यदि तपाईं सूचना प्रविधिको विषयमा रुचि राख्नुहुन्छ भने पक्कै थाहा पाउनु भएको होला कि यो प्रविधिलाई तीव्र गतिमा बादलले ढाक्दैछ । हो, हामीले प्रयोग गर्ने सबै जसो कम्प्युटरहरू, ट्याबलेटहरू र मोबाइल फोनहरू सबैमा बादल लाग्दैछ !
साधारण बोलिचालीको भाषामा बादल भन्नाले सामान्यतया नकारात्मक रूपमा बुझिन्छ । कसैको भाग्यमा बादल लागेको भन्दा उसको दुर्भाग्य सुरु भएको बुझिन्छ । बादल लागेको मौसमलाई राम्रो मानिँदैन । तर यहाँ हामी हाम्रो बोलचालको भाषा हैन सूचना प्रविधिको भाषा बोल्दैछौं ।
सूचना प्रविधिको भाषामा बुझ्दा बादल कुनै नकारात्मक वस्तु हैन; बरू यो त सूचना प्रविधिमा एउटा नयाँ प्रविधि हो र निकै सकारात्मक कुरा हो । अब त बुझिहाल्नुभयो होला हामी यहाँ सूचना प्रविधिको क्षेत्रमा अहिले निकै तीव्र गतिमा बिस्तार भैरहेको बादल प्रविधि अर्थात् ‘क्लाउड कम्प्युटिङ’ (cloud computing)को बारेमा कुरा गर्दैछौं ।
कम्प्युटरमा भण्डारण हुने सबै चिजलाई कम्प्युटरको भाषामा हामी सूचना (information) भन्ने गर्छौं । ती सूचनाको परिधिभित्र हामीले कम्प्युटरमा लेख्ने सामान्य लेखदेखि लिएर हाम्रा तस्विर, भिडियो सहित कम्प्युटरमा राख्न सकिने सबै वस्तुहरू पर्छन् । कम्प्युटरमा यसरी सूचनाहरू भण्डारण गरेर राख्ने अनि चाहिएको बेला निकाल्न सकिने प्रविधि बिसौं शताब्दीको अन्त्यतिर सुरु भएको हो ।
हामीले बुझ्ने गरेको कम्प्युटर सन् १९७१ मा केनब्याक कम्पनीले बनाएको कम्प्युटरबाट सुरु भएको थियो तर त्यसको प्रयोग निकै जटिल थियो अनि मूल्य पनि अधिक । व्यावसायिक रूपमा प्रयोगमा आएको कम्प्युटर चाहिँ जेरक्स कम्पनीले जेरक्स अल्टोको रूपमा सन् १९७३ मा मात्र बजारमा ल्याएको थियो । त्यस्ता कम्प्युटरहरू भर्खर प्रचलनमा आउँदा सबैजसो सूचनाहरूको भण्डारण त्यही कम्प्युटरको ड्राइभमा मात्र गरिन्थ्यो ।
त्यो प्रविधिमा अलि विकास भएर कम्प्युटरको मूल्य कम हुन थालेपछि व्यक्तिगत कम्प्युटरको माग बढ्न थाल्यो र सूचना भण्डारणमा फ्लपी डिस्क र कम्प्याक्ट डिस्क (सीडी) को प्रयोग सुरु भयो । त्यसपछि कम्प्युटरको विकास हुँदै गर्दा अधिकांश कम्पनीहरूले कम्प्युटर प्रयोग गर्न सुरु गरे । कम्पनीको सूचना भण्डारण गर्न सामान्य कम्प्युटरले काम नगर्ने भयो ।
धेरै सूचना एकै ठाउँमा राख्नको लागि सन् १९७० को दशकको अन्त्यतिर डाटाबेसको प्रयोग प्रचलनमा आयो । त्यसले कम्पनीहरूलाई ठूलो राहत प्रदान गर्यो तर व्यक्तिगत प्रयोगकर्ताको दैनिक प्रयोगको लागि भने खासै ठूलो परिवर्तन ल्याएन । कम्प्युटरको लोकप्रियतासँगै कम्पनीहरू मात्र नभएर समान्य नागरिक पनि यसका प्रयोगकर्ता बने । यसको बजार व्यापक रूपमा बिस्तार भयो । मानिसहरूले आफ्ना विभिन्न सूचना कम्प्युटरमै भण्डारण गर्न थाले ।
