा राखेर पढाउने पढ्ने गर्छौं । गणित विषय पनि संस्कृति, कला, भाषा आदि पक्षसँगै जोडेर पढाउने हो ।
विद्यालयमा गणितलाई सन्दर्भहीन बनाएर पढाइन्छ । गणितका सूत्रहरू कण्ठ गराइन्छ तर त्यसलाई कुनै पनि सन्दर्भमा जोडिँदैन । गणितलाई अमूर्त बनाएर पढाइन्छ । अमूर्त बनाउँदा पढाउनेले मात्र बुझ्छ । विद्यार्थीले नबुझ्ने सिकाइ कसका लागि ?
हामी दुई गुणा तीन भनेर पढाउँछौं । त्यो भनेको के हो ? दुई–दुईको तीनवटा पोका पो भनेको हो कि ? अर्थपूर्ण नभई सिकाइ प्रभावकारी हुँदैन । चारकुनेबारे पढाउँदा हामी बोर्डमा चारकुने चित्र बनाउँछौं र नाम लेखेर देखाउँछौं । यसो गर्नुको सट्टा १० जना विद्यार्थीलाई १० वटा चारकुने वस्तु ल्याउन भन्यो भने उनीहरूले चारकुनेलाई आ–आफ्नो सन्दर्भसँग जोड्न सक्छन् ।
गणित भन्नेबित्तिकै हामी किताबका हिसाब मात्र बुझ्छौँ । गणित समाज र संस्कृतिसँगै जोडिएको हुन्छ । हामीले हाम्रा विद्यार्थीलाई वरपरका पसलेको व्यापार–व्यवसाय नियालेर अनुसन्धान गर्न लगाउने हो भने सिकाइ किताबबाट उम्केर व्यवहारसम्मै पुग्छ । पसलेले कतिमा किन्यो, कति जनालाई बेच्यो, कता बेच्यो, कसले सस्तो सामान लग्यो, कसले उधारोमा लग्यो आदि हेर्न लगाउने हो भने विद्यार्थीलाई हिसाबसँगै सामाजिक परिवेशको पनि ज्ञान हुन्छ ।
पसलेले १० रुपैयाँमा किनेर ६० रुपैयाँमा बेच्छ भने त्यति धेरै नाफा लिन मिल्छ ? बैंकको ब्याजदर हिजो के थियो, आज के छ ? त्यति धेरै ब्याज लिन पाइन्छ ? निक्षेपकर्तालाई दिइने ब्याजभन्दा ऋणीसँग लिइने ब्याज किन धेरै छ ? यस्ता मुद्दाहरूमा विद्यार्थीलाई सहभागी गराउन सकिन्छ । यस्ता प्रश्नले विद्यार्थीलाई आफैं सोच्न सक्ने वा जिज्ञासु बनाउँछ । यसो गर्न सकियो भने विद्यार्थी आफैँ पनि किताब लेख्न सक्छन् । कुनै विद्यार्थीलाई साहित्यको किताब लेखाउन सकिन्छ भने गणितको किन सकिँदैन ?
यसरी पढाउने हो भने १२ कक्षासम्म पुग्दा स्नातक तहका अवधारणाहरू पढ्न र बुझ्न सहज हुन्छ । हाम्रो अनुसन्धान अनुसार विद्यार्थीले ६० प्रतिशत कक्षा गणित नबुझी सकिन्छन् । भट्याएर पढाउँदा ५ प्रतिशतले भन्दा बढीले बुझेका हुँदैनन् । बाँकीको श्रम र समय खेर गइरहेको हुन्छ । बुझ्नलाई त सहभागी बनायो भने मात्र प्रभावकारी हुन सक्छ ।
नेपालमा यस्ता पाठ्यक्रम लागू गर्नै सकिँदैन भनेर सधैंजसो प्रश्न उठ्ने गर्छ । आजभन्दा तीन सय वर्षअगाडिको पाठ्यक्रम सुधारेर ब्रिटिसहरूले फड्को मारे । हामी भने त्यही पाठ्यक्रममा झुन्डिरहेका छौँ । हामी अगाडि बढ्न किन सम्भव छैन ?

