नेपालमा विश्वविद्यालयको संख्या बढ्दै छ । एक दर्जन विश्वविद्यालय राम्रैसँग चलिरहेका छन् । तर यति धेरै विश्वविद्यालय र शिक्षण संस्थाहरू हुँदा पनि नेपाली विद्यार्थी अध्ययनका लागि बिदेसिने लहर घटेको छैन । यो विषयलाई हलुका ढंगले लिन मिल्दैन ।
गुणस्तरीय शिक्षा विकसित देशमा मात्र पाइन्छ भन्ने आम विद्यार्थीको बुझाइ होला । विद्यार्थीको एउटा ठूलो जमातले कुनै एउटा पेसामा संग्लन भएर पनि अध्ययनलाई अगाडि बढाउन सकिन्छ भनेर सोच्छ । उसको यो सोचाई स्वैच्छिक नभई बाध्यात्मक बढी हो । अरू धेरै विद्यार्र्थी स्वदेशमा भविष्य देख्न नसकी पिआर (पर्मानेन्ट रेसिडेन्सी) को मोहले विदेशतिर दगुरेको देखिन्छ । धेरै विद्यार्थी अध्ययनका लागि मात्र भन्दा पनि उतै स्थायी बसोबासका लागि जाने गर्छन् ।
अध्ययनका लागि विदेश जानु राम्रै कुरा हो । तर सँगसँगै महत्त्वपूर्ण प्रश्न के भने– नेपालमा यति धेरै विश्वविद्यालय हुँदाहुँदै किन सबैजसो विद्यार्थी विदेशै जान चाहन्छन् ? त्यो पनि लाखौं खर्च गरी गरी ।
धेरैले नेपाली विश्वविद्यालयमा गुणस्तरीय पढाइ हुँदैन भन्ने गरेको सुनिन्छ । म अहिले काठमाडौं विश्वविद्यालयको विकास अध्ययन विभागको प्रमुखका रूपमा छु । मैले थुप्रै देशमा अध्यापन पनि गराएको छु । अहिले काठमाडौँ विश्वविद्यालयबाट प्राप्त हुने शिक्षाको जुन गुणस्तर छ, त्यो कुनै विकासित देशको शिक्षाभन्दा कम छैन । तर त्यति हुँदाहुँदै पनि विद्यार्थी बिदेसिने क्रम घट्न सकेको छैन ।
यस्तो किन भयो होला ? सायद काठमाडौं विश्वविद्यालयले विश्वस्तरको ज्ञान दिन्छ भन्ने कति विद्यार्थीलाई अवगतै नभएको हुन सक्छ । नेपालमा लामो समयसम्म विश्वविद्यालय भनेकै त्रिभुवन विश्वविद्यालय हो भन्ने बुझाइ रह्यो । मुलुककै जेठो र ठूलो विश्वविद्यालय भईकन पनि उसले आफू र आफ्ना शिक्षण संस्थाहरूलाई सम्हाल्न नसक्दा समग्र उच्च शिक्षा क्षेत्र नै अविश्वसनीय हुन गयो । चरम राजनीतिले गर्दा विद्यार्थीको पढ्ने वातावरणमा असर पर्यो । नेपालका सबै विश्वविद्यालय उस्तै हुन् भन्ने भ्रम फैलियो ।
यी दुईबाहेक अन्य विश्वविद्यालयहरू रहे पनि ती हुर्कने क्रममै छन् । त्यहाँबाट गुणस्तर आस गर्न पनि गाह्रै छ । त्यसैले विद्यार्थीहरू विदेश जान बाध्य भएका छन् । यसो भनिरहँदा पनि केही कुरा निकै महत्त्वपूर्ण हुन्छन् । केका लागि विद्यार्थीहरू विदेश जाने ? यो प्रश्न विद्यार्थीले बुझ्न एकदमै महत्त्वपूर्ण छ ।
कुनै विषय नेपालमा पठनपाठनका लागि उपलब्ध हुँदैन भने नेपाली विद्यार्थी विदेश गएर पढ्नैपर्ने हुन्छ । स्नातकोत्तर अथवा पीएचडी गर्न जानु अलिकति फरक कुरा हो । स्नातकोत्तर वा पीएचडी गर्न जाँदा छात्रवृत्ति पाउन सकिन्छ । यसरी छात्रवृत्तिमा अध्ययनका लागि विदेश जाने हो भने विद्यार्थीले बाहिर लैजाने रकम रोकिन्थ्यो ।
