काठमाडौं– राष्ट्रिय परीक्षाबोर्डले भदौ १७ गते सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा ५० प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएपछि उच्च माध्यमिक तहको शैक्षिकस्तरबारे प्रश्न उठेको छ । नतिजाले विद्यालय तहको पाठ्यक्रम, कक्षा भार, शिक्षण सिकाइदेखि सरकारको लगानीमासमेत समीक्षा गर्नु पर्ने देखाएको छ ।
बोर्डका अनुसार कक्षा १२ को नतिजामा १ लाख ८८ हजार ४ सय १० जना नन ग्रेडेड अर्थात् अनुत्तीर्णमा परेका छन् । यो कूल परीक्षार्थीको ५१.९० प्रतिशत हो । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार ८, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ ३ हजार १ सय ३२ गरी कूल ३ लाख ९६ हजार एक सय ८५ विद्यार्थीले परीक्षा दिएका थिए । लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउन नसक्नेको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) लेखिन्छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार यसवर्ष १ लाख ८८ हजार ४ सय १० विद्यार्थी नन ग्रेडेडमा परेकामा मध्ये दुई विषयमा निर्धारित प्रतिशतभन्दा कम ल्याउने १ लाख ३० हजार ८ सय ७८ विद्यार्थीले मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँछन् । दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका ५७ हजार ५ सय ३२ विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ ।
ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धतिअनुसार प्रकाशन गरिएको छ । यसअनुसार आंशिकतर्फ ३ हजार १ सय ३२ जनाले परीक्षा दिएकामा १ हजार २ सय ८८ जना (४१.१२ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन् । विसं २०७८ मा सार्वजनिक भएको नतिजामा ७ हजार ६३ विद्यार्थीले ३.६ जीपीए कटाएका थिए ।
कोभिड–१९ को तस्रो लहरका कारण २०७७ को परीक्षा होम सेन्टरमा सञ्चालन भएको थियो । २०७८ मा बोर्डले केन्द्र तोकेर विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्दा ४ हजार १ सय ७९ विद्यार्थीले मात्रै ३.६१ देखि ४ जीपीए ल्याएका थिए ।
समग्रमा खस्किएको देखिए पनि नतिजाले विगतकै ट्रेन्डलाई पछ्याएको अध्यक्ष डा. शर्माको दावी छ । अहिलेको नतिजाले सन्तोष मान्ने ठाउँ नभएकाले शैक्षिक गुणस्तर उकास्न सबै तहबाट मेहनत गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।
शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला प्रमुख तीन कारणले नतिजा खस्किएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सानैदेखि उदार कक्षोन्नतिको प्रवृत्ति गलत छ । तलैबाट कमजोर विद्यार्थीलाई पनि माथि लगियो त्यसको नतिजा अहिले आएर देखियो ।’
लेटर ग्रेडिङले पनि विद्यार्थीको सिकाइमा असर पारेको उहाँको भनाइ छ । लेटर ग्रेडिङले कक्षामा फेल होइदैन भन्ने गलत मानसिकता विद्यार्थीमा पर्नु र यसमा शिक्षक तथा विद्यार्थी दुबैको गलत बुझाइले प्रभावकारी शिक्षण सिकाइ नहुँदा समस्या आएको उहाँको भनाइ छ । ‘पछिल्लो समय पढेर के हुन्छ र भन्ने मानसिकता विद्यार्थीमा पर्यो । उनीहरूले भविष्यको आशा देखेनन् अनि विद्यार्थीमा पढ्ने रहर नै जागेन’ उहाँले भन्नुभयो ।
प्रविधि र किताबको फरकले पनि नतिजामा समस्या आएको शिक्षाविद् कोइरालाले बताउनुभयो । ‘कक्षामा पढाउने कला र विद्यार्थीमा पढ्ने कला नै मिलेन, शिक्षक किताब पढाउने तर विद्यार्थी प्रविधिमैत्री हँुदै प्रविधिबाट सिकाइ गर्न चाहने’ उहाँले भन्नुभयो, ‘यो भिन्नताले पनि शिक्षण सिकाइमा समस्या आयो । विद्यार्थीलाई त्यहीँ अन्याय भयो । त्यसैले प्रविधिमय सिकाइ हुनु आवश्यक छ ।’
