‘जीवन’ भनेको हामीभित्र रहेका सम्भावनाहरूको साझा नाम हो । यी सबै सम्भावनालाई चिन्ने वा साकार पार्ने एउटा विज्ञान छ । यही विज्ञानलाई नै हामी जीवन विज्ञान भन्छौं ।
हामी मानिसलाई आफ्नो क्षमता चिन्ने विधि सिकाउँछौं । क्षमता जागृत गर्ने तौर तरिकाहरू उजागर गर्छाैं । कसले कति गर्ने वा सिक्ने भन्ने कुरा जीवनमा अभ्यास गर्दै जाँदा सिकिंदै जाने कुरा हो । यो प्रत्येक व्यक्तिको आफ्नो अनुभव र लगावमा भर पर्छ । प्रत्यक्ष रूपमा हामीले जीवन विज्ञान २० लाख जनालाई सिकाई सकेका छौं । अप्रत्यक्ष रूपमा यसबाट लाभ लिने टन्नै हुनुहुन्छ । हामी ५५ देशमा काम गर्छौं ।
जीवन विज्ञान नेपालबाट जन्मेको आध्यात्मिक संस्था हो । हामी यसलाई नेपालीको मूल सम्पत्ति हो भनेर पनि भन्न सक्छौं । म पनि यहाँ सेवा दिन बसेको हुँ । कसैको निजी होईन । यी सबै सार्वजनिक हुन् ।
ज्ञान कहिल्यै कुनै व्यक्ति विशेषको मात्र हुँदैन, हुन सक्दैन । मूल ज्ञानलाई कसैले बुझाईदिनु अथवा प्रयोग गराईदिनु पर्छ । घरमा औषधि छ भन्दैमा त्यसले रोग निको गर्छ भन्ने हुँदैन । त्यसको सही उपयोगको तरिका जानेको हुनु पर्छ । उपयोगको त्यो तरिका हामी सिकाउँछौं ।
संसारभर योग, ध्यान, दर्शन, जीउने कला, खुशी हुने तरिका आदि सिकाउने गुरूहरू थुप्रै हुनुुहुन्छ । तैपनि समाज यतिधेरै भद्रगोल देखिन्छ । राजनीति त झनै धेरै गएगुज्रेको छ । आखिर किन यस्तो भयो होला ? यस्तो प्रश्न अचेल धेरैको मनमा आउनु स्वभाविक हो । तर तिनै प्रश्नहरूले अनावश्यक तनाव दिन थालेका छन् भने त्यसलाई स्वभाविक मान्न सकिंदैन ।
जीवन विज्ञान व्यक्ति भित्रको बल, व्यक्ति भित्रको सम्भावना, क्षमता, स्वाभिमान लगायतका प्रतिभा उजागर गर्ने विज्ञान हो । यसको मूल बाटो भनेकै अध्यात्मको बाटो हो । यसमा कुनै धर्म वा सम्प्रदाय भन्ने हुँदैन । यहाँ सबै प्रकारका मानिस आउने गर्छन् । यो बाटो हिंड्यो भने छिटोभन्दा छिटो आफ्नो समस्याबाट मुक्ति पाउन सकिन्छ । प्रयोग आफैंले गरेर हेर्नु पर्ने हुन्छ ।
कसैलाई पूजा गर्न लगाएर, आशीर्वाद दिएर वा भाकल गर्न लगाएर हुँदैन । यसको एउटा विधि हुन्छ । यो विधि सिकेर भोलि अरू कसैलाई सिकाउन पनि सकिन्छ । हामीसँग अहिले ९ सय जना प्रशिक्षक हुनुहुन्छ । सिक्न आउनेजति सबैलाई सक्दो सुयोग्य बनाएर पठाउने हाम्रो उद्देश्य हो ।
हामीकहाँ धेरै मित्रहरू राजनीतिबाट पनि आउनुहुन्छ । तर हामीले कहिले को, के भनेर हेर्ने गरेका छैनौँ । जसलाई यो बाटो हिँड्नु छ, उसको दुई प्रकारको सोच हुन्छ । पहिलोले म रातरात प्रगति गर्न सक्छु भनेर सोच्छ । अर्काेले दिगो प्रगति गर्ने सोच राख्छ । दिगो प्रगति गर्न चाहने मानिसले कँही न कँही जीवन विज्ञानको बाटो भेट्छ । मैले रातारात संसद भवनभित्र गएर सिकाएर परिवर्तन आउने होईन । हरेक व्यक्तिले दिगो हिसाबले सोच्नु वा काम गर्नुपर्छ ।
हामीकहाँ धेरै राजनीतिज्ञहरू पनि आउनुहुन्छ । तर आउँदैमा सबैले सिक्नुहुन्छ वा सबैको जीवन रुपान्तरण हुन्छ नै भन्ने छैन । सिक्ने नसिक्ने भन्ने कुरा व्यक्तिपिच्छे भर पर्छ । जसले जति मेहेनत गर्छ उसको त्यसै अनुसारको प्रगति हुन्छ ।
हाम्रा राजनीतिज्ञ नबदलिनुमा हाम्रो आफ्नै हात छ । पहिले त तपाईं र म बदलिन जरूरी छ । मतदाताले आफ्नो क्षमता चिन्ने हो भने आफ्नै क्षमता अनुसारका व्यक्ति छान्न सक्छ ।
राजनीतिज्ञ बदलिए देश बदलिन्छ भन्नु हाम्रो भ्रम हो । मैले के गरिराखेको छु भन्ने सबैले सोच्नु पर्छ । कतै मैले मेरो कर्तव्य त भुलिरहेको छैन ? मेरो सोच सकरात्मक छ कि छैन ? मेरो पूरै उर्जा कुनै राजनीतिज्ञलाई गाली गर्नमा पो खर्च भइरहेको छ कि ? हाम्रा आँखाले अरूले गरेका नराम्रा काम मात्र देखिरहेका छन् कि ?