राजनीतिक दल, शिक्षक संघ/संगठन, संकाय कताबाट रोक आएको हो ? यसको खोजी हुनुपर्छ । हैन भने किन सम्भव छैन ? इच्छाशक्ति हुनुपर्छ । हामीले हाम्रो विश्वविद्यालयमा कतिपय कुरा लागू गरेका छौं त ।
असम्भव भनेका हाम्रा मानसिकता हुन् । शिक्षक, प्रधानाध्यापक र हाम्रो मन्त्रालयको मानसिकता हो । विद्यार्थीले गणितमा प्रश्न गरेर, दाँजेर र समस्या समाधान गरेर सिक्छ । तर त्यसका लागि उसलाई समग्र अवधारणा सिकाउनु र त्यसमा सहभागी गराउनुपर्छ । फ्याक्टराइजेसन निकाल्नु मात्र हिसाब होइन । त्यो एउटा विद्यार्थीको कौशल पनि हो ।
गाउँमा कसैको घर बन्दै छ भने त्यसमा हरकुरामा गणित प्रयोग भइरहेको हुन्छ । कस्तो घर ? कत्रो घर ? लम्बाइ, चौडाइ, उचाइ । अकार–प्रकार । कति इँटा ? कति बालुवा । के अनुपात ? कति ज्याला ? कति समय ? सिंगो घर गणितैगणितको ज्ञान हो । गणित नभए सामान्य जीवन चल्न सक्दैन । हाम्रो पाठ्यक्रमले जीवनलाई छोडेर गणितलाई मात्र पढाउन खोज्दा समस्या भएको हो ।
मानिसहरू गणित अपरिवर्तनीय छ भन्ने गर्छन् तर यो परिवर्तनशील छ । हाम्रो संख्या प्रणाली बेस टेनमा आधारित भएकाले दुईमा दुई जोड्दा चार भएको हो । यदि संख्या प्रणाली बेस फोरमा आधारित हुन्थ्यो भने दुईमा दुई जोड्दा दस हुन्थ्यो । भन्नुको तात्पर्य, हामीले बुझेको गणितको पछाडि विभिन्न मान्यता छन् । विद्यार्थीलाई ती मान्यतामा छलफल वा प्रश्न नै गराइँदैन ।
त्रिभुजका भित्री कोणहरूको योगफल १८० डिग्री हुन्छ भनेर हामी पढाउँछौँ । भकुन्डोमा त्यो चित्र बनाउँदा १८० भन्दा बढी डिग्री निस्कन्छ । नकारात्मक कर्बेचर भएको सतहमा बनाउँदा १८० भन्दा कम निस्कन्छ । ठाउँ र प्रयोग अनुसार गणितको लेखाजोखा फरक हुन्छ तर हामी यो नै अन्तिम हो र योबाहेक अरू हुँदैन भनेर पढाउँछौँ । कम्प्युटरको जमाना आएपछि गणितको स्वरूप र लेख्ने तौरतरिकामै परिवर्तन आएको छ ।
नेपालमा गणित शिक्षाको मैले देखेको मूल समस्या भनेकै यसलाई जीवन र जगत्सँग नजोड्नु हो । विद्यार्थीको जीवनसँग नजोडिएको गणितले केही गर्न सक्दैन । पसलेले नाफा लिन्छ । एक किलो तरकारीमै पचास प्रतिशत नाफा कसरी नैतिक हुन सक्छ ? नाफाको अंकसित पेसाको नैतिकता जोडिएको हुन्छ । यो कुरा विद्यार्थीलाई बुझाउन सकियो भने उनीहरू धेरै नाफा लिनु मात्र ठीक हो भन्ने भ्रमबाट मुक्त हुन सक्छन् ।