प्रविधि विकास हुँदै जाँदा सूचनाको गुणस्तर, त्यसकाे अनुपात र आकारमा पनि बृद्धि हुँदै गयो । भण्डारणको आवश्यकता पनि बढ्दै गयो । साथसाथै कम्प्युटरमा भण्डार गरिएको सूचनाको गोपनीयताको आवश्यकता पनि बढ्दै गयो । केही समयपछि फ्लपी डिस्क र सीडीको स्थान सानो ठाउँमा धेरै डाटा अट्न सक्ने युएसबीले लियो । युएसबीको प्रयोग अहिले पनि लोकप्रिय छ ।
यसैबीच इन्टरनेटको पनि विकास भयो र तीव्र गतिमा यसले हासिल गरेको लोकप्रियतासँगै सूचना भण्डारणमा नयाँ आयाम ल्यायो । इन्टरनेटको लोकप्रियता र सर्वसुलभता बढ्दै जाँदा क्लाउड कम्प्युटिङको अवधारणा सुरु भयो । यसले पनि निकै छोटो अवधिमा आफ्नो साम्राज्य विस्तार गरिरहेको छ ।
हामीले सायद अझै पनि हटमेल, याहु, जीमेल जस्ता निशुल्क इमेल सेवाहरू प्रयोग गरिरहेका हौंला । हाम्रा सबै इमेल र त्यसका फाइलहरू माइक्रोसफ्ट, याहु र गुगलका सर्भरमा भण्डारण हुन्छन् । त्यस्तै हामीले प्रयोग गर्ने फेसबुकका तस्बिर, युट्युबका भिडियो र इन्स्टाग्रामका तस्बिर पनि उनीहरूकै सर्भरमा भण्डारण हुन्छन् । सामान्य अर्थमा बुझ्दा हामीजस्ता प्रयोगकर्ताको लागि क्लाउड कम्प्युटिङ भनेको त्यही हो- अर्थात् हाम्रो सूचनाको भण्डारण इन्टरनेटको क्लाउडमा गरिने प्रविधि ।
तर यसलाई किन क्लाउड भनियो त भन्ने तथ्य पनि रोचक छ । यो शब्दावली सबभन्दा पहिले सन् १९९६ मा तत्कालिन कम्प्याक कम्पनीमा काम गर्ने एकजना इन्जिनियरले कम्पनीको व्यापार योजना बनाउँदा कम्पनीले प्रविधि क्षेत्रमा के गर्नुपर्छ भन्ने सन्दर्भमा प्रयोग गरेका थिए । त्यो बेला इन्टरनेटको प्रयोगले भर्खर व्यापकता पाउँदै थियो । इन्टरनेटका सामग्रीहरू प्रयोगकर्ताभन्दा हजारौं माइल टाढाका सर्भरहरूमा नदेखिने रूपमा हुन्थे । ती सूचना एकभन्दा बढी सर्भरमा भण्डार गरिएका हुन्थे र आवश्यकता अनुसार यताबाट उता र उताबाट यता दौडिरहेका हुन्थे । त्यो दृष्यलाई बादलमा पानीका थोपाहरू भण्डारण गरिएको र प्रयोगकर्ताले चाहिँ पानीको रुपमा मात्र देख्ने जस्तो दृष्टान्तमा कल्पना गरेर उनले त्यो नाम दिएका थिए ।
हामी सबैलाई थाहा छ कम्प्युटरका कुनै पनि सूचना भण्डारण गर्नको लागि कुनै न कुनै रुपमा स्टोरेज डिभाइसको आवश्यकता पर्छ । फ्लपी डिस्क, सीडी, यु एसबी डिस्क, हार्ड ड्राइभ सबै यसकै रूप हुन् । तर यी सबै डिस्कहरू बढ्दै गएको भण्डारणको आकारका लागि प्रर्याप्त हुँदैनन् ।
कुनै कम्पनीको सूचनाको आकार यति ठूलो हुन्छ कि एक दुई वटा कम्प्युटरमा यसलाई भण्डारण गर्नै सकिदैन । ती सूचना भण्डारण गर्नको लागि विशेष रूपमा डिजाइन गरिएका फाइल सर्भरहरूको आवश्यकता पर्छ । ती फाइल सर्भरहरू चौबिसै घण्टा चल्नुपर्छ, उनीहरूको तापक्रम नियन्त्रण गर्न विशेष कोठामा राखिएको हुन्छ । कसैगरी ती सर्भरमा समस्या आएर त्यसमा भण्डारण गरेको सूचना हराउन गयो अथवा बिग्रियो भने त्यस्तै सूचनाको प्रतिलिपि अर्को स्थानमा रहेको अर्को सर्भरमा राखिने व्यवस्था मिलाइएको हुन्छ ।