अहिलेको सन्दर्भमा प्रत्येक दिन १२ सयदेखि १५ सय विद्यार्थीले एनओसी (नो अब्जेक्सन लेटर) लिइरहेका हुन्छन् । एउटा विद्यार्थी विदेश जाँदा उनीहरूले कम्तीमा २५ देखि ३० लाख रुपैयाँ लैजाने गर्छन् । राज्यसँग विदेशी मुद्राको सञ्चिति कम भैरहेको अवस्थामा शिक्षाका लागि ठूलो धनराशि बिदेसिइरहेको छ ।
अधिकांश नेपाली विद्यार्थी स्नातक तह अध्ययन गर्न विदेश गएको देखिन्छ । तर उनीहरू पढ्न जाने कलेज भने सामुदायिक वा इन्स्टिच्युट वर्गका छन् । धेरैजसो विद्यार्थीको रोजाइमा विश्वविद्यालय पर्ने गरेकै छैनन् । जसको गुणस्तर त्यहाँ लगायत विश्व बजारमै छैन ।
विद्यार्थीलाई त्यहाँ पढ्दै काम गर्नुपर्ने चुनौती छ । उहाँहरूले त्यहाँ पूरै समय काम गर्नुपर्ने हुन्छ । यसो हुँदा विद्यार्थीले पढ्ने समय पनि पाएका हुँदैनन् । खासमा पढाइमा भन्दा पनि उनीहरूको ध्यान कमाइमा ज्यादा हुने गर्छ । त्यस किसिमको पढाइले गर्दा स्नातक सकेर प्रमाणपत्र हातमा परे पनि ज्ञानको भने कमी देखिन्छ ।
यसको बदला कुनै नेपाली विद्यार्थी छात्रवृत्तिमा पढ्न जान्छन् भने त्यो एकदमै राम्रो हो । विदेशमा उच्च शिक्षा हासिल गरेर त्यसलाई नेपालमा प्रयोग गर्न सक्नुपर्छ ।
अहिले धेरै अभिभावकले स्वदेशमा नभई विदेशमा आफ्नो भविष्य देख्न थाल्नुभएको छ । आमाबाबुमा पनि आफ्ना सन्तान अस्ट्रेलिया, अमेरिका वा बेलायतमा गएर पढे अथवा उतै बसे समाजमा प्रतिष्ठा बढ्थ्यो भन्ने मानसिकताले जरो गाड्न थालेको छ । यो विषयलाई उहाँहरूले सामाजिक प्रतिष्ठाको रूपमा लिनुभएको छ ।
खासमा उहाँहरू वास्तविकताको निकै पर हुनुहुन्छ । आफ्नो सन्तान विदेश गएर पाउने दुःखको चिन्ता कम लिनुहुन्छ । शनिबार वा आइतबार सामाजिक सञ्जालमा हालिएको विदेशको तस्बिर मात्र त्यहाँको यथार्थ होइन । आफ्ना सन्तानले स्वदेशमा गर्न लजाएको काम उता चाइँचुइँ नगरी गरिरहेका हुन्छन् । तर नेपाली अभिभावकलाई त्यसको कुनै पर्वाह भएको पाइँदैन । यस्तो प्रवृत्तिबाट हामी छिट्टै मुक्त हुन जरुरी छ ।
हामीकहाँ विकसित देशहरूमा कुनै कुराको विभेद हुँदैन भन्ने भ्रम छरिएको छ । तर यो यथार्थ होइन । विकसित देशहरूमा अधिकांश नेपाली तल्लो तहमा बसेर काम गरिरहेका देखिन्छन् । थोरै मात्रले माथिल्लो तहको काम पाएका हुन्छन् । कामको दर्जा नहुँदो हो त सबै नेपालीले त्यहीँ काम गर्न सक्थे नि !
विदेशमा रहेका ९५ प्रतिशतभन्दा बढी नेपाली सबैभन्दा तल्लो स्तरको काम गर्नुहुन्छ । प्राध्यापक, डाक्टर, कानुन लगायतका पेसामा पनि नेपाली नभएका होइनन् । तर ती औँलामा गन्न सक्ने संख्यामा छन् । नेपालमा त केही हुँदैन वा केही गर्नै सकिँदैन भन्ने भाष्य कोरिएको छ । स्वदेशमै सपना नदेखेसम्म सपना कसरी साकार हुन्छ त ?