यति छिटो हामीले धेरै ठाँउमा प्रगति गरेका छौं । त्यो प्रगतिलाई दिगो बनाउन व्यक्ति व्यक्तिबीच स्वाभिमान जगायो भने सकिन्छ । स्वाभिमान भनेकाे कर्तव्यको बोध हो ।
हाम्रो संविधानमा २९ वटा अधिकारको चर्चा छ तर हामीले कर्तव्यको चर्चा गरेका छैनौँ । जीवन विज्ञानमा हामी मानव कर्तव्यका कुरा सिकाउछौं । एकअर्काप्रतिको कर्तव्य के हो भनेर सिकाउछौं ।
संसारमा आजसम्म दुई चार जना राजनितिज्ञले देशै परिवर्तन गरेको उदारहण छैन । हामीले लि क्वानयू को कथा सुन्यौं होला । तर त्यो कथालाई पुरै बुझेनौं । सिंगापुर विकास हुन हरेक मानिसले आफ्नो ठाँऊबाट योगदान दिएका छन् । त्यहाँको विकासको श्रेय त्यहाँका जनतालाई जान्छ । मैले मेरो ठाँऊबाट के गर्नु पर्छ भन्ने कुरा बुझ्नु पर्छ । कुनै लि क्वान यू अथवा नेल्सन मण्डेला चर्चित भएर आउँछन् होला । तर अफ्रिका एकातिर नेल्सन मण्डेला अर्कातिर भएर अफ्रिका विकास भएको होइन । सिंगापुरको कथा पनि त्यस्तै हो । समाजको चेतनाको रूपान्तरण हो ।
हामीले हतार गर्नु हुँदैन । एकअर्कालाई दोषारोपण गर्न छोडेर आफ्नो क्षमता चिन्ने भएर काम गर्नु पर्छ । हामी १० बर्ष लगातार खट्ने हो भने स्वाभिमान आफैं आउँछ । स्वाभिमानी व्यक्ति कहिल्यै भ्रष्ट हुन सक्दैन । मेरो काम मैले ठीकसँग गरिन भने भ्रष्टचार हुन्छ । भ्रष्ट आचरण पनि एक प्रकारको भ्रष्टाचारै हो । सरकारी तलब खानेको मात्र भ्रष्ट आचरण हुन्छ भन्ने हुँदैन । मेरो हुँदैन ? म पनि जिम्मेवार मानिस हो । भ्रष्ट आचरण आकाशबाट खस्ने बर्षात् होइन ।
कुनै परिवार, स्कूल, कलेज वा कतै हेरेर व्यक्तिले सही वा गलत आदत सिकेको हुन सक्छ । त्यसैले मानिसलाई राम्रो सिकाउने ठाँउ पनि चाहिन्छ । चेतनाको तह परिवर्तन नगरी दोषारोपण गरेर हामी उम्कन सक्दैनौ । हामीले राजनीतिज्ञलाई मात्र गाली गर्ने हो भने अर्को सय बर्षमा पनि देश बन्दैन ।
जनता नेतालगायत हामी सबैले आ–आफ्नो ठाँऊबाट आफ्नो क्षमता र स्वाभिमानमा काम गर्नुपर्छ । हामीलाई सबै कुराको हतार हुन्छ । हामी सबै अपेक्षा राख्छौं । यी कुराबाट टाढा भागेर सोच्न पर्ने हुन्छ ।
नेपालामा लोकतन्त्रको बच्चा जन्मेको खासै धेरै भएको छैन । त्यसैले धेरै हतार गर्न आवश्यक छैन । आरोप–प्रत्यारोप गर्ने बेला भएकै छैन । समीक्षा गर्ने बेला पनि भएको छैन । अलिकति गरेका राम्रा कामहरू पनि हेर्ने गरौं न ।
कुनै मन्त्री वा सचिवले राम्रो काम गरेको छ भने उजागर गरौं । उसलाई प्रोत्साहनको खाँचो हुन्छ । नराम्रो कामको मात्र खेदो गर्नु हुँदैन । हरेक व्यक्तिमा केही न केही राम्रो गर्ने स्वभाव हुन्छ । हामीले त्यसलाई देख्यौँ भने उत्प्रेरित गर्नुपर्छ ।