गणितलाई एक्लो विषयका रूपमा पढाएर बुझिँदैन । त्यसैले गणितलाई विज्ञान, प्रविधि र इन्जिनियरिङ कलासँग जोडेर पढाउनुलाई हामी स्टिम शिक्षा भन्छौं ।
न्यातपोल दरबारमा कति झ्याल छन् वा यसले कति क्षेत्रफल ओगटेको छ भन्ने कुरा गणित हो । ती झ्यालमा कुन जातको काठ छ र त्यसको बलियोपन कति हो भन्ने सन्दर्भमा विज्ञान जोडिन्छ । ती झ्यालहरूको डिजाइन कसरी गरिएको छ भन्ने कुरा प्रविधि र इन्जिनियरिङसँग जोडिन्छ । त्यसको बनोट कलासँग जोडिएको हुन्छ । यी सबैलाई समग्र रूपमा जोड्दा गणित लगायत विज्ञान, कला, प्रविधि सबै राम्रो हुन्छ ।
गणितलाई हामीले सामाजिक न्यायसँग पनि जोड्न सक्नुपर्छ । सिकाइ ज्ञानका लागि मात्र नभई व्यवहारमा आउने हर परिवर्तनका लागि हुनुपर्छ । कक्षामा समावेशीकरण पढाएर बाहिर जाति विभेद गरिएको देखिन्छ । अपाङ्ग अशक्तबारे पढाएर बाहिर हेला गरेको पाइन्छ । यस्तो सिकाइलाई परिवर्तनकारी भनिँदैन । सिकाइ व्यवहार, सोचाइ र मान्यताहरूमा ढालिनुपर्छ ।
परीक्षा उत्तीर्ण गर्नु मात्र सिकाइ होइन । गणित शिक्षकको सामाजिक उत्तरदायित्व पनि हुन्छ । हिसाब मात्रै गर्छु भनेर हिटलरको क्याम्पमा बसेर वैज्ञानिक अनुसन्धान गर्ने गणितिज्ञ भयो भने के गर्ने ? विद्यालय शिक्षाको मुख्य उद्देश्य भनेको राम्रो समाज बनाउने हो चाहे जुनसुकै विषय किन नहोस् ।
नेपालामा धेरै कुरामा विज्ञान जोड्ने चलन छ । विज्ञान मानव समाजको उत्पादन हो । यसलाई मान्छेले बनाएको भएर मान्छेका लागि पहुँचयोग्य बनाउन जरुरी छ । मान्छेले बुझ्ने र जान्ने बनाइदिन जरुरी छ । ग्रहण लाग्ने, सुक्खा लाग्ने, पानी पर्ने लगायतका कुरा जनमानसमा बुझाउनुपर्छ । गाउँमा पानीको अभाव हुँदा न्युटनका सिद्वान्त पढाएर उपलब्धि हुँदैन । समाजसँग जोड्नुपर्छ । प्राकृतिक विश्वसँग जोड्नुपर्छ । भौतिक चराचरसँग जोड्न जरुरी छ ।
हामी अझै पनि औपनिवेशिक सोचाइ र अव्यावहारिक शिक्षा प्रणालीबाट उम्कन सकेका छैनौं । यस्तो शिक्षालाई हामीले चुनौती गर्नै सकेका छैनौँ । हामी कहिल्यै औपनिवेशिक भएका छैनौँ भन्छौं तर शिक्षामा हर्दम औपनिवेशिक भयौँ । अझै पनि तीनघण्टे परीक्षाले सबै ज्ञान, क्षमता र विवेक नियन्त्रण गर्नुपर्छ भन्ने मानसिकता छ । विज्ञान, गणितजस्ता आधुनिक विषय पनि त्यही मानसिकताको चपेटामा परेका छन् । हामीले जसरी हुन्छ सार्वजनिक शिक्षालाई अब्बल बनाउनुपर्छ । अब्बल बोलेर हुँदैन काम गरेर हुन्छ ।