सपना देखाउन नसक्नुमा राजनीतिकर्मीको ठूलो कमजोरी छ । नेपाली ठूला राजनीतिकर्मीका सन्तान प्रायः सबै अध्ययनका लागि विदेशतिरै जाने गरेको देखिन्छ । धेरै सामुदायिक विद्यालयका प्रधानाध्यापक वा शिक्षक शिक्षिकाका छोराछोरी निजी विद्यालयमा पढ्न जाने उदारहण पनि नभएको होइन ।
नेताहरूले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने वातावरण नबनाउँदासम्म यो विडम्बना चलिरहने देखिन्छ । सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाले आफ्ना सन्तान आफैंले पढाउने शिक्षण संस्थानमा भर्ना नगरेसम्म व्यवहारमा गुणस्तर बढ्न निकै गाह्रो छ । उहाँहरूका छोरा–छोरी राम्रो स्कुलमा पढ्ने भएकाले आफू पढाउने शिक्षण संस्थाको गुणस्तरमा ध्यान जान सक्तैन । यस्ता यावत् कुराले गर्दा धेरै नेपाली विद्यार्थीको मानसिकतामा नेपालामा राम्रो शिक्षा पाउनै सकिँदैन भन्ने परेको छ ।
न्युजिल्यान्डमा ‘मावरी’ जाति त्यहाँका जन्मसिद्ध नगरिक हुन् । जन्मजात त्यहीँका नागरिक भए पनि त्यो समुदायले प्रगति गर्न सकेको छैन । त्यसैले विदेशमा हुँदैमा प्रगति नै हुन्छ भन्नु भ्रम हो । आफ्नो गुणस्तर सुधार्न सके मात्र विकासको बाटो देख्न सकिन्छ । आफूलाई सक्षम बनाई विश्व बजारमा बेच्न सक्ने सीप हासिल गर्ने हो भने सबै ठाउँमा उस्तै मान्यता पाइन्छ ।
नेपाली विद्यार्थीले विदेश गएर उच्च गुणस्तरको शिक्षा आर्जन गरी स्वदेशमै फर्किन्छु भन्ने एकदमै कमैको मानसिकता हुन्छ । प्रायःले उतै पढ्छु र स्थायी बसोबास उतै गर्छु भनेर सोच्ने गर्छ । कतिपय स्नातकोत्तरभन्दा उच्च शिक्षा हासिल गरेर नेपाल फर्किन्छु भन्ने विद्यार्थी पनि छन् । तर त्यस्तो सोचाइ भएका एकदमै कम छन् ।
त्यस्ता विद्यार्थी प्रायः विश्वविद्यालय वा सरकारको छात्रवृत्तिमा जान्छन् । कतिपय ठाउँमा पढाइ सकिएपछि फर्कनुपर्ने प्रतिबद्धता गराइएकै हुन्छ । स्वदेश फर्कनैपर्ने बाध्यता भएकाले कति फर्किन्छन् । कति त्यही बाध्यता टार्न अर्कै देश पलायन हुन्छन् । किनभने उनीहरू नेपाल गएर अवसर पाउँछु भन्नेमा विश्वस्त छैनन् ।
नेपाल फर्किएर जागिर खानेभन्दा पनि म आफैं जागिरको अवसर सिर्जना गर्न सक्छु भन्नेमा धेरैको ध्यानै गएको हुँदैन । विदेशबाट फर्केपछि जागिर नै खानुपर्छ भन्ने मानसिकता त्याग्नुपर्छ । फर्केर संघर्ष गर्न कमै मान्छे मात्र तयार हुन्छन् । कोही व्यक्ति विदेश गएर अलि लामो समय बिताएपछि स्वदेशको साथी–संगी लगायतका सम्बन्धमा अन्तर आइसक्ने हुनाले पनि मन नभएको हुन सक्छ । केही गर्न सक्छु भन्ने विश्वास टाढा भैसकेको हुन्छ ।
दोष लगाउने ठाउँ धेरै छन् । बिदेशमा सुविधा लगायत नियम कानुन राम्रा छन् । यस्ता थुप्रै उदाहरण दिन सकिन्छ । कम्तीमा यताको भन्दा उता जीवन राम्रो हुन्छ । त्यसैले विद्यार्थीको मन स्वदेशले तान्न सकेको छैन । तर वास्तवमा उहाँहरू फर्कनुपर्ने हो ।