कुनै विद्यार्थीले १० बिषयमध्ये ९ बिषयमा राम्रो गरेको छ तर एक बिषय राम्रो गरेको छैन भने हामी त्यो एक बिषयलाई लिएर उसलाई घोच्ने गर्छौं । ९ वटा राम्रो गरेको बिषयको प्रशंसा कमै गर्छौं । जबर्जस्ति प्रशंसा गर्नु भनेर पक्कै भनेको होईन । तर राम्रो भएको कुरा त हेर्नु पर्छ ।
राम्रो भएको देख्नलाई सकरात्मक सोच चाहिन्छ । हाम्रो देशमा सकरात्मक सोचको माहौल अझ राम्रो बनीसकेको छैन । नराम्रो जो कोहीले देख्न सक्छ तर राम्रो देख्न बुद्धि र विवेक चाहिन्छ । बाटोमा खाल्डो देख्न कुनै विद्वानको विवेक चाहिंदैन तर बाटो कुन दुःख र कष्टले बन्यो भनेर बुझ्न धेरै ठूलो विवेक चाहिन्छ । हामी राम्रो देख्ने, राम्रो सोच्ने र राम्रो गर्ने बाटोमा हिड्यौँ भने प्रगति गर्न समय लाग्ने छैन ।
हरेक कुराको प्राकृतिक प्रक्रिया हुन्छ । कुनै बच्चा आमाको गर्भमा गएको भोलिपल्टै जन्मिइहाल्दैन । कुनै पनि राष्ट्रले आजको भोलि विकास गर्न सक्दैन । त्यसैले हतार गर्नु आवश्यक छैन । मैले पनि यो देशका लागि केही गर्नु पर्छ । मलाई यो देशले हुर्काएको छ, पढाएको छ । देशप्रति मेरो कर्तव्य छ भनेर हेक्का राख्नु पर्छ । हामी सबैले यसरी नै सोच्नुपर्छ । मान्छेको क्षमतामा बढी ध्यान दिनुपर्छ । गरेका राम्रा कामको प्रशंसा नगरी नगरेका कमको निन्दा गर्न हुँदैन । निन्दाको कुनै अर्थ नै छैन ।
संसारमा कल्याणबाहेक केही पनि छैन । त्यसैले हामी सबै निश्चिन्त भएर बस्नु पर्छ । हामी सबैको बुद्धि एक दिन अवश्य फिर्नेछ । राजनीतिले पनि सकरात्मक लय समात्नेछ । कसैले यो देश बिग्रिँदै छ वा खत्तम हुँदैछ भनेमा रत्तिपनि विश्वास नगर्दा हुन्छ । बुद्धि भएको मान्छेले सकरात्मक भाव बाहेक अरू सुन्दैन । यो पूरै ब्रह्माण्ड कल्याणका लागि बनेको छ । तपाईं हाम्रो अवश्य राम्रो हुनेछ ।
रूखका पुराना पातरू झर्दा म रोएको थिएँ होला तर अहिले फेरि हरियाली छाएको छ । जीवनका यथार्थहरूलाई यसरी नै आत्मसात गर्नुपर्छ । मानिसभित्र धेरै सकारात्मक बल छ । हरेक व्यक्ति सकरात्मक सोचको कारखाना हो । मानिसले चाहे पुग्छ ।
हामीलाई सबैलाई समेट्ने सूत्र चाहिएको छ । हाम्रो देशलाई जाति, धर्म वा सम्प्रदायमा विभाजन गर्ने सूत्र चाहिएको होइन । महिला, पुरुष, लिंग, वर्ण भेद जस्ता कुनै पनि भेद चाहिएको छैन । हामी सबैलाई साझा सूत्र वा एकताको सूत्रमा बाँधेर एउटा नयाँ भाष्य निर्माण गर्ने बाटोमा लागेका छौँ ।
नयाँ युगको निर्माण स्वतः हुने गर्छ । यसलाई हरेक व्यक्तिभित्र रहेको क्षमताले जोड्ने गर्छ । हामीले अरूको क्षमताको मूल्यांकन गर्ने क्रममा आफ्नो क्षमता दुरुपयोग भएको पत्तै पाउँदैनौं । एक अर्कालाई मद्दत गर्यौं भने स्वतः एउटा सुन्दर समाजको निर्माण हुन्छ ।