अङ्ग्रेजी र गणितमै धेरै विद्यार्थी फेल हुनु चिन्ताको विषय रहेको भन्दै उहाँ शिक्षकले त्यही अनुसारको तयारी गर्न नसक्नु पनि कमजोरी रहेको बताउनुभयो । ‘एकथरी पढिखाने र एकथरी गरिखाने विद्यार्थी छन्’ उहाँले भन्नुभयो, ‘गरिखानेलाई सीप र प्रविधिसँग गरिखाने शिक्षा चाहिएको छ । त्यसैले अब पढाइ र गराइलाई जोडेर लानुपर्ने आवश्यकता छ ।’
नेपाल अभिभावक महासंघका केन्द्रीय अध्यक्ष सुप्रभात भण्डारी कक्षा १२ को नतिजामा करिब ५१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनुले शैक्षिक गुणस्तर सन्तोषजनक नरहेको देखाएको बताउनुहुन्छ ।
‘अहिले कक्षा कोठाको शिक्षण सिकाइ नै कमजोर देखिन्छ, गुणस्तरीय शिक्षणमा शिक्षकको कमजोरी केलाउनु आवश्यक छ,’ उहाँ भन्नुहुन्छ, ‘विद्यालयको तलदेखिकै जग कमजोर बन्दै गएको छ, पाठ्यक्रमले पनि यसमा भूमिका खेलिरहेको हुन्छ । यो नतिजाले त शिक्षक अब्बल भएनन् भनेर पनि प्रश्न चिन्ह खडा भएको छ ।’
कोभिडका कारण दुईवर्ष अनलाइन कक्षा हुँदा पढाइ प्रभावकारी हुन नसकेकाले पनि नतिजा खस्केको उहाँले बताउनुभयो । अध्यक्ष भण्डारी यसैलाई दोष दिएर पन्छिने ठाउँ भने नभएको बताउनुहुन्छ । कक्षामा नियमित सिकाइ भएको छ कि छैन, गुणस्तीय शिक्षा छ कि छैन, शिक्षक अब्बल छन् कि छैनन्, पाठ्यक्रम निर्धारण लागू गर्न कमी कमजोरी पनि रहेका छन् कि ? यसको खोजी गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का केन्द्रीय कोषाध्यक्ष वीरेन्द्र जयना कोरोना महामारीले दुईवर्ष भएको लकडाउनका कारण शिक्षण सिकाइ प्रभावकारी बन्न नसक्दा नतिजा खस्किएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘दुई वर्ष लकडाउन भयो, त्यतिबेला एसइई दिनेको नतिजा पनि राम्रो आएन । अनलाइन कक्षाको भरमा कक्षा ११ पढ्नु प¥यो । विषयगत शिक्षकको अभाव, पढ्ने पढाउने वातावरण नहुनु जस्ता समस्या देखिए । काठमाडौँ उपत्यकाका अधिकांश विद्यालयमा पढ्ने विद्यार्थी आधाभन्दा बढी गाउँ फर्किए । गाउँमा अनलाइन कक्षासमेत लिन नपाएनन् । अनि नतिजा कसरी राम्रो आउँछ र ?’ उनले प्रश्न गरे ।
सबैसँग ल्यापटप र मोबाइलको पहुँच नहुँदा गाउँ फर्किएका कैयन् विद्यार्थीले अनलाइन कक्षा पनि लिन नपाएर सामुदायिक विद्यालयको नतिजा अझै खस्किएको हुनसक्ने जयनाको भनाइ छ । अहिलेको नतिजाले राज्यको लगानी, अभिभावकको लगानी र स्वयं विद्यार्थीको भविष्यमा पनि प्रश्न खडा भएको उहाँ बताउनुहुन्छ ।
अनिवार्य पाँच विषय रहेकोमा लकडाउनकै बेलामा नयाँ एक विषयको पाठ्यक्रम थपेर ६ विषय अनिवार्य गर्नु तर त्यसको तयारी कक्षाको सिकाइको तयारी नगर्नु तथा विषय शिक्षकको अभाव हुनुले पनि नतिजालाई असर पारेको उहाँले बताउनुभयो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमाल नतिजा सन्तोषजनक नहुनमा लकडाउन मुख्य कारण भएको बताउनुहुन्छ ।
अनलाइन कक्षा स्कुलदेखिनै प्रभावकारी नहुनु, अनलाइनका लागि प्रविधि सबैसँग नहुनु र विद्यार्थी अनलाइन कक्षामै नबसिदिने, सबै कक्षाभार सिध्याउन नसक्ने समस्या रहेकाले शिक्षण सिकाइ नै प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ । पाठ्यपुस्तक सजह उपलब्ध नहुनु र कतिपय पढाइ नै नभएका पाठबाट प्रश्न आएको गुनासो विद्यार्थीबाट आउनुले पनि समस्या छ भन्ने देखाएको प्याब्सन उपाध्यक्ष थापा बताउनुहुन्छ ।
कक्षा १२ मा यस वर्षको नतिजामा ४ हजार १ सय ७९ जनाले ३.६१ देखि ४ जिपिए, ३० हजार १ सय ७ जनाले ३.२१ देखि ३.६० जिपिए, ६५ हजार २ सय ८४ जनाले २.८१ देखि ३.२० जिपिए, ६४ हजार ९३ जनाले २.४१ देखि २.८० जिपिए, १० हजार ९ सय जनाले २.०१ देखि २.४० जिपिए र ३५ जनाले १.६१ देखि २ जिपिए ल्याएका थिए । रासस