सिकेका सीपहरू यता प्रयोगमा लगाउनुपर्ने देखिन्छ । सुशासन लगायत कुरामा योगदान दिनुपर्छ । तर यी विषय धेरैलाई चासो भएको देखिँदैन ।
विदेशमा पढ्दा पढ्दै काम गर्न पाइन्छ । केही समयका लागि काम गर्नका लागि मात्रै पनि भिसा पाइन्छ । त्यतिखेर काम गरेको पैसाले विदेश जाँदा लागेको खर्च उठाउन सकिन्छ । यस्तो मानसिकता प्रायः सबैमा हुन्छ ।
विकसित देशमा जाने विद्यार्थीले सुरुको केही समय स्वदेशमै पैसा पठाए पनि पछि उतै बसोबास गर्ने चाँजो–पाँजो मिलाउने क्रममा नेपालामा भएको सम्पत्ति बेचेर उतै लैजान्छन् । यस्तो प्रवृत्तिले केही परिवारलाई सुरुमा केही सहयोग भएजस्तो देखिए पनि देशलाई घाटा भएको छ ।
अध्ययनका नाममा बर्सेनि अर्बाैं बाहिरिएको छ । हामीसँग ठ्याक्कै तथ्यांक छैन । तर के त्यसरी खर्च भएको अर्बाैं रकम नेपालमा रेमिट्यान्सको रूपमा फर्किएको छ त ? अवश्य छैन ।
यसरी विदेशी मुद्रा बाहिरिन नदिनका लागि नेपाली विद्यार्थीलाई यहीँ पढ्न सक्ने वातावरण बनाउन सक्नुपर्छ । निश्चित जनशक्ति आवश्यक परेको खण्डमा जुन शिक्षा नेपालमा छैन, त्यसैका लागि अध्ययनमा विदेश पठाउन सकिन्छ । अहिले त हामी डिप्लोमा गर्न पनि विदेश धाइरहेका छौं ।
विश्व भाषा क्याम्पस नेपालामा हुँदाहुँदै भाषा पढ्न किन विदेश जानुपरेको ? यदि हाम्रो शिक्षा राम्रो छैन भने राम्रो बनाउने पहल गर्नुपर्यो । तर नेपालमै अवसर हुँदाहुँदै विदेश पठाउन हुँदैन ।
विश्वबजारसँगै नेपालामा पनि विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्दो छ । नेपालमा अलि बढी नै प्रभाव परेको देखिन्छ । अहिले राज्यले विश्वविद्यालयमा गरेको लगानी खेर गइरहेको छ । विश्वविद्यालय पनि च्याउसरी खोल्न आवश्यक छैन । अहिले भएका विश्वविद्यालयलाई व्यवस्थापन गरी गुणस्तरीय बनाउन सक्नुपर्छ । राज्यले यस कुरामा बिशेष ध्यान दिनुपर्छ ।
हाम्रा विश्वविद्यालयका धेरै प्राध्यापक राजनीतिमा होमिएका छन् । उहाँहरूलाई यो वातावरणबाट टाढा लैजानुपर्छ । अझ राम्रो र योग्य शिक्षक हुन तालिमहरू प्रदान गर्नुपर्छ । राज्यले यस्ता कुरामा ध्यान दिनसके विश्व बजारमा पाइने शिक्षा नेपालमै पाइन थाल्नेछ ।
त्यसपछि केही निश्चित सीपका लागि विदेश पठाउन परे सोच्नुपर्ने हुन्छ । तर अहिले त्यो अवस्थामा हामी पुगेका छैनौँ । उच्च शिक्षा सक्नेबित्तिकै विदेश जाने सपना देख्न थालिएपछि देश कहिल्यै नबन्ने सम्भावनाबाट टाढा रहँदैन ।
नेताहरूको भाषण सुन्दा धेरैले नेपालको शिक्षा व्यावसायिक भएन भन्नुहुन्छ । यो एकदमै ठूलो झूट हो । हामीलाई आजभन्दा ५–७ वर्षपहिले त्यही भनिन्थ्यो । आज पनि त्यही नै भनिन्छ । व्यावसायिक शिक्षालाई प्रोत्साहन र तालिमका लागि देशमा प्राविधिक शिक्षा वा व्यवसायिक तालिम परिषद् भनेर खोलियो । यस अन्तर्गत नर्सिङ, ल्याब लगायत धेरै विषय पठन–पाठन गराइयो । अहिले डाक्टर, नर्सको उपादन एकदमै धेरै छ । व्यावसायिक शिक्षा प्राप्त यी डाक्टर,नर्स, टेक्निसियन लगायतका विद्यार्थी बेरोजगार छन् । तर रोजगारीको अवसर सिर्जना हुन सकेको छैन । १२ देखि १५ लाख रुपैयाँ खर्च गरेर नर्स पढ्दा महिनाको तलब १५ हजार थाप्नुपर्ने बाध्यता छ ।