संसारमा अहिले कम्प्युटर प्रयोग नगर्ने कम्पनीहरू सायद छैनन् होला । हरेक कम्पनीका केही न केही सूचना हुन्छन् । ती सूचनालाई गोप्य रूपमा भण्डारण गर्नुपर्ने हुन्छ । त्यसको लागि सबै कम्पनीले आ-आफ्नो सर्भर किन्नुपर्ने हुन्छ । यो दृष्य केही वर्ष अगाडिसम्म चल्तीमा थियो । तर यसले कम्पनीको खर्च बढाएको थियो । ती सर्भरको लागि त्यसको रेखदेख गर्ने मान्छे चाहियो । सर्भर पुरानो भयो भने फेर्नु पर्यो ।
सूचना भण्डारणलाई सजिलो पार्नको लागि प्रविधि जगतका ठूला कम्पनीहरूले क्लाउडको धारणा अगाडि ल्याए । यति भएपछि आफ्ना सूचनाहरूलाई कम्पनीहरूले सजिलो र सुरक्षित रूपमा कम लागतमा क्लाउडमा राख्न सक्ने भए । क्लाउडको अवधारणाले यसको सुविधा लिने कम्पनीहरूलाई फाइदा हुने मात्र नभई सुविधा प्रदान गर्ने ठूला कम्पनीहरूलाई व्यापारको ठूलो अवसर प्राप्त भयो । अहिले यो प्रविधिमा माइक्रोसफ्ट, अमेजन जस्ता ठूला कम्पनीको वर्चश्व छ ।
तर क्लाउड कम्प्युटिङ त्यति मात्र हैन । यस भित्र धेरै जटिल प्रविधि छन् । क्लाउड कम्प्युटिङले यही रफ्तारमा बिस्तार गर्दै गयो भने हामीले प्रयोग गर्ने कम्प्युटर, ट्याबलेट र मोबाइलहरू अहिले जस्तो धेरै स्टोरेज भएका हुने छैनन् । यी उपकरणहरूमा उपकरण चलाउन चाहिने आधारभूत प्रणाली मात्र हुनेछ र हामीलाई चाहिए अनुसार क्लाउडबाट डाटा अन्य आवश्यक सूचना इन्टरनेटमार्फत डाउनलोड हुनेछ र हाम्रो प्रयोगपछि पुन क्लाउडमै गएर बस्नेछ ।
यसले गर्दा उपकरणहरू सस्ता हुनेछन् भने हाम्रा सूचनाहरू चोरी हुने, हराउने र कम्प्युटरका भाइरसका कारणले बिग्रने या नष्ट हुने समस्याबाट सुरक्षित हुनेछन् । त्यति मात्र हैन हामीले संसारको जुन स्थानबाट पनि जुनसुकै उपकरण प्रयोग गरेर पनि हाम्रा ती सूचनाहरू सजिलै प्राप्त गर्न सक्नेछौं । यिनै सुविधा, सुरक्षा र कम लागतको कारणले गर्दा अहिले क्लाउड कम्प्युटिङले लोकप्रियता हासिल गर्दैछ ।
यो प्रविधि अधिकांश कम्पनीहरूमा फैलिसकेको भएपनि व्यक्तिगत प्रयोजनमा भने त्यति व्यापक भैसकेको छैन । व्यक्तिगत प्रयोजनको लागि यसको भविष्य इन्टरनेटको विश्वव्यापी सर्वसुलभता अनि प्रयोगकर्ताको कूल लागतमा भर पर्छ ।
यदि अहिले जस्तै सबै सुविधासम्पन्न उपकरण किन्ने पैसा क्लाउड कम्प्युटिङको सेवाको लागि तिर्ने पैसा भन्दा कम भयो भने उपभोक्ताहरू क्लाउड कम्प्युटिङमा आकर्षित हुने छैनन् किनभने अहिलेको विश्व बजार माग तथा आपूर्तिको अवस्थाले निर्धारण गर्ने गर्छ । त्यसमा उपभोक्ताहरूको निर्णयले निकै ठूलो प्रभाव पार्छ ।
प्रविधिको विकाससँगै पूर्ण क्लाउड कम्प्युटिङको लागत भविष्यमा कम हुँदै जानेछ । उपभोक्ताहरू यसप्रति निकै आकर्षित हुनेछन् । कुनै दिन यस्तो आउने छ कि हाम्रा सबै सूचनाहरू बादलमा फैलिएका पानीका कणहरू जस्तै सूचना प्रविधिको बादलमा तैरिरहेका हुनेछन् । हामीले चाहेको बेला टुप्लुक्क हाम्रो मोबाइल र कम्प्युटरमा आइपुग्नेछन् ।