के साँच्चै नै यो देशमा प्राविधिक ज्ञान (टेक्निकल नलेज) को खाँचो रहेको हो त ? सीपमूलक शिक्षा नभएको प्रस्ट देखिन्छ । कुनै एउटा स्नातकोत्तर गरेको विद्यार्थीमा अनुसन्धान गर्न सक्ने सीप हुनपर्छ । तर हाम्रा विश्वविद्यालयले त्यस्तो सीप प्रदान गर्न सकेका छैनन् । अनुसन्धान गर्ने सीप विकास हुँदा एउटा राम्रो अनुसन्धानकर्ता बन्न सकिन्छ । देशलाई धेरै योगदान दिन सकिन्छ । हामीले यस्ता कुरामा ध्यान एकदमै कम दिएका छौँ ।
हामीलाई शिक्षा भनेको प्राविधिक मात्र हुनुपर्छ भनेर भ्रम फैलाइएको छ । नेपालामा राम्रो सामाजिक वैज्ञानिक भेट्दैनौँ हामी किन ? मानविकीमा ज्ञान राख्ने विज्ञ भेटिँदैन किन ? किनभने ती संकाय कमजोर विद्यार्र्थीले पढ्ने भनेर भ्रम फैलाइएको छ । विदेशमा ती विषय राम्रा विद्यार्र्थीले पढ्ने गर्छन् ।
कुनै पनि विद्यार्थीले विदेश पढ्न जानुअघि आफू कस्तो कलेजमा जाँदै छु भनेर यकिन गर्न सक्नुपर्छ । तर त्यस्तो भएको देखिँदैन । अहिले बागबजार, पुतलीसडकतिर जाँदा अनेकौं कन्सल्टेन्सी पाइन्छन् । उनीहरूले पनि उचित परामर्श दिएको देखिँदैन । साँच्चै नै नेपाली विद्यार्थी राम्रो विश्वविद्यालयमा पढ्न जाने हो भने राम्रो हुन्थ्यो । उहाँहरू पीटीआई (प्राइभेट टेरिटोरी इन्स्टिच्युट) मा पढ्न जानुहुन्छ । अस्ट्रेलियामा कतिपय कलेज त पढ्दापढ्दै बन्द भएका पनि छन् । नेपाली विद्यार्थीले यस विषयमा बुझेकै छैनन् ।
पढाइको गुणस्तरभन्दा पनि विद्यार्थीले देश हेरेको देखिन्छ । यस्तो प्रवृत्तिलाई सरकारले रोक्न जरूरी छ । कस्ता ठाउँमा जानका लागि मात्र एनओसी दिने भनेर सरकारले निगरानी गर्न सक्छ । निगरानी गरिदिए विद्यार्थीले विदेश गएर अनावश्यक दुःख पाउने थिएनन् । सकेसम्म पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीलाई मात्र एनओसी दिनुपर्छ । निजी कलेजमा जाने विद्यार्थीलाई रोक्नैपर्छ । विद्यार्थीलाई दिग्भ्रमित पार्नु हुँदैन ।
राज्यले जान हुने र जान नहुने शिक्षण संस्थाको मापदण्ड वा गुणस्तर सूचक बनाइदिनुपर्छ । अभिभावकले पनि आफ्ना सन्तान विदेश पठाउनुअघि एकचोटि मापन गर्न सकून् । राज्यले नेपालका विश्वविद्यालयलाई उच्च गुणस्तरको बनाउनुपर्छ । स्वदेशमै रोजगारीको अवसर दिनुपर्छ । उच्च शिक्षा हासिल गरेका सबैले जागिरै खानुपर्छ भन्ने हुँदैन । राज्यले व्यवसायको बाटो देखाई अवसर दिनुपर्छ । लगानीका लागी प्रोत्साहन कार्यक्रम ल्याउनुपर्छ । यसो गर्दैगर्दा नेपाली विद्यार्थीको पनि बिस्तारै मानसिकता परिवर्तन हुँदै जान्